राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेको छ।
बैंकले यस्तो कर्जालाई दुई सीमामा वर्गिकरण गरेर फरक/फरक नीति लिएको हो। दुई करोड वा सोभन्दा बढीको कर्जामा फरक फरक सीमा नियमा लागु हुने भएको हो।
दुई करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जा जारी गर्दा यस्तो कर्जाको सीमा फर्म/संस्था/कम्पनी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने भएको छ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरण योग्य हुनेछ।
तर, यसरी कर्जा लिनेको सञ्चालन चक्र आदीको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न सक्ने भएका छन्।
दुई करोडभन्दा माथिको चालु पुँजी कर्जा जारी गर्दा भने यस्तो कर्जा स्थायी रूपमा चाहिने वा आवश्यकता अनुसार हो निर्धारण गर्नपर्ने भएको छ।
आवश्यकता अनुसारको मागमा यस्तो कर्जा जारी गर्दा कम्पनी वा संस्थाको वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने भएको छ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनु पर्नेछ र यस्तो कर्जा सीमा नवीकरण योग्य हुनेछ । स्थायी रूपमा दिइने कर्जाको लागि कम्तीमा पाँच वर्षको लागि आवधिक प्रकृतिको कर्जाको रूपमा प्रदान गर्नुपर्दछ।
चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा पाँच वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा तीन वर्षको लेखा परीक्षण भएको विवरणको विश्लेषणको आधारमा गर्नुपर्दछ। चालुपुँजी कर्जा ऋणीको चालुपुँजीको आवश्यकताको लागि भएकोले यस्तो कर्जा चालु सम्पत्तिको सुरक्षणबाट सुरक्षित हुनुपर्ने भएको छ। चालुपुँजी कर्जाको लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थिर वा अचल सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक हुनेछैन।