साउन लाग्नासाथ मुगु जिल्लाको उत्तरी सीमा क्षेत्रसँग जोडिएका गाउँमा चहलपहल बढ्छ।
घरघरमा सामानको सूची बन्न थाल्छ। कसैलाई नुन चाहिन्छ, कसैलाई चामल। कसैले तेल खोज्छन्, कसैले चिनी। वर्षभरि पुग्ने कपडा, कम्बल, भाँडाकुँडा र दैनिक उपभोग्य सामानको जोहो गर्नुपर्ने हुन्छ।
तर, यी सबैका लागि मुगुका बासिन्दासँग समय भने जम्मा १५ दिन मात्र हुन्छ।
साउन १ देखि १५ गतेसम्म तिब्बततर्फ अस्थायी हाटबजार खुल्छ। यही छोटो समय मुगुको पूर्वी क्षेत्रमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि वर्षभरि जीवन धान्ने अवसर हो। हाटबजार उठेपछि पैसा भएर पनि सामान किन्न पाइँदैन। व्यापारी फर्किन्छन्, बाटो सुनसान हुन्छ र मुगाली फेरि अर्को साउनको प्रतीक्षामा बस्न बाध्य हुन्छन्।
मुगुम कार्मारोङ–२, मुगु गाउँका ५३ वर्षीय उर्गिन लामा यही १५ दिने व्यापारिक सम्बन्धका साक्षी हुन्। उनले तिब्बतसँग व्यापार गर्न थालेको करिब डेढ दशक भयो। उनी १२ वर्षको उमेरमै भारी बोकेर तिब्बत जान थालेका थिए।
'तिब्बतसँग हाम्रो व्यापारिक साइनो १५ दिनको छ,' उर्गिन भन्छन्, 'सरकारले हाम्रो सम्बन्ध विस्तार गर्न सकेन। हामीले चाहेर मात्र तिब्बतसँगको व्यापार बढाउन सक्ने अवस्था छैन।'
उनको चाहना वर्षभरि नभए पनि कम्तीमा एक महिनासम्म तिब्बतमा व्यापार गर्न पाउनु हो। तर, सीमा क्षेत्रमा लागू नियमले उनलाई साउनका १५ दिनबाहेक व्यापार गर्न दिँदैन।
त्यसैले वर्षमा एकपटक मात्र तिब्बती व्यापारीसँग भेट हुन्छ। चिनजान भएका व्यापारीसँग पुरानो सम्बन्ध दोहोरिन्छ। अनि १५ दिनभित्रै वर्षभरि चाहिने सामान किनेर फर्किनुपर्छ।
'एक वर्षपछि साउनका १५ दिन मात्र तिब्बती व्यापारीसँग भेट हुन्छ। त्यही अवधिभित्र जति सामान किन्न सकिन्छ, किनेर ल्याउनुपर्छ,' टासी सुनाउँछन्, 'अवधि सकिएपछि पैसा भएर पनि किनमेल गर्न मिल्दैन। हाटबजार उठेर गइहाल्छ।'
मुगु गाउँका छिरिङ लामाका लागि साउनको प्रतीक्षा कुनै पर्व पर्खेजस्तै हुन्छ। साउन कहिले लाग्ला र तिब्बत पुगेर सामान किनौंला भन्ने सोच्दै उनका दिन बित्छन्।
तिब्बतबाट ल्याएको सामानले अर्को साउनसम्म घर धान्नुपर्छ। तर, कहिलेकाहीँ हाटबजार लाग्नुअघि नै घरको खाद्यान्न सकिन्छ। त्यसपछि छिमेकीसँग पैँचो माग्नुपर्ने अवस्था आउँछ।
'साउन महिना कहिले लाग्ला र तिब्बतमा सामान किन्न तथा जडीबुटी बेच्न जाउँला भनेर दिन गनेर बस्नुपर्छ,' छिरिङ भन्छन्, 'सरकारले वर्षभरि तिब्बतसँग व्यापार गर्न मिल्ने नियम बनाइदिएको भए यस्तो दुःखकष्ट गरेर किन बस्नुपर्थ्यो?'
मुगु गाउँ जिल्ला सदरमुकाम गमगढीबाट करिब २८ कोस टाढा छ। गाउँ तिब्बतको सीमासँग जोडिएको छ। करिब दुई सय परिवार बसोबास गर्ने यस क्षेत्रमा मानिसको आवतजावत नेपाली भूभागभित्रै भए पनि दैनिक जीवनको ठूलो हिस्सा तिब्बतसँग जोडिएको छ।
गाउँमा उत्पादन न्यून छ। त्यसैले गास र कपासका लागि यहाँका बासिन्दा तिब्बतमाथि निर्भर छन्।
दुई दिन भारी बोकेर, एक दिन रित्तै
मुगु गाउँबाट तिब्बत पुग्न भारी बोकेर करिब दुई दिन लाग्छ। रित्तै फर्किँदा भने एक दिनमै आइपुगिन्छ।
नेपालतर्फको बाटो भने कठिन छ। गमगढीबाट मुगु लुम्स, छाइल, रिउस, पूलु, तिहारबगर, चितैकुना र सिरानीचौर हुँदै मुगु गाउँ पुग्न करिब तीन दिन लाग्छ।
त्यसैले मुगालीलाई आफ्नै देशको सदरमुकाम पुग्नुभन्दा तिब्बत पुग्न सजिलो लाग्छ।
मुगु गाउँबाट रातापानी, पुरानो मुगु, टाँकेखोला, रानीओढार र रिमार हुँदै १३ नम्बरको सीमा स्तम्भमा पुगिन्छ। त्यसपछि तिब्बती भूमि सुरू हुन्छ।
बाटोमा ठूला भीरपाखा र कठिन अवरोध कम भएकाले स्थानीयका लागि तिब्बत जाने बाटो सहज छ। यही भौगोलिक सहजताले पनि उनीहरूको जीवनलाई तिब्बतसँग जोडेको छ।
१५ दिने हाटबजारबाट मुगालीले नुनदेखि कम्बलसम्मका सामान किनेर ल्याउँछन्। चामल, मैदा, नुन, तेल, घिउ, चिनी, साबुन, चाउचाउ, जुस, रक्सी, तिब्बती चिया, कम्बल, छालाका सामान, जुत्ता, चप्पल र भाँडाकुँडासम्मका सामग्री वर्षभरिका लागि जोहो गरिन्छ।
आफ्नै गाउँमा उत्पादन न्यून हुने भएकाले तिब्बतबाट ल्याएको खाद्यान्नले अर्को साउनसम्म धान्नुपर्ने बाध्यता छ।
तर, व्यापार सहज छैन। तिब्बती भाषा नबुझ्ने अधिकांश स्थानीयलाई आफूले किनेको सामानको मूल्य र गुणस्तरमा ठगिने डर हुन्छ।
स्थानीयका अनुसार चिनियाँ मुद्रा 'सुक्कुर' को मूल्य बढ्दै जाँदा तिब्बतबाट ल्याइने खाद्यवस्तु र लत्ताकपडा पनि महँगिँदै गएका छन्।
सामान किन्न पैसा मात्र पुग्दैन
तिब्बत जाँदा मुगाली खाली हात जाँदैनन्। घरबस्ती आसपासका वनजंगलबाट संकलित जडीबुटी, पाटनमा पाइने यार्सागुम्बा, उवाको सातु र नगद पैसा साथमा हुन्छ।
उता तिब्बती बजारबाट भारी सामान किनेर फर्किनुपर्छ। मानिसले सबै भारी बोक्न नसक्ने भएकाले चौंरी, झोवा, घोडा र खच्चरलाई भरियाका रूपमा प्रयोग गरिन्छ।
१५ दिनसम्म यी पशु पनि उनीहरूको व्यापारिक यात्राका साथी बन्छन्।
मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार स्थानीयलाई सबैभन्दा पहिले सडक चाहिएको छ।
'हामीलाई सरकारले पक्की सडक बनाइदिए पुग्छ,' उनी भन्छन्।
उनका अनुसार भूगोल र जनसंख्याका आधारमा बजेट विनियोजन हुँदा मुगुजस्तो दुर्गम क्षेत्रले पर्याप्त बजेट पाउन सकेको छैन। बाटो, खानेपानी, विद्यालय र क्षमता विकासजस्ता आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन छ।
तिब्बती अस्थायी हाटबजार लाग्ने हयाजिमारबाट करिब एक किलोमिटरको दूरीमा हर्वा, पार्याङ, क्याला र नाक्छुजस्ता तिब्बती लेकाली बस्ती छन्।
मुगु गाउँका कार्मानोर्बुल लामाका अनुसार हयाजिमारबाट तिब्बतको ल्हासा पुग्न गाडीमा करिब दुई दिन लाग्छ।
'उता व्यापारीहरू जिप लिएर आउँछन्, हामी यता चौंरी र झोवा लिएर जान्छौं,' उनी भन्छन्।
मुगुम कार्मारोङ गाउँपालिकाका जनप्रतिनिधिले पछिल्ला वर्षमा तिब्बत पुगेर व्यापारका विषयमा दुई पक्षबीच छलफलसमेत गर्दै आएका छन्।
तर, स्थानीयको चाहना छलफलमा मात्र सीमित छैन। उनीहरू नियमित व्यापारिक सम्बन्ध स्थापित होस् भन्ने चाहन्छन्।
मुगुम कार्मारोङ–दाउरा गाउँका ४२ वर्षीय जिक्मेद लामाको एउटा सपना छ— गाडी चढेर तिब्बत पुग्ने।
उनले तिब्बतबाट सामान ल्याउन थालेको आठ वर्ष भयो। करिब छ वर्षअघि गमगढीसम्म गाडी पुगेपछि नाक्चेनाङ्लासम्म पनि गाडी पुग्ला भन्ने उनलाई लागेको थियो। तर, सडक निर्माणको गति हेर्दा उनको सपना अझै अधुरै छ।

'भोट माग्ने बेला नाक्चेनाङ्ला सडक बनाइदिन्छौं भन्छन्,' उनी गुनासो गर्छन्, 'जितेपछि वास्ता गर्दैनन्।'
कर्णाली प्रदेशकै गौरवको आयोजना मानिएको गमगढी–नाक्चेनाङ्ला सडक निर्माण सुरु भएको लामो समय बितिसकेको छ। गमगढीदेखि नाक्चेनाङ्लासम्म करिब ८५ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ। तर, हालसम्म छाइल गाउँसम्म करिब २१ किलोमिटर मात्र ट्र्याक खुलेको छ।
अझै करिब ६८ किलोमिटर सडक खन्न बाँकी छ।
सडकको कुल लागत करिब ८० करोड रूपैयाँ अनुमान छ। तर, हालसम्म करिब १५ करोड रुपैयाँ मात्र खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
स्थानीयको गुनासो छ— ठेक्का खोल्ने, ठेकेदार छनोट गर्ने र काम सुरू गर्ने क्रम दोहोरिन्छ, तर सडक निर्माणको गति भने कछुवाको चालमा छ।
मुगुका नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लका अनुसार नेपालको उत्तरी सीमाका सात नाकामध्ये नाक्चेनाङ्ला सबैभन्दा छोटो र सहज नाका हो।
'ठेक्काबाट सडक बन्ला भन्ने आशा लाग्दैन,' उनी भन्छन्, 'काम छिटो गर्न नेपाली सेनालाई दिनुपर्छ।'
उत्तरी सडक निर्माणका लागि राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधिले पटक पटक सरकारलाई दबाब दिँदै आएका छन्। तर, निर्माणले अपेक्षित गति लिन सकेको छैन।
कर्णाली नदीको किनारैकिनार भएर सीमा क्षेत्रमा पुग्ने भएकाले सडक निर्माणमा ठूलो भौगोलिक कठिनाइ नरहेको स्थानीयको भनाइ छ।
तिब्बतसँग जोडिएको मुगुको उत्तरी क्षेत्र व्यापारका लागि मात्र होइन, पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।
छायाँनाथ, तिहारबगर, कोइजी मरक्का हिमाल र माथिल्लो मुगुका रमणीय भूभागले पर्यटकलाई आकर्षित गर्न सक्छन्। विशाल वनजंगल, वन्यजन्तु र जलस्रोतले यस क्षेत्रको प्राकृतिक सौन्दर्य थप बढाएका छन्।
बौद्ध धर्मावलम्बीका करिब १२ सयभन्दा बढी चिटिम गुम्बा रहेको यस क्षेत्रको सांस्कृतिक महत्त्व पनि उत्तिकै ठूलो छ।
कर्णाली प्रादेशिक पर्यटन विकास समितिका संयोजक राजु कार्कीका अनुसार नाक्चेनाङ्ला सडक खुले चिनियाँ पर्यटकका लागि यो उत्कृष्ट पर्यटन मार्ग बन्न सक्छ।
डोल्फूको ताखाखानीमा अनुसन्धान तथा उत्खनन गर्न र यार्सागुम्बा पाइने क्षेत्रसम्म पुग्न पनि सडकले सहजता ल्याउने स्थानीयको विश्वास छ।
यस क्षेत्रलाई शिकार आरक्ष वा विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके वन्यजन्तु र प्राकृतिक सम्पदाका कारण पर्यटकको आकर्षण अझ बढ्न सक्छ।
एकातिर व्यापार बढाउने कुरा छ। अर्कोतिर राजस्व संकलन गर्ने सरकारी संयन्त्र भने सुनसान छ।
टासी लामा हरेक वर्ष साउनको प्रतीक्षा गर्छन्। उनका लागि साउन भनेको व्यापारको मौसम हो। चिनजानका तिब्बती व्यापारी भेटिने समय हो। वर्षभरिका लागि आवश्यक सामान जोहो गर्ने समय हो। जडीबुटी बेचेर घरखर्च जुटाउने समय हो।
तर, १५ दिनपछि त्यो संसार अचानक बन्द हुन्छ।
तिब्बती व्यापारी फर्किन्छन्। हाटबजार उठ्छ। चौंरी, झोवा, घोडा र खच्चरका घण्टीसँगै व्यापारिक बाटो फेरि सुनसान हुन्छ। मुगाली घर फर्किन्छन् र अर्को साउनको प्रतीक्षा गर्न थाल्छन्।
एकातिर दुई देशबीचको सीमा नजिकिँदै गएको छ। अर्कोतिर स्थानीयको व्यापारिक सम्बन्ध भने अझै १५ दिनमै सीमित छ।
मुगु गाउँका मानिसलाई वर्षभरि तिब्बतसँग व्यापार गर्न आवश्यक छ। तिब्बतलाई पनि मुगुबाट जाने जडीबुटी र स्थानीय उत्पादन चाहिन्छ। बाटो सहज छ, बजार नजिक छ र पुरानो चिनजान पनि छ।
तर, राज्यको नीति, सडक र भन्सार व्यवस्थाको कमजोरीले यो सम्बन्धलाई नियमित व्यापारमा बदल्न सकेको छैन।
त्यसैले टासीको भनाइ एउटा व्यापारीको गुनासोमा मात्र सीमित छैन। यो उत्तरी सीमामा बस्ने सयौं परिवारको साझा प्रश्न हो — अर्को साउन कहिले आउला?
नाका नखुल्दा चिन्तित मुगुम कार्मारोङका बासिन्दा
मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा यतिबेला फेरि गम्भीर चिन्ता र अन्योलमा परेका छन्। कोरोना महामारीका कारण विगत चार वर्षदेखि बन्द रहेको मुगुको उत्तरी नाक्चेनाङ्ला (हयाजिमार) व्यापारिक नाका अघिल्लो वर्ष खुलेपछि स्थानीयले सामान किनमेल गर्न पाएका थिए।
तर, यस वर्ष नाका नखुल्दा उनीहरू निराश भएका छन्।
प्रत्येक वर्ष साउन १५ गतेदेखि तिब्बतको अस्थायी व्यापारिक हाटबजार हयाजिमार सञ्चालन हुने गरेको थियो। हाटबजार सुरु हुनुभन्दा कम्तीमा एक महिनाअघि चिनियाँ अधिकारीहरूले नेपाली जनप्रतिनिधिलाई सीमा क्षेत्रमा बोलाएर व्यापार, आवतजावत र सुरक्षाका विषयमा छलफल गर्ने परम्परा थियो।
तर, यस वर्ष नाका नखुल्दा स्थानीय सामान किनमेल गर्नबाट वञ्चित भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए।
अध्यक्ष लामाका अनुसार नाका खुल्ने पूर्वसंकेत वा तिब्बततर्फबाट कुनै सूचना नआएकाले यस वर्ष पनि सीमा नाका ठप्प भएको हो।
'विगतमा साउन लाग्नुअघि नै तिब्बतबाट खबर आउँथ्यो र हामी सीमामा पुगेर बैठक बस्थ्यौं,' अध्यक्ष लामाले भने, 'तर, यस वर्ष तिब्बतबाट कुनै खबर आएन। अब त जाडो सुरू भइसक्यो, नाका खुल्दैन।'

उत्तरी नाका चार वर्षसम्म निरन्तर बन्द हुँदा मुगुम कार्मारोङ गाउँपालिकाका करिब १७ वटा बस्तीका बासिन्दाको दैनिक जीवन कष्टकर बनेको छ। नाका खुला हुँदा स्थानीय घोडा, खच्चड, चौंरी र झोपा लिएर तिब्बती बजार पुग्थे। त्यहाँबाट वर्षभरिका लागि आवश्यक नुन, चामल, तेल, मैदा, चिनी, घिउलगायत खाद्यान्न सस्तो मूल्यमा किनेर ल्याउँथे।
तर, नाका बन्द भएपछि उनीहरू नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरिएका खाद्यान्नमा निर्भर हुनुपरेको छ। तराईबाट कार्मारोङसम्म खाद्यान्न पुर्याउँदा सामानको वास्तविक मूल्यभन्दा दोब्बर बढी ढुवानी भाडा तिर्नुपर्ने बाध्यता छ। यसले गाउँमा महँगी बढाएको छ भने स्थानीयको आर्थिक भार पनि थपिएको छ।
नाका बन्दको असर खाद्यान्न आयातमा मात्र सीमित छैन। स्थानीयको आम्दानीको मुख्य स्रोत मानिने जडीबुटी र कृषि उपजको बिक्रीमा पनि गम्भीर असर परेको छ।
कार्मारोङका पाखापखेरा र वन क्षेत्रमा संकलन गरिने यार्सागुम्बा, कटुकी, भोल्ते, वनलसुन, रातो च्याउ र गुच्ची च्याउजस्ता बहुमूल्य जडीबुटीको मुख्य बजार तिब्बत थियो। नाका बन्द भएपछि स्थानीयले यी जडीबुटी काठमाडौं वा नेपालगन्ज हुँदै भारततर्फ पठाउन बाध्य भएका छन्। तर, त्यहाँ उनीहरूले अपेक्षित मूल्य पाउन सकेका छैनन्।
माग्री गाउँका स्थानीय सोनाम छिरिङ लामा आफ्ना दुःख सुनाउँदै भन्छन्, 'नाका बन्द हुँदा जीवन निर्वाह गर्नै गाह्रो भएको छ। जंगलमा टिपिएको जडीबुटी बेच्न मुस्किल छ। पाखोबारीमा फलेका स्याउ र चुली बिक्री नभएर रुखमै कुहिएर खेर गइरहेका छन्।'
तिब्बतसँगको ऐतिहासिक र परम्परागत व्यापार ठप्प हुँदा सीमावर्ती नागरिकको रोजीरोटी र जीवनयापन नै संकटमा परेको छ।