सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
‘बाबा, आज हामी गाउँ जाने?’ बिहान खाना खाँदा मैले बाबालाई सोधेँ।
‘आज के बार हो र?,’ बाबाले सोध्नुभयो।
आज शुक्रबार हो नि भनेँ।
‘ए हुन्छ जाम न त,’ बाबाले भन्नुभयो।
हामी पोखरामा बसे पनि हाम्रो हजुरबुबा र हजुरआमा गाउँमा बस्नुहुन्थ्यो। त्यसैले धेरैजसो शुक्रबार हामी गाउँ जान्थ्यौँ।
साँझ पाँच बजेतिर म स्कुलबाट आएपछि ममीले मलाई तयार गरिदिनु भयो। अनि बाबा अफिसबाट आएपछि म र बाबा मोटरसाइकलमा गाउँतिर लाग्यौँ। हाम्रो पोखराको घरबाट गाउँको घरसम्मको दूरी करिब ३५-३६ किलोमिटर छ। मोटरसाइकलमा करिब डेढ दुई घण्टामा पुगिन्छ।
पोखराबाट पृथ्वी राजमार्ग हुँदै १०-१२ किलोमिटर पूर्वतिर लागेपछि तालचोक आउँछ, त्यहाँबाट पृथ्वी राजमार्ग छोडेर करिब एक किलोमिटर जति बेगनास तालतिर लागेपछि बेगनास नपुग्दै शिशुवा चोक आउँछ। त्यहाँबाट बेगनासतिर नलागीकन सिधा पूर्वतिर मोडिएपछि करिब दुई तीन किलोमिटरमा सातमुहाने भन्ने ठाउँ आउँछ।
सातमुहाने चोकबाट मेरो गाउँ जाने दुई वटा बाटोहरू छन्। दायाँतिरको बाटो हामी सधैँ हिँड्ने बाटो हो। छोटो पनि छ। त्यो बाटो राजाको चौतारा, देउराली फेदी, देउराली भएर जान्छ। तर बायाँतिरको बाटो चाहिँ खोलाको छेउ, रुपाकोट, भोर्ले, फालभञ्ज्याङ हुँदै खडा गाउँमा निस्किन्छ र हामी सधैँ हिँड्ने बाटोमा मिसिन्छ। यो बाटो चाहिँ अलि लामो पर्थ्यो, त्यस कारण हामी खासै त्यो बाटो हिँड्दैन थियौँ।
‘नानी, आज हामी रुपाकोटको बाटो जाने कि?’ सातमुहाने चोक आएपछि बाबाले सोध्नुभयो।
‘हुन्छ, जाम न त! म पनि त्यो बाटो हिँडेको छैन,’ मैले भनेँ।
त्यसपछि हामी रुपाकोटको बाटो हुँदै गाउँतिर लाग्यौँ। बिस्तारै अँध्यारो हुँदै थियो। एकछिन पछि जङ्गलको उकालो बाटो सुरु भयो। हामीले बिच बाटोमा एकछिन मोटरसाइकल रोकेर पोखरातिरको दृश्य हेर्यौँ। पोखरा बजार बत्ती बलेर झिलिमिली भइसकेको थियो। हामी फेरि आफ्नो बाटो लाग्यौँ। जङ्गलको बाटो सुनसान थियो। गाडी, मान्छेहरू केही थिएन। त्यसैले मलाई अलिअलि डर पनि लाग्न थाल्यो। उकालो सिद्धिएर गाउँ आएपछि मलाई डर लाग्न छोड्यो।
रुपाकोट र भोर्ले गाउँको बिच भएर हामी अगाडि बढ्यौँ। गाउँ सिद्धिएपछि फेरि जङ्गल आयो। बाटोको दुवैतिर थुम्काथुम्की जङ्गलहरू थिए। कतै कतै रुख नभएका थुम्कीहरू थिए। मोटरसाइकलको उज्यालोमा ती नाङ्गा थुम्कीहरूमा स-साना सिमन्टी लगाएको र सेतो रङ पोतिएका स्तम्भहरू लहरै देखिए।
‘ती सेता सेता उभिएका ढिस्का जस्ता कुराहरू के हुन् बाबा?,’ मैले सोधेँ।
‘ती चिहानहरू हुन्,’ बाबाले सिधै भन्दिनु भयो।
यता त्यो कुरा सुनेर मेरो डरले सातो गयो। सुनसान बाटो, रात छिप्पिँदै थियो। त्यसपछिका डाँडाका थुम्काहरूमा चिहानका लहरै लहरहरू रहेछन्। धेरै डर लागेकाले बाबालाई मैले कसेर समातेँ।
‘बाबा, अलि छिटो कुदाउनु न बाइक,’ मैले डराउँदै भनेँ।
‘ल ल, नडराऊ,’ बाबाले भन्नुभयो।
डरले गर्दा होला जति छिटो मोटरसाइकल कुदाउँदा पनि मलाई भने ढिलो चले जस्तो लाग्यो।
‘अब यो जङ्गलको बाटो सिद्धिन कति बाँकी छ?,’ मैले बाबालाई सोधेँ।
‘अब धेरै छैन, पाँच/सात मिनेट हो,’ बाबाले भन्नभयो।
मलाई डरले गर्दा होला, पाँच सात मिनेट पनि पाँच सात घण्टा जस्तो लाग्यो। बेलाबेलामा पछाडिबाट मलाई केही कुराले छोएजस्तो लाग्न थाल्यो।
‘बाबा, मलाई धेरै डर लाग्यो,’ अब चाहिँ मैले बाबालाई मुखै खोलेर भनेँ।
‘नडराऊ, अब एकैछिनपछि गाउँ आइहाल्छ,’ बाबाले मलाई ढाडस दिँदै भन्नुभयो।
मलाई मनमनै किन मैले यो बाटो जाम् भनेर भनेछु जस्तो लाग्यो। बल्लबल्ल जङ्गल सिद्धियो र घरहरू देखिन थाले। बल्ल मैले आनन्द महसुस गरेँ।
अब बाटो हामी सधैँ हिँड्ने बाटोमा जोडिसकेको थियो। त्यसैले अब यहाँबाट मलाई सबै बाटो थाहा थियो। अबको बाटो गाउँ नै गाउँ भएर जान्छ। त्यस कारण अब मलाई ढुक्क थियो र कुनै डर थिएन।
त्यसपछि करिब २०, २५ मिनेटपछि हामी आफ्नो गाउँको घर पुग्यौँ। मैले मनमनै अबदेखि कहिल्यै त्यो बाटो नहिँड्ने निर्णय गरेँ। पोखरा फर्कँदा त्यही चोकनेर पुगेपछि बाबाले मलाई सोध्नुभयो, ‘नानी, आज पनि रुपाकोटकै बाटो जाने कि?’
‘ह्या! बाबा पनि, कति जिस्किनु भएको के!,’ मैले झर्किँदै बाबालाई भनेँ।
बाबाले हाँस्दै बाइक सरासर सधैँ हिँड्ने बाटोतिर कुदाउनु भयो।
(दिक्षिता केसी लिभिङ स्टोन एकेडेमी, नख्खु ललितपुरको कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्।)