बालचन्द्र अधिकारी अस्ट्रेलिया पुगेको करिब पाँच वर्ष भयो। त्यहाँ पुगेयता उनको व्यस्तता बढेको बढ्यै छ।
उनी जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार गराउँछन्। विवाह, व्रतबन्ध, न्वारान र श्राद्धदेखि पूजापाठसम्मका धार्मिक कर्ममै उनका दिन बित्छन्।
बालचन्द्र नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डितका रूपमा काम गरिरहेका छन्। त्यससँगै ज्योतिष र वास्तु उनको अर्को मुख्य कार्यक्षेत्र हो।
संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिषमा आचार्य गरेका उनले अस्ट्रेलियामा ज्योतिष तथा वास्तु परामर्शसमेत दिँदै आएको बताए।
वास्तु परामर्शका लागि आवश्यक परे उनी घरमै पुगेर नक्सा, दिशा, संरचना र कोठाहरूको अवस्था हेर्छन्।
'वास्तुका लागि फिल्ड भिजिट गर्नुपर्ने हुन्छ। त्यहाँको नक्सा हेर्नुपर्यो, कुन दिशामा र कुन कोणमा बनेको छ, भित्री र बाहिरी संरचना कस्तो छ भन्ने हेर्नुपर्छ,' उनले भने।
टाढा रहेका सेवाग्राहीलाई प्रत्यक्ष भेटेर परामर्श दिन सम्भव हुँदैन। त्यस्तो अवस्थामा उपलब्ध नक्सा, फोटो र भिडिओका आधारमा सुझाव दिने गरेको उनी बताउँछन्।
'तर प्रत्यक्ष फिल्ड भिजिटजस्तो प्रभावकारी हुँदैन,' उनले भने।
कतिपय अवस्थामा उनी इन्जिनियरहरूसँग समन्वय गरेर पनि काम गर्छन्। घर सुन्दर देखिनुका साथै वास्तु अनुसार मिलेको हुनुपर्ने भएकाले दुवै पक्षबीच समन्वय आवश्यक पर्ने उनको अनुभव छ।
'घर राम्रो देखिनुपर्यो, वास्तु मात्रै भएर पनि भएन। थोरै जग्गा हुन्छ। सबै कुरा वास्तु मात्रै हेरेर घरै नसुहाउँदो बनाएर त भएन,' उनी भन्छन्।
घर बनिसकेको अवस्थामा पनि वास्तु मिलाउन सकिने उनको भनाइ छ।
त्यसका लागि घर नै भत्काउनुपर्ने हुँदैन। रङ परिवर्तन गर्ने, बत्ती मिलाउने, पिरामिड राख्ने, तामाका भाँडा प्रयोग गर्ने वा ऐना राख्नेजस्ता उपायबाट वास्तु मिलाउन सकिने उनी बताउँछन्।
अस्ट्रेलियामा उनको मुख्य कार्यक्षेत्र सिड्नी हो। त्यसबाहेक आसपासका अन्य सहरमा पनि उनी पुग्छन्। कहिलेकाहीँ तीन–चार घण्टाको गाडी यात्रा गर्नुपर्ने ठाउँसम्म पनि जान्छन्।
कर्मकाण्ड, ज्योतिष र वास्तु सम्बन्धी कामको माग राम्रो भएकाले उनी महिनामा झन्डै २६ दिन व्यस्त हुन्छन्।
विशेषगरी विभिन्न धार्मिक तथा सांस्कृतिक पर्व र शुभकार्यका मुहूर्त जुरेका बेला कामको चाप बढ्छ। दसैं–तिहारदेखि सोह्रश्राद्ध, बिहे र व्रतबन्धका लगनमा पण्डितहरूलाई भ्याइनभ्याइ हुन्छ।

त्यहाँ उनका अधिकांश सेवाग्राही नेपाली नै हुन्। भारतीय, फिजी तथा अन्य देशका हिन्दु समुदायका मानिसहरू पनि पूजापाठ र ज्योतिष परामर्शका लागि आउँछन्।
कहिलेकाहीँ एकै दिन धेरै विवाहका काम आउँछन्। आफू एक्लैले सबै ठाउँमा पुगेर गराउन सम्भव नहुने भएकाले उनी अन्य पण्डित साथीहरूको सहयोग लिन्छन्।
'दिनमा आठ–नौ वटा बिहे पनि बुक गर्छौं। आफै गएर हुन्छ कि, कुनै राम्रो गुरूलाई पठाइदिएर हुन्छ कि, त्यो पनि नभए नेपालबाट जानुभएका बाबाहरूलाई खोजेर पठाएर भए पनि कम्तीमा उहाँहरूको काम गराउने हाम्रो अपेक्षा हो,' उनले भने।
बालचन्द्रले धार्मिक कर्मकाण्डका लागि निश्चित शुल्क तोकेका छैनन्। सेवाग्राहीको श्रद्धा, क्षमता र इच्छा अनुसार दक्षिणा लिन्छन्।
'हामीले यति नै दिनुपर्छ भनेर कहिल्यै तोक्दैनौं,' उनी भन्छन्।
धर्मसँग जोडिएको काम भएकाले निश्चित मूल्य तोक्नु उचित नहुने उनको तर्क छ।
सेवाग्राहीले श्रद्धा र भावना अनुसार दिने दक्षिणाबाट अहिलेसम्म आफूलाई राम्रैसँग पुगेको उनी बताउँछन्।
समग्रमा हेर्दा यो क्षेत्रमा राम्रो भविष्य बनाउन सकिने उनको अनुभव छ। विशेषगरी संस्कृत विषय पढेर आफ्नो ज्ञान र सीप अनुसार काम गर्नेहरूका लागि अवसर रहेको उनी बताउँछन्।
'दुःख गरेर जसले संस्कृत पढ्नुहुन्छ, साँच्चिकै अध्ययन गर्नुहुन्छ र राम्रोसँग काम गर्नुहुन्छ भने भविष्य उज्ज्वल नै देख्छु म,' उनले भने।
बालचन्द्रका अनुसार अस्ट्रेलियामा ज्योतिष तथा वास्तु सेवा लिने नेपालीको संख्या पनि उल्लेख्य छ। उनी चिना हेर्छन् र बनाउँछन् पनि। हस्तरेखा तथा सामुद्रिक शास्त्र पनि आफ्नो अध्ययनको हिस्सा रहेको उनले बताए।
'मेरो मुख्य विषय चाहिँ कुण्डली र वास्तु, ज्योतिष र वास्तु हो। पूजापाठ र कर्मकाण्ड त बच्चैदेखि गर्दै आएको भएर निरन्तरता दिएको हुँ,' उनले भने।
बालचन्द्रको अनुभवमा नेपालमा भन्दा अस्ट्रेलियामा बस्ने नेपालीहरू धर्म, संस्कार र संस्कृतिप्रति अझ बढी सचेत देखिन्छन्। जन्मभूमिबाट टाढा पुगेपछि आफ्नो देश, धर्म र संस्कृतिप्रतिको लगाव बढ्ने गरेको उनले पाएका छन्।
युवा पुस्तामा पनि धार्मिक आस्था र श्रद्धा देखिने उनको भनाइ छ।
'नेपालबाट टाढा गइसकेपछि देशप्रतिको, धर्मप्रतिको, संस्कार–संस्कृतिप्रतिको आस्था अझ बढ्ने रहेछ। युवा पुस्तामा पनि आस्था र श्रद्धा देखिन्छ,' उनले सुनाए।
तर विदेशमा रहेका नेपाली समुदायका लागि धार्मिक संस्कारको पुस्तान्तरण मुख्य चुनौती रहेको उनी बताउँछन्।
अस्ट्रेलिया लगायत विभिन्न मुलुकमा जन्मिएका वा सानै उमेरमा पुगेका बालबालिकाले नेपाली भाषा, संस्कृति र धार्मिक संस्कार बुझ्न नसके भविष्यमा यसको निरन्तरता कठिन हुने उनको चिन्ता छ।
'सबैभन्दा बलियो जग नै भाषा हो। भाषै बुझ्दैनन् भने धर्म–संस्कृति पुस्तान्तरण गर्न गाह्रो हुन्छ,' उनले भने।
धार्मिक संस्कार किन गरिन्छ भन्ने कुरा नयाँ पुस्तालाई वैज्ञानिक आधारसहित बुझाउनुपर्ने उनको सुझाव छ।
परम्परालाई जस्ताको तस्तै पालना गर्न लगाउनुभन्दा त्यसको महत्त्व र कारणसमेत बुझाउन सके नयाँ पुस्ताले सहजै आत्मसात् गर्ने उनको तर्क छ।
उदाहरणका लागि उनी पीपलमा जल चढाउने चलनलाई लिन्छन्।
'पीपलले धेरै अक्सिजन दिन्छ। अक्सिजन हाम्रो प्राणवायु हो। त्यसैले यसलाई बचाइराख्न पनि पानी दिनुपर्छ भनेर बुझाउन सक्नुपर्छ,' उनले भने।
मूर्तिपूजालाई पनि उनी मानवीय संवेदनासँग जोडेर व्याख्या गर्छन्। निर्जीव वस्तुलाई भगवान मानेर प्रेम र सम्मान गर्ने मानिसले अर्को मानिसको दुःखपीडा बुझ्न र उसप्रति सदभाव राख्न सिक्नुपर्छ।
रसुवाका बालचन्द्र पण्डित परिवारमै हुर्किएका हुन्। उनका बुबा र हजुरबुबा पनि यही क्षेत्रमा काम गर्थे।
कक्षा ६ पढ्दादेखि नै उनले पूजापाठ गराउन थालेका थिए। १४–१५ वर्षको उमेरमै श्रीमद्भागवत महापुराण वाचन, कथा वाचन र प्रवचनका कार्यक्रम गर्न थालेको उनी सम्झिन्छन्।
पछि उनी चितवनको देवघाटस्थित गलेश्वर आश्रम र ललितपुरको बागडोलस्थित आत्मानन्द सन्यास आश्रममा बसे। यी दुई आश्रममा उनले १३ वर्ष बिताए।
आश्रममै बसेर संस्कृत अध्ययन गरेका उनले संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिषमा आचार्य गरे।
अस्ट्रेलिया जानुअघि उनी विभिन्न सञ्चारमाध्यमका कार्यक्रम पनि सञ्चालन गर्थे। त्यससँगै ज्योतिष सेवा पनि दिँदै आएका थिए।
***