राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेदेखि १८ वर्षीय सुलोक गुरूङको जीवनको लय खलबलिएको छ।
भरतपुर–७, चितवनका सुलोक अंकुरम एकेडेमीका जेहेन्दार विद्यार्थी हुन्। असार ५ गते सार्वजनिक कक्षा १२ को नतिजामा कम्प्युटर विज्ञान छाडेर अरू धेरै विषयमा उनले 'ए प्लस' ल्याएका छन्। कम्प्युटर विज्ञानको प्रयोगात्मक परीक्षामा पनि विद्यालयले उनलाई पूरा अंक दिएको छ। तर जब उनको आँखा त्यही विषयको सैद्धान्तिकतर्फ जान्छ, उनी छक्क पर्छन्।
त्यसमा लेखिएको छ – 'एब्सेन्ट'। अर्थात्, उनले कम्प्युटर विज्ञानको सैद्धान्तिक परीक्षा नै दिएनन्।
आफूले परीक्षा केन्द्रमा हाजिर गरेर, उत्तरपुस्तिकामा लेखेर, तीन घन्टा पसिना बगाएर दिएको परीक्षाको नतिजामा 'एब्सेन्ट' (गयल) लेखिएको देखेपछि सुलोक विक्षिप्त छन्।
नतिजा आएको भोलिपल्टैदेखि सुरू भएको सुलोकको परिवारको दौडधुप अझै रोकिएको छैन।
उनीहरूले सबभन्दा पहिला भरतपुरको इडेन गार्डेन परीक्षा केन्द्रबाट सुलोक कम्प्युटर विज्ञानको परीक्षामा उपस्थित भएको प्रमाण लिए। उक्त प्रमाण लिएर उनीहरू हेटौंडास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पुगे। सरकारी अड्डाको उदासीनता कस्तो हुन्छ भन्ने उनीहरूले त्यहीँ भोग्नुपर्यो।
'हेटौडाका सरहरूले झर्किँदै बोल्नुभयो। हाम्रो गल्ती होइन, जे गर्ने हो सानोठिमीले गर्छ भन्दै पन्छिनुभयो,' आमा सरिता गुरूङले भनिन्।
हेटौंडा कार्यालय जिम्मेवारीबाट पन्छिएपछि उनीहरू रिजल्टमा लापरबाही भएको भन्दै असार २५ गते भक्तपुरको सानोठिमी पुगे। त्यहाँ पनि तत्काल समस्या समाधान नहुने भन्दै 'निवेदन दिएर जानू' भन्ने जबाफ दिइएको सरिता बताउँछिन्।
'फाइल सानोठिमी पुगिसक्दा पनि त्यहाँ दर्ता समेत नगरी हप्ता दिनसम्म थन्क्याएर राखिएको रहेछ। हामी आफै पुगेपछि मात्र फाइल खोजियो,' उनले भनिन्, 'तर बच्चाको भविष्यको सवालमा पनि सानोठिमीका सरहरूले कुनै चासो देखाउनुभएन। तत्काल समस्या समाधान हुँदैन भन्दै निवेदन छाडेर जानू भन्नुभयो।'
यति मात्र होइन, राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले भ्वाइस मेसेजमार्फत एउटा गैरजिम्मेवार जबाफ पनि पठाए – 'फर्स्ट लटमा खोज्दा उत्तरपुस्तिका भेटिएन। सेकेन्ड लट कहिले आउँछ थाहा छैन। समय बर्बाद गर्नुभन्दा फर्म भरेर रि-एक्जाम दिनुस्।'
परीक्षा बोर्डको यस्तो जबाफले सुलोकको आत्मसम्मानमा ठूलो ठेस पुर्याएको छ।
'आफूले दिएको परीक्षाको उत्तरपुस्तिका राज्य संयन्त्रले हराइदिने, अनि सजाय चाहिँ विद्यार्थीले भोग्नुपर्ने?' उनले भने, 'रिजल्ट सार्वजनिक भएदेखि हामी ठाउँ ठाउँमा धाइरहेका छौं। विद्यालय हुँदै जिल्ला पुग्यौं, त्यहाँ पनि नभएपछि अन्तिममा काठमाडौं नै आउनुपर्यो। अझै पनि मैले न्याय पाएको छैन।'
उनकी आमा सरिता करिब एक महिना हुन लागिसक्दा पनि सम्बन्धित निकायहरूले चासो नदिएको आरोप लगाउँछिन्।
'बाबुले परीक्षा दिएकै हो। सबै विषयमा त्यत्रो राम्रो नम्बर ल्याउने बच्चाले कम्प्युटरको परीक्षा छाड्छ र? प्रयोगात्मकमा नम्बर जोडिएको छ, सैद्धान्तिकमा चाहिँ अनुपस्थित देखाइदियो,' सरिताले भनिन्, 'परीक्षा केन्द्रको हाजिरी कापी, कलेजको सिफारिस सबै बोकेर हेटौंडादेखि सानोठिमीसम्म धाइसक्यौं। तर कसैले जिम्मेवारी लिँदैनन्।'

आगामी साउन २१ देखि ग्रेड वृद्धि परीक्षा हुँदैछ। सुलोक दिनहुँ किताब अगाडि राख्छन्, तर पढ्न सक्दैनन्। उनको मनमा एउटै प्रश्न खेलिरहन्छ — मैले गल्ती नै नगरी मार्कसिटमा स्टार किन बोक्ने?
यसपालि कक्षा १२ को नतिजामा यस्तो समस्या भोगिरहेका सुलोक एक्ला पात्र होइनन्।
सरकारले एक महिनामै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धेरै त्रुटि भएको भन्दै टीकाटिप्पणी भइरहेका छन्। केही विद्यार्थीले नतिजा निकाल्ने हतारमा लापरबाही गरिएको भन्दै माइतीघरमा प्रदर्शन पनि गरे। एक महिनाभित्रै नतिजा निकाल्ने हतारमा राम्ररी कापी नजाँचिएको उनीहरूको आरोप छ।
'हतारमा नतिजा निकाल्ने नाममा हाम्रो भविष्य बर्बाद गरियो,' प्रदर्शनरत विद्यार्थीहरूले भनेका छन्, 'उचित नतिजा नआएसम्म हाम्रो आन्दोलन रोकिँदैन।'
विद्यार्थीहरूको सडक आन्दोलनपछि शिक्षामन्त्री सस्मित पोखरेलले यस विषयमा चासो व्यक्त गरेका थिए। उनले कक्षा १२ को नतिजा प्रक्रियाबारे आफ्नो धारणा पनि सार्वजनिक गरे।
'यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौं। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरू आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,' शिक्षामन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका थिए।
सँगसँगै, उनले शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको विद्यार्थीहरूको आन्दोलनप्रति सम्मान पनि व्यक्त गरेका थिए।
'लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ। यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले ध्यानाकर्षण भएको छ,' उनले लेखेका थिए।
उनले यसबारे मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमूना परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्न समिति गठन गरिएको जानकारी पनि दिएका थिए।
शिक्षामन्त्रीको चासो र समिति गठनपछि पनि सुलोक गुरूङ लगायतका विद्यार्थीको समस्या समाधान भएको छैन।
सबैतिर ढोका बन्द भएपछि सुलोकले सिंहदरबारस्थित 'हेलो सरकार' कक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सम्बोधन गर्दै न्यायको ढोका ढकढक्याएका छन्।
उनले हेलो सरकारलाई लेखेको निवेदनमा भनेका छन्– 'उत्तरपुस्तिका व्यवस्थापन, संकलन, ढुवानी वा नतिजा प्रशोधनको कुनै चरणमा त्रुटि भई मेरो उत्तरपुस्तिका हराएको हुन सक्ने स्पष्ट देखिन्छ। राज्यको प्रशासनिक कमजोरीका कारण एउटा विद्यार्थीको शैक्षिक भविष्य अन्यायपूर्ण रूपमा प्रभावित हुनु न्याय र सुशासनको सिद्धान्त विपरीत हो।'
अहिले नयाँ शैक्षिक सत्रका लागि कलेजहरू खुलिसकेका छन्। सुलोकका साथीहरू उच्च शिक्षाका लागि भर्ना हुने तर्खरमा छन्। तर १८ वर्षका यी तन्नेरी आफ्नो हराएको उत्तरपुस्तिका खोजिपाऊँ भन्दै सिंहदरबारका कोठाहरू धाइरहेका छन्।
एउटा प्रणालीले गरेको सानो लापरबाहीले एक जेहेन्दार विद्यार्थीको सपना र मानसिक स्वास्थ्यमा गहिरो चोट पुर्याएको सरिता बताउँछिन्।
'यो बाबुले परीक्षा दिएको हाजिरी कापीमा प्रस्टै देखिन्छ। तर उत्तरपुस्तिका भेटिएन भन्ने जबाफ दिइन्छ,' उनले भनिन्, 'सरकारको लापरबाही हामीले भोगिरहेका छौं। फेरि परीक्षा दिनु भनेको बाबुमाथि अन्याय हुनु हो।'
उनलाई आफ्नो छोराले पुन: परिक्षा दिँदासम्म स्नातक भर्ना हुन ढिला होला भन्ने डर छ।
कक्षा १२ को नतिजामा यति ठूलो लापरबाही खुल्दा पनि सरकार पक्षबाट आफूहरूको समस्याप्रति चासो नदेखाइएको उनी आरोप लगाउँछिन्।
'यो राज्यले एक विद्यार्थीको मार्कसिटमा 'बिना कसुर' दाग लगाइदिएको छ,' सरिताले भनिन्।