अस्ट्रेलियाको ताजमानिया राज्यस्थित बर्नी गाइड्स हलमा हरेक दुई सातामा नेपाली पाठशाला सञ्चालन हुन्छ।
पाठशाला साँझ दुई घण्टा चल्छ। त्यहाँ नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा सिकाइन्छ।
बालबालिकाहरू नेपाली अक्षर चिन्छन्, कखरा सिक्छन् र आफ्नो भाषासँग परिचित हुन्छन्। पढाइ सकिएपछि त्यही हलमा दुई घण्टा भजनकीर्तन हुन्छ।
बालबालिका पढ्न लिएर आएका अभिभावकहरू छोराछोरीको पढाइ सकिएपछि भजनकीर्तनमा सहभागी हुन्छन्। भाषा पढ्न गएका बालबालिकाहरू पनि अभिभावकहरूसँगै भजनकीर्तनमा रम्न थाल्छन्।
कोही मादल बजाउँछन्। कोही खैंजडी बजाउन सिक्छन्। कोही मञ्जिरा बजाउँछन् त कोही नाच्छन्। कोही भाका हालेर भजन गाउन सिक्छन्।
यसरी बालबालिकाले भाषा सिक्ने र अभिभावकले आफ्ना समुदायका मानिससँग भेटघाट गर्ने अवसर पाएका छन्। यसले नेपाली समुदायलाई जोडिरहेको छ।
परदेशमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा र संस्कृतिसँग जोडिराख्ने उद्देश्यले ताजमानियाका नेपालीले सुरू गरेको प्रयास हो यो।
बर्नी नेप्लिज कम्युनिटीले सुरू गरेको उक्त पाठशाला अक्षर चिनाउने ठाउँ मात्रै नभएर नेपाली समुदायलाई नजिक बनाउने माध्यम पनि बनिरहेको छ। नेपाली पहिचान जोगाइराख्ने माध्यम बनेको छ।
आफ्नो भाषा, संस्कृति तथा परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने साझा थलो बनेको बर्नी नेप्लिज कम्युनिटीका निवर्तमान सचिव मदन सुवेदीले बताए।

'बालबालिकाहरू नेपाली स्कुल जान पाउँदा निकै खुसी छन्। हामीले सुरू गरेको पाठशालाले ताजमानियामा हुर्किरहेका नेपाली मूलका बालबालिकाको सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याइरहेको छ,' उनले भने, 'विदेशमा हुर्किरहेका नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउने र विदेशमा बसे पनि आफ्नो संस्कृति जोगाइराख्ने हाम्रो उद्देश्य हो।'
उनका अनुसार ताजमानियामा नेपाली समुदायका करिब ४२ जना बालबालिका छन्। तीमध्ये नियमित रूपमा पाठशालामा २२ देखि २५ जनासम्म सहभागी हुने गर्छन्।
पाठशाला सञ्चालन गर्न थालेको पाँच महिना भएको उनले बताए।
बर्नीमा नेपालीहरू चाडपर्वलाई पनि विशेष महत्त्वका साथ मनाउँछन्। दसैं सामूहिक रूपमा मनाउँछन्। सप्तमीकै दिन दसैं विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने मदन बताउँछन्।
त्यस्तै, लाखे नाच देखाउने, पञ्चेबाजा बजाउने जस्ता विविध सांगीतिक कार्यक्रम गरिन्छ। सम्भव भएसम्म नेपालबाट कलाकारहरू बोलाउने प्रयाससमेत गरिन्छ।
'यसपालि पनि दसैं विशेष कार्यक्रम फूलपातीकै दिन भएको थियो। तीन सयभन्दा धेरैको सहभागिता थियो,' उनले भने।
कार्यक्रममा सहभागी हुने ८० प्रतिशत नेपाली हुन्छन्। बाँकी २० प्रतिशत अस्ट्रेलिया तथा अन्य मुलुकका पनि हुन्छन्। यसले नेपाली संस्कृतिको प्रवर्द्धनमा ठूलो सहयोग पुर्याइरहेको उनको भनाइ छ।
'परदेशमा चाडपर्व मनाउनुको अनुभव फरक पनि हुन्छ। ताजमानियामा हामी चाडपर्व मनाउनेसँगै आफ्नो भाषा, वेशभूषा, संगीत र परम्परा अरूलाई चिनाउने माध्यम पनि बनिरहेका छौं,' मदनले भने।
नेपाली समुदायका गतिविधि देखेर भारतीय लगायत अन्य मुलुकका मानिसले पनि आफ्ना समुदायका सदस्यलाई एक ठाउँ भेला गरी कार्यक्रम गर्न थालेको उनले बताए।
सांस्कृतिक कार्यक्रमसँगै संस्थाले खेलकुदलाई पनि निरन्तरता दिँदै आएको छ। फुटबल, फुटसल, क्रिकेटल गायतका खेल खेलिन्छ। चाडपर्व, खेलकुद र सांस्कृतिक गतिविधिले फरक फरक पेसामा संलग्न नेपालीलाई एक ठाउँमा जोड्ने काम गरेको छ।
ताजमानियाको बर्नीमा नेपाली समुदायको जीवन सांस्कृतिक गतिविधिमा मात्रै सीमित छैन। नयाँ ठाउँमा पुगेका नेपालीलाई काम खोज्न र बस्ने कोठा पत्ता लगाउन सहयोग गर्नु पनि समुदायको महत्त्वपूर्ण काम बनेको छ।
नेपालबाट नयाँ आएका मानिसलाई कहाँ काम खोज्ने, कुन ठाउँमा कोठा खाली छ भन्ने जानकारी दिइन्छ। काम र कोठाको व्यवस्था नहुँदासम्म आवश्यक परे आफ्नै घरमा राखेर सहयोग गर्ने प्रयाससमेत गरिन्छ।
'नयाँ आउने नेपालीलाई काम कसरी खोज्ने र कोठा कहाँ पाइन्छ भनेर कम्युनिटीले सहयोग गर्छ,' मदनले भने, 'काम र कोठा नपाउन्जेल मेरैमा बसौं न त भन्ने सम्मका सहयोग पनि गरिन्छ।'

उनका अनुसार ताजमानिया राज्यमा करिब १८० नेपाली परिवार बसोबास गर्छन्। उनीहरू नर्सिङ, वृद्धवृद्धाको हेरचाह र रेस्टुरेन्ट लगायत क्षेत्रमा काम गर्छन्।
विशेषगरी वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नेपालीको उपस्थिति उल्लेख्य छ। अस्पतालमा पनि काम गर्छन्।
नेपालीलाई मेहनती, विश्वासिलो र समयको पालना गर्ने कामदारका रूपमा हेरिने गरेको उनको अनुभव छ।
नेपालीहरू विशेषगरी रोजगारी र स्थायी बसोबासको अनुमति (पिआर) पाउन सहज हुने भएकाले ताजमानिया पुग्ने उनी बताउँछन्।
पिआर पाएपछि भने धेरैजसो नेपालीहरू यहाँबाट अस्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलबर्न लगायत सहरमा सर्ने क्रम बढ्दो छ। ताजमानियामै घर बनाएर बस्नेहरू पनि बढ्दै छन्।
मदनका अनुसार करिब २० नेपाली परिवारले घर किनेका छन्। त्यहाँको मौसम नेपालसँग मिल्दोजुल्दो भएकाले पनि त्यहीँ बस्नेहरू बढिरहेका हुन्।
'समुद्र किनार नजिकैको ताजमानियाको मौसम चिसो छ। तर हिउँ पर्दैन। वर्षमा दुई–तीन महिनाजति गर्मी हुन्छ। यो ठाउँभन्दा करिब ८० किलोमिटर टाढाका क्षेत्रमा भने हिउँ पर्छ,' उनले भने।
त्यहाँको नेपाली समुदायलाई जोड्ने उद्देश्यले बर्नी नेप्लिज कम्युनिटी एक वर्षअघि दर्ता भएको हो। अहिले संस्थाको अध्यक्ष नितेश सुवेदी छन्।
संस्थाले स्थानीय सरकारसँग समन्वय गर्दै बहुसांस्कृतिक कार्यक्रम अघि बढाउने र नेपाली समुदायलाई संगठित गर्ने काम गरिरहेको छ।
भाषा कक्षादेखि भजनकीर्तन, सांस्कृतिक कार्यक्रमदेखि खेलकुदसम्मका गतिविधिले त्यहाँ रहेका नेपालीलाई एकअर्कासँग जोडिरहेका छन्। नयाँ आउनेलाई सहयोग गर्ने र बालबालिकालाई आफ्नो भाषा सिकाउने प्रयासले समुदायभित्र अपनत्व बढाएको छ।
नेपालबाट टाढा बसे पनि आफ्नो भाषा र संस्कृति अर्को पुस्तासम्म पुर्याउन सकियोस् भन्ने चाहना उनीहरूको छ।
नेपाली भाषा र संस्कृति जोगाउने यो प्रयासलाई व्यवस्थित बनाउन संस्थाले त्यहाँको स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेको छ।
त्यहाँको सरकारसँग समन्वय गरेर पाठशाला सञ्चालन र सांस्कृतिक गतिविधि थप मजबुत बनाउने प्रयास भइरहेको मदनले बताए।