फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएसँगै एउटा संयोग बनेको छ। सेमिफाइनलमा पुगेका चार टोली फिफा विश्व वरीयतामा रहेका शीर्ष चार टोली हुन्। यसरी वरीयताका शीर्ष चार टोली सेमिफाइनल पुगेको यो पहिलो पटक हो।
सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।
फ्रान्स र स्पेन पछिल्ला तीन वर्षमा तीन पटक ठूला प्रतियोगिताको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। युरो कप २०२४ को सेमिफाइनल र २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनल दुवैमा फ्रान्समाथि स्पेनले जित निकालेको थियो।
मिडफिल्डमा बलियो पकड जमाउने स्पेन र उत्कृष्ट अंग्रपक्ति भएको फ्रान्सबीचको यो खेल रोमाञ्चक हुने पक्का छ।
अर्को सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदा धेरै समर्थकले इतिहास सम्झिने छन्।
सन् १९६२ देखि २००२ सम्मका पाँच प्रतिस्पर्धा दुवै टोलीका समर्थक अहिले पनि सम्झने गर्छन्।
इंग्ल्यान्ड र अर्जेन्टिनाबीच सन् १९८६ मा भएको क्वार्टरफाइनलको खेल त अहिले पनि चर्चामा रहने गर्छ। अर्जेन्टिनाले २-१ गोलले जितेको उक्त खेलमा म्याराडोनाले पहिलो गोल हातले गरेका थिए। दोस्रो गोल म्याराडोनाले मैदानको मध्यभागबाट अगाडि बढाएर इंग्लिस डिफेन्डरहरुलाई छलाउँदै गरेका थिए, जुन शताब्दीकै उत्कृष्ट गोल ठहरिएको थियो।
त्यसपछि सन् १९९८ र २००२ को विश्वकपमा यी दुई टोली भिड्दा पनि निकै चर्चामा रहेका थिए। विश्वकपमा २४ वर्षपछि इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदा दुवै टोली दबाबरहित भने हुने छैनन्।
सेमिफाइनलमा पुगेका चार टोलीमध्ये सबभन्दा बलियो फ्रान्स देखिएको छ। अर्जेन्टिनालाई तीन टोलीको तुलनामा कमजोर मान्न सकिन्छ। तर मेसीको नेतृत्वमा रहने अर्जेन्टिनालाई कमजोर आँक्ने भुल भने कसैले गर्ने छैन।
सेमिफाइनल पुगेका चार टोलीको रणनीति कस्तो होला? फाइनल पुग्न चारै टोलीले के गर्नुपर्ला? यिनै विषयमा केन्द्रित रहेर सेतोपाटीका प्रेम ढकाल र सीताराम कोइरालाले विस्तृत विश्लेषण गरेका छन्।
हेर्नुहोस् भिडिओ —