धेरै वर्षअघि फ्रान्सको पेरिसमा लुइ ब्रेल नाम गरेका एक साना बालक बस्थे। उनी तीन वर्षका थिए। उनका बुबा लोहार (फलामको काम गर्ने) थिए। उहाँ घरनजिकै फलामका विभिन्न औजार बनाउने काम गर्नुहुन्थ्यो।
एक दिन लुइ आफ्ना बुबाले काम गरिरहेको ठाउँमा खेलिरहेका थिए। उनी वरिपरि राखिएका औजारहरू हेर्दै खेल्न थाले। अचानक एउटा धारिलो औजारले उनको आँखामा घोच्यो। लुइ पीडाले चिच्याए। केही दिनमै उनको एउटा आँखाको ज्योति गुम्यो। पछि अर्को आँखामा पनि असर पर्यो। अन्ततः उनी पूर्ण रूपमा दृष्टिविहीन भए।
लुइका लागि संसार अँध्यारो भयो। तर उनले हिम्मत हारेनन्। उनी नयाँ कुरा सिक्न सधैँ उत्सुक रहन्थे।
सन् १८१९ मा दस वर्षको उमेरमा लुइ पेरिसस्थित दृष्टिविहीन बालबालिकाका लागि रहेको रोयल इन्स्टिच्युटमा भर्ना भए। त्यहाँ उनले पढ्न सिक्ने प्रयास गरे। काठ, कपडा र पिनहरूलाई विभिन्न तरिकाले मिलाएर अक्षर चिन्ने अभ्यास गर्थे। तर पढ्न र लेख्नका लागि त्यो विधि निकै कठिन थियो।
त्यसै समयमा चार्ल्स बार्बिए दे ला सेर नाम गरेका एक सैनिक अधिकारीले ‘नाइट राइटिङ’ अर्थात् ‘रात्रि लेखन’ नामको एउटा विशेष लेखन प्रणाली बनाएका थिए। त्यसमा उठेका थोप्ला र धर्साहरू हुन्थे। सैनिकहरूले अँध्यारोमा पनि औँलाले छामेर त्यसलाई पढ्न सक्थे।
तर त्यो प्रणाली धेरै जटिल थियो। त्यसैले सफल हुन सकेन। लुइ ब्रेल किशोर अवस्थामा पुगेका थिए। उनलाई बार्बिएको यो प्रणाली निकै रोचक लाग्यो। उनले त्यसको अध्ययन गरे र अझ सरल बनाए। उनले छ वटा थोप्लाको आधारमा अक्षर र सङ्केतहरू बनाउने नयाँ विधि विकास गरे।
त्यही विधि आज संसारभर ब्रेल लिपिका नामले प्रसिद्ध छ। लुइ ब्रेलले दृष्टिविहीन मानिसहरूका लागि पढ्ने र लेख्ने नयाँ संसार खोलिदिए। उनले आफूले देख्न नसके पनि अरूलाई ज्ञानको संसार देख्ने बाटो बनाए।
ब्रेल लिपिबारे केही तथ्य
ब्रेल लिपि आँखाले हेरेर होइन, औँलाले छामेर पढिन्छ। यसमा उठेका थोप्लाहरूको विशेष संयोजनबाट अक्षर, अङ्क र विभिन्न सङ्केतहरू बनाइन्छन्। अङ्ग्रेजी वर्णमालाका २६ वटै अक्षरका लागि ब्रेलमा छुट्टाछुट्टै सङ्केत हुन्छन्।
ब्रेल लिपि पढ्न र लेख्नका लागि अक्षरहरूबिच पर्याप्त दूरी चाहिन्छ। त्यसैले सामान्य छापिएका किताबभन्दा ब्रेलका किताबहरू प्रायः बाक्ला हुन्छन्। ब्रेल लिपि दृष्टिविहीन मानिसहरूका लागि मात्र होइन। दृष्टि भएका मानिसहरूले पनि ब्रेल सिक्न सक्छन्। उनीहरूले ब्रेलमा साना कविता, कथा तथा अन्य सामग्री लेख्न सक्छन्।
सन्देश: लुइ ब्रेलले आफ्नो दृष्टि गुमाए, तर संसारका लाखौँ दृष्टिविहीन मानिसलाई ज्ञानको ज्योति दिए।
(हिमांशु भण्डारी केन्द्रीय विद्यालय लाजिम्पाट, काठमाडौँको कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन्।)