सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ। अर्कोपट्टि अजङ्गको भीर छ। त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना।
नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ। पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ।
सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ। यो झरनाको उचाइ १ सय ८१ मिटर छ।
०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो। सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन्।
दैनिक सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए। ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ। खान–बस्न पनि समस्या छैन। नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने।
उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ।
झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ। पर्यटकहरु तलाउमा पौडिरहेको भेटिन्छन्। अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ।
मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाब निकै बढ्छ। यसपछि हिउँदसम्म क्रमशः पानीको बहाब घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ। बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ।
काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ।
पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ।
तस्बिरहरूः




-ink-1784958143.jpeg)
-ink-1784958143.jpeg)
-ink-1784958143.jpeg)
-ink-1784958143.jpeg)


-ink-1784958142.jpeg)
-ink-1784958142.jpeg)
-ink-1784958141.jpeg)
-ink-1784958141.jpeg)
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी