ग्लोबल नेपाली
काठमाडौंकी कृपा शर्मा सन् २०१५ मा अर्बान एण्ड रिजनल प्लानिङमा मास्टर्स गर्ने भनेर अस्ट्रेलिया गइन्। साथी अनि आफन्तकै लहलहीमा लागेर अस्ट्रेलिया गएकी उनलाई अहिलेसम्म बसिन्छ जस्तो लागेको थिएन। साँच्चै भन्ने हो भने उनीसँग त्यो बेला कुनै योजना थिएन। अस्ट्रेलिया जान्छु, पढ्छु भन्ने मात्र थियो।
‘सन् २०१३ मा काठमाडौं इन्जिनियरिङ कलेजमा आर्किटेक्चरमा ब्याचलर सकेपछि केही समय काठमाडौं महानगरपालिकाको बिल्डिङ एन्ड हेरिटेज डिभिजनमा काम गरेँ। भूकम्प गएपछि भने मलाई विदेश जाने सोच आयो,’ उनले भनिन्, ‘सिड्नीमा आफन्त भएकाले त्यतै गएँ। केही समय रेस्टुरेन्टमा काम गर्दै आफ्नो पढाइलाई अघि बढाएँ।’
सिड्नीमा २ वर्षको कोर्स सकेपछि उनले टेलिकम्युनिकेसन कम्पनीमा साढे १ वर्ष काम गरिन्। त्यसपछि काउन्सिलको बिल्डिङ एन्ड एड्भाइजरी अफिसमा काम गरेकी कृपा २०२० को अन्त्यमा दक्षिण अस्ट्रेलियाको एडिलेड सहर गइन्।
एडिलेड गएर उनले त्यहाँको सबैभन्दा पुरानो र ठूलोमध्ये एक हाउजिङ कम्पनीमा काम सुरू गरिन्। एडिलेडको हिकिनबोथम ग्रुपमा उनी ल्यान्ड डेभलपमेन्ट प्रोजेक्ट म्यानेजर हुन्।
‘होम बिल्डर तथा ल्यान्ड डेभलपमेन्ट कम्पनी भएकाले यसले जग्गा खरिद गर्नेदेखि घर बनाउने सबै काम गर्छ। कुनै पनि ठाउँमा बस्ती बसाउनुभन्दा अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भनिन्, ‘कुन ठाउँमा सडक, कुन ठाउँमा पार्क बनाउने भन्ने योजना बनाउने जिम्मेवारी मेरो हो। नेपालमा जसरी प्लटिङ गरिन्छ, यहाँ पनि हुने त्यस्तै हो, तर यहाँ पूर्वाधारको धेरै जिम्मेवारी पूरा गर्नुपर्छ।’
उनले काम गर्ने हाउजिङ कम्पनीले ६० देखि ३ हजार घरसम्म एकै ठाउँमा बनाउने गरेको छ। त्यसैले काउन्सिलको निर्देशन र समन्वयमा रहेर काम गर्नुपर्ने उनले बताइन्।
उनका अनुसार जग्गा खरिद गर्दादेखि सडक बनाउने, खानेपानी, बिजुली लगायतका सबै पूर्वाधार निर्माणमा काउन्सिलसँग समन्वय अनिवार्य छ। काउन्सिलको अनुमति बिना कुनै काम अघि बढ्दैन।
‘हामी बिल्डर पनि भएकाले कुनै पनि घरको ९० प्रतिशत काम सकिँदै गर्दा घर अगाडि एउटा रूख रोप्नुपर्छ। यो काउन्सिलको नियम नै हो। हरेक हप्ता काउन्सिलले हाम्रो कामको अनुगमन गरिरहेको हुन्छ,’ उनले भनिन्, ‘कुनै काम गर्दै गर्दा यहाँ पनि धेरै प्रक्रिया मिलाउनुपर्छ। तर यहाँ कुनै पनि काम हुने/नहुने स्पष्ट जानकारी गराइन्छ, अनि के कति कारणले भएन र त्यसका लागि के गर्ने भनेर समेत भनिन्छ।’
उनका अनुसार सन् २०१० देखि सुरू भएको एउटा योजना भर्खर कार्यान्वयनमा जाँदैछ। यो १ हजार घर बनाउनका लागि भइरहेको प्लट हो। अर्थात् त्यहाँ पनि कामका लागि प्रक्रिया पूरा गर्न समय लाग्छ, किनकि बस्ती बस्नुभन्दा पहिले सडक, पानी, बिजुली, ढल, पार्क लगायतका सबै पूर्वाधार तयार पार्नुपर्छ। सडकको हरियालीलाई उत्तिकै महत्व दिइन्छ।
उनी कार्यरत कम्पनीले बनाएका घरहरू बिक्री गर्दा स्थानीयलाई प्राथमिकता दिइन्छ। सरकारको नीतिअनुसार नै यस्तो गरिएको उनले बताइन्।
यो कम्पनीमा उनी ६ महिनाका लागि गएकी थिइन्, तर साढे ४ वर्ष भयो यसमै काम गरिरहेकी छन्।
‘हुन त म अस्ट्रेलिया आउने बेला पनि यतै बस्छु कि फर्किन्छु भन्ने कुनै योजना थिएन। यो कम्पनीमा पनि त्यस्तै भइरहेको छ। यहाँको बस्ती निर्माणको योजना बनाउन पाउँदाको अनुभव मेरा लागि सुखद छ,’ उनले भनिन्, ‘मेरो बुवा सिभिल इन्जिनियर भएकाले म पनि यता आकर्षित भएँ। हुन त सिभिल इन्जिनियर र आर्किटेक्ट फरक विधा हुन्, तर पनि एकअर्कासँग अन्तरसम्बन्धित छन्।’
कृपाका श्रीमान् श्रीलंकन नागरिक हुन्। उनी एडिलेडको विमानस्थलमा कार्यरत छन्।
एडिलेडमा काम गर्दै गर्दा कृपालाई नेपालको अव्यवस्थित बस्ती निर्माणको याद आइरहन्छ। त्यसैले उनी भन्छिन्, ‘नेपालमा पनि यहाँबाट सिकेर केही गर्न पाए हुन्थ्यो, जसले गर्दा दिगो पूर्वाधारको निर्माणमा पनि सहज हुन्थ्यो अनि जनताले पनि सहजै सुविधा पाउन सक्थे।’