पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले कुनै यात्रुलाई दुबई जानुपर्यो भने सिधै जहाज चढेर जान सक्छन्। दिल्ली जानुपर्यो भने चाहिँ पहिले काठमाडौं पुग्नुपर्छ।
रोचक के छ भने, पोखराबाट दुबई जाने जहाज भारतीय आकाश हुँदै उड्छ। त्यही आकाश प्रयोग गरेर दुबईसम्म उड्न पाइने जहाजलाई भारतकै कुनै सहरमा नियमित उडान गर्न भने अनुमति छैन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि नै बुद्ध एयरले यहाँबाट नयाँदिल्ली, बनारस र देहरादुनमा सिधा उडान गर्ने योजना सार्वजनिक गरेको थियो।
सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन भयो। त्यसयता झन्डै चार वर्ष बित्न लाग्यो। तर बुद्ध एयरले पोखराबाट भारतका सहरमा उडान गर्ने अनुमति पाएको छैन।
यसपालि प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट त्यो अनुमति प्राप्त हुने आशामा थिए, पोखराका पर्यटन व्यवसायी। उनीहरूले प्रधानमन्त्रीलाई भ्रमणअघि नै यसका लागि कूटनीतिक पहल गर्न सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा दुई देशबीच हवाई सम्पर्क विस्तारसम्बन्धी एउटा महत्त्वपूर्ण सहमति पनि भयो। अहिलेसम्म एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रूटलाई दुईतर्फी बनाउन भारत राजनीतिक रूपमा सहमत भएको हो। यो सहमति कार्यान्वयनमा आए दुबईबाट पोखरा आउने जहाजको उडान दुरी छोटिनेछ।
यति हुँदाहुँदै पोखराबाट दिल्ली वा बनारस उड्ने बाटो भने अझै खुलेको छैन। मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा पोखराबाट भारतीय सहरमा सिधा उडान गर्ने विषयले ठाउँ नै पाएन।
यसले पोखराका पर्यटन व्यवसायीलाई फेरि एकपटक निराश बनाएको छ।
'प्रधानमन्त्रीको भारत भ्रमणमा पोखराबाट भारतका विभिन्न सहरमा पनि उडान गर्न अनुमति पाउने अपेक्षा गरेका थियौं,' नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट्स एसोसिएसन (नाट्टा) गण्डकीकी अध्यक्ष संगीता पौडेलले सेतोपाटीसँग भनिन्, 'तर हामीले खोजेको विषयमा कूटनीतिक पहल भएको देखिएन। भैरहवाबाट जहाज आउजाउ गर्न एयर रूट दिने सहमति भयो, तर पोखराबाट भारतका सहरमा उडान गर्ने विषय एजेन्डा नै उठेन।'
पोखराका पर्यटन व्यवसायीले भारतसँगको सिधा हवाई सम्पर्कमा जोड दिनुका केही कारण छन्।
पहिलो, पोखराको पर्यटन व्यवसायका लागि भारत ठूलो बजार हो।
दोस्रो, मुक्तिनाथ दर्शन गर्न आउने भारतीय तीर्थयात्रीका लागि पोखरा प्रमुख प्रवेशद्वार हो।
तेस्रो, पोखरा र आसपासका जिल्लाबाट उपचार, व्यापार, रोजगारी तथा धार्मिक यात्राका लागि भारत जाने नेपालीको संख्या पनि ठूलो छ।
यी सबै कारणले पोखरा र भारतका विभिन्न सहरबीच सिधा उडान व्यावसायिक रूपमा पनि सम्भव हुने व्यवसायीहरूको विश्वास छ।
पौडेलका अनुसार भारतका विभिन्न सहरबाट सिधा उडान हुन सके पोखरा हुँदै भारतीय पर्यटकलाई मुक्तिनाथ मात्र होइन, काठमाडौं, चितवन र लुम्बिनीसम्म पुर्याउन सकिन्छ।
यसले नेपालको पर्यटन व्यवसाय विस्तारमा मात्र नभई भारतलाई पनि उत्तिकै फाइदा पुग्ने उनी बताउँछिन्।
'पोखराबाट भारतको नयाँदिल्ली, मुम्बई, वाराणसीजस्ता सहरमा उडान हुनु पोखरा र नेपालको हितमा मात्र छैन, यसले भारतलाई पनि फाइदा पुग्छ,' उनले भनिन्।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल पनि नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध, धार्मिक यात्रा र व्यापारका कारण पोखराबाट भारतमा सिधा उडानको राम्रो सम्भावना देख्छन्।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट भारतीय सेनामा भर्ती भएका नेपाली र उनीहरूका परिवारलाई पनि यस्तो उडानले सुविधा पुग्ने उनी बताउँछन्।
'नेपालबाट भारत जाने यात्रू र भारतबाट नेपाल आउने यात्रूलाई मोटरबाटो यात्रा गर्दा धेरै सास्ती छ। लामो यात्राले समय र खर्च दुवै बढाएको छ,' उनले भने।
अहिले पोखराबाट हवाईमार्ग हुँदै भारत जान चाहने नेपालीले काठमाडौं पुगेर अर्को जहाज चढ्नुपर्ने बाध्यता छ। भारतीय सहरबाट पोखरा आउने यात्रूको अवस्था पनि उस्तै छ।
'पोखराबाट बनारससम्म सिधा उडान हुन सके धार्मिक यात्रामा जाने ज्येष्ठ नागरिकलाई ठूलो सुविधा हुन्छ,' भुजेलले भने, 'भारतका सहरबाट केही घन्टामै पोखरा आउन सक्ने हो भने त्यहाँको गर्मी र प्रदूषणबाट राहत खोज्ने पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ।'
उनले पोखरा र आसपासका क्षेत्रमा उत्पादित कफी, सुन्तला लगायत कृषि उपज भारतीय बजारसम्म पुर्याउन पनि हवाई सम्पर्क विस्तारले नयाँ सम्भावना खोल्ने बताए।
यसपालि पोखराका व्यवसायीले प्रधानमन्त्रीको भारत भ्रमणबाट बढी अपेक्षा गर्नुको अर्को कारण थियो— सरकारको राजनीतिक हैसियत।
संसदमा बलियो बहुमत भएको सरकारले भारतसँग प्रभावकारी कूटनीतिक पहल गरी वर्षौंदेखि रोकिएको सिधा उडानको विषय टुंग्याउन सक्ने उनीहरूको अपेक्षा थियो।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भने निजी क्षेत्रका सुझावलाई सरकारले अपेक्षित प्राथमिकता नदिएको बताउँछन्।
'हामीले हरेकपटक सरकारलाई सुझाव दिएका छौं, खबरदारी गरेका छौं। यसपटक बलियो सरकार भएकाले कूटनीतिक पहलबाट पोखराबाट भारतका सहरमा उडान सुरू होला भन्ने आशा थियो,' उनले भने, 'तर हाम्रो विषयलाई सरकारले प्राथमिकतामा राखेको देखिएन।'
सुवेदीका अनुसार पोखराका होटलमा करिब ४० हजार शय्याको क्षमता छ। यो क्षमताको भरपूर उपयोग गर्न पनि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ छ।
त्यसो भए प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा भएको भैरहवा हवाई रूटसम्बन्धी सहमतिले पोखरालाई के फाइदा पुग्छ?
अहिले भारतीय आकाश हुँदै नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाज सिमरा हवाई रूटबाट प्रवेश गर्छन्। भैरहवा हवाई रूटबाट भने नेपालबाट बाहिरिने अनुमति मात्र छ।
यो हवाई रूट दुईतर्फी सञ्चालनमा आए पश्चिम दिशाबाट पोखरा आउने जहाजको उडान दुरी छोट्टिन सक्छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार दुबईबाट पोखरा आउने फ्लाई दुबईको जहाजले भैरहवा हवाई रूटबाट नेपाल प्रवेश गर्न पाए उडान दुरी ११४ नटिकल माइल अर्थात् करिब २११ किलोमिटर घट्न सक्छ।
अहिले दुबईबाट पोखरा आउने फ्लाई दुबईको जहाज सिमरा हवाई रूटबाट नेपाल प्रवेश गरी काठमाडौं हुँदै पोखरा पुग्छ। पोखराबाट दुबई फर्कँदा भने भैरहवा हवाई रूट प्रयोग गर्छ।
भैरहवा हवाई रूट दुईतर्फी सञ्चालनमा आए पोखरा आउने अन्तर्राष्ट्रिय जहाजको उडान समय र इन्धन खर्च घट्ने सम्भावना छ।
तर यसका लागि पनि नेपाल र भारतका प्राविधिक टोलीबीच जहाज नेपाल प्रवेश गर्ने उचाइ, उडान प्रक्रिया र हवाई ट्राफिक व्यवस्थापनका विषय टुंगिन बाँकी छन्।
अर्कातिर, भैरहवा हवाई रूटबाट जहाज नेपाल प्रवेश गर्न पाउनु र पोखराबाट उडेको जहाज भारतको कुनै विमानस्थलमा अवतरण गर्न पाउनु दुई अलग विषय हुन्। भैरहवा हवाई रूट दुईतर्फी सञ्चालनमा आए पनि पोखराबाट दिल्ली, मुम्बई वा बनारसमा नियमित उडान गर्न भारतीय पक्षको छुट्टै स्वीकृति आवश्यक पर्छ।
पोखराका व्यवसायीले वर्षौंदेखि खोजेको त्यही स्वीकृति हो।
यसका लागि उनीहरूले नेपाल सरकारमार्फत मात्र होइन, भारतीय पक्षसँग पनि आफ्नै तहबाट पहल गर्दै आएका छन्।
त्यसको एउटा उदाहरण हो, २०८० साल असोजमा पोखरामा नेपालका लागि तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवलाई गरिएको भव्य स्वागत।
त्यति बेला पोखराको लेकसाइडमा करिब तीन किलोमिटर सडकमा यातायात रोकेर मिनी स्ट्रिट फेस्टिभल आयोजना गरिएको थियो। नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहको एउटा उद्देश्य पोखराबाट भारतीय सहरमा सिधा उडानका लागि भारतीय पक्षको समर्थन जुटाउनु पनि थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन भारतीय राजदूत श्रीवास्तवले भने भारतीय नागरिक स्थलमार्गबाटै नेपाल आउन रूचाउने बताएका थिए।
उनले पोखराबाट भारतीय सहरमा सिधा उडानको विषयमा स्पष्ट धारणा राखेनन्। बरू पोखरा–मुग्लिन सडक विस्तारमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका थिए।
एसियाली विकास बैंकको लगानीमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको उक्त सडकको अवस्थाबारे टिप्पणी गर्दै उनले आगामी दिनमा सडक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सुझावसमेत दिएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा उडान गर्न अनुमति नपाउनुको कारण कतै विमानस्थल निर्माणमा चिनियाँ संलग्नता त होइन भन्ने प्रश्न पनि उठ्दै आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा चिनियाँ कम्पनीले निर्माण गरेको हो। यो विमानस्थललाई चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको परियोजनाका रूपमा प्रस्तुत गर्दै आएको छ।
यही कारण भारतले पोखराबाट हुने उडानलाई अवतरण अनुमति नदिएको हुन सक्ने आशंका छ। भारतीय पक्षले भने यही कारण अनुमति नदिएको औपचारिक रूपमा पुष्टि गरेको छैन।
अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता आरोग्यमोहन काफ्ले नेपालले अब हुने प्राविधिक छलफलमा पनि पोखराबाट भारतमा सिधा उडानको विषय उठाउनुपर्ने बताउँछन्।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमति अनुसार भैरहवा हवाई रूट सञ्चालनका लागि हुने छलफललाई नेपालले पोखराको विषय उठाउने अवसरका रूपमा पनि उपयोग गर्न सक्ने उनको भनाइ छ।
'कूटनीतिक तहमा कुराकानी गर्न प्रधानमन्त्रीको भ्रमण सकियो। अब प्राविधिक तहमा नेपालले यो विषय उठाउनुपर्छ र अडान राख्नुपर्छ,' उनले भने।
नेपालले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार जुनसुकै देशको ऋण वा लगानीमा विकास परियोजना सञ्चालन गर्न सक्ने काफ्ले बताउँछन्। यस्ता परियोजनाबाट छिमेकी मुलुकको सुरक्षा हितमा असर नपर्नेमा भने नेपालले उनीहरूलाई आश्वस्त पार्न सक्नुपर्ने उनको भनाइ छ।
'हामीले हाम्रा विकास परियोजना सञ्चालन गर्दा छिमेकी देशलाई उनीहरूको राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने कुनै व्यवस्था गरिएको छैन, यो नितान्त आर्थिक परियोजना हो भनेर आश्वस्त पार्न सक्नुपर्छ,' उनले भने।
उनका अनुसार विमानस्थल निर्माण हुनुअघि नै पनि नेपालले यस विषयमा भारतलाई आश्वस्त पार्न सक्थ्यो।
पोखराका व्यवसायीका लागि भने अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु मात्र ठूलो उपलब्धि होइन। त्यसबाट कति अन्तर्राष्ट्रिय जहाज उड्छन्, कति पर्यटक भित्रिन्छन् र पोखराको अर्थतन्त्रमा कति योगदान पुग्छ भन्ने महत्त्वपूर्ण हो।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै चार वर्ष पुग्न लाग्दा पनि पोखराको नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क सीमित छ। प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा भएको हवाई रूटसम्बन्धी सहमति कार्यान्वयनमा आए दुबईबाट पोखरा आउने जहाजको यात्रा छोटिनेछ।
तर पोखराबाट बनारस उड्ने बुद्ध एयरको झन्डै चार वर्ष पुरानो योजना कहिले पूरा होला, अझै टुंगो छैन।
***