नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको पुँजी, सीप, अनुभव, ज्ञान, सम्पर्क तथा स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गर्ने उद्देश्यले अघि बढाइएको एनआरएन डेभलपमेन्ट फण्ड अहिले सामूहिक लगानीको महत्वपूर्ण अवधारणाका रूपमा अगाडि आएको छ।
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई सानोदेखि ठूलो लगानीसम्म एउटै संरचनामा जोडेर नेपालको उत्पादनशील तथा दीर्घकालीन आर्थिक विकासमा सहभागी गराउने उद्देश्यले यो अवधारणा लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि बढाउँदै आएको हो।
अवधारणादेखि संस्थागत संरचनासम्म
एनआरएनएको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन (२०१७–१९) पछि अन्तर्राष्ट्रिय समन्वय परिषद्को धुलिखेल माउन्टेन रिसोर्टमा बसेको पहिलो प्रत्यक्ष बैठकबाट करिब १० अर्ब रुपैयाँको गैरआवासीय नेपाली लगानी फण्डनिर्माण गर्ने अवधारणा अघि बढाइएको थियो।
यस अवधारणालाई संस्थागत रूप दिन २९–३० मार्च २०१९ मा नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनका क्रममा नेपाल सरकार र गैरआवासीय नेपाली पक्षबीच लगानीसम्बन्धी सम्झौता भयो। त्यसपछि गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्न विद्यमान कानुन तथा नियमावलीमा आवश्यक संशोधनका लागि सरकार, एनआरएनए तथा सम्बन्धित सरोकारवालाबीच निरन्तर छलफल र समन्वय अघि बढाइयो।
यही प्रक्रियाको निरन्तरतामा ३० मार्च २०२१ मा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड औपचारिक रूपमा दर्ता भयो। यसरी २०१९ मा सुरू भएको सामूहिक लगानीको अभियान निरन्तर प्रयास, कानुनी सुधार र संस्थागत पहल हुँदै करिब सात वर्षपछि महत्वपूर्ण चरणमा पुगेको छ।
१० अर्ब रुपैयाँको फण्ड र लगानी संरचना
एनआरएन डेभलपमेन्ट फण्डको मूल उद्देश्य न्यूनतम १० अर्ब रुपैयाँ पुँजी परिचालन गर्नु हो। यसले सानो पुँजी भएका गैरआवासीय नेपालीलाई समेत समेटेर सामूहिक लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।
प्रस्तावित संरचनाअनुसार फण्डमा विभिन्न पक्षको सहभागिता सुनिश्चित गरिएको छ।
* नेपाल सरकार – ५ प्रतिशत
* प्रवर्द्धकहरू – १० प्रतिशत
* विश्वभर रहेका गैरआवासीय नेपाली – ८५ प्रतिशतसम्म
यसको सबैभन्दा महत्वपूर्ण पक्ष विश्वभर रहेका गैरआवासीय नेपालीका लागि ८५ प्रतिशतसम्म प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत शेयर लगानी गर्ने अवसर सिर्जना हुनु हो।
सामान्यतया नेपालमा आइपिओमार्फत सीमित अनुपातमा पुँजी संकलन गर्ने अभ्यास रहे पनि यस कम्पनीलाई ८५ प्रतिशतसम्म आइपिओमार्फत पुँजी संकलन गर्न अनुमति दिनु सामूहिक लगानीका दृष्टिले महत्वपूर्ण निर्णय हो। यसले गैरआवासीय नेपालीलाई केही सीमित ठूला लगानीकर्ताका रूपमा मात्र नभई व्यापक रूपमा सहभागी हुने सामूहिक लगानीकर्ताका रूपमा स्थापित गर्ने आधार तयार गर्छ।
सानोदेखि ठूलो लगानीसम्मको अवसर
प्रस्तावित व्यवस्थाअनुसार एक गैरआवासीय नेपालीले न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्। यसले ठूलो पूँजी भएका लगानीकर्तासँगै सानो पुँजी भएका गैरआवासीय नेपालीलाई पनि एउटै संरचनाभित्र समेट्छ। विदेशमा रहेका नेपालीहरूले आफ्नो क्षमता र रुचिअनुसार लगानी गर्दै नेपालको आर्थिक विकासमा प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन्।
लगानी तथा आवश्यक कागजी प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सकिने भएकाले लगानी गर्न भौतिक रूपमा नेपाल जानुपर्ने बाध्यता नरहने व्यवस्था गरिएको छ।
गैरआवासीय नेपालीका लागि विशेष लगानी संरचना
गैरआवासीय नेपालीहरूले मात्र लगानी गर्न सक्ने विशेष संरचनाका रूपमा यो फण्डलाई अघि बढाइएको हो। यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, नेपाल धितोपत्र बोर्ड तथा विशेषगरी अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न कानुन तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपरेको थियो।
एनआरएन हैसियत भएका व्यक्तिहरूले यसमा लगानी गर्न सक्नेछन्। नेपाली मूलका विदेशी नागरिक तथा अन्य योग्य गैरआवासीय नेपालीहरूले आफ्नो एनआरएन हैसियत कायम रहेसम्म कम्पनीको शेयर खरिद गर्न सक्नेछन्।
एनआरएन हैसियत समाप्त भएपछि नयाँ शेयर खरिद गर्न नपाइने भए पनि आफ्नो स्वामित्वमा रहेको शेयर अन्य योग्य गैरआवासीय नेपालीलाई बिक्री वा हस्तान्तरण गर्न सकिने व्यवस्था रहनेछ।
त्यसैगरी, कम्पनीले गरेको लगानीबाट प्राप्त मुनाफा विदेशमा लैजान सकिने व्यवस्था हुनेछ। यसले गैरआवासीय नेपाली लगानीकर्तालाई लगानीसँगै प्रतिफलको संस्थागत अवसर प्रदान गर्ने आधार तयार गर्छ।
लगानी कहाँ परिचालन हुनेछ?
फण्डमार्फत संकलन हुने पुँजीलाई मुख्यतः नेपालको पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा परिचालन गर्ने लक्ष्य राखिएको छ। सम्भावित क्षेत्रहरूमा पूर्वाधार, ऊर्जा तथा जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्र रहेका छन्।
यस्ता क्षेत्रमा लगानी विस्तार हुन सकेमा रोजगारी सिर्जना, उत्पादन वृद्धि, प्रविधि तथा सीप हस्तान्तरण र नेपालको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न सक्छ।
एनआरएन डेभलपमेन्ट फण्ड किन ऐतिहासिक छ?
फण्डमा गैरआवासीय नेपालीका लागि ८५ प्रतिशतसम्म आइपिओ मार्फत लगानीको अवसर सिर्जना हुनु केवल एउटा वित्तीय निर्णय मात्र होइन। यो विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई नेपालको आर्थिक विकासमा संस्थागत साझेदार बनाउने महत्वपूर्ण कदम हो। यसले मुख्यतः तीनवटा महत्वपूर्ण सम्भावना सिर्जना गर्छ।
पहिलो, विश्वभर छरिएर रहेको नेपाली पूँजीलाई नेपालका उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिन्छ।
दोस्रो, सानोदेखि ठूलो पूँजी भएका गैरआवासीय नेपालीलाई एउटै सामूहिक लगानीको प्लेटफर्ममा जोड्न सकिन्छ।
तेस्रो, गैरआवासीय नेपालीलाई नेपालसँगको भावनात्मक सम्बन्धमा मात्र सीमित नराखी पूँजी, लगानी र आर्थिक विकासका साझेदारका रूपमा स्थापित गर्न सकिन्छ।
फण्ड र एनआरएनएको सम्बन्ध
एनआरएन डेभलपमेन्ट फण्ड स्वतन्त्र संस्था भएकाले यसको कुनै पनि दायित्व एनआरएनएले वहन गर्ने छैन। तर कम्पनीले आफ्नो नाफाको १ प्रतिशत रकम सिएसआर अन्तर्गत एनआरएनएलाई प्रदान गर्ने व्यवस्था रहनेछ।
यसले फण्डलाई स्वतन्त्र रूपमा सञ्चालन हुने संस्थाका रूपमा कायम राख्दै एनआरएनएको सामाजिक तथा आर्थिक विकाससँग जोडिएको उद्देश्यमा समेत योगदान पुर्याउने आधार तयार गर्छ।
विश्वव्यापी लगानी अभियान
फण्डमा विश्वभर रहेका गैरआवासीय नेपालीलाई सहभागी गराउन स्पष्ट सूचना, पारदर्शी प्रक्रिया र प्रभावकारी लगानी प्रवर्द्धन आवश्यक हुनेछ। यसका लागि कम्पनीले सम्भावित शेयरधनीहरूलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ। रोड–शो आयोजना गर्न एनआरएनएले आवश्यक समन्वय गर्नेछ।
एनआरएनएले विभिन्न देश तथा क्षेत्रमा रोड शो, लगानी अन्तरक्रिया, बैठक, लगानी सम्मेलन तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने तयारीसमेत गरेको छ। राष्ट्रिय समन्वय परिषद् (एनसिसी), क्षेत्रीय समिति तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै लगानीका अवसर, प्रक्रिया, सम्भावित परियोजना र प्रतिफलबारे जानकारी गराउने योजना रहेको छ।
विभिन्न क्षेत्रीय सम्मेलन तथा राष्ट्रिय समन्वय परिषद्का कार्यक्रमहरूलाई समेत लगानी प्रवर्द्धनको माध्यमका रूपमा प्रयोग गर्दै विश्वव्यापी रूपमा लगानीको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।
यसको मूल भावना हो—'सबैको लगानी, सबैको सहभागिता।'
करिब सात वर्षको निरन्तर प्रयास
एनआरएन डेभलपमेन्ट फण्ड एकैपटक आएको योजना होइन। यसको पछाडि एनआरएनएका विभिन्न नेतृत्व, अभियन्ता, नेपाल सरकार, सम्बन्धित मन्त्रालय, नियामक निकाय तथा अन्य सरोकारवालाको लामो समयदेखिको निरन्तर प्रयास रहेको छ।
२०१९ को लगानी सम्झौताबाट सुरु भएको प्रक्रिया, २०२१ मा फण्ड दर्ता हुँदै अहिले गैरआवासीय नेपालीका लागि व्यापक शेयर सहभागिताको चरणमा पुग्नु आफैमा महत्वपूर्ण उपलब्धि हो।
यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ—सामूहिक सोच, निरन्तर पहल र सरकारसँगको संस्थागत सहकार्यबाट प्रवासी नेपालीको पूँजीलाई नेपालको विकाससँग जोड्न सकिन्छ।
एनआरएनएको मूल उद्देश्यसँग जोडिएको सकारात्मक कदम
एनआरएनएको स्थापना भएदेखि नै गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, अनुभव, सम्पर्क, पुँजी तथा स्रोत–साधनलाई नेपालको सामाजिक तथा आर्थिक विकास मा उपयोग गर्ने उद्देश्यसहित विभिन्न पहल र कार्यक्रम हुँदै आएका छन्। त्यसैको निरन्तरताका रूपमा एनआरएन डेभलपमेन्ट फण्डलाई एक महत्वपूर्ण र सकारात्मक कदमका रूपमा लिन सकिन्छ।
विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सामूहिक पुँजीलाई व्यवस्थित रूपमा परिचालन गरी नेपालका उत्पादनमूलक, रोजगारी सिर्जना गर्ने तथा दीर्घकालीन विकासका क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण हुनु एनआरएनएको मूल उद्देश्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।
अबको प्राथमिकता : विश्वास र सफल कार्यान्वयन
फण्डको संरचना र लगानीको अवसर तयार भएपछि यसको सफल कार्यान्वयन अझ महत्वपूर्ण हुनेछ। विश्वभर रहेका गैरआवासीय नेपालीलाई स्पष्ट सूचना, पारदर्शी प्रक्रिया, लगानीको सुरक्षा, उचित प्रतिफल र प्रभावकारी व्यवस्थापनमार्फत विश्वास दिलाउनु आवश्यक छ।
लगानीकर्तालाई फण्डको संरचना, लगानी प्रक्रिया, सम्भावित परियोजना, जोखिम, प्रतिफल तथा अन्य आवश्यक विषयमा स्पष्ट जानकारी उपलब्ध गराउनु यसको सफलताको महत्वपूर्ण आधार हुनेछ।
एनआरएन डेभलपमेन्ट फण्ड केवल १० अर्ब रुपैयाँ परिचालन गर्ने परियोजना होइन; यो विश्वभरका गैरआवासीय नेपालीलाई नेपालको आर्थिक समृद्धिको साझेदार बनाउने दीर्घकालीन अभियान हो।
नेपाल सरकारको ५ प्रतिशत, प्रवर्द्धकको १० प्रतिशत र गैरआवासीय नेपालीको ८५ प्रतिशतसम्म सहभागिताको प्रस्तावले सामूहिक लगानीका लागि नयाँ आधार तयार गरेको छ।
अबको मुख्य जिम्मेवारी यस अवसरलाई व्यवहारमा सफल बनाउनु, विश्वभरका गैरआवासीय नेपालीलाई जोड्नु र उनीहरूको सानोदेखि ठूलो पुँजीसम्मलाई नेपालको उत्पादनशील, रोजगारी सिर्जना गर्ने तथा दीर्घकालीन आर्थिक विकासका क्षेत्रमा परिचालन गर्नु हो।
यदि 'सबैको लगानी, सबैको सहभागिता' भन्ने भावनालाई व्यवहारमा उतार्न सकियो भने एनआरएन डेभलपमेन्ट फण्ड नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको संस्थागत सहभागिताको एउटा महत्वपूर्ण अध्याय बन्न सक्छ।
(लेखक गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रवक्ता हुन्।)