गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले हस्ताक्षर गरेका हुन्।
यो समझदारीमार्फत विश्वभर रहेका गैरआवासीय नेपालीको पूँजी, सीप, ज्ञान, प्रविधि, अन्तर्राष्ट्रिय अनुभव तथा व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्य राखिएको छ।
समझदारीअनुसार एनआरएनए र नेपाल चेम्बरले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) तथा गैरआवासीय नेपाली लगानी भित्र्याउन सहजीकरण गर्ने, व्यापार तथा उद्योगको विकासमा सहकार्य गर्ने र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच व्यावसायिक सम्बन्ध तथा सञ्जाल विस्तार गर्नेछन्।
दुवै संस्थाले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गर्नेछन्। यसमार्फत नेपालका व्यवसायी तथा उद्यमीलाई विश्वभर रहेका गैरआवासीय नेपाली र अन्तर्राष्ट्रिय लगानीकर्तासँग प्रत्यक्ष रूपमा जोड्ने तथा नयाँ लगानी र व्यापारिक साझेदारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
समझदारीमा निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन, ज्ञान तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन र क्षमता अभिवृद्धिका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको छ।
त्यसैगरी आर्थिक तथा लगानीसम्बन्धी तथ्यांक, बजार सूचना र अनुसन्धान सामग्री आदानप्रदान गर्ने तथा लगानी र व्यवसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारमा सरकार तथा सम्बन्धित सरोकारवालासँग संयुक्त रूपमा संवाद र पैरवी गर्ने व्यवस्था गरिएको छ।
एनआरएनएले विश्वभर रहेका गैरआवासीय नेपाली लगानीकर्ता, व्यवसायी, पेशाकर्मी तथा विज्ञहरूको सञ्जाल परिचालन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजार र व्यावसायिक साझेदारीसँग नेपाललाई जोड्ने भूमिका निर्वाह गर्नेछ।
त्यसैगरी एनआरएनएबाट अघि बढाइएका विभिन्न परियोजनामा नेपाल चेम्बरका सदस्यलाई लगानीका लागि प्रोत्साहन तथा सहजीकरण गर्ने र नेपालका स्थानीय व्यवसायी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्य पनि समझदारीमा समेटिएको छ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीसँग पूँजीसँगै सीप, प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक व्यावसायिक सम्पर्क रहेको उल्लेख गर्दै यी सबै स्रोतलाई नेपालको विकाससँग जोड्न एनआरएनएले प्राथमिकताका साथ काम गर्ने बताए।
उनले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने विषयलाई पनि एनआरएनएको महत्वपूर्ण प्राथमिकता रहेको बताउँदै उनीहरूलाई नेपाल भ्रमण, संस्कृति, उद्यमशीलता, लगानी तथा नयाँ प्रविधिसँग जोड्ने कार्यक्रम अघि बढाइने जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आर्थिक विकासका लागि नीतिगत स्पष्टता, प्रभावकारी कार्यान्वयन र लगानीमैत्री वातावरण आवश्यक रहेको बताउँदै एनआरएनएसँगको सहकार्यले विश्वभर रहेका नेपालीको पूँजी, ज्ञान, सीप र व्यावसायिक सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
एनआरएनए र नेपाल चेम्बरबीचको यो समझदारी हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म कायम रहने र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।
एनआरएनएले यो समझदारीलाई नेपालमा लगानी भित्र्याउने, व्यापार विस्तार गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार बढाउने, रोजगारी सिर्जना गर्ने तथा पूँजी, प्रविधि र ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने महत्वपूर्ण संस्थागत सहकार्यका रूपमा लिएको छ।