गर्मी सुरु भएसँगै फेवाताल फेरि पर्यटकले भरिन थालेको छ।
शीतल हावा, तालमाथि डुंगाको ताँती र हिमालको प्रतिबिम्ब हेर्न देश–विदेशबाट हजारौं मानिस पोखरा पुगिरहेका छन्। तर, यही सुन्दरतालाई अहिले प्लास्टिकजन्य फोहोरले गिज्याइरहेको छ।
फेवाताल पोखराको पर्यटनको मुटु हो। गर्मीयाममा यहाँ डुंगा सयर गर्नेको भीड थेगिनसक्नु हुन्छ। बेगनास, रूपा र पातले छाँगोजस्ता स्थानमा पनि पर्यटकको चहलपहल बढे पनि सबैको पहिलो रोजाइ फेवाताल नै बन्छ।
तर तालको सतहमा तैरिरहेका पानीका बोतल, प्लास्टिकका झोला, चप्पल र अन्य नकुहिने फोहोरले यसको सौन्दर्यमा गम्भीर धक्का पुर्याएको छ। किनारमा थुपारिएको फोहोरको डंगुरले ताल छेउको ड्यामसाइट पार्क क्षेत्र झन् कुरुप बनेको छ।
स्थानीयवासीका अनुसार फेवातालले वर्षौंदेखि ढल मिसावट, अतिक्रमण र प्लास्टिकजन्य फोहोरको समस्या भोग्दै आएको छ। ताल सफाइका क्रममा निकालिएको फोहोर व्यवस्थापन नगरी किनारमै छोडिँदा सरसफाइ अभियानको प्रभाव पनि कमजोर देखिएको छ।
पोखरा महानगरपालिका, टोल विकास संस्था र नागरिक समाजले नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। तर, फोहोर संकलनपछि त्यसको उचित व्यवस्थापन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ।
पर्यटक आकर्षित गर्ने फेवातालको सुन्दरता जोगाउन अब केवल सफाइ अभियान पर्याप्त छैन। फोहोर व्यवस्थापन, ढल नियन्त्रण र प्लास्टिक प्रयोगमा कडाइ गर्नुपर्ने देखिएको छ।
तस्बिरहरूः








सबै तस्बिरः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी