रौतहटको फतुवा विजयपुर नगरपालिकाका रूपेश काफ्ले सन् २०२३ डिसेम्बरमा बेलायत पुगे।
उनको योजना डिजिटल मार्केटिङ पढ्ने थियो।
उनी एक्लै गएका थिएनन्। श्रीमती र एक वर्षका छोरा पनि सँगै थिए।
बेलायत पुगेको भोलिपल्टै उनी काम खोज्न निस्किए। श्रीमतीलाई कोठामा बस्न र सामान मिलाउन भन्दै छोरालाई बोकेर पसल र रेस्टुरेन्ट चहारे।
आफू विद्यार्थी भएको र केही कामको अनुभवसमेत रहेको बताउँदै काम मागे। तर कहीँ पाएनन्।
त्यति बेला बेलायतमा विद्यार्थीका लागि काम पाउन सहज थिएन। काँधमा बच्चा बोकेर काम खोज्दै हिँडिरहेका रूपेशलाई देखेर कतिपयले भने विशेष चासो देखाउँथे। उनको अवस्था बुझ्न समय दिन्थे र काम खोज्न सहयोग गर्ने आश्वासन समेत दिन्थे।
'यो मान्छे बच्चा बोक्दै हिँडिरहेको छ, यसलाई त अप्ठ्यारै परेको रहेछ भनेर अलि बढी माया देखाउनेहरू थिए,' ती दिन सम्झिँदै उनले भने।
केही समयपछि उनले केयर होममा काम भएको जानकारी पाए। तर सो काम विद्यार्थीका लागि उपयुक्त थिएन। पूरा समय खटिनुपर्थ्यो। त्यसैले उनकी श्रीमती त्यहाँ काम गर्न थालिन्।
पछि श्रीमतीको जागिर सर्यो, अल्डरसट भन्ने ठाउँमा। बसाइ र काम गर्ने स्थान टाढा भएपछि उनीहरू पनि सरे।
रूपेशले अल्डरसटमा 'भिन्तुना' नामक नेपाली रेस्टुरेन्ट काम पाए। एक वर्ष त्यहीँ बिताए। त्यसपछि ग्रिक खानाका लागि बेलायतमा चर्चित रेस्टुरेन्ट 'गाया' मा काम गरे।

'गायामा खाना खान एक महिनाअघि नै बुकिङ गर्नुपर्थ्यो। दुबईका राजकुमारदेखि अमेरिकी धनाढ्य, खेलाडी, बलिउड कलाकारसम्म आउँथे। तलब र सेवासुविधा पनि राम्रो थियो,' उनले भने।
तर काम सहज थिएन। दैनिक १५ घन्टासम्म खटिनुपर्थ्यो। आउजाउमा डेढ घन्टा लाग्थ्यो। त्यसैले राम्रो आम्दानी भए पनि रूपेशलाई कठिन थियो।
बिस्तारै उनलाई पैसा मात्रै जीवनको आवश्यकता होइन भन्ने महसुस हुन थाल्यो। काम गर्ने ठाउँ टाढा हुँदा परिवारलाई पर्याप्त समय दिन पाएका थिएनन्। नेपाल र घरपरिवारको न्यास्रो पनि लाग्न थालेको थियो।
'मान्छेलाई कुनै समयमा पैसा चाहिन्छ, कुनै समयमा परिवार चाहिने रहेछ। मलाई त्यस्तै भयो,' उनले भने, 'काम छाडेर छोरासँग नेपाल फर्किएँ। त्यो बेला घुमघाम गरेँ। अन्नपूर्ण आधार शिविरसम्म पुगेँ।'
केही समयपछि उनी बेलायत फर्किए।
पछिल्लो ५ महिनायता उनी पर्फ्युम, मालिस गर्ने तेल लगायत सामग्री उत्पादन गर्ने कम्पनीको प्रोडक्सन डिपार्टमेन्टमा काम गरिरहेका छन्।
कामसँगै उनी नेपाली संस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छन्।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर, अल्डरसटका कल्चरल सेक्रेटरी समेत रहेका रूपेश विदेशमा बस्ने नेपालीले आफ्ना चाडपर्व रीतिरिवाज तथा संस्कार नयाँ पुस्तालाई सिकाउनुपर्ने धारणा राख्छन्।
उक्त संस्थाले नेपाली चाडपर्वहरूमा धार्मिक र सांस्कृतिक कार्यक्रमहरू गर्छ। नेपाली समुदायका मानिस एकै ठाउँ भेला भएर चाडपर्व मनाउने वातावरण बनाउनु संस्थाको मुख्य काममध्ये एक हो।
उनका अनुसार अल्डरसटलाई 'मिनी नेपाल' पनि भनिन्छ। यहाँ नेपाली समुदायको बाक्लो उपस्थिति छ। सामाजिक र राजनीतिक गतिविधिमा नेपाली मूलका मानिसको सहभागिता धेरै नै हुन्छ।
'अल्डरसटका किराना पसलमा नेपाली भाषामै कारोबार गर्न सकिने अवस्था छ,' रूपेशले भने, 'अस्पतालमा नेपाली वा अंग्रेजी भाषा रोज्न पाउने सुविधा छ। स्थानीय राजनीतिमा नेपाली मूलका मानिसको उपस्थिति छ।'

अल्डरसटमा नेपाली मन्दिर र गुम्बा पनि छन्। नेपाली समुदायको आर्थिक गतिविधि बढ्दै गएको छ। स्थानीय बासिन्दाका व्यवसाय बन्द हुँदै जाँदा नेपालीहरूले ती व्यवसाय खरिद गर्ने क्रम बढेको छ। र, नेपाली बस्ती पनि बाक्लिँदै गएको छ।
'अल्डरसटमा नेपालकै जस्तो सामाजिक वातावरण बन्दै गएको छ। बस्न रमाइलै छ,' उनले भने, 'आम्दानीका हिसाबले पनि राम्रो छ।'
तर अब रूपेश त्यहाँको राम्रो कमाइ र सहज जीवन छाडेर नेपाल फर्किने तयारीमा छन्।
उनको यो निर्णयको पछाडि तीन वर्षअघि देखेको एउटा सपना छ।
आफ्ना लागि र परिवारका लागि केही गरे पनि समाजका लागि के गर्न सकेँ भन्ने प्रश्नले उनलाई लामो समयदेखि घचघच्याइरहेको छ।
'तीन वर्षअघिको मेरो जन्मदिनमा समाजका लागि केही गर्ने सपना देखेको थिएँ,' उनले भने, 'आफ्ना लागि, परिवारका लागि त केही गरेँ, समाजका लागि के गरेँ भन्ने प्रश्न मनमा आइरहेको थियो।'
त्यही प्रश्नले उनलाई आफ्नै स्थानीय तह विजयपुर नगरपालिकासम्म ल्याउन लागेको छ। २०८४ सालको स्थानीय तह निर्वाचनमा उनले विजयपुरको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यस विषयमा उनले नगरपालिकाका अग्रजहरूसँग छलफल गरिसकेका छन्। उनीहरूबाट हौसला पाएको रूपेश बताउँछन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न आवेदन समेत दिइसकेका छन्।
उम्मेदवारका लागि हुने प्रशिक्षण कार्यक्रम सुरू हुने भएपछि नेपाल फर्किने उनको योजना छ।
नेपाल आएपछि सुशासन र नगरपालिकाको विकासका लागि काम गर्ने उनको प्रतिबद्धता छ। 'सुशासनसहितको सरकार, सबैको अधिकार' भन्ने नारा उनले सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्।
'सबै कामका लागि पैसै मात्र पनि चाहिँदैन। हुटहुटी र काम गर्ने क्षमता पनि चाहिन्छ,' उनले भने।
बेलायतम देखेका, सिकेका र भोगेका कुरा नेपाल फर्किएपछि नगरपालिकाको काममा प्रयोग गर्ने उनको योजना छ।
त्यस्तै विदेश जानुलाई समस्या मात्र मान्न नहुने रूपेशको धारणा छ। विदेशमा सीप र उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किन सके त्यसले देशलाई फाइदा पुग्ने उनी बताउँछन्।
'युवाहरू विदेश जानु नै समस्या त होइन। विदेश गएर सीप सिक्नु, उच्च शिक्षा हासिल गर्नु र फर्केर आफ्नो देशका लागि केही गर्न सक्नु त धेरै राम्रो हो।'
