नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि हाल महासचिव पदमा रहेकी युबिका भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव र नाट्टाको कार्यसमितिमा लगातार ६ वर्षको संलग्नतासहित उनले उम्मेदवारी दिएकी हुन्।
नाट्टामा उनले सन् २०२० देखि क्रमशः संयुक्त कोषाध्यक्ष, सचिव र हाल महासचिवको जिम्मेवारी सम्हालिसकेकी छन्।
सन् २०११ देखि उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक रहँदै आएकी छन्।
वास्तुकलामा स्नातक गरेकी भण्डारीले पोखरा विश्वविद्यालयअन्तर्गत एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट कार्यकारी एमबिए पूरा गरेकी हुन्।
उनले उत्कृष्ट शैक्षिक नतिजाका लागि राष्ट्रपतिबाट नेपाल विद्याभूषण 'क' र पोखरा विश्वविद्यालयबाट कुलपति स्वर्ण पदक समेत प्राप्त गरिसकेकी छन्।
महासचिव रहँदा उनले संस्थाको आर्थिक व्यवस्थापन, नीतिगत पैरवी तथा स्पेनको फिटुर, चीन र मलेसियाका सेल्स मिसनजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वमा भूमिका खेलेकी बताइन्छ।
युएनडिपी र पर्यटन बोर्डको सहकार्यमा सातै प्रदेशमा ७०० भन्दा बढी जनशक्तिलाई तालिम दिने काममा पनि उनी संलग्न रहेकी थिइन्।
उम्मेदवारी घोषणासँगै भण्डारीले नाट्टालाई प्रतिक्रियात्मकबाट पूर्वतयारीसहितको संस्थामा रूपान्तरण गर्ने आफ्नो प्राथमिकता सार्वजनिक गरेकी छन्।
उनका प्रमुख एजेन्डामा संस्थाको सञ्चार र निर्णय प्रक्रिया प्रविधिमैत्री र पारदर्शी बनाउने, काठमाडौंबाहिरका प्रदेश र गन्तव्यका व्यवसायीको आवाजलाई समान स्थान दिने, सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र देशभरका पर्यटन व्यवसायीका लागि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने रहेका छन्।
आफ्नो उम्मेदवारी व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई पर्यटन उद्योगले खोजेको बलियो र जिम्मेवार संस्था निर्माणका लागि भएको भण्डारीको भनाइ छ।
उनले सदस्यहरूको विश्वास र समर्थनसहित नाट्टालाई अर्थपूर्ण परिवर्तनतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नाट्टाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि यसअघि पनि केही उम्मेदवारहरूले चासो देखाइसकेका छन्, तर भण्डारीको उम्मेदवारीले संस्थाभित्र चर्चा पाएको छ।
नाट्टाको कार्यसमिति चयन गर्न यही साउन २९ गते निर्वाचन हुँदैछ।