सन् १९९८ को घटना हो।
उनलाई एक जना साथीले भनेका थिए — बेलायत उत्रिएपछि विमानस्थलमै लिन आउँछु है!
तर ती साथी आएनन्।
विरानो देश, फरक भाषा, अपरिचित मान्छेहरू।
साथीले धोका दिएपछि पदम सिम्खडा केहीबेर अलमलिए।
'सुरूमा त मैले निकै दुःख पाएँ नि, साथी नआएपछि अब कता जाने, के गर्ने भन्ने चिन्ता भयो। धन्न, भिसा प्रक्रियाका क्रममा चिनजान भएको एक जना सँगै भएकाले निकै राहत भयो,' पदमले सम्झिए।
लन्डनमा पदमलाई तिनै व्यक्तिले केही दिन बस्ने डेरा व्यवस्थापन गरिदिए। त्यसपछि बल्ल उनी आफ्नो डेरा खोजेर सरे।
पदम स्वास्थ्य विषयमा स्नातकोत्तर गर्ने सपना बोकेर लन्डन पुगेका थिए। सपनाको बाटो भेट्न अप्ठ्यारा घुम्तीहरू पार गर्नुपर्ने थियो। पढाइ खर्च जुटाउन काम गर्नुपर्थ्यो।
सुरूमा उनले एउटा केयर होममा जागिर पाए। त्यहाँ उनले डिमेन्सियाबाट पीडित वृद्धवृद्धाको हेरचाह गर्नुपर्थ्यो। उनीहरूलाई खाना खुवाउने, सरसफाइ गरिदिने लगायत हेरचाहको काम थियो।
'बिरामीले कहिलेकाहीँ आफैलाई चिन्दैनथे। रिसाएर कराउँथे, आक्रामक व्यवहार गर्थे। कति कुरा बिर्सिरहन्थे,' पदमले भने।
उनलाई जसरी पनि आफ्नो सपना पूरा गर्नु थियो। मानसिक र शारीरिक रूपमा चुनौतीपूर्ण काम गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिए।
तर उनले कामका अरू विकल्प सोचिरहेका थिए। करिब ६ महिनापछि एक वेयर हाउस (गोदाम) मा काम पाए। त्यहाँ उनले सामान खोल्ने, प्याकिङ गर्ने र अर्डर आएको ठाउँमा पठाउने काम गर्नुपर्थ्यो।
यसरी मेहनत गर्दै पढाइ अगाडि बढाएका उनले उत्कृष्ट नतिजा ल्याएर स्नातकोत्तर सकाए।
'मैले कलेज टप गरेँ। त्यो उपलब्धिका कारण बेलायत सरकारबाट पिएचडी (विद्यावारिधि) गर्न छात्रवृत्ति पाएँ,' पदमले भने।
त्यसपछि उनको यात्रा विभिन्न विश्वविद्यालयहरूमा कहिले लेक्चरर त कहिले डेपुटी डिन हुँदै हाल डिनसम्म पुगेको छ।
डा. पदम अहिले चेस्टर विश्वविद्यालयमा डिन अफ ग्लोबल इम्प्याक्ट एन्ड रिसर्चका रूपमा कार्यरत छन्। सन् २०२६जनवरीदेखि उनले डिनको जिम्मेवारी सम्हालेका हुन्।
१५ हजारभन्दा बढी विद्यार्थी पढ्ने विश्वविद्यालयमा उनी अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको नेतृत्व गरिरहेका छन्।
'बेलायतको विश्वविद्यालयमा डिन बन्ने म पहिलो नेपाली हुँ। त्यही कारण विभिन्न नेपाली संघसंस्थाहरूबाट सम्मानित पनि भएको छु,' उनले भने।
पदमले मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, नसर्ने रोग, स्वास्थ्य प्रणाली सुधार लगायत विषयमा तीन सयभन्दा बढी अनुसन्धान प्रकाशन गरिसकेका छन्। ती अनुसन्धान नेपालको स्वास्थ्य प्रणाली सुधार सम्बन्धी छन्।
उनका तीन वटा किताब पनि प्रकाशित छन्।
हालसम्म उनको मार्गदर्शनमा ४० भन्दा बढी नेपालीले पिएचडी पूरा गरिसकेका छन्। अहिले १५ जना नेपाली अनुसन्धान गरिरहेका छन्। तीमध्ये धेरैलाई छात्रवृत्तिका लागि समेत आफूले सहयोग गरेको उनी बताउँछन्।
'शरीर जहाँ भए पनि नेपाल र नेपालीका लागि काम गर्न सकिने रहेछ। अहिले म यहाँ बसेर पनि मनमुटु नेपाल र नेपालीमै छ। नेपाली र नेपालका लागि सधैं केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। सक्दो गरिरहेको पनि छु। धेरैजसो नेपालमै हुन्छु,' उनी भन्छन्।
धादिङको गंगा–जमुना गाउँपालिकामा जन्मिएका पदमको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो। पढाइमा अब्बल थिए। विद्यालयकै उत्कृष्ट विद्यार्थीमा पर्थे। विज्ञान र गणित उनको प्रिय विषय थियो।
तामाङखर्क माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी (एसइई सरह) उत्तीर्ण गरेका थिए।
उच्च शिक्षा पूरा गरेपछि उनी काठमाडौं महानगरपालिकामा जनस्वास्थ्य अधिकृतका रूपमा कार्यरत थिए। त्यस बेला स्थायी दरबन्दी थिएन। अस्थायी दरबन्दीमै काम गरिरहेका थिए। त्यही क्रममा सार्वजनिक स्वास्थ्यलाई अझ गहिराइमा बुझ्ने चाहनाले उनलाई बेलायत पुर्याएको हो।
'स्वास्थ्य क्षेत्रमै काम गरेको भएर लन्डनमा वृद्धवृद्धाको हेरचाह काममा लागेको थिएँ,' उनले भने।
बेलायत पढ्न जाने हो भने अगाडि नै योजना स्पष्ट बनाउनुपर्ने उनी बताउँछन्।। त्यहाँ विद्यार्थीले सीमित समय मात्रै काम गर्न पाउँछन्। धेरैजसो समय पढाइलाई नै दिनुपर्छ।
'धेरै विद्यार्थी आधा शुल्क तिरेर आउँछन्। बाँकी काम गरेर तिर्छु भन्ने सोच हुन्छ। तर हप्ताको २० घण्टा काम गरेर बस्न र खान त पुग्ला, पढाइको सम्पूर्ण खर्च धान्न निकै कठिन हुन्छ। यो कुरा अभिभावकले पनि बुझ्न जरूरी छ। पढाइ खर्च नेपालबाटै अभिभावकले पठाउनुपर्ने हुन्छ,' उनले भने।
कस्तो विषय पढ्दा काम पाउन सहज हुन्छ, त्यो विषय पनि ध्यानमा राख्नुपर्ने उनको सुझाव छ।
अधिकांश विद्यार्थीले आफ्नो रूचि अनुसार नभएर एजेन्टको सुझाव अनुसार विषय छानेको उनले देखेका छन्। विशेषगरी बिजनेस म्यानेजमेन्ट पढेकालाई सम्बन्धित क्षेत्रमा रोजगारी पाउन कठिन देखिएको उनी बताउँछन्।
स्वास्थ्य विज्ञान, नर्सिङ र इन्जिनियरिङ विद्यार्थीका लागि भने अवसर धेरै रहेको उनले बताए।
'सही अवसर र त्यसलाई उपयोग गर्ने क्षमता पनि चाहिन्छ,' पदम भन्छन्, 'यहाँ मभन्दा धेरै क्षमतावान साथीहरू छन्। कतिपय अझै प्रोफेसर नै छन्। मलाई अवसर मिल्यो र म डिन भएँ।'