नेपाल शैक्षिक परामर्श संस्था (इक्यान) को नाम आउनासाथ धेरैको मनमा एउटा धारणा बन्ने गरेको छ, यो नेपालका विद्यार्थीलाई विदेश पठाउने संस्था हो।
नेपालबाट विद्यार्थी विदेशिने क्रम बढ्दै जाँदा त्यसको सम्पूर्ण जिम्मेवारी पनि प्रायः इक्यानमाथि नै थोपर्ने गरिन्छ। सार्वजनिक बहसमा पनि विद्यार्थी पलायनको विषय उठ्नेबित्तिकै इक्यानलाई आलोचनाको केन्द्र बनाइन्छ। तर यो बुझाइ एक पक्षीय मात्र होइन, वास्तविकताभन्दा धेरै टाढाको निष्कर्ष पनि हो।
कुनै पनि विद्यार्थी विदेश जाने वा स्वदेशमै अध्ययन गर्ने निर्णय एउटा संस्थाले मात्र निर्धारण गर्ने विषय होइन। त्यसमा नेपालको उच्च शिक्षाको गुणस्तर, उपलब्ध शैक्षिक कार्यक्रम, श्रम बजार, अभिभावकको अपेक्षा, विद्यार्थीको रूचि, आर्थिक अवस्था, अन्तर्राष्ट्रिय अवसर, सरकारी नीति तथा विश्वव्यापी शिक्षा प्रवृत्तिसम्मका अनेक पक्ष जोडिएका हुन्छन्। त्यसैले सम्पूर्ण जिम्मेवारी एउटा परामर्श संस्थामाथि थोपर्नु समस्याको वास्तविक कारणलाई बेवास्ता गर्नु सरह हो।
वास्तवमा इक्यानको मूल दर्शन नै विद्यार्थीलाई सबैभन्दा उपयुक्त शैक्षिक विकल्प छनोट गर्न सहयोग गर्नु हो। यदि त्यो विकल्प नेपालमै उपलब्ध छ भने विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न प्रेरित गर्नुपर्छ, र नेपालमा आवश्यक अवसर उपलब्ध नभए वा विद्यार्थीको शैक्षिक तथा व्यावसायिक लक्ष्यका लागि विदेश उपयुक्त देखिएमा मात्र अन्तर्राष्ट्रिय विश्वविद्यालयतर्फ मार्गदर्शन गर्नुपर्छ। यही कारण इक्यानअन्तर्गतका सदस्य संस्थाहरूले वर्षौँदेखि ‘पहिले स्वदेश, त्यसपछि विदेश’ भन्ने अवधारणालाई व्यवहारमै लागु गर्दै आएका छन्।
धेरै विद्यार्थीलाई उनीहरूको रूचि, क्षमता, आर्थिक अवस्था र भविष्यको लक्ष्यका आधारमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलगायत नेपाली विश्वविद्यालय र कलेजमा अध्ययन गर्न सिफारिस गरिएको छ । कतिपयलाई नेपालमै सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय विश्वविद्यालयका शैक्षिक कार्यक्रम रोज्न सुझाव दिइएको छ। विदेश अध्ययनको परामर्श त्यसपछि मात्र दिइएको छ, जब त्यो विद्यार्थीका लागि वास्तवमै उपयुक्त विकल्प बनेको छ। दुर्भाग्यवश, यस्ता सकारात्मक अभ्यासहरू सार्वजनिक बहसको विषय कम बनेका छन्।
वास्तवमा नेपालबाट विद्यार्थी विदेश जानुको कारण परामर्शदाता मात्र होइनन्। गुणस्तरीय अनुसन्धानको अभाव, सीमित शैक्षिक कार्यक्रम, प्रयोगशालाको कमी, उद्योगसँग कमजोर शैक्षिक सम्बन्ध, विश्वविद्यालयको ढिलो शैक्षिक क्यालेन्डर, रोजगारीका अवसरप्रतिको अनिश्चितता तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने चाहनाजस्ता कारणहरूले पनि विद्यार्थीलाई विदेशतर्फ आकर्षित गरिरहेका छन्। यी संरचनात्मक समस्याको समाधान नगरी विद्यार्थी विदेशिनुका लागि केवल परामर्श क्षेत्रलाई दोष दिनु न्यायोचित हुँदैन।
विश्वका धेरै देशले विद्यार्थी गतिशीलतालाई समस्या होइन, अवसरका रूपमा हेरेका छन्। आज लाखौँ विद्यार्थी आफ्नै देश छोडेर अध्ययन गरिरहेका छन्। संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, दक्षिण कोरिया, मलेसिया र संयुक्त अरब इमिरेट्सजस्ता देशहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो शिक्षा प्रणालीको महत्वपूर्ण हिस्साका रूपमा स्वीकार गरेका छन्। ती देशहरूले आफ्ना विद्यार्थी विदेश जान नरोकेर आफ्ना विश्वविद्यालयलाई पनि विश्वस्तरीय बनाएका छन् र विदेशी विद्यार्थी आकर्षित गर्न नीतिगत लगानी गरेका छन्। अन्तर्राष्ट्रियकरणको यही सन्तुलित मोडल आज विश्वभर सफल मानिएको छ।
नेपालले पनि अब यही सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता छ। विदेश अध्ययनलाई पूर्ण रूपमा निरूत्साहित गर्ने वा त्यसलाई मात्र प्रोत्साहन गर्ने दुवै दृष्टिकोण दीर्घकालीन रूपमा उपयुक्त हुन सक्दैनन्। सही नीति भनेको विद्यार्थीलाई सबै विकल्पबारे निष्पक्ष जानकारी उपलब्ध गराउने, नेपालमै उपलब्ध उत्कृष्ट अवसरको उपयोग गराउने र आवश्यकता परेमा मात्र अन्तर्राष्ट्रिय शिक्षाको बाटो रोज्न सहयोग गर्ने हो।
यही सोचले हालै भएको इक्यान र नेपालमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूको सङ्गठन बीचको सहकार्यलाई विशेष महत्व दिएको छ। सतहमा हेर्दा यो दुई संस्थाबीचको सामान्य समझदारीजस्तो देखिन सक्छ। तर यसको सन्देश धेरै गहिरो छ। यसले विदेशमा अध्ययन र नेपालमै अन्तर्राष्ट्रिय स्तरको अध्ययनलाई एकअर्काका प्रतिस्पर्धी होइनन्, बरू एउटै राष्ट्रिय शिक्षा रणनीतिका परिपूरक आयाम हुन् भन्ने सन्देश दिएको छ।
इक्यानले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्ने काम गर्दै आएको छ भने आइइप्यानले विश्वस्तरीय विश्वविद्यालयका शैक्षिक कार्यक्रम नेपालमै उपलब्ध गराएर अन्तर्राष्ट्रिय शिक्षालाई नेपालभित्र ल्याउने काम गरिरहेको छ। सरल शब्दमा भन्नुपर्दा, इक्यानले नेपाललाई विश्वसँग जोड्छ भने आइइप्यानले विश्वलाई नेपालसँग जोड्छ। दुवै संस्थाको उद्देश्य एउटै हो, विद्यार्थीलाई गुणस्तरीय शिक्षा र विश्वस्तरीय अवसर उपलब्ध गराउनु।
नेपालमै सञ्चालन भइरहेका अन्तर्राष्ट्रिय डिग्री कार्यक्रमको विस्तारले विद्यार्थीलाई ठूलो आर्थिक राहत पनि दिएको छ। विदेशमा अध्ययन गर्दा लाग्ने हवाई यात्रा, आवास, दैनिक जीवनयापन तथा अन्य खर्चको ठूलो हिस्सा बचत गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री हासिल गर्ने अवसर अहिले नेपालमै उपलब्ध हुन थालेको छ। यसले परिवारको आर्थिक भार कम गर्नुका साथै विदेशी मुद्रा बाहिरिने प्रवृत्तिलाई समेत केही हदसम्म नियन्त्रण गर्न सहयोग पुर्याउन सक्छ। यही कारण नेपालभित्र अन्तर्राष्ट्रिय शिक्षाको विस्तारलाई राष्ट्रिय हितसँग पनि जोडेर हेर्न आवश्यक छ।
यस सहकार्यले अब एउटा नयाँ सम्भावनाको ढोका खोलेको छ। विद्यार्थीलाई विदेश अध्ययनका लागि मार्गदर्शन गर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने प्रयासलाई एउटै राष्ट्रिय दृष्टिकोणबाट अघि बढाउन सकिन्छ। कुनै विद्यार्थीका लागि नेपालमै उपलब्ध शैक्षिक कार्यक्रम उपयुक्त छ भने उसले त्यही अवसर रोज्नुपर्छ।
यदि अन्तर्राष्ट्रिय अनुभव वा नेपालमा उपलब्ध नभएको विशिष्ट शैक्षिक कार्यक्रम आवश्यक छ भने गुणस्तरीय विदेशी विश्वविद्यालयसम्म पुग्ने बाटो पनि खुला हुनुपर्छ। अन्तिम निर्णय विद्यार्थीको आवश्यकता, क्षमता, आर्थिक अवस्था र भविष्यका लक्ष्यका आधारमा हुनुपर्छ, कुनै पूर्वाग्रहका आधारमा होइन।
यस सहकार्यले गुणस्तरीय शैक्षिक परामर्शको संस्कृतिलाई पनि थप बल पुर्याउन सक्छ। परामर्शको उद्देश्य कुनै निश्चित देश वा संस्थामा विद्यार्थी पठाउनु होइन, विद्यार्थीका लागि सबैभन्दा उपयुक्त विकल्प पहिचान गर्नु हुनुपर्छ। विद्यार्थीलाई निष्पक्ष सूचना, जोखिम, लागत, सम्भावित प्रतिफल र करियरका अवसरबारे स्पष्ट जानकारी दिनु नै जिम्मेवार शैक्षिक परामर्शको मर्म हो। यही मान्यतालाई संस्थागत गर्न सके नेपालको परामर्श क्षेत्र अझ विश्वसनीय बन्नेछ।
त्यसभन्दा पनि महत्वपूर्ण कुरा, यो सहकार्यले ‘नेपालमा अध्ययन गरौँ’ अभियानलाई नयाँ गति दिन सक्छ। नेपालको लक्ष्य आफ्ना विद्यार्थीलाई उचित शैक्षिक विकल्प उपलब्ध गराउने मात्र होइन, विश्वका विद्यार्थीलाई पनि नेपाल अध्ययनका लागि आकर्षित गर्ने हुनुपर्छ। त्यसका लागि अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य विस्तार, गुणस्तरीय शैक्षिक कार्यक्रम, सहज विद्यार्थी प्रवेशाज्ञा (भिसा) व्यवस्था, विश्वसनीय गुणस्तर सुनिश्चितता, अन्तर्राष्ट्रिय विद्यार्थीमैत्री सेवा प्रणाली, अनुसन्धानमा लगानी तथा विश्वव्यापी प्रचार–प्रसार आवश्यक छ। यी विषयमा सरकार, विश्वविद्यालय, निजी क्षेत्र र नियामक निकायबीच गम्भीर नीतिगत सहकार्य हुन जरूरी छ।
नेपालसँग यस दिशामा अघि बढ्न पर्याप्त सम्भावना पनि छ। तुलनात्मक रूपमा कम अध्ययन खर्च, अंग्रेजी माध्यममा सञ्चालन हुने कार्यक्रम, हिमाली प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, दक्षिण एशियाको रणनीतिक भौगोलिक अवस्थिति तथा बढ्दो अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यले नेपाललाई क्षेत्रीय अध्ययन गन्तव्यका रूपमा विकास गर्न सक्ने आधार तयार गरिरहेका छन्। आवश्यक कुरा भनेको स्पष्ट नीति, गुणस्तरमा निरन्तर सुधार र अन्तर्राष्ट्रिय विश्वास निर्माण हो।
शिक्षालाई राष्ट्रिय विकाससँग जोडेर हेर्ने हो भने विद्यार्थी विदेश जानु वा नजानु मात्र प्रमुख प्रश्न होइन। प्रमुख प्रश्न उनीहरूले प्राप्त गर्ने ज्ञान, सीप र अनुभवलाई नेपालले कसरी उपयोग गर्छ भन्ने हो। विदेशमा अध्ययन गरेर फर्किने विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जनामा आकर्षित गर्न सके विदेश अध्ययन पनि राष्ट्रिय विकासको महत्वपूर्ण साधन बन्न सक्छ। त्यसैगरी नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा विस्तार गर्न सके देशभित्रै विश्वस्तरीय मानव पूँजी उत्पादन गर्न सकिन्छ। यी दुवै रणनीति एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्।
आजको विश्वमा कुनै पनि देशले आफ्ना विद्यार्थी विदेश पठाएर मात्र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा प्रभाव स्थापित गर्न सक्दैन। उसले विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग साझेदारी विस्तार गर्नुपर्छ, अनुसन्धानको वातावरण निर्माण गर्नुपर्छ र आफ्नो शिक्षा प्रणालीलाई विश्वसनीय बनाउनुपर्छ। नेपालले पनि अब यही बाटो समात्नुपर्ने बेला आएको छ। इक्यान–आइइप्यान सहकार्य त्यस दिशातर्फको एउटा महत्वपूर्ण सुरुआत हो।
आज आवश्यकता दोषारोपणको होइन, सहकार्यको हो। एउटा संस्थाले नेपाली विद्यार्थीलाई विश्वसम्म पुर्याउने र अर्कोले विश्वस्तरीय शिक्षालाई नेपालसम्म ल्याउने प्रयास गर्दा अन्ततः लाभ नेपालको शिक्षा प्रणालीलाई नै पुग्छ।
यदि हामीले ‘पहिले स्वदेश, त्यसपछि विदेश’ भन्ने विद्यार्थीकेन्द्रित सोचलाई राष्ट्रिय शिक्षा नीतिको आधार बनाउन सक्यौँ, गुणस्तरीय शिक्षा विस्तारमा सबै पक्षले साझा जिम्मेवारी वहन गर्न सक्यौँ र अन्तर्राष्ट्रियकरणलाई राष्ट्रिय हितसँग जोड्न सक्यौँ भने नेपाललाई दक्षिण एशियाकै विश्वसनीय अध्ययन गन्तव्यका रूपमा स्थापित गर्ने सपना पनि क्रमशः यथार्थमा परिणत हुनेछ।
(लेखक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष एवम् अर्विट इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक हुन्।)