सेयर बजार पछिल्लो समय घट्दो प्रवृत्तिमा भए पनि केही समययता कारोबार रकम बढेको छ।
गत बिहीबार बजारमा सेयर मात्रै दुई अर्ब ८६ करोड र शुक्रबार तीन अर्ब आठ करोड रूपैयाँको कारोबार भयो। बजारको कुल कारोबार रकम भने बिहीबार चार अर्ब ६१ करोड र शुक्रबार ६ अर्ब ८६ करोड रूपैयाँ थियो।
बिहीबार बजारमा करिब ६२ प्रतिशत र शुक्रबार करिब ४५ प्रतिशत कारोबार मात्रै सेयरको भएको छ।
त्यसो भए बाँकी कारोबार केको भयो?
बजारमा पछिल्लो समय ऋणपत्रको कारोबार बढ्न थालेको हो। सेयर बाहेकका कारोबार धेरै हुनेमा ऋणपत्र नै छन्।
शुक्रबार नै हेर्ने हो भने बजारमा प्रमुख कारोबार हुने १० स्थानमा ९ वटा ऋणपत्रहरू छन्।
सेयरको मूल्यमा हुने फेरबदलले नेप्से परिसूचकमा पनि फेरबदल हुन्छ। ऋणपत्र, सामूहिक लगानी कोषका इकाइको मूल्यमा हुने परिवर्तनले भने नेप्से परिसूचकमा असर गर्दैन। किनभने यिनलाई नेप्सेको गणनामा प्रयोग नै गरिँदैन।
अहिले बजारमा बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रको कारोबार बढेको हो। सामान्य भाषामा भन्दा बैंकहरूले बजारबाट ऋण लिन प्रयोग गर्ने उपकरण कर्पोरेट ऋणपत्र हो। बैंक बाहेक अन्य संस्थाहरू र सरकारले पनि ऋणपत्र जारी गर्छन्।
सामान्यतया प्राथमिक निस्कासनको क्रममा ऋणपत्रको एक इकाइको मूल्य एक हजार रूपैयाँ तोकिएको हुन्छ। बजारमा कारोबार क्रममा मूल्य थपघट हुनसक्छ।
ऋणपत्रको निश्चित अवधि हुन्छ। सो अवधिपछि यसमा भएको लगानी रकम फिर्ता हुन्छ। यस्तो ऋणपत्रमा निश्चित ब्याजदर हुन्छ। यस्तो ब्याजदरको भुक्तानी अर्धवार्षिक वा वार्षिक आधारमा हुन्छ।
यहाँ हामीले बैंक तथा वित्तीय संस्थाहरूले जारी गरिरहेको ऋणपत्रको बजारमा बढिरहेको कारोबारको चर्चा गरेका छौं।
अहिले ऋणपत्रको कारोबार बढ्नुका तीन मुख्य कारण छन्।
पहिलो, आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले संस्थाहरूलाई समानान्तर अवकाश कोष सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ। यस्ता कोषमा रहेको रकम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता सरकारको समेत संलग्नता रहेका कोषमा ल्याउन भनिएको छ।
यही कारण यसअघि ऋणपत्रमा लगानी गरेका त्यस्ता अवकाश कोषहरूले बिक्री बढाइरहेको बजार स्रोत बताउँछ।
दोस्रो कारण बैंक तथा वित्तीय संस्थाहरूको घट्दो ब्याजदर हो। अहिले बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको मुद्दति निक्षेपमा भन्दा बढी ब्याजदर ऋणपत्रमा छ।
अहिले बजारमा ८.५ प्रतिशत देखि ११ प्रतिशतसम्म ब्याजदर तोकिएका ऋणपत्रहरू छन्। जबकी मुद्दति निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर औसतमा ४.२७ प्रतिशत छ।
अहिले ऋणपत्रहरूको सेयर मूल्य प्रतिकित्ता एक हजार रूपैयाँ माथि नै हुँदा पनि किन्नेलाई बैंकहरूको ब्याजदरमा भन्दा धेरै प्रतिफल हुन्छ।
उदाहरणका लागि— अहिले बजारमा कुनै वाणिज्य बैंकको ऋणपत्र प्रति इकाइ १२९९ रूपैयाँ ८० पैसामा कारोबार भइरहेको छ।
एक हजार रूपैयाँ अंकित मूल्य रहेको यो ऋणपत्रको कुपन रेट (वा ब्याजदर) ११ प्रतिशत तोकिएको छ। अंकित मूल्यको आधारमा लगानीकर्ताले एक इकाइमा ११० रूपैयाँ ब्याज पाउँछ। बजार मूल्य १२९९ रूपैयाँमा किन्नेका लागि भने आफ्नो लगानीमा ब्याजदर (डिभिडेन्ट यिल्ड/लाभांश प्रतिलब्धि) ८.४६ प्रतिशत हो।
असार मसान्त नजिकिएकाले अबको केही दिनमा यस्तो ब्याज लगानीकर्ताले पाउँछ।
तर अहिले पाइने लाभांश मात्र हेर्न हुँदैन।
मानौं, यसरी ब्याजदर दिइसकेपछि यस्तो ऋणपत्रको प्रति इकाइ मूल्यमा भएको वृद्धि २९९ रूपैयाँमा ६५ प्रतिशतले कमी आयो। र, प्रतिइकाइ ११०४ रूपैयाँमा कारोबार भयो। लगानीकर्ताले ऋणपत्रमा प्रति इकाइ ११० रूपैयाँ पाएको अवस्थामा पनि यस्तोमा अझै ८४ रूपैयाँ नोक्सान हुन्छ।
निश्चित ब्याजदर तोकिएको यस्तो ऋणपत्रमा पहिले नै कति नाफा हुन्छ भनेर हेर्न सकिन्छ।
'ऋणपत्रको कारोबार बढ्नुको तेस्रो कारण यही हो,' एक ब्रोकर भन्छन्, 'यस्तो कारोबार अहिले संस्थाहरूले गर्छन्। र, दुवै पक्षलाई फाइदा नै भइरहेको छ।'
उनका अनुसार बिक्री गर्नेलाई मूल्य परिवर्तनबाट फाइदा भइरहेकै हुन्छ। किन्नेले पनि असारपछि सार्वजनिक हुने वित्तीय विवरण राम्रो भएको देखाउन पाउँछ।
'ब्याज आम्दानीबाट कमाइ भएको देखाउन पाइने भएकोले किन्नेलाई पनि नाफा हुने देखिएको हो,' ती ब्रोकरले भने।
यस्ता खरिदकर्ता संस्थाले केही समय पर्खिएर र मूल्य बढ्दा बिक्री गर्छन्। यही कारण उत्तिकै ब्याजदर भएका ऋणपत्रको मूल्य पनि धेरै फरक हुन्छ।
यसलाई अर्को उदाहरणबाट हेरौं।
अहिले एक वित्त कम्पनीको ऋणपत्रको वार्षिक ब्याजदर (कुपन रेट) १२ प्रतिशत तोकिएको छ। एक हजार रूपैयाँ अंकित मूल्य रहेको यो कम्पनीको बजारमा प्रति इकाइ एक हजार ७२ रूपैयाँमा कारोबार भइरहेको छ।
कुपन रेट धेरै भए पनि तुलनात्मक रूपमा कम मूल्यमा कारोबार हुनुको कारण यो वित्त कम्पनी भएकाले होइन।
यसको ऋणपत्रको परिपक्व अवधि यही २०८३ साल हो। त्यसैले यसलाई अहिले किनेर धेरै लामो समयसम्म राख्न सकिने अवस्था छैन। यसले गर्दा मूल्य पर्खिएर लाभ लिन समय पर्याप्त नहुन सक्छ।
ऋणपत्रको कारोबार गर्दा अन्य केही पक्ष पनि हेर्नुपर्छ, विशेष गरी ब्याज भुक्तानी अवधि।
कतिपयले अर्धवार्षिक ब्याज भुक्तानी गरेका हुन्छन्। त्यसो हुँदा अहिले असारमा ऋणपत्र किन्नेले वर्षभरिको पूरै ब्याज पाउँदैन। कम्पनीले आधा वर्षको ब्याज भुक्तानी दिइसकेको हुनाले बाँकी मात्रै पाउने अवस्था हुन्छ।
त्यस्तै कतिपयले त्रैमासिक भुक्तानी समेत गरिरहेका हुन्छन्।
याद गर्नुपर्ने अर्को पक्ष भनेको, कतिपयले छोटो अवधिमा प्राप्त हुने ब्याजदरलाई वार्षिक लाभको आधार मान्दैनन्। एक महिनामा यति लाभ पाएको हो, त्यसैले यसलाई वार्षिकीकरण गरेर हेर्दा एक–दुई सय प्रतिशतसम्मको लाभ ठान्ने पनि हुन्छन्।
निश्चय नै पैसाको 'टाइम भ्यालू' हुन्छ। तर पटक पटक पैसा यस्तै ऋणपत्रमा लगानी गरेर हरेक महिना लाभ पाउने भन्ने हुँदैन।
नेपालमा लगानीका धेरै अवसर नहुने भएकाले टाइम भ्यालूकै आधारमा हेर्नु सही नहुन सक्छ।
ध्यान दिनुपर्ने अन्तिम कुरा भनेको ऋणपत्र जारी गर्ने संस्थाको सबलता पनि हो। ऋणपत्र परिपक्व भएपछि संस्थाले भुक्तानी दिन सक्छ कि सक्दैन भन्ने हो।
नेपालमा अहिलेसम्म परिपक्व अवधिपछि भुक्तानी नभएको कुनै घटना छैन। बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्र वापतको रकम भुक्तानीका लागि हरेक वर्ष केही रकम भुक्तानी कोषमा छुट्टयाउँछन् पनि।
विश्व बजारमा भने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी बाहेक अन्य संस्थाले जारी गरेका ऋणपत्रको पनि कारोबार हुन्छ।