लोकगायक तथा सर्जक प्रकाश दूतराजले जन्मजिल्ला म्याग्दीबाट आफ्नो सांगीतिक यात्राको नयाँ अध्याय सुरू गर्ने भएका छन्।
नेपाली लोकसंगीतमा मौलिक गीत ल्याउँदै आएका प्रकाशले आफ्नो नेतृत्वमा 'दूतराज प्रकाश एन्ड लाइनअप' नामक लोकसांगीतिक ब्यान्ड सुरू गरेका हुन्। यसको औपचारिक घोषणा यही भदौ १२ गते शुक्रबार साँझ म्याग्दीको बेनीस्थित खुलामञ्चबाट हुन लागेको छ।
जनैपूर्णिमाको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने कार्यक्रममा प्रकाशको ब्यान्डले पहिलोपटक सांगीतिक प्रस्तुति दिनेछ। यही कार्यक्रमबाट ब्यान्डको औपचारिक घोषणा हुनेछ।
प्रकाश ब्यान्डका मुख्य गायक (लिड भोकलिस्ट) हुन्। ध्वनि प्राविधिक तथा विभिन्न वाद्यवादकसहित ब्यान्डमा ११ जना सदस्य छन्। लोकसंगीतसँगै विभिन्न सांगीतिक विधाका वाद्यवादकलाई समेटेर ब्यान्ड गठन गरिएको प्रकाशले बताएका छन्।
'१३/१४ वर्षको सपनाको यात्रामा नयाँ अभ्यास सुरू गरेको छु। अबका सांगीतिक प्रस्तुति ट्रयाकभन्दा वाद्यवादकसहित हुनेछन्,' उनले भने।
ब्यान्डको पहिलो घोषणा र प्रस्तुति म्याग्दीबाटै गर्न लाग्नुको कारण पनि प्रकाशका लागि विशेष छ। म्याग्दी उद्योग वाणिज्य संघले आफूलाई पहिलोपटक स्टेजमा गाउने अवसर दिएको बताउँदै जीवनको नयाँ अध्याय सुरू गर्नुअघि जन्मभूमिबाटै आशीर्वाद लिन चाहेको उनले बताएका छन्।
'करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएको छु,' प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्।
लोकदोहोरीमा ब्यान्डसहित कन्सर्ट गर्ने अभ्यास नेपालमा नयाँ भएकाले यसको सुरूआतलाई प्रकाशले 'नयाँ अभ्यास' का रूपमा लिएका छन्।
अहिलेसम्म अधिकांश प्रस्तुति ट्रयाकमा आधारित हुँदै आएकोमा अब मौलिक बाजा, प्रत्यक्ष वाद्यवादन र लोकसंगीतलाई प्राथमिकता दिने उनको योजना छ।
बेनीमा पहिलो प्रस्तुति दिएपछि ब्यान्डले नेपाल टुर गर्ने तयारी गरेको छ। त्यसपछि अन्तर्राष्ट्रिय टुरको समेत योजना बनाइने प्रकाशले बताए।
प्रकाशका 'घर कता हो बैनीको', 'रिमै', 'रेशम', 'छैन र माया', 'मनमाया'लगायतका गीतहरू स्रोता/दर्शकले रूचाएका छन्।
'अन्तिम भनेर बनाएको गीत नै सफलताको पहिलो खुड्किलो बन्न पुग्यो'