ग्लोबल नेपाली
मोरङको विराटनगरका प्रीतेश कार्की सन् २०११ को सुरूमै स्नातकोत्तर तहको पढाइका लागि अमेरिका गएका थिए। पढाइ पूरा गरेर स्वदेश फर्किने सोच थियो तर उनी अमेरिकामै व्यावसायी भए।
उनले अमेरिकाको सनफ्रासिस्कोमा चार वटा डिपार्टमेन्टल स्टोर चलाएका छन्। ग्यास स्टेसन, ब्यांक्वेट हल र रेस्टुरेन्टमा पनि लगानी गरेका छन्।
'पढाइ सकेर फर्किने सोचले आएको थिएँ। ख्याल ख्यालमै व्यवसाय सुरू गरेँ, यसरी राम्रो हुँदै जाला भन्ने सोचेकै थिइनँ,' उनले भने।
अमेरिका जानुअघि प्रीतेश आर्किटेक्ट इञ्जिनियरिङमा स्नातक तहको पढाइ पूरा गरेर काठमाडौंको एक निर्माण कम्पनीमा काम गर्दै थिए। दिउँसो कम्पनीको काम गर्थे, बिहान एउटा इञ्जिनियरिङ कलेजमा पढाउँथे। आम्दानी राम्रै थियो।
त्यो समय उनका केही साथी उच्च शिक्षाका लागि विदेश गए। कोही जाने तयारीमा थिए। साथीहरू विदेश जाने भएपछि उनी पनि अडिन सकेनन्। उनले अमेरिकाको सेन्ट लुईस्थित लिन्डेन उड युनिभर्सिटीमा आवदेन गरे। प्रीतेशले छात्रवृत्तिमा पढ्ने सुविधा पाए। काठमाडौंमा साढे दुई वर्ष काम गरेर उनी अमेरिका पुगे।
'मैले दुई वर्षको एमबिए कोर्स १३ महिनामै सकेँ,' उनले भने।
विद्यार्थी भिसामा जानेलाई बाहिर काम गर्न पाउने सुविधा थिएन। कलेजले पार्ट–टाइम काम लगाउँथ्यो तर छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पारिश्रमिक दिँदैन थियो। उनले कम्प्युटर ल्याबमा काम गरे। बिदाको दिन भने कलेज नजिकैको ग्यास स्टेसनमा काम गर्थे। त्यसबाट गोजीखर्च जुट्थ्यो।
पढाइ पूरा भएपछि प्रीतेश सनफ्रान्सिस्को पुगे। त्यहाँ उनका आफन्तहरू पनि थिए। त्यहीँ उनले आफ्नी प्रेमिकासँग बिहे पनि गरे।
'ग्र्याजुएसनका बेला हामी दुवैका आमाबुबा आउनुभएको थियो, त्यही मौकामा बिहे गर्यौं,' उनले भने।
पढाइ पूरा गरेका उनका साथीहरू राम्रो कम्पनीमा काम गर्न थालेका थिए। उनी भने जागिरको साटो आफ्नै कुनै काम गर्ने सोचमा थिए। तर लगानी गर्न धेरै पुँजी थिएन।
उनले थोरै लगानीमा सन् २०१२ अन्त्यतिर एउटा डिपार्टमेन्टल स्टोर किने।
'खासमा मलाई व्यवसायको जोखिम थाहा नभएरै लगानी गर्ने आँट आएको हो। जोखिम थाहा भएको भए आँट आउँदैन थियो,' उनले भने, 'सुरूमा नबुझीकन स्टोर लिएँ। भाग्यले राम्रै भयो। अर्को स्टोर लिन भने चार वर्ष लाग्यो।'
उनका अनुसार अमेरिकामा साना व्यवसायमा बैंकले ऋण दिँदैन। बिक्रेताले नै ऋणको सुविधा मिलाइदिन्छ। उनलाई पनि २० प्रतिशत डाउन–पेमेन्ट गरेपछि बिक्रेताले ऋण मिलाइदिएको थियो। प्रीतेशको व्यावसायिक योजना केही पनि थिएन तर व्यवसाय राम्रो भयो।
सन् २०१४ मा उनी सपरिवार नेपाल आए। दुई महिना नेपाल बसेका बेला नै अमेरिकाको व्यवसाय विस्तार गर्ने सोच आएको उनले बताए।
आफ्नो परिवारसँग प्रतीश कार्की'म भेटघाटको उद्देश्यले मात्र नेपाल आएको थिएँ। त्यस बेला मलाई पहिले जसरी नेपालमा काम गर्न सक्छु भन्ने आँट आएन,' उनले भने, 'नेपालमा काम गर्न शून्यबाट सुरू गर्न पर्थ्यो। अमेरिकामा त व्यवसाय सुरू भइसकेको थियो। त्यसैलाई विस्तार गर्छु भन्ने लाग्यो।'
अमेरिका फर्केपछि व्यावसायिक योजना बनाए। आफूजस्ता व्यवसायीले पाउने वित्तीय सुविधाबारे जानकारी हासिल गरे। व्यवसायमा कुनै समस्या नआएको पनि होइन तर सावधानीपूर्वक समाधान गर्दै अघि बढे।
पहिलो स्टोर किनेको चार वर्षपछि सन् २०१६ मा उनले अर्को स्टोर किने। व्यवसाय विस्तार हुँदै जाँदा बैंकले ऋण दिन थाल्यो। त्यसपछि दुई–दुई वर्षको अन्तरमा थप दुइटा स्टोर किने।
उनको व्यावसायिक यात्रा त्यतिमा सीमित भएन। सन् २०२० मा साढे एक हेक्टर जग्गा किनेर ग्यास स्टेसन बनाए जहाँ गाडीमा तेल हाल्न आठ वटा पम्प छन्।
दुई वर्षअघि उनले दुई सयभन्दा बढी मानिस अट्ने क्षमताको ब्यांक्वेट हल पनि लिएका छन्। सबैतिर गरेर उनको व्यवसायमा कम्तीमा ४० कर्मचारी छन्। ती सबै नेपाली हुन्।
'मैले रोजगारीमा नेपालीलाई प्राथमिकता दिएको छु। नेपाली पाएसम्म विदेशी राख्दिनँ,' उनले भने।
रेस्टुरेन्टहरूमा चाहिँ उनले साझेदारीमा लगानी गरेका छन्। आगामी दिनमा रियल–इस्टेटमा पनि लगानी गर्ने उनको योजना छ।
मेहनतका साथ काम गर्ने हो भने अमेरिकामा धेरै अवसर भएको उनी बताउँछन्।
'यहाँ असीमित अवसर छ। जुन क्षेत्रमा आफ्नो ज्ञान र सीप छ, त्यसमै लगानी गर्नुपर्छ,' उनले भने, 'मैले व्यसाय सुरू गर्दा सुझाव दिने र सिकाउने कोही थिएन। त्यही सम्झेर म नयाँलाई सुझाव दिन्छु, सक्दो सहयोग गर्छु।'
प्रीतेश अमेरिकामा व्यवसायसँगै राजनीतिमा पनि सक्रिय छन्। आफू हाल काउन्टी (जिल्लास्तरीय) 'हाउजिङ एन्ड कम्युनिटी डेभलपमेन्ट एडभाइजरी बोर्ड' को सदस्य रहेको उनले बताए।
उनी नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था नेपाली एसोसिएसन अफ नर्थ अन क्यालिफोर्नियाका अध्यक्ष पनि हुन्। यो संस्थाले नेपाली सामुदायिक भवन बनाएको छ। उनका अनुसार अहिले अमेरिकामा धेरैवटा भाषामा ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाइन्छ तर त्यसमा नेपाली भाषा समावेश छैन। उनी अध्यक्ष रहेको संस्थाले नेपाली भाषामा पनि परीक्षा दिन पाउनुपर्ने माग राखेको छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com