गायक सबिन श्रेष्ठले नयाँ गीत 'कल्पना' सार्वजनिक गरेका छन्।
गीतमा स्वरसँगै शब्द तथा संगीत स्वयं सबिनकै छ। गीतले बितिसकेको प्रेमको सम्झनालाई समेट्दै पुरानो मायाको यादमा डुबेको मनोभाव प्रस्तुत गर्छ।
गीतका शब्दमार्फत सबिनले पवित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै निश्चल र चोखो रूपमा सम्झिरहेको भाव व्यक्त गरेका छन्। पुराना कल्पना र योजनालाई अझै जीवित राख्दै तिनै सम्झनामा हराइरहेको पात्रको कथालाई गीतले उजागर गर्छ।
गीतमा आफ्नो मनलाई बुझेर निश्चल प्रेमीसँग फर्किन आग्रह गरिएको छ। समग्रमा ‘कल्पना’ले चोखो प्रेम र त्यसलाई बुझ्न नसक्ने प्रेमीको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ।
गीत २९ रिसोर्ट एन्ड फार्म हाउसमा प्रिमियर गर्दै सार्वजनिक गरिएको थियो। प्रिमियर कार्यक्रममा सबिनले आफ्नो गीत केवल लयबद्ध शब्द नभई मनको गहिरो तहका भावनाको अभिव्यक्ति भएको बताए। जीवनको लय परिवर्तन भएपछि छोटा शब्द र वाक्यमार्फत आफूले पीडा, उदासी र निराशा व्यक्त गर्ने गरेको उनले बताए।
'यी गीतहरू मेरो इच्छाशक्तिको परिणाम हुन्। यदि मलाई हौसला दिने हात र सहयोग नभएको भए यी गीत जन्मिने थिएनन्,' सबिनले भने, 'मेरो दुर्घटनापछि एक्लोपन र तनावका बीच कसैसँग भावना पोख्न नसकेका बेला मनमा उब्जिएका भावनाहरू नै गीत बनेका हुन्।'
प्रिमियरमा म्युजिक भिडिओका मोडल सुजन जिम्बाले सबिन हौसला र प्रेरणाको स्रोत भएको बताए। उनको इच्छाशक्ति र सिर्जनशिलताकै कारण गायनमा सक्रिय बन्न सकेको बताए।
प्रिमियरमा अभिनेता मुकुन भुसालले आफू पनि सबिनको सांगीतिक यात्रामा प्रत्यक्ष रूपमा सहकार्य गर्न तयार रहेको बताए। 'उहाँसँग म अप्रत्यक्ष होइन, प्रत्यक्ष रूपमा सहकार्य गर्न चाहन्छु,' मुकुनले भने, 'कुनै पनि रूपमा सहकार्य गर्न म सधैं तयार छु।'
'कल्पना' को भिडिओका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडिओमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए।
दिमेश श्रेष्ठले प्रोड्युश गरेको भिडिओ कथा क्रिएसनले बनाएको हो। भिडिओमा सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय छ। उत्सव दाहालले छायांकन गरेको भिडिओ विकास दाहालले सम्पादन गरेका हुन्। भिडिओ नुजा पिक्चर्सको प्रस्तुति हो।