सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरी आमाको नाम अस्मिता सापकोटा हो। उहाँ ३६ वर्षकी हुनुभयो। उहाँको अहिलेको सफलता र सुख प्राप्ति पछाडिको कहानी निकै दुखदायी छ।
उहाँको जन्म वि.स. २०४६ साल असार २८ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा भएको थियो। उहाँको बुबाको नाम लक्ष्मण पौडेल र आमाको नाम सरस्वती पौडेल हो।
उहाँ स्कुल पढ्ने बेलामा एक्लै जस्तै हुनुहुन्थ्यो। बुबा मुस्ताङ जिल्लामा काम गर्नु हुन्थ्यो रे, आमा मेलापातमा व्यस्त हुनुहुन्थ्यो रे र दाइ पोखरामा पढ्नु हुन्थ्यो रे। उहाँले एक पटक भन्नु भएको कुराले मलाई निकै दुखित बनायो।
स्कुल पढ्ने बेलामा दिउसो एक बजेको खाजा खाने घण्टी बजेपछि प्रायजसो उहाँ खुरुरु दौडेर घर आउनु हुन्थ्यो रे र भैँसीलाई घाँस पानी दिनुहुन्थ्यो रे। खाजा भए खानु हुन्थ्यो रे नत्र त्यसै जानु हुन्थ्यो रे।
उहाँले स्कुल हुँदै क्याम्पस पढेपछि विसं २०६७ सालमा आफ्नो वैवाहिक जीवन सुरु गर्नुभयो। मेरो बुवासँग विवाह गर्नुभयो।
मेरो बुवाको नाम नारायणप्रसाद सापकोटा हो। उहाँहरूले म र मेरो दाइलाई गरी दुई सन्तान जन्माउनु भयो। हामी दुवैलाई आमाको पेटमा अपरेसन गरेर निकालेको रे। मेरो आमाको पेटमा अझै पनि लामो घाउको खत छ। मेरी आमालाई कति दुख्यो होला!
कठै बरा मेरी आमा। यो पेटको घाउ त अहिले सन्चो भएको छ तर मेरो दाइ र मैले भोलिपर्सि आमा-बालाई अझ धेरै खुसी बनाउनु छ।
(अनुस्का सापकोटा ताराकुन्ज सेकेण्डरी स्कुल पाटनबेँसी, पोखराको कक्षा ४ ‘ख’ मा अध्ययनरत विद्यार्थी हुन्।)