ग्लोबल नेपाली
नुवाकोटका नवराज धमलाले सन् २००७ को जनवरीमा अस्ट्रेलियाको मेलवर्न गएपछि सुरूमा क्याफे त्यसपछि रेस्टुरेन्टमा काम गरे।
झण्डै १ वर्ष क्याफे र रेस्टुरेन्टमा काम गरेपछि उनले कामलाई पूर्ण रूपमा बदले। अर्थात् गरिरहेको कामसँग कुनै सम्बन्ध नभएको काम रोजे। उनले ल्यान्डस्केपिङको काम गरे। त्यसमा काम गर्नुको कारण भने रेस्टुरेन्टमा आएका एकजना ग्राहक थिए।
एक जना ग्राहक आएर उनलाई काम परिवर्तन गरेर आफूसँग आउन आग्रह गरे। ती ग्राहकको ल्यान्डस्केपिङ कम्पनी थियो। उनीसँगै धमला पनि काम गर्न राजी भए। त्यसपछि धमलाले काम परिवर्तन गरे। त्यसयता धमला ल्यान्डस्केपिङकै क्षेत्रमा सक्रिय छन्।
'म २००८ देखि ल्यान्डस्केपिङमा छु भने २०१२ देखि कमर्सियल ल्यान्डस्केपिङमा छु। मैले केटिएम ल्यान्डस्केपिङ सञ्चालन पनि गरेको छु,' धमलाले भने, 'रोज ल्यान्ड स्केपमा म धेरै सक्रिय छु। यसमा मेरो थोरै सेयर पनि छ। म यसको अपरेसन म्यानेजर हो।'
धमलाका अनुसार रोज ल्यान्डस्केपले काउन्सिलको मापदण्डमा रहेर काम गर्छ। यसले गर्ने धेरै काम पनि काउन्सिलकै हुन्छ।
सडक बनेपछि यसको बीचमा गार्डेन अनि दायाँबायाँ रूख तथा घाँस रोप्ने काम आफूहरूको रहेको उनले बताए। सडकपेटी बनाउने काम पनि उनीहरूकै हो।
वेयरहाउसदेखि अस्पताल विद्यालय अनि ठूला ठूला व्यापारिक मलको पनि बाहिरी डिजाइनको नेतृत्व उनले गर्छन्।
'हामीले करार अनुसारको काम गर्छौं। जस्तो काउन्सिलको काम गरिएको छ भने २ या ३ वर्षको जिम्मेवारी हुन सक्छ,' उनले भने, 'काउन्सिलले भने अनुसारको डिजाइनमा काम गर्ने अनि तोकिएको समयसम्मको मर्मत र हेरचाह हामीले गर्नुपर्छ।'


बाहिरको काम गर्नु आफैमा चुनौतीपूर्ण हुन्छ। त्यसमा पनि मेलवर्नको मौसम झन चुनौतीपूर्ण छ। छिनमै चर्को घाम लाग्छ भने छिनमै बादल लागेर पानी पर्न सक्छ। उनी स्वयम् पनि बाहिरकै काममा रमाउँछन्। त्यसैले त उनी वर्षौंदेखि एउटै क्षेत्रमा छन्।
धमलाका अनुसार काम लगाउने क्रममा त्यहाँको ट्रेड युनियनको नियम पालना गर्नुपर्छ। जस्तो ३५ डिग्रीभन्दा धेरै तापक्रम हुनासाथ काम रोक्नुपर्छ भने पानी परेको बेलामा पनि काम गर्न सकिँदैन।
काउन्सिलको नीति नियम र आर्किटेक्टको निर्देशन अनुसार काम गर्नुपर्ने धमलाले बताए।
'पार्क, सडकपेटी बनाउँदा पनि बालबालिकाको सुरक्षा हुने गरी बनाउनु पर्छ। अनि कतिपय ठाउँमा सामाजिक सांस्कृतिक परम्परालाई पनि ख्याल गर्नुपर्छ। अपांगमैत्री संरचना बनाउनु अनिवार्य छ। यी सबै कुरा काम लिने क्रममा काउन्सिलबाट भनिएको हुन्छ,' उनले भने, 'हामीले काम लिए पनि सबै काम हामीबाट सम्भव हुँदैन। त्यसैले हाम्रो कम्पनीले सब कन्ट्र्याक्टहरूलाई जिम्मा दिन्छ। तर हामीले त्यसको अनुगमन भने गर्नुपर्छ। किनकी कामको सम्पूर्ण जिम्मेवारी हाम्रै हो।'
उनको कम्पनीमा ३४ जना कर्मचारी छन् जसमध्ये २० देखि २५ जना फुलटाइमर हुन्छन्। रोज ल्यान्डस्केपमा उनको थोरै सेयर छ भने उनी यसको अपरेसन म्यानेजर हुन्। उनको पूर्ण स्वामित्वमा केटिएम गार्डेनिङ पनि छ।
'मेरै धेरै समय रोज ल्यान्डस्केपका लागि खर्च हुन्छ। तर कतिपय हार्नै नसक्नेहरूले भनेको बेला केटिएम गार्डेनिङको लागि काम गर्छु। यसले घरको बाहिरी डिजाइनको काम गर्छ,' उनले भने।
कमाइ पनि राम्रो अनि रमाउन पनि सकेकाले यही क्षेत्रमा काम गर्ने उनको सोच छ।