मैले गएको कात्तिक महिनामा चार हप्ता युरोपको पारिवारिक भ्रमण गरेँ।
यस क्रममा स्विट्जरल्यान्डलाई केन्द्र बनाएर फ्रान्स, स्पेन र इटालीका विभिन्न सहरको भ्रमण गरियो। स्विट्जरल्यान्डका जेनेभा, जुरिक र बर्न लगायत सहर, फ्रान्सको पेरिस, स्पेनका भ्यालेन्सिया, बार्सिलोना र म्याड्रिड अनि इटालीको रोम र भेनिस तथा स्वतन्त्र राष्ट्र भ्याटिकन सिटीको समेत भ्रमण गरियो।
युरोप भ्रमणको योजना बनाउँदा मेरा मनमा अनेक जिज्ञासा र उत्सुकता थिए। युरोपको विकसित समाज, तिनको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक सम्पदा, सामाजिक अनुशासन, शिक्षा, विज्ञान र प्रविधिले लामो समयदेखि मेरो अध्ययनशील मनलाई आकर्षित गर्दै आएका थिए।
पुस्तक, लेख र तस्बिरमा पढेका तथा देखेका ती भूगोललाई प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त हुनु मेरा लागि सामान्य पर्यटकीय आकर्षणभन्दा बढी ज्ञान र अनुभूतिको विषय बनेको थियो।
युरोपलाई हामी प्रायः आधुनिक सभ्यता, वैज्ञानिक चेतना, लोकतन्त्र, औद्योगिक विकास, मानवअधिकार र समृद्धिको पर्यायका रूपमा बुझ्छौं तर कुनै समाजलाई टाढाबाट हेर्नु र त्यही समाजभित्र केही समय बिताएर त्यसका उपलब्धि, अन्तर्विरोध र जीवनपद्धतिलाई नजिकबाट नियाल्नु फरक कुरा रहेछ।
मेरो यस यात्राको मूल अभिप्राय पनि युरोपको सुन्दरता हेर्नुका साथै त्यसको जीवनदर्शन बुझ्नु, त्यहाँको विकासको आधार पहिल्याउनु र आफ्नो देशको अवस्थासँग तुलना गर्दै केही निष्कर्षमा पुग्नु थियो।
युरोपको यात्रा गर्दा सबैभन्दा पहिले आँखामा पर्ने कुरा त्यहाँको समृद्धि हो। फराकिला र व्यवस्थित सडक, तीव्र गतिमा गुड्ने रेल, समयमै सञ्चालन हुने सार्वजनिक यातायात, सफा सहर, आकर्षक भवन, आधुनिक अस्पताल, स्तरीय विश्वविद्यालय, अनुसन्धान केन्द्र र व्यवस्थित बजार देख्दा विकासको एउटा उच्चतम नमुना आँखाअगाडि उपस्थित हुन्छ।
स्विट्जरल्यान्डका हिमाली भूभाग र व्यवस्थित बस्ती, फ्रान्सका ऐतिहासिक सम्पदा र सांस्कृतिक वैभव, स्पेनका जीवन्त बजार र समुद्री तट तथा इटालीका कला, वास्तुकला र प्राचीन सभ्यताले युरोपको समृद्धिको विविध रूप देखाउँछन्।
शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, उद्योग, पर्यटन, सामाजिक सुरक्षा र नागरिक अधिकारका क्षेत्रमा हासिल गरेको उपलब्धिले युरोपलाई आधुनिक विश्वको महत्त्वपूर्ण केन्द्र बनाएको छ।
तर यात्रा क्रममा मैले युरोपको अर्को पाटो पनि नजिकबाट देखेँ।
आकर्षक सडक र भव्य भवनकै छेउमा ठाउँठाउँमा मागेर बसिरहेका मानिस भेटिन्थे। कतिपय सडकपेटीमा ओछ्यान बिछ्याएर रात बिताइरहेका मानिस देखिन्थे।
सार्वजनिक स्थल र पर्यटकीय क्षेत्रवरिपरि घरबारविहीन मानिसको उपस्थिति देख्दा मनमा प्रश्न उठ्यो— यति सम्पन्न समाजमा पनि मानिस किन सडकमा बस्न बाध्य छन्?
केही ठाउँमा चोरी, पाकेटमारी र लुटपाटका घटना भएको पनि सुनियो। पर्यटकको भिडभाड भएका स्थानमा आफ्ना सामानप्रति सचेत रहनुपर्ने अवस्था पनि देखियो। यसले युरोपको समृद्धि र सामाजिक यथार्थबीचको दुरी महसुस गरायो।
विकसित देशमा गरिबी हुँदैन भन्ने हाम्रो सामान्य बुझाइ छ। तर गरिबी त्यहाँ पनि हुँदो रहेछ!
नेपालमा गरिबी प्रायः खाद्यान्न, आवास, शिक्षा र आधारभूत सुविधाका अभावका रूपमा देखिन्छ भने युरोपमा पनि घरभाडा तिर्न नसक्नु, स्थायी रोजगारी नहुनु, सामाजिक एक्लोपन, महँगो उपचार, मानसिक समस्या र आवासबाट विस्थापित हुनु गरिबीका महत्त्वपूर्ण रूप रहेछन्। माग्न बसेका सबै व्यक्ति पनि एउटै अवस्थाका हुँदा रहेनछन्।
कोही घरबारविहीन, कोही बेरोजगार, कोही आप्रवासी वा शरणार्थी र कोही पारिवारिक तथा स्वास्थ्य समस्याका कारण सडकमा पुगेका हुँदा रहेछन्। त्यसैले युरोपको गरिबीलाई केवल आम्दानीको अभावबाट मात्र बुझ्न सकिँदैन रहेछ।
युरोपेली संघको सन् २०२५ को तथ्यांक अनुसार ९ करोड २७ लाख मानिस अर्थात् कुल जनसंख्याको २०.९ प्रतिशत गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको उल्लेख छ। यसको अर्थ पाँच जनामध्ये लगभग एक जना कुनै न कुनै प्रकारको आर्थिक तथा सामाजिक असुरक्षामा रहेको देखिन्छ।
यस्तो जोखिमको अनुपात स्पेनमा २५.७ प्रतिशत, इटालीमा २२.७ प्रतिशत र फ्रान्समा २०.८ प्रतिशत रहेछ। स्विट्जरल्यान्डको सन् २०२४ को उपलब्ध तुलनात्मक तथ्यांक अनुसार यो जोखिमको अनुपात करिब १९.३ प्रतिशत देखिन्छ।
यसले आर्थिक सम्पन्नता र सामाजिक समानता एउटै कुरा होइनन् भन्ने स्पष्ट पार्छ।
भूगोल, अर्थतन्त्र र समृद्धिका आधार
स्विट्जरल्यान्ड, फ्रान्स, स्पेन र इटाली भौगोलिक रूपमा युरोपकै देश भए पनि आकार, जनसंख्या, प्राकृतिक बनोट, आर्थिक संरचना र सांस्कृतिक विशेषतामा निकै भिन्न देखिन्छन्।
स्विट्जरल्यान्ड करिब ४१ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको सानो भूपरिवेष्टित देश हो। फ्रान्सको युरोपेली भूभाग करिब ५ लाख ४७ हजार वर्ग किलोमिटर, स्पेनको करिब ५ लाख ६ हजार र इटालीको करिब ३ लाख वर्ग किलोमिटर छ।
क्षेत्रफलका हिसाबले फ्रान्स सबैभन्दा ठुलो र स्विट्जरल्यान्ड सबैभन्दा सानो हो। जनसंख्याका दृष्टिले पनि फ्रान्समा करिब ६ करोड ९० लाख, इटालीमा ५ करोड ९० लाख, स्पेनमा ४ करोड ९० लाख र स्विट्जरल्यान्डमा ९० लाखको हाराहारीमा जनसंख्या रहेछ।
भौगोलिक बनोटले यी देशको जीवनशैली र अर्थतन्त्रमा ठुलो प्रभाव पारेको देखिन्छ। स्विट्जरल्यान्डमा आल्प्स पर्वत, मध्यवर्ती पठार र जुरा पर्वतशृंखला छन्। समुद्र नभए पनि हिमाल, ताल, नदी र प्राकृतिक सौन्दर्यले यसलाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनाएका छन्।
फ्रान्सको भूगोल विविध छ। समुद्री तट, समथर मैदान, कृषिभूमि, आल्प्स र पाइरेनिज पर्वतशृङ्खलाले यसको प्राकृतिक स्वरूपलाई विविध बनाएका छन्।
स्पेनमा पठार, पहाडी भूभाग, भूमध्यसागरीय तट र एटलान्टिक महासागरतर्फका क्षेत्र छन्।
इटाली लामो प्रायद्वीपका रूपमा भूमध्यसागरभित्र फैलिएको छ। आल्प्स र एपेनाइन पर्वतशृंखला, समुद्री तट र उर्वर मैदान यसको भौगोलिक विशेषता हुन्।
यी भौगोलिक विविधताले कृषि, पर्यटन, यातायात, उद्योग र बसोबासको स्वरूप निर्धारण गरेका छन्। स्विट्जरल्यान्डमा पर्वतीय पर्यटन र उच्च मूल्यका औद्योगिक उत्पादनको महत्त्व छ भने फ्रान्समा कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रको बलियो आधार छ।
स्पेनमा पर्यटन, कृषि, निर्माण र सेवा क्षेत्र प्रमुख छन्। इटालीमा मेसिनरी, मोटरगाडी, फेसन, खाद्य उद्योग, डिजाइन र पर्यटनको विशेष महत्त्व छ।
प्रतिव्यक्ति आय र जीवनस्तरको तुलना गर्दा यी चार देशको आर्थिक सम्पन्नता बुझ्न प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एउटा उपयोगी सूचक हो। अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को अक्टोबरमा गरिएको प्रक्षेपण अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन स्विट्जरल्यान्डको १ लाख २४ हजार ४८०, फ्रान्सको ५१ हजार ४५०, इटालीको ४५ हजार ८९० र स्पेनको ४१ हजार ७६० अमेरिकी डलर छ।
यसरी तुलना गर्दा स्विट्जरल्यान्डको प्रतिव्यक्ति आय अन्य तीन देशका तुलनामा निकै उच्च देखिन्छ तर प्रतिव्यक्ति आय भनेको प्रत्येक नागरिकले त्यति नै रकम कमाउँछ भन्ने होइन। उत्पादन भएको कुल आर्थिक मूल्यलाई जनसंख्याले भाग गरेर निकालिएको औसत हो।
त्यसैले आयको वितरण गर्दा कर, घरभाडा, स्वास्थ्य खर्च र वस्तुको मूल्यलाई समेत विचार गर्नुपर्छ।
स्विट्जरल्यान्डमा आम्दानी उच्च भए पनि जीवनयापनको खर्च पनि अत्यन्त महँगो रहेछ। फ्रान्समा सामाजिक सुरक्षा र सार्वजनिक सेवाको दायरा फराकिलो देखिन्छ। स्पेनमा पर्यटन र सेवा क्षेत्रले रोजगारी सिर्जना गरे पनि युवा बेरोजगारी र अस्थायी रोजगारीको समस्या रहेछ। इटालीमा औद्योगिक सामर्थ्य हुँदाहुँदै पनि आर्थिक वृद्धिको गति सुस्त र क्षेत्रीय असमानता ठूलो रहेछ।
मुद्राको दृष्टिले पनि यी देशमा भिन्नता छ। फ्रान्स, स्पेन र इटाली युरो प्रयोग गर्ने युरोपेली सङ्घका सदस्य हुन् भने स्विट्जरल्यान्डले स्विस फ्रांक प्रयोग गर्छ। स्विट्जरल्यान्ड युरोपेली संघको सदस्य होइन। यसले पनि यसको आर्थिक र राजनीतिक व्यवस्था केही भिन्न बनाएको छ।
सांस्कृतिक समानता र विशिष्टता
यी चार देशमा भाषा र सांस्कृतिक परम्परा फरक भए पनि केही समानता रहेछन्। परिवार, खानपान, ऐतिहासिक सम्पदाको संरक्षण, कला, संगीत, साहित्य, धार्मिक परम्परा र सार्वजनिक जीवनमा सामाजिक सम्बन्धको महत्त्व उल्लेखनीय लाग्यो तर प्रत्येक देशको आफ्नै सांस्कृतिक पहिचान पनि रहेछ।
स्विट्जरल्यान्ड बहुभाषिक देश रहेछ। यहाँ जर्मन, फ्रान्सेली, इटालियन र रोमान्स गरी चार राष्ट्रिय भाषा बोलिँदा रहेछन्। बहुभाषिकता, स्थानीय स्वायत्तता, नागरिक सहभागिता र प्रत्यक्ष लोकतन्त्र यसको विशिष्ट पहिचान रहेछ।
फ्रान्सेली भाषा र साहित्य, कला, दर्शन, फेसन, पाककला र क्रान्तिकारी राजनीतिक इतिहास फ्रान्सका प्रमुख सांस्कृतिक आधार रहेछन्। स्पेनमा स्पेनी भाषासँगै कातालान, बास्क र गालिसियन भाषाको पनि महत्त्व रहेछ। फ्लामेन्को नृत्य, साँढेजुधाइको ऐतिहासिक परम्परा, फुटबल, संगीत र जीवन्त सामाजिक संस्कृतिले स्पेनलाई चिनाएका रहेछन्।
इटालीमा रोमन सभ्यता, पुनर्जागरणकालीन कला, वास्तुकला, ओपेरा, साहित्य, फेसन र खानपानको विशिष्ट स्थान रहेछ।
युरोपेली यी देशका खानपानमा पनि केही समानता र भिन्नता रहेछन्। जैतुनको तेल, रोटी, चिज, फलफूल, मासु र समुद्री खाद्य पदार्थ चारै देशका खानपानमा विभिन्न रूपमा प्रयोग हुँदा रहेछन् तर इटालीको पास्ता र पिज्जा, फ्रान्सको बेकरी र चिज, स्पेनको पायेला र तपास तथा स्विट्जरल्यान्डको चकलेट र चिजले प्रत्येक देशको अलग परिचय दिएका रहेछन्।
यी सांस्कृतिक विशेषताले पर्यटनलाई पनि आर्थिक शक्तिका रूपमा विकास गरेको देखिन्छ।
समृद्धिसँगै देखिएको गरिबी र घरबारविहीनता
युरोपको सामाजिक यथार्थ बुझ्न सडकमा देखिएका माग्ने र घरबारविहीन मानिसलाई बेवास्ता गर्न मिल्दैन। फ्रान्स, स्पेन र इटालीमा घरबारविहीनताको समस्या विभिन्न रूपमा देखियो।
ओइसिडीको सन् २०२६ को अध्ययन अनुसार फ्रान्समा सन् २०२२ को राष्ट्रिय अनुमानमा करिब ३ लाख ३३ हजार मानिस घरबारविहीन छन्। इटालीमा सन् २०२४ को अनुमानमा १ लाख ६५० जना र स्पेनमा सन् २०२२ को गणनामा २८ हजार ५५२ जना थिए।
यो तथ्यांकमा सडकमा बस्ने मात्र नभई आश्रयस्थल तथा अस्थायी आवासमा बस्ने व्यक्तिसमेत समावेश छन्। गणना विधि र परिभाषा फरक भएकाले यी संख्यालाई सिधै तुलना गर्नु उपयुक्त हुँदैन।
स्विट्जरल्यान्डमा पनि घरबारविहीनता र माग्ने मानिसको उपस्थिति शून्य रहेनछ। जेनेभाका सडकमा माग्ने, अस्थायी शिविर बनाएर बस्ने र आवासको अभाव भोग्ने मानिसको विषय सन् २०२६ मा सार्वजनिक बहसको विषय बनेको रहेछ। यसै कारण जुरिकमा घरभाडा र आवासको महँगीविरूद्ध प्रदर्शन भएको रहेछ। यसले अत्यन्त सम्पन्न समाजमा समेत आवासको प्रश्न वर्गीय असमानतासँग जोडिएको देखाउँछ।
अपराधको कुरा गर्दा पेरिस, बार्सिलोना, रोमजस्ता पर्यटकीय सहरमा पाकेटमारी, झोलाचोरी र पर्यटकलाई लक्षित ठगीका घटना हुने गरेका रहेछन्। भिडभाड भएका रेल स्टेसन, बजार, सार्वजनिक यातायात र पर्यटकीय स्थलमा सावधानी आवश्यक हुँदो रहेछ तर यस्ता घटना देख्दैमा युरोपमा अपराध व्यापक रूपमा बढेको वा असुरक्षित भएको भन्ने निष्कर्ष निकाल्न भने मिल्दैन।
अपराधको अवस्था सहर, क्षेत्र र अपराधको प्रकार अनुसार फरक देखिन्छ। आर्थिक असमानता, लागुपदार्थको समस्या, संगठित चोरी, बेरोजगारी र सामाजिक बहिष्करण कतिपय अपराधसँग जोडिएका हुन सक्छन् तर अपराधलाई गरिबी वा आप्रवासनसँग मात्र जोड्नु पनि गलत हुन्छ।
युरोपको साझा संकट
यी पाँच मुलुकको उपर्युक्त विश्लेषणबाट स्विट्जरल्यान्ड आर्थिक स्थिरता, उच्च आम्दानी, वित्तीय सेवा, अनुसन्धान र प्रविधिमा अगाडि रहेछ तर त्यहाँ घरभाडा, आवासको उपलब्धता र महँगो जीवनयापन चुनौती बनेका रहेछन्।
फ्रान्समा सार्वजनिक ऋण, बजेट घाटा, राजनीतिक ध्रुवीकरण, पेन्सन र सार्वजनिक सेवाको खर्च प्रमुख समस्या रहेछन्। स्पेनमा पर्यटनबाट प्राप्त आर्थिक लाभसँगै आवासको महँगी, बेरोजगारी र अस्थायी रोजगारीको समस्या रहेछ। इटालीमा सार्वजनिक ऋण, सुस्त आर्थिक वृद्धि, उत्तरी र दक्षिणी क्षेत्रबीचको असमानता तथा युवाको रोजगारी प्रमुख चुनौती रहेछन्।
यसका साथै चारै देशलाई जोड्ने साझा समस्या पनि रहेछन्।
पहिलो, विश्व अर्थतन्त्रमा युरोपको औद्योगिक प्रतिस्पर्धामा दबाब बढ्नु र कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, सेमिकन्डक्टर, विद्युतीय सवारीसाधन र नयाँ ऊर्जा प्रविधिमा अमेरिका र चीनको प्रतिस्पर्धा तीव्र हुनु।
दोस्रो, रूस–युक्रेन युद्धपछि ऊर्जा सुरक्षाको प्रश्न जटिल बन्नु।
तेस्रो, वृद्ध जनसंख्या बढ्दै जाँदा पेन्सन र स्वास्थ्य सेवामा खर्च बढ्नु।
चौथो, महँगी र आवासको समस्याले मध्यम तथा निम्न आय भएका परिवार प्रभावित हुनु।
पाँचौं, आप्रवासन, शरणार्थी व्यवस्थापन र राष्ट्रिय पहिचानसम्बन्धी विवादले राजनीतिक ध्रुवीकरण बढ्नु आदि।
यसरी युरोपको समस्या केवल आर्थिक वृद्धिको सुस्ततामा सीमित छैन। यो सामाजिक सुरक्षा, आर्थिक वितरण, जनसांख्यिक परिवर्तन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र राजनीतिक व्यवस्थासँग जोडिएको बहुआयामिक संकट हो।
आन्दोलन र असन्तुष्टिको कारण
हामी युरोप भ्रमण गरिरहेका बेला ती मुलुकका विभिन्न ठाउँमा आन्दोलन भइरहेको थियो। पाल टाँगेर बसेका र जुलुस र भाषण गरिरहेका समुदायलाई हामीले ठाउँठाउँमै भेट्यौं। भइरहेका ती आन्दोलनलाई उनीहरूका सामाजिक तथा आर्थिक पृष्ठभूमिमा बुझ्नुपर्ने हुन्छ।
फ्रान्समा पेन्सन, श्रमिक अधिकार, सार्वजनिक सेवाको संरक्षण, शिक्षा र सरकारी खर्चसम्बन्धी नीतिविरुद्ध लामो समयदेखि आन्दोलन हुँदै आएको रहेछ। त्यहाँ ट्रेड युनियन र विद्यार्थी संगठन राजनीतिक तथा सामाजिक परिवर्तनका प्रभावशाली शक्ति रहेछन्। सरकारी नीतिले श्रमिक र सामान्य नागरिकको जीवनमा प्रतिकूल असर पार्ने देखिएमा सडक आन्दोलन चर्किने परम्परा फ्रान्समा बलियो रहेछ।
स्पेनमा पछिल्ला वर्षहरूमा आवासको समस्या आन्दोलनको प्रमुख विषय बनेको रहेछ। बार्सिलोना, म्याड्रिड र अन्य पर्यटकीय सहरमा घरभाडा अत्यधिक बढेको रहेछ। पर्यटकलाई लक्षित आवास व्यवसाय विस्तार हुँदा स्थानीय बासिन्दाले आवास पाउन कठिनाइ भोगिरहेका रहेछन्।
यसले पर्यटनबाट प्राप्त आम्दानी र स्थानीय नागरिकको जीवनबिच अन्तर्विरोध सिर्जना गरेको रहेछ। स्पेनमा युवाको रोजगारी, न्यून तलब र अस्थायी श्रम पनि आन्दोलनका विषय रहेछन्।
इटालीमा श्रमिक संगठनहरूले तलब वृद्धि, पेन्सन, रोजगारी, सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको संरक्षणका लागि हड्ताल तथा प्रदर्शन गर्दै आएका रहेछन्। सरकारी खर्चको प्राथमिकता, सैन्य बजेट र सामाजिक सेवामा लगानीको विषयले पनि राजनीतिक बहसलाई प्रभावित गरेको रहेछ।
स्विट्जरल्यान्डमा भने फ्रान्स र इटालीको जस्तो व्यापक राजनीतिक हड्तालको परम्परा कम भए पनि आवास, घरभाडा, आप्रवासन र सामाजिक असमानताका विषयमा प्रदर्शन भइरहेका रहेछन्। जेनेभा र जुरिकका आवास सम्बन्धी प्रदर्शन त्यसका उदाहरण रहेछन्।
यी आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष युवा पुस्ताको असन्तुष्टि हो। पुरानो पुस्ताले औद्योगिक विकास, स्थायी रोजगारी, सापेक्षतः सुलभ आवास र सामाजिक सुरक्षाको विस्तारको लाभ प्राप्त गरेको रहेछ।
नयाँ पुस्ताले भने महँगो शिक्षा, अस्थायी रोजगारी, बढ्दो घरभाडा र भविष्यप्रतिको अनिश्चितता अनुभव गरिरहेको रहेछ। उच्च शिक्षा हासिल गरे पनि अपेक्षित रोजगारी नपाउनु, आफ्नै आम्दानीबाट घर किन्न कठिन हुनु र परिवार निर्माण गर्नसमेत आर्थिक असुरक्षा महसुस गर्नु युवाहरूको असन्तुष्टिका कारण देखिन्छन्।
युरोपमा वामपन्थी विचारको पुनरूत्थान
युरोपको वर्तमान राजनीतिक अवस्थाको अर्को महत्त्वपूर्ण पक्ष वामपन्थी र दक्षिणपन्थी दुवै धारको सक्रियता रहेछ। आर्थिक समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा, आवासको अधिकार र सार्वजनिक सेवाको संरक्षणजस्ता मुद्दा फेरि राजनीतिक बहसको केन्द्रमा आउन थालेका रहेछन्। यी परम्परागत रूपमा वामपन्थी राजनीतिक विचारका मुख्य विषय हुन्।
फ्रान्समा श्रमिक संगठन र वामपन्थी राजनीतिक समूहको सक्रियता, स्पेनमा सामाजिक आवास र श्रमिक अधिकारका पक्षमा उठेका आवाज तथा इटालीमा आमहड्तालको परम्पराले वामपन्थी विचारका लागि नयाँ राजनीतिक अवसर सिर्जना गरेका रहेछन्।
तर युरोपमा वामपन्थीहरू निर्णायक बनिसकेका छन् भन्ने निष्कर्ष निकाल्न भने मिल्ने अवस्था देखिँदैन। त्यहाँ दक्षिणपन्थी राजनीतिक शक्तिहरू पनि बलिया रहेछन्। आप्रवासन, राष्ट्रिय पहिचान, सुरक्षा, बेरोजगारी र सांस्कृतिक परिवर्तनका मुद्दालाई उठाएर उनीहरूले जनमत आकर्षित गरिरहेका रहेछन्।
कतिपय देशमा स्थापित राजनीतिक दलप्रतिको असन्तुष्टिले दक्षिणपन्थी शक्तिलाई पनि लाभ पुर्याएको रहेछ।
यसको अर्थ युरोपेली समाजभित्र दुई वटा राजनीतिक प्रवृत्ति समानान्तर रूपमा अघि बढिरहेका देखिन्छन्। वामपन्थीहरू आर्थिक असमानता घटाउन, श्रमिक अधिकार बलियो बनाउन र सार्वजनिक सेवाको संरक्षण गर्नुपर्ने पक्षमा देखिन्छन् भने दक्षिणपन्थीहरू आप्रवासन नियन्त्रण, राष्ट्रिय पहिचान र कडा सुरक्षा नीतिलाई प्राथमिकता दिने पक्षमा देखिन्छन्।
दुवै धारले वर्तमान सत्तासीन मध्यपन्थी धारका विरुद्ध जनताको असन्तुष्टिलाई आफ्नो राजनीतिक आधार बनाउने प्रयास गरिरहेका रहेछन्।
यस सन्दर्भमा युरोपको यात्राका क्रममा त्यहाँ भइरहेको आन्दोलन र त्यहाँ गुन्जिरहेको प्रसिद्ध अन्तर्राष्ट्रिय क्रान्तिकारी गीत 'भोकानांगा उठ' का सन्दर्भमा मैले त्यहाँको श्रमिक आन्दोलनको इतिहासलाई सम्झेँ।
फ्रान्सेली श्रमिक कवि युजेन पोतियेले सन् १८७१ मा पेरिस कम्युनका क्रममा लेखेको 'इन्टरनेसनल' गीत विश्व श्रमिक आन्दोलनको प्रसिद्ध गीत बनेको थियो। यसको आह्वान 'उठ, धर्तीका उत्पीडित र अभावग्रस्त मानिस हो' भन्ने भावमा केन्द्रित छ।
पछि पियरे द गेतेले संगीतबद्ध गरेपछि यो गीत विश्वभरका समाजवादी, कम्युनिस्ट र श्रमिक आन्दोलनको साझा प्रतीक बनेको थियो।
आज युरोपका सडकमा फेरि त्यही गीत गाएर श्रमिक अधिकार, सामाजिक न्याय, समानता र सार्वजनिक सेवाका पक्षमा आवाज उठिरहेको सुन्दा पुँजीवाद असफल हुँदै गएको र त्यसका विरुद्ध कम्युनिस्ट आन्दोलन उठिरहेको अनुभव गर्न सकिन्छ।
यसको अर्थ पुरानो कम्युनिस्ट आन्दोलन जस्ताको तस्तै फर्किँदै छ भन्ने चाहिँ होइन। पुँजीवादी विकासले सिर्जना गरेको असमानता र सामाजिक असन्तुष्टिले युरोपमा वामपन्थी विचारका लागि नयाँ बहसको ठाउँ बनाएको भने अवश्य हो।
यी आवाजलाई संगठित राजनीतिक विकल्पमा बदल्न सक्ने वा नसक्ने भन्ने कुरा आगामी दिनको युरोपेली राजनीतिले निर्धारण गर्नेछ।
यात्राले दिएको अनुभूति
युरोप भ्रमणका क्रममा हामीले देखेका भव्य भवन, व्यवस्थित यातायात, आधुनिक बजार, ऐतिहासिक सम्पदा र सुविधासम्पन्न जीवनशैलीले त्यहाँको विकासप्रति प्रशंसा गर्न मन लाग्यो तर त्यही समाजमा मागेर बसेका मानिस, सडकपेटीमा रात बिताउने घरबारविहीन व्यक्ति र असुरक्षित जीवन बिताउन बाध्य मानिस देख्दा समृद्धिको परिभाषामाथि पनि पुनर्विचार गर्न मन लाग्यो।
एउटा समाजले अत्याधुनिक प्रविधि विकास गर्न सक्छ, विश्वस्तरीय विश्वविद्यालय सञ्चालन गर्न सक्छ, अन्तर्राष्ट्रिय वित्तीय कारोबारको केन्द्र बन्न सक्छ तर आफ्नै नागरिकलाई आवास र सम्मानजनक जीवनको सुनिश्चितता दिन नसके त्यसको विकास अपूर्ण रहन्छ।
हामीले युरोपका विभिन्न देशका बजारमा घुम्दा दैनिक उपभोगका वस्तु निकै महँगा पायौं। तुलनात्मक रूपमा स्पेन केही सस्तो देखिए पनि स्विट्जरल्यान्ड, फ्रान्स र इटालीमा मूल्यस्तर उच्च थियो।
अझ रोचक कुरा, युरोपेली बजारमा युरोपकै उत्पादन भनेर खोज्दा कतिपय वस्तु चीन, भियतनाम र बंगलादेशमा निर्मित भेटिन्थे। यसले विश्व उत्पादन प्रणालीमा चीनको बढ्दो प्रभाव र युरोपको बदलिँदो औद्योगिक अवस्था पनि संकेत गरेको अनुभूति भयो।
कुनै समय विश्व उत्पादन र व्यापारको नेतृत्व गरेको युरोप अहिले प्रविधि, उत्पादन लागत र विश्वव्यापी प्रतिस्पर्धाको नयाँ चरणमा उभिएको देखिन्छ।
युरोपको वर्तमान अवस्थालाई नेपालजस्तो विकासोन्मुख देशका दृष्टिबाट हेर्दा धेरै कुरा सिक्न सकिन्छ। विकास भनेको केवल सडक, पुल, भवन, उद्योग र प्रविधिको विस्तार होइन रहेछ। त्यसको लाभ समाजका सबै वर्गसम्म पुग्नु, नागरिकले सम्मानजनक जीवन बिताउन पाउनु, युवाले भविष्यप्रति आशावादी हुन सक्नु र श्रमिकले आफ्नो श्रमको उचित मूल्य प्राप्त गर्नु वास्तविक विकासका आधार हुन्।
तर चरम पुँजीवादको विकास भएका युरोपका मुलुकमा यी पक्षहरू भने कमजोर हुँदै गएका देखिन्छन्। युरोपको अहिलेको असन्तुष्टि र उत्पन्न संकट पनि यही नै हो।
युरोप आज सामाजिक सञ्जालमा आएजस्तो समाप्तिको दिशामा गयो भन्ने चाहिँ अनुभव भएन। त्यहाँको ज्ञान, विज्ञान, अनुसन्धान, लोकतान्त्रिक संस्था, नागरिक अधिकार र सामाजिक चेतनाको महत्त्व अझै विश्वव्यापी छ तर विगतमा विश्व अर्थतन्त्र र राजनीतिमा कायम गरेको निर्विवाद प्रभुत्व भने चुनौतीमा परेको देखिन्छ।
आर्थिक शक्तिको केन्द्र परिवर्तन भइरहेको छ। अमेरिका र चीनबिचको प्रतिस्पर्धा, ऊर्जा सुरक्षाको प्रश्न, युद्ध र भूराजनीतिक तनाव, आप्रवासन, जनसांख्यिक परिवर्तन र सामाजिक असमानताले युरोपलाई नयाँ ढंगले सोच्न बाध्य बनाएका छन्।
मलाई लाग्छ, युरोपको अहिलेको संकटलाई बुझ्ने सबैभन्दा उपयुक्त दृष्टिकोण यही हो— समृद्धिको उपलब्धि कायम राख्दै त्यसलाई अझ न्यायपूर्ण र समावेशी कसरी बनाउने? विकासको लाभ सीमित वर्गमा केन्द्रित हुन नदिई सामान्य नागरिकको जीवनमा कसरी पुर्याउने? पुँजी, प्रविधि र बजारको विस्तारसँगै श्रमको सम्मान, सामाजिक सुरक्षा र मानवीय मूल्यलाई कसरी जोगाउने?
यिनै प्रश्नको उत्तर खोज्ने क्रममा युरोप आज एउटा ऐतिहासिक मोडमा उभिएको देखिन्छ।
युरोपका सडकमा सुनिएका आन्दोलनका आवाजलाई असन्तुष्टि वा अव्यवस्थाको संकेतका रूपमा मात्र लिनु हुँदैन। ती आवाजभित्र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ता, श्रमिकको सम्मानजनक जीवनको माग र समाजलाई अझ समानतामूलक बनाउने आकांक्षा पनि छ।
त्यहाँ फेरि उठ्न थालेको सामाजिक न्याय र श्रमिक एकताको स्वरले एउटा पुरानो प्रश्नलाई नयाँ सन्दर्भमा उठाएको छ— समृद्ध समाजको वास्तविक मापन के हो? केही मानिसको असीमित सम्पत्ति कि बहुसंख्यक नागरिकको सम्मानजनक जीवन?
युरोपको यात्रा गर्दा मैले आँखामा विकास र समृद्धिको चमक मात्र लिएर फर्किनँ, त्यसको भित्री अन्तर्विरोध, गरिबी, सामाजिक असन्तुष्टि र परिवर्तनको आकांक्षा पनि नजिकबाट बुझ्ने अवसर पाएँ।
युरोपको बाहिरी वैभव र भित्री संघर्ष दुवैलाई सँगसँगै हेर्दा एउटा निष्कर्षमा पुग्न सकिन्छ— सभ्यताको उचाइ भौतिक सम्पन्नताले मात्र निर्धारण गर्दैन। त्यस समाजले आफ्ना नागरिकलाई कति समानता, न्याय, स्वतन्त्रता र मानवीय सम्मान दिन सकेको छ भन्ने कुराले पनि निर्धारण गर्छ।
***