अनायास केही दिनयता सहरमा भौँतारिरहेको छु। खासै काम छैन, र पनि घुमिरहेको छु।
'साहुजी, चिसो दिनु न!' चिसो पिउँदै गफिएँ।
गफको सुरूआत राजनीतिबाटै गरेँ।
साहुजी पनि के कम! चार सय बीस रहेछन् राजनीतिमा।
'देशका नेता खत्तम! सङ्घीयता काम छैन! कर्मचारी भ्रष्ट! सरकारी कार्यालयमा गयो, कामै हुँदैन! काम गर्न पैसा माग्छन्...!'
अँ, अँ गरिरहेँ।
साहुजीको पसलमा खाद्यान्न र ग्यास दुवै पाइन्छ!
'लौ न, साहुजी, एउटा ग्यास चाहियो। मान्छे महिनादिनदेखि लाइनमा छन्। अहिले पाइँदैन।'
'खानै पाइएन। के छ उपाय?' फेरि सोधेँ।
केही बेरपछि उत्तर आयो, 'बेलुका आउनु न त।'
नभन्दै बेलुका गएँ।
सहरमा कसले कसलाई चिन्छ र? साहुजीसँग खासै चिनजान थिएन। ग्यास सङ्कटले राज्यको व्यवस्थापकीय क्षमतामा प्रश्न उठाएको छ।
'आफ्नै लागि राखेको! ज्यादै जरूरी छ भने २५०० दिनुस्।'
'साहुजी, आज अर्को ठाउँमा जानुछ। भोलि आउँछु, राखिदिनु है,' भन्दै बिदा भएँ।
रु २०६० को ग्यासलाई कसरी २५०० दिनू! तर पनि एउटा सिलिन्डर जरूरी छ। खाना पकाउँदा पकाउँदै बत्ती गयो भने...! सहर भौँतारिँदै त्यो दिन त्यसै बित्यो।
इन्ड्राइभ, पठाओ, याङ्गोजस्ता एप डाउनलोड गरेको छु। चस्मा छुटेकोले आज ती एप प्रयोग गर्न सकिनँ। हतारो थियो, त्यसैले चोकमा उभिएर एउटा ट्याक्सी चालकलाई सोधेँ, 'तीनकुने जाने हो, भाइ? मिटरमा जाऊ है?'
कपाल फुलेको र झोला बोकेको देखेर अनलाइन बुकिङ गर्न नजान्ने ठान्यो सायद! 'चार सय लाग्छ। मिटरमा जाँदिनँ,' भन्यो।
'ल, हुन्छ। जाऊँ न त,' भन्दै ट्याक्सी चढेँ।
चार सय तिर्न राजी भएँ! चार सय तिर्दा मन चसक्क भयो। ट्याक्सी हुइँकियो।
'कस्तो छ कमाइ?' सोधेँ मैले।
मेरी बास्सै! ऊ त ड्राइभर मात्रै होइन रहेछ, नेता नै रहेछ। ट्राफिकलाई गाली गर्दै हिँड्यो। सडकका खाल्डाखुल्डी नपुरेकोमा सरकारलाई झन् गाली गर्यो।
'नेता, कर्मचारी सबै चोर,' भन्दै भाषण दियो।
रातो बत्ती बल्यो। तर त्यहाँ ट्राफिक थिएन। गाडी रोकेन, बरू थप दौडियो!
निहालेर हेरिरहेँ उसलाई, गोजीबाट खैनी निकालेर ओठमा च्याप्यो। झ्यालबाट थुक्दै अगाडि बढ्यो। खैनी सकिएछ क्यारे! रित्तो प्याकेट फुत्त सडकमै फ्याँक्यो। आकाशे पुलमुनिबाट बाटो काट्दै गरेका स्कुले केटाकेटीलाई 'माथि पुल देखेनौ? यस्ता पनि विद्यार्थी रे!' भन्दै फत्फतायो।
चुपचाप हेरिरहेँ, सुनिबसेँ। गन्तव्यमा पुगेर ओर्लिएँ। भाडा तिरेँ। दैनिक ट्याक्सी चढ्ने हैसियत होइन मेरो, र पनि चढेँ। अर्को दिन भने सार्वजनिक बस चढेर रत्नपार्क पुगेँ।
अलिक भोक लागेकोले सरकारी क्याम्पसको क्यान्टिन छिरेँ। विद्यार्थीहरू गफिँदै थिए। चालीस वर्ष आसपासका जस्ता देखिने एक हुल विद्यार्थी थिए। तीमध्ये एक जनाले क्याम्पस राजनीतिको गफ छाँट्दै थियो।
'यसपालि त क्याम्पस चिफले बालै दिएन। खेलकुद सप्ताह गर्न मान्दै मानेन।'
सायद ऊ क्याम्पसको नेता थियो कि? भेउ पाइनँ।
'दसैंमा गाउँ जाने खर्च त पुग्थ्यो! मान्दै मानेन यार! मोसो दल्नुपर्छ कि क्या हो?'
गफ सुन्न थप अर्को कप चिया मगाएँ। त्यत्तिकैमा केही विद्यार्थी आए।
'दाइ, परीक्षा फाराम कहिले खुल्छ?' एक जना विद्यार्थीले त्यो नेता विद्यार्थीलाई सोधेको सुनेँ।
'टाढा छ। फाराम भर्न नपाइने हो कि? थाहा पाइँदैन।'
त्यो विद्यार्थीको कुरा सुनेर विश्वविद्यालयलाई मनमनै धिक्कारेँ!
'अब पनि अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाउन नसक्ने कस्तो विश्वविद्यालय ?' सोचमग्न भएँ म!
'फोटो, विषयको सूची र पैसा,' विद्यार्थी नेतालाई दियो उसले।
अलिक पहिला नियमित विद्यार्थीको शुल्क लिएर ब्याक पेपरको कम शुल्कमा परीक्षार्थीको फाराम भरेर क्याम्पसलाई विद्यार्थी नेताहरूले आर्थिक नोक्सानी पुर्याएको समाचार झलझली सम्झिएँ।
'पुगेन भने फोन गर्नुस्। बढी भयो भने चिया खानु है, दाइ,' भन्दै हिँड्यो विद्यार्थी। स्वअध्ययन गरेर परीक्षा मात्र दिने विद्यार्थी होला त्यो भन्ने अनुमान लगाएँ ।
घर फर्किने बेला साढे तीन बज्नै लागेको थियो। रत्नपार्कबाट बस चढेँ। सार्वजनिक यातायातको दुःख र पीडा सुनाएर साध्य छैन। सिटमा सरकारी विद्यालयको पोसाक लगाएका एक जना सर हुनुहुँदो रहेछ।
'कति बजे स्कुल छुट्ने हो, सर?' भनेर प्रश्न सोधेँ।
'४ बजे'।
'आज काम परेकोले अलिक छिटो निस्केको!'
'ए,' भनेँ मैले।
गफगाफमा युवाहरू बाहिरिएको, गाउँ खाली भएको, राजनीति नसुध्रिएको जस्ता विषय आए।
'सके हजुर, सके देश! तैँ नयाँले गर्छन् कि,' नयाँप्रति आशा भएको बुझेँ। कुरा सुनेँ, तर फर्काइनँ। सडकमा जाम थियो। सहचालकले 'झर्न मिल्दैन,' भन्दाभन्दै बीच सडकमै सर झर्नुभयो। म भने आफ्नो घर फर्किएँ।
परिवारमा आफ्नै झमेला थियो। भक्तपुरको गुण्डुमा सात वर्षअघि आफन्तको संयुक्त नाममा सस्तो जग्गा किनिएको थियो। कित्ताकाट नहुँदा पारिवारिक तनाव कम्ती भएन। त्यसले परिवारमा कलहको स्थिति सिर्जना गर्यो। कैयौँपटक मालपोत धाएँ। तर काम भएन। हारेँ मैले। अन्ततः एक जना लेखन्दासले काम गरिदिने बतायो।
सोधेँ, 'कति लाग्छ?'
'सबैतिर मिलाउनुपर्छ, सर! तीन लाख चाहिन्छ। बाटो सिफारिस आफै ल्याउनुपर्छ।' नभन्दै काम भयो।
देशको कर्मचारीतन्त्र र सुशासन चित्र अगाडि आयो। घुस खाने कर्मचारी र बाध्यताले घुस दिनुपर्ने सेवाग्राहीलाई एउटै तराजुमा जोख्न मिल्दैन। त्यो मेरा बाध्यता र विवशता थियो। सात वर्षदेखिको झमेलाबाट मुक्ति पाउन गल्ती गरेकै थिएँ, तर होस्, मन बुझाएँ।
अचानक एक दिन भोट दिएर जिताएको माननीयलाई बाटोमा भेटियो। छोटकरीमा कुशासनको बेलिबिस्तार सुनाएँ।
राज्य संयन्त्र असफल हुँदै गएको, हरेक ठाउँमा राजनीति घुसेको, नागरिकमा निराशा बढेको र सबै पार्टी र नेता एकै हुन् भन्ने भाष्य निर्माण भएको, कतिपय संवैधानिक प्रावधानहरूमा समस्या देखिएकोले समयसापेक्ष सुधार जरूरी भएको सुनाएँ।
'फेरि कुरा गर्ने,' भन्दै माननीय बिदा हुनुभयो। मेरो कुराले उहाँलाई छोयो वा छोएन, यकिन भन्न सक्दिनँ। मन भने हलुका भयो मेरो।
दिनभरि चियापसल, चौतारी र कार्यस्थलमा बसेर घण्टौँ अरूको कुरा काट्दा पनि कोही भोकै बस्नु नपर्ने अचम्मको देश छ नेपाल!
आलोचना गर्न, समस्या औँल्याउन र अरूलाई दोष दिन सबैसँग योग्यता र अनुभव छ, तर आफ्नो काम र जिम्मेवारी चाहिँ पूरा गर्नु नपर्ने! गज्जब छ। घुमाइ, बुझाइ र अनुभवका प्रश्न थिए यी!
वास्तवमा व्यापारीलाई सरकार खराब! कर्मचारीलाई नेता खराब! नेतालाई कर्मचारी खराब! विद्यार्थी नेतालाई क्याम्पस प्रमुख खराब! सरकारलाई पत्रकार खराब! भुइँमान्छेलाई सबै खराब। हरेकका मुखबाट एउटै वाक्य निस्कन्छ—'यो देश बन्दैन अब!'
देश नबन्नुमा आफ्नो भूमिका के भनेर सोध्दा आउने उत्तर के होला कुन्नि? देश बनाउने जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीको मात्र होइन। सुशासन सरकारी कार्यालयको ढोकामा लेखिएको नाराबाट आउँदैन। व्यावहारिक रूपमा सबैले त्यो प्रमाणित गर्नुपर्छ। सडक सफा राख्नु, नियम मान्नु, इमानदारीपूर्वक व्यापार गर्नु, घूस नलिनु, आफ्नो जिम्मेवारीको काम समयमै सम्पादन गर्नु तथा जनमतको सम्मान गर्नुले मात्र देश बन्छ भन्ने ठान्छु म। देश बनाउने दायित्व हरेक नागरिकको हुन्छ। युरोप, अमेरिका त्यसै बनेका होइनन् क्या!
हो, हरेक मान्छेका जिम्मेवारी समान हुँदैनन्। कसैको बढी र कसैको घटी हुन्छ। तर देश निर्माणमा हरेक नागरिक र राज्यको केही न केही जिम्मेवारी हुन्छ। देश पछाडि परेको हाम्रै कुकर्मले हो कि? आत्मसमीक्षा इमानदारीपूर्वक पूरा गरेको दिन नेपाल बन्छ! तर त्यो दिन कहिले आउँछ भन्न चाहिँ सक्दिनँ म।