यतिन्द्र शशी दस वर्षअघि अवसर र अनुभवको खोजीमा जर्मनी पुगेका थिए। अहिले म्युनिखस्थित इन्टेल कर्पोरेसन कम्पनीमा सिनियर एआई इन्जिनियर छन्।
इन्टेल विश्वकै अग्रणी प्रविधि कम्पनीमध्ये एक हो। इन्टेलले कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र उच्च प्रविधिका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।
यतिन्द्र मुख्यगरी इन्टेलका ग्राहकहरूको व्यावसायिक आवश्यकता बुझेर त्यस अनुसार एआईमा आधारित प्रभावकारी समाधानहरू तयार गर्ने एआई सोलुसन इन्जिनियर हुन्।
'ती सोलुसनहरू इन्टेलका हार्डवेयरमा सहज, छिटो र प्रभावकारी रूपमा सञ्चालन हुने सुनिश्चित गर्नु मेरो मुख्य जिम्मेवारी हो,' यतिन्द्रले भने, 'ग्राहकलाई एआई मोडलहरू स्थानीय रूपमा कम लागतमा डिप्लोय गर्न र दीर्घकालीन रूपमा स्केलेबल बनाउन उपयुक्त प्राविधिक मार्गदर्शन दिने काम पनि मेरै जिम्मेवारीमा छ।'
ग्राहकको आवश्यकता अनुसार प्रणाली डिजाइन तयार गर्ने, यसको संरचना (आर्किटेक्चर) विकास गर्ने, कार्यसम्पादन (पर्फर्मेन्स) सुधार गर्ने र व्यावसायिक आवश्यकतासँग प्राविधिक समाधानको सन्तुलन मिलाउन सहयोग पुर्याउने काम आफूले गर्नुपर्ने उनले बताए।
यतिन्द्रले यो कम्पनीमा काम गरेको ८ वर्ष भयो।
'सुरूमा करार (कन्ट्र्याक्ट) कर्मचारीका रूपमा आएको थिएँ। त्यसको एक वर्षपछि स्थायी नियुक्ति भयो,' उनले भने।

उनको टिममा जर्मनी, फ्रान्स, स्पेन लगायतका दस जना मानिस छन्।
उनको कार्यतालिका दैनिक आठ घन्टाको छ। सातामा दुई दिन बिदा पाउँछन्। कोभिड महामारीपछि 'वर्क फ्रम होम' प्रचलनमा आएपछि दुई दिन घरबाटै काम गर्छन्।
कम्पनीमा विभिन्न देशका मानिससँग काम गर्ने अवसर उनलाई मिलेको छ। त्यसले फरक फरक संस्कृति बुझ्ने र सिक्ने मौका दिएको उनी बताउँछन्। यहाँ काम गर्ने कर्मचारी कार्यालयको कामबाहेक व्यक्तिगत काममा पनि सहयोगी रहेको उनले बताए।
'यहाँ काम गर्न रमाइलो छ। सबै सहयोगी भावनाका छन्,' यतिन्द्रले भने।
उनको पुर्ख्यौली घर सिराहा हो। उनी दुई दाजुभाइमध्ये कान्छा हुन्। उनका बुबा सरकारी जागिरे थिए। कक्षा ४ सम्म सिराहामा पढेका उनी बुबासँग धनकुटा पुगे। त्यहाँ कक्षा ८ सम्म पढे।
त्यसपछि काठमाडौं आएर कक्षा १२ सके।
'अनि इन्जिनियरिङ पढ्न म भारत गएँ,' उनले सुनाए।
यतिन्द्रले भारतीय दूतावासको छात्रवृत्तिमा गुजरातस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ गरे।

उनले कलेजबाटै जागिरको अवसर पाएर मुम्बईस्थित एक दूरसञ्चार कम्पनीमा काम थाले।
त्यहाँ फोरजी मोबाइल उपकरणको चिपसेट सेटअप र परीक्षण गर्ने जिम्मेवारी सम्हाले।
करिब तीन वर्ष काम गरेपछि उनले थप पढाइ युरोपमा गर्ने सोचे।
इटालीको युनिभर्सिटी अफ ट्रेन्टोमा स्नातकोत्तर गर्न छात्रवृत्ति पाए। इआइटी डिजिटल मास्टर्स कार्यक्रम अन्तर्गत 'आइसिटी इनोभेसन' विषय पढे।
यो दुई वर्षको कोर्स थियो। उनले एक वर्ष त्यहीँ पढे र दोस्रो वर्षका लागि जर्मनी पुगे। त्यहाँको टियू बर्लिन विश्वविद्यालयमा आबद्ध भए।
त्यहाँ उनले पढ्दै बिदाको समयमा पार्ट–टाइम काम गरे। त्यहाँ हुँदा नै उनले इन्टेल कम्पनीमा आवेदन दिए र छानिए पनि।
'आगामी दिनमा पनि इन्टेलमै काम गर्ने योजना छ। एआईलाई अझ विस्तार गर्दै मानिसको दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छु,' यतिन्द्रले भने, 'यहाँ कामका लागि आवश्यक उपकरणको चिन्ता हुँदैन। त्यसैले नयाँ नयाँ प्रयोग गर्न सहज हुन्छ।'