गाउँमा त्यो बेला दसैँ सहज, निर्मल, शान्त, स्वतःस्फूर्त, रमाइलो थियो। तथापि, मानिसहरू ‘आयो दसैँ, ढोल बजाई, गयो दसैँ, ऋण बोकाई’ भन्थे। आखिर मानिस असन्तोषी जात न पर्यो, जे हुँदा, जे गर्दा पनि असन्तोष।
बारीका केरा र बेलौती, बारीको काँक्रो, घिरौँला, चिचिण्डो, करेला, भिरपाखाको बाबियो र घरगाउँकै बाँसको लिङ्गे पिङ, रुवाटे पिङ, चौडाले पिङ, नेपाली कागजको चङ्गा, खेतको धानका सेल, बारीको पेलेको तोरी, घिउ, दूधको दही सबै आफ्नै गोठको गाईभैँसीको, अनि केवल यति मात्र होइन, घरै पालेको बोको, खसी, कुखुरा, हाँस, पाडो, बङ्गुर आदिको सिकार। थिएन त केवल गरम मसला, नयाँ नोट र बच्चालाई लुगाकपडा, त्यो मात्र बजारबाट किन्ने।
एक घरदेखि अर्को घर टीका लगाउन जान पनि हिँडेर पर्ने चलन थियो। पेट्रोल, डिजेल चाहिने थिएन, न त ईभी चार्जिङ नै थियो। त्यसैले सस्तो, सहज, आत्मीय थियो। अहिले सबैतिर बाटो विकास आएको छ, सवारीको प्रयोग तीव्र छ।
बाटोमाथि माटामुनिको पसलमा मसला, नुन किन्न पनि स्कुटर, बाइकमा जाने चलन छ। त्यसैले त जिमखाना चलेका छन्। रोग भित्रिएको छ, बच्चैमा प्रेसर, सुगर, थाइराइड भेटिएको छ, खानामा मिसावट छ, हावा अशुद्ध, मनमा बेचैनी छ, हाँसो बनावटी छ।
सालमा एकदफा जडीबुटी खाएको च्याङ्ग्रा खान रहर गरे पैसा तिर्नुपर्यो, नत्र दक्षिणाबाहेक अरू खर्च शून्य थियो र पनि मान्छे गुनासो गर्दथे, यति ऋण लाग्यो, उति ऋण लाग्यो। हाम्रो बानीव्यवहारमा उत्तेजना र उन्मादले हामीलाई खाँदैछ।
पेडा, बर्फी, मिठाई होइन कि सेल, फिनी, झर, अर्सा, अनरसा जस्ता घरेलु परिकार, जो सम्पूर्ण रूपमा चामलबाट बन्दछन्, साथै कृषि उपजमा आधारित छ यो पर्वको उपहार, मिठास तथा मिष्टान्न अति नै कम खर्चिलो र सहज थियो, जुन सबै परम्परा अहिले हराउने क्रममा छ। नयाँ पुस्ता पुरानो तरिकामा अभ्यस्त छैन या पुरानो पुस्ताले संस्कार हस्तान्तरणमा कमजोरी गरे।
बालखालाई घाँघर, स्कर्ट, सर्ट, पाइन्ट, स्वेटर, मोजा, जुत्ता, टोपी जे भए पनि एउटा नयाँ लुगा किनेपछि के के नै हुन्थ्यो। कहाँको अहिलेको यत्रतत्र सेल, बजार लागेको, सस्तोले तानेको छ, चाहिने र नचाहिने बटुलेको छ, घरमा थुपारेको छ।
अहिले त सबैथोक बजार, सिवाय पाहुना, आगन्तुक, इष्टमित्र, जो टीका थाप्न आउँछन्, अरू सबै किन्नुपर्ने पीडा किन नहोस्। त्यसै त कुरा काट्ने हामी, अब त यावत् किन्न परेपछि दसैँ किन आउँदो हो भन्ने पनि गरिन्छ, सुनिन्छ यदाकदा।
हिलो, मैलो, पानीको वर्षा हरायो भन्ने कुरा कवितामा मात्र हुन्छ। उहिले शरद् ऋतु, सुन्दर बेला मानिन्थ्यो। मानिसहरू बिन्दास चाड मनाउँथे। बाढी, पहिरो, वर्षा, झरी र बादलको झोक थिएन। मानिसहरू खुला आकाश हेरेर आनन्दित हुन्थे, जुन हेरेरै जमरा राख्दथे।
तर आजकल जलवायु परिवर्तनको असर छ। जतिवेला पानीको झोक छ। केही वर्षयता सरेको मनसुन दसैँमा पनि गर्मी लाग्छ, शीतल छैन, जलवायुमा उथलपुथल छ। कृषि उकास्ने दसैँ आजकल विदेशको व्यापार बढाउने अस्त्र बनेको छ। आयातित दसैँ जस्तै भएको छ। आर्थिक समृद्धि देशमै बढाउने कुरामा शङ्का छ। उता विदेशबाट ल्याएको विप्रेषण अर्थात् रेमिट्यान्स उतै जाँदैछ।
एकजना गाउँले दाइलाई फोन गरेर, ‘दाइ, दसैँ आयो,’ भनेको, उनी भन्दै थिए, ‘यस्ता दसैँ चालिस, पैँतालीस देखिएन र आउँछ, जान्छ, यस्तै छ।’ बोलीमा निराशापन थियो। लाग्छ, खल्ती खालीको निराश जवाफ थियो।
रेमिट्यान्सले दसैँ चलेको छ देशमा, डलर र युरो आएको छ, बैंकतिर चहलपहल छ। क्यूआर कोड तथा अनलाइन भुक्तानीमा बाढी आएको छ। यो दसैँ एक आर्थिक पर्व हो भन्ने झलक दिएको छ। खर्च गर्ने, रमाउने, पैसा उडाउने, रमाइलो गर्ने पर्व बनेकाले आर्थिक रौनक दिएको छ। खरिद किनमेल बढेको छ, व्यापारव्यवसाय केही मात्रामा भए पनि उकासिने छ, यो उन्नति नै हो, आर्थिक विकास नै हो।
यस अर्थमा दसैँ व्यवसायिक मानिसका लागि खास छ। जुन विगतमा कम थियो, दसैँले आजकल अधिक अर्थ राख्छ। अन्य समयकालखण्डमा खरिदमा अधिक होसियारी र विवेक पुर्याएर खर्चिने हामी यो बेला केवल खरिदीमा हौसिन्छौँ। यसैले पनि दसैँ व्यापारी र उद्योगीलाई खासै अर्थ छ। यसैले दसैँ बचाउनु, जोगाउनु यो वर्गको पनि जिम्मा हो। अन्यथा दसैँ केवल बिदा, घुमफिर, जुवातास, अनलाइन गेममा सीमित रहने छ।
धार्नी, बिसौली, भागशेर, खुट्टा मिलिजुली खाने तरिका छैन। सके खसी, नभए किलो किलो ल्यायो, खायो छ। मेलमिलाप, सौहार्दता कता कता हरायो। मानिस सभ्य भए यस मानेमा कि उनीहरू साटासाट, मेलमिलाप, आदानप्रदान, मिलीजुली गर्दैनन्, चाहे पर्वमा होस् या अन्य समयमा।
धेरैलाई दसैँ तासजुवा, विदेश भ्रमण, रक्सी खाने, कम्प्युटर गेम, मोबाइल चलाउने खास समय मिलेको छ। चाडको रौनक, भवानीको पूजा, आराधना, आरती, भक्तिभाव, पूजा, प्रार्थनामा कमी छ। मानिस आफैँ नै सबैथोक भन्ने ठान्छन् र परम्परा केवल विलासी समय, रमाउने बहाना मिलेको छ। आस्था र विश्वासको धरोहर टुटेको छ।
साथै लामो, विशाल, सर्वत्र मनाउने चाड खुम्चिँदै गएको छ। व्यवसायीको आर्थिक उत्थान गर्ने पर्व अब केवल लामो बिदामा सीमित छ, मनाउने विधि, तरिका फरक बन्दैछ। सरकार, राज्य निकायको यसमा प्राथमिकता घटेको छ। सोच खस्केको छ। नेपालीहरू दसैँताका घर छाड्ने बढेका छन्, कुनै उताबाट दसैँ मान्न आउने, यताका उता जाने बढेको छ।
पचासौँ लाख जन विदेशिनुपर्ने बाध्यताको बाबजुद पनि दसैँ खुम्चिएको छ। त्यो जमात उतै कतै परदेशमा दसैँ मनाउँदैछ, यताको जमात दसैँलाई धार्मिक, सांस्कृतिक पर्वभन्दा पनि लामो बिदा र फुर्सदको समय मानेर अन्यत्र सोच्दैछ, ताकि उसलाई न त ठूला मान्यवरको आशीर्वाद नै चाहिन्छ, न त दुर्गा देवी माताको कृपा नै। पर्व केवल शुभकामनामा टुङ्गिँदैछ, औपचारिकतामा खुम्चिँदैछ।
चण्डी, दुर्गाकवच, सप्तशती पाठ गर्ने पुस्ता सकिँदैछ। धर्म, पूजा, पर्व, परम्परा मात्र पण्डितको ठेक्कामा छाड्ने लहर आएको छ। बालबच्चाहरूमा दसैँको अर्थ खानु, खेल्नु, घुम्नु, बिदा मनाउनु रहेको छ। सत्यको असत्यमाथिको विजय, दानवी शक्तिमाथि दैवी शक्तिको विजयलाई पर्वको मूल मन्त्र हो भन्ने सन्देश हराएको छ।
दसैँका सीआरबीटी, पीआरबीटी रेडियोमा घन्किने गाउँघर अहिले सबै मोबाइलमा व्यस्त छन्। मानिसको जीवनशैली बनेको छ मोबाइल। प्रविधिको प्रयोग त जायजै होला तर प्रविधिले पर्व, संस्कार, परम्परा, इतिहास, रिवाज, रीतिथिति सबै बिर्साउने अवस्था छ।
नोट लिने लाइन, बोका, पाठा, खसी, च्याङ्ग्रा किन्ने लाइन, बजारमा सपिङ गर्ने लाइन बढ्दो भए तापनि मन्दिर, मठ, देवालयतिर लाइन घट्दो छ। नयाँ पुस्तामा पूजा, आराधना, प्रार्थना, ध्यान, पाठ, स्तुति, व्रत सबै हराएको छ, जसमा पुरानो पुस्ता जिम्मेवार छ।
अन्त्यमा फेरि पनि सस्तो दसैँ मनाउने अभ्यास गरौँ, पुराना राम्रा, सजिला संस्कारलाई जोगाऔँ, बढाऔँ, सिकाऔँ। दसैँ डिजिटल होइन, अर्गानिक मनाऔँ। चाडपर्वलाई बोझ होइन, हामीलाई जीवन्त बनाउने परम्परा मानौँ। नयाँ पुस्तामा चेतना जगाऔँ।