नेपाल जसलाई संसारले हिमालको देश भनेर चिन्छ तर हामीलाई थाहा छ, यो देश केवल सगरमाथा मात्र होइन, युगौँदेखिको जैविक ज्ञान, सांस्कृतिक परम्परा र जीवन्त प्रकृतिको गाथा हो। जहाँ हिमालका चुचुरादेखि तराईका उर्वर फाँटसम्म प्रकृतिको अनुपम छटा फैलिएको छ, जैविक विविधता र परम्परागत ज्ञानको एक जीवन्त संग्रहालय हो।
हाम्रा पहाडी ढिस्को, वनपाखा, बगर र खोला किनारामा उम्रने प्रत्येक वनस्पति केवल वनस्पति होइन, यो हाम्रा पुर्खाको बाँच्ने शैली, उपचार पद्धति, आस्था र सीपको प्रतीक हो। प्रत्येक बोटबिरुवा, प्रत्येक वनस्पतिले आफ्नो गर्भमा युगौँदेखिको इतिहास र जीवनशैली लुकाएको छ।
नेपाल जहाँ बिहानको कुहिरोसँगै फुल्ने रातो लालीगुराँसले हिमालको काखमा नयाँ दिनको स्वागत गर्छ अनि झरनाको संगीतले सुनसान वनलाई जीवन्त बनाउँछ, त्यो केवल एउटा देश होइन, प्रकृतिको एक अनुपम कविता हो। यहाँका प्रत्येक कुना-कन्दरामा प्रकृतिको अनुहार देखिन्छ। काठमाडौँको एउटा बारीमा झुलेको तुलसीको गमलादेखि इलामको चियाबारीसम्म, कञ्चनपुरका सामुदायिक वनदेखि मुस्ताङको झोला झारफुकसम्म, हरेक स्थानमा हामीले देख्न सक्छौँ, प्रकृति हाम्रो जीवनशैलीमा कति गहिरो छाप छोडेर बसेको छ।
कल्पना गर्नुहोस् त, गाउँका आमाले बिहान उठ्ने बित्तिकै तुलसीमा जल चढाउने चलन, पुर्खाले सन्देश दिएको अमला र रिट्ठाको मिश्रणबाट कपडा धुने विधि, खेतमा मलको रूपमा गाईको गहुँत मिसाएर बनाइने कम्पोस्ट मल अनि परालमाथि राखिने निमको पातले अन्नको सुरक्षा; यी सबै परम्पराहरू केवल परम्परा मात्र होइनन्, व्यवहारिक विज्ञानका अद्भुत रूप हुन्।
गुर्जोले रोग प्रतिरोधक क्षमता बढाउने, चिराइतोले ज्वरो घटाउने, सर्पगन्धाले उच्च रक्तचाप नियन्त्रण गर्ने अनि एक पाते, तीतेपाती, सिस्नु, कुरिलो यी बोटहरू केवल जङ्गलका एक हिस्सा मात्र होइनन्, जीवनका अभिन्न अंश थिए। कहिले काँडाले, कहिले गन्धले, कहिले स्वादले तिनले हामीलाई प्रकृतिसँग मित्रता गर्न सिकाए। हाम्रो संस्कृति भित्रै थियो एथ्नोबोटनी-वनस्पतिको सामाजिक, सांस्कृतिक र व्यवहारिक उपयोगको जीवन्त दस्ताबेज। तर यो अमूल्य ज्ञान अहिले हराउँदै गएको छ।
हाम्रा हजुरबुवाआमाको सिँचाइझैँ चल्ने ज्ञानको धारा अहिले अवरुद्ध हुँदै गएको छ। सहरीकरण, औपचारिक शिक्षामा परम्परागत ज्ञानको अभाव, वैदेशिक रोजगारी र प्रविधि केन्द्रित जीवनशैलीले गर्दा अहिलेका युवाहरूलाई सिस्नु र भाङ छुट्टाउनै सकस पर्न थालेको छ। त्यो समयमा बोटको पात टिपेर औषधि बनाउने जो बुढामाउहरू थिए, अब ती न त गाउँमै छन् न तिनको ज्ञान हस्तान्तरण भयो।
हराउँदै गरेको ज्ञान र बढ्दो चुनौती, पुर्खाको विरासतमाथि आधुनिकताको छाया
एक समय थियो जब गाउँघरका बुढापाकाहरूलाई सामान्य बिरामी पर्दा कुन बोटको पात, कुन जडीबुटीको जराले निको हुन्छ भन्ने ज्ञान सहजै थियो। बिहानै उठेर खोला किनार वा बारीको डिलमा पाइने 'एक पाते' झारको रसले पेट दुखेको निको पार्नेदेखि लिएर 'दालचिनी' र 'पिप्ला'को प्रयोगले रुघाखोकी भगाउने प्रचलन थियो। उनीहरूका लागि प्रकृति एक खुला विश्वविद्यालय थियो जहाँ ज्ञानको कुनै सीमा थिएन। 'अँधेरी' बोटले विषालु सर्पको टोकाइमा कसरी काम गर्छ, 'सिस्नु'को प्रयोगले कसरी जोर्नी दुखाइ कम गर्छ वा कुरिलोको जराले कसरी शक्ति बढाउँछ भन्ने जस्ता अनगिन्ती रहस्यहरू उनीहरूको मौखिक परम्परामा सुरक्षित थिए।
उनीहरूले वनस्पतिलाई केवल स्रोतको रूपमा मात्र नभई आत्मा र चेतना भएको जीवका रूपमा हेर्थे जसलाई सम्मान र संरक्षण गर्नुपर्छ। तर आजको युवा पुस्तामा यो ज्ञानको ठुलो अभाव देखिन्छ। नेपालको कुल जनसंख्याको करिब ४०.३५% युवा भए पनि वनस्पति र पर्यावरण संरक्षणमा उनीहरूको अपेक्षित सहभागिता अझै हुन सकेको छैन। धेरैलाई गुर्जो, पिप्ला, बोझो, भ्याकुर आदि नाम त परै जाओस्, देखे पनि छुट्टाउन सक्दैनन्। परिणामस्वरूप हामीले अनमोल जैविक विविधता र सांस्कृतिक सम्पदा दुवै गुमाउँदै छौँ।
ज्ञानको लोपका मुख्य कारणहरूमा तीव्र सहरीकरण, शैक्षिक पाठ्यक्रममा यसको कमी, आधुनिक चिकित्सा पद्धतिको प्रभाव र युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण प्रमुख छन्। सहरी जीवनशैलीमा हुर्किएका युवाहरूलाई वनस्पति र तिनीहरूको परम्परागत प्रयोगबारे कम जानकारी हुनु स्वाभाविक हो। ग्रामीण क्षेत्रमा भने ज्ञानका वाहक अग्रजहरूले आफ्नो ज्ञान हस्तान्तरण गर्न नपाउँदै या त जीवनबाट बिदा भएका छन् या त युवाहरूको बसाइसराइले गर्दा ज्ञानको शृङ्खला नै टुटेको छ।
परम्परागत उपचार विधिहरू लोप हुँदै जाँदा स्वास्थ्य सेवामा परनिर्भरता बढ्दै छ र प्रकृतिसँगको हाम्रो आध्यात्मिक तथा भावनात्मक सम्बन्ध पनि कमजोर हुँदै छ। पहिले हरेक गाउँमा ‘वैद्य बा’ हुन्थे; आज त्यो स्थान फार्मेसी वा हस्पिटलले लिएको छ। त्यसैले युवाहरूको ऊर्जा, सम्भावना यदि सही दिशामा प्रयोग भएन भने हामीले न प्रकृतिको रक्षा गर्न सक्नेछौँ, न आफ्नो पहिचान जोगाउन। एथ्नोबोटनी र पारम्परिक ज्ञान संरक्षणको चुनौती समाधान गर्न युवाहरू नै नेतृत्वमा आउनु जरुरी छ।
युवाहरू परिवर्तनका बाहक हुन्। विश्वका धेरै देशमा युवाहरूले समुदायमा आधारित संरक्षण कार्यक्रमको नेतृत्व गरेका छन्। क्यानडाका युवाहरूले 'ट्रेडिसनल इकोलोजिकल नलेज (टिइके)' संकलन अभियान चलाएका छन्। भुटानमा युवाहरूले ‘ग्रस नेसनल ह्याप्पिनेस’ सँग वनस्पति संरक्षण जोडेका छन्। अफ्रिकामा युवाहरूले ‘मोबाइल एप’ मार्फत पारम्परिक बोटहरूको नाम, उपयोग र लोकेसन अभिलेख राख्ने अभियान सुरु गरेका छन्।
नेपालमा पनि यो सम्भव छ। मैले स्वयं अध्ययन गर्दै गर्दा देखेको छु, थुप्रै छात्रछात्राहरू फिल्ड भ्रमणका क्रममा स्थानीय बोटबिरुवाको नाम नै थाहा नपाएर अलमलिन्छन्। तर यिनै युवाहरू जब गाउँ पुग्छन्, कहिलेकाहीँ हजुरबाले सुनाएको कथा सम्झिन्छन्- ‘यो बोट त हाम्रो पाखामा हुन्थ्यो नि!’ त्यही बोटबाट जिज्ञासा सुरु हुन्छ, जुन अनुसन्धानमा परिणत हुन सक्छ।
शैक्षिक संस्थाहरूले पाठ्यक्रममा ‘एथ्नोबोटनी’ जस्ता विषयलाई व्यवहारिक रूपमा समावेश गर्नुपर्छ। जस्तै प्रयोगात्मक कक्षा, गाउँमा फिल्ड भ्रमण, स्थानीय जडीबुटीहरूको वर्गीकरण, प्रयोग र संरक्षणको अध्ययन। कृषि, वन र पर्यावरण अध्ययन गरिरहेका विद्यार्थीहरूले मात्र नभई, सबै युवाहरूले प्रकृतिसँगको आत्मीय सम्बन्ध अनुभूत गर्न आवश्यक छ। म स्वयम् कृषि र वनस्पति अध्ययनरत विद्यार्थीको नाताले भन्न सक्छु हामीले ग्रामीण ज्ञानलाई वैज्ञानिक दृष्टिकोणले परिभाषित गर्न सके मात्र यसको दीर्घकालीन संरक्षण सम्भव छ।
सरकार, विश्वविद्यालय, स्थानीय सरकार र समुदायबिचको सहकार्यले यो अभियानलाई राष्ट्रिय रूप दिन सकिन्छ। वन मन्त्रालय, कृषि मन्त्रालय, स्थानीय पालिका सबैले मिलेर युवालाई लक्षित गरेर सीपमूलक तालिम, अनुसन्धान कार्यक्रम, र सामुदायिक सहयोगका मोडलहरू विकास गर्नुपर्छ। अझ महत्त्वपूर्ण कुरा प्रविधिको सदुपयोग, युवाहरूले मोबाइल एप बनाई स्थानीय वनस्पति र तिनका प्रयोग बारे जानकारी संकलन गर्न सक्छन्। स्थानीय भाषामा डकुमेन्ट्रीहरू तयार पारेर बुढापाकाहरूको ज्ञान सुरक्षित गर्न सक्छन्। युट्युब, टिकटक र इन्स्टाग्राम जस्ता माध्यमबाट परम्परागत ज्ञानलाई विश्वसामु पुर्याउन सक्छन्। परम्परागत जडीबुटीको व्यावसायिक खेती, स्थानीय उत्पादनको ब्रान्डिङ, आयुर्वेदिक उत्पादनको व्यापार, अनि इको-टुरिजम यी सबैले युवाहरूलाई रोजगारी पनि दिन सक्छ, देशभित्रै सम्भावनाहरूको संसार देखाउन सक्छ।
अन्त्यमा,
यो केवल संरक्षणको कुरा होइन, यो हाम्रो पहिचानको सवाल हो; वनस्पति ज्ञान हराउनु भनेको केवल एक औषधिको नाश होइन, त्यो त एउटा संस्कृति, एउटा परम्परा, एउटा जातीय अस्तित्वको ह्रास हो। जब हामी 'गुर्जो' देख्दा हाम्रा बाजेआमाले बनाएको काढा सम्झन्छौँ, त्यो केवल स्वाद होइन, त्यो हाम्रो जरा हो। युवाहरूले अब आफ्नो जरा चिन्नुपर्ने बेला आएको छ। विदेशी प्रविधिको साथसाथै आफ्नो माटोको ज्ञानलाई समेट्ने हो भने मात्रै साँचो विकास सम्भव छ। हाम्रो प्रकृति केवल वरिपरि देखिने हरियाली होइन; यो हाम्रो विगत हो, वर्तमान हो र भविष्य पनि। अब ढिला गर्ने समय छैन।
अब प्रश्न यो होइन कि कसले थालनी गर्ने, प्रश्न हो अब पनि थालनी नगरे भने कति धेरै गुमाउनेछौँ? यसैले आउनुहोस् हामी सबै मिलेर हाम्रा पुर्खाको ज्ञानलाई सम्मान दिँदै प्रविधिको सहायताले नयाँ पुस्तालाई प्रशिक्षित गरौँ।
यही हो हाम्रो प्रकृति, यही हो हाम्रो जिम्मेवारी।