धनुषामा एउटा गाउँ छ — सहिदनगर।
यो गाउँको यो नाउँ नयाँ हो। यसको पुरानो नाम यदुकुहा थियो।
यदुकुहामा २०४६ सालको आन्दोलन क्रममा फागुन ९ गते एकै दिन एकै ठाउँमा पाँच जनाले शहादत प्राप्त गरेका थिए।
आन्दोलन सफल भएपछि कांग्रेस नेता गणेशमान सिंह त्यहाँ पुगे र सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। अनि यदुकुहा गाउँको नाम अब सहिदनगर भयो भने। त्यसयता यदुकुहा सहिदनगर बन्यो।
यो गाउँ जनकपुरदेखि करिब बीस किलोमिटर पूर्व र थोरै उत्तर दिशामा अवस्थित छ। यो क्रान्तिभूमि पुग्ने अनेक बाटा छन्।
जनकपुरको पुल्चोकदेखि सिधै पक्की सडक छ। पूर्व–पश्चिम राजमार्गको बरमझिया (धनुषा) देखि दक्षिणतर्फ करिब १५ किलोमिटर कालोपत्रे सडकले पनि सहिदनगर पुर्याउँछ। जनकपुर–जयनगर चल्ने रेल चढेर जाने हो भने महिनाथपुर स्टेसनबाट १२ किलोमिटर उत्तरतर्फको कालोपत्रे सडकबाट पनि सजिलै पुगिन्छ।
करिब तीन दशकपहिले सहिदनगर पुग्न सहज थिएन। धूले साँघुरा सडकमा पुलपुलेसा थिएनन्। जोखिममा गाडी चलाउनुपर्थ्यो। बरू बयलगाडाको यात्रा सुरक्षित मानिन्थ्यो।
सडक यात्रा यति जोखिमपूर्ण थियो, यदुकुहालाई सहिदनगर भनेर घोषणा गरेर फर्केपछि पत्रकारहरूसँग गणेशमान सिंहले भनेका थिए, 'सहिदभूमि दर्शन गर्न जाँदा झन्डै हामी नै सहिद भयौं!'
२०४६ फागुन ९ गते यदुकुहाको गोठकुवा टोलमा प्रहरीको गोलीबाट तीन जना महिला र दुई पुरूष गरी पाँच जना सहिद भएका थिए। त्यसअघि यदुकुहामा २०२९ असोज १ गते, नयाँ शिक्षा योजनाको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको देशव्यापी विद्यार्थी आन्दोलन क्रममा कामेश्वर मण्डल र कुशेश्वर गोइत नामका दुई विद्यार्थी मारिएका थिए।
पञ्चायत फालिएको केही वर्षसम्म पनि नेपाली कांग्रेस र खासगरी उसको भ्रातृ संस्था नेविसंघले असोज १ गतेलाई हरेक वर्ष सहिद दिवसका रूपमा मनाउँथे। पञ्चायत कालमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला कयौं पटक यदुकुहा पुगेका थिए। उनीहरू जनकपुरबाट रेल चढेर महिनाथपुरसम्म जान्थे र त्यहाँबाट बयलगाडा चढेर यदुकुहा पुग्थे।
'मेरो घरमा किसुनजी (कृष्णप्रसाद भट्टराई) कम्तीमा चार पटक बास बसेका छन्। जनकपुर आएका बेला यदुकुहा त जान्छु नै भन्थे किसुनजी। गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) पनि कयौं पटक आएका छन्,' सहिदनगरका बासिन्दा शिवधारी यादवले भने।

शिवधारी यादवको कथा सुरू गर्नुअघि मैले उनलाई कसरी चिनेँ भन्ने सुनाउँछु।
मैले २०४५ सालमा पहिलो पटक यदुकुहा र कामेश्वर–कुशेश्वरको नाम सुनेको थिएँ।
सप्तरीको देहातको एक गाउँबाट आइएससी पढ्न जनकपुर आउँदा सुरूमा सहरका हरेक कुरा नौलो लाग्थ्यो — सहरी समाज, हाट बजार, मानिस, घर, यातायात आदि। मनमा अनेक उत्सुकता हुन्थ्यो।
बिस्तारै मेरो संगत थरीथरी साथीहरूसँग हुँदै गयो। राजनीतिक हिसाबले त्यस बेलाको जनकपुरको माहोल कांग्रेसमय थियो। विद्यार्थीमाझ नेविसंघको जगजगी थियो। जता गए पनि, जुन चोक गए पनि, जताततै नेविसंघका साथीसंगाती!
त्यस्तै माहोलमा एक दिन नेविसंघका दाइहरूले हामी नयाँ विद्यार्थीलाई वृक्षरोपण कार्यक्रममा सहभागी हुन भने। मलाई त्यो बेला वृक्षरोपण के हो, किन गरिन्छ भन्ने पनि थाहा थिएन।
हामी पढ्ने रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको एक कुनामा केही बिरूवा रोपियो। केही बेर मौन धारण गरियो। केही दाइहरूले भाषण गरे। हामीले ताली पिट्यौं। कार्यक्रम सकियो।
मौन धारण गर्नु भनेको नबोली केहीबेर ठिंग उभिनु रहेछ भन्ने कुरा त्यही दिन थाहा पाएँ। त्यसअघि स्कुलमा प्रार्थनाका बेला र सिनेमा हलमा फिल्म सुरू हुनुअगाडि राष्ट्रगान बजेका बेला मात्र त्यसरी उभिएको थिएँ। दुवै उभ्याइ एउटै खालको भए पनि सन्दर्भ फरक रहेछ। यसको भेउ पाउन मलाई निकै कठिन भयो।
नयाँ शिक्षा योजनाको विरोध, विद्यार्थी आन्दोलन, सहिद कामेश्वर–कुशेश्वर, यदुकुहा, वृक्षरोपण, मौन धारण जस्ता शब्द, नाम र कामकुरा मेरो दिमागमा घुमिरहे। यी कुराबीच तारम्य मिलाउन मलाई निकै कठिन भइरहेको थियो। सहिद, आन्दोलन, परिणाम र महत्त्वबारे मलाई केही थाहा थिएन।
अर्को वर्ष, २०४६ असोज १ गते — फेरि वृक्षरोपण, मौन धारण, भाषण र ताली।
पढाइको व्यस्ततासँगै राजनीतिप्रतिको चासो बढ्दै थियो।
२०४६ साल माघको कुरा— काठमाडौंमा गणेशमान सिंहको घरमा ठूलो बैठक भयो, भारतका नेताहरू आए, चन्द्रशेखर भन्ने नेताले बडो गजबको भाषण गरे, फागुन ७ देखि आन्दोलन हुने जस्ता कुरा हामी विद्यार्थीमाझ समाचार बनेर आए। यी समाचारले अब के हुन्छ, कस्तो हुन्छ भन्ने कौतुहलता हामीमा जगाए। विद्यार्थीहरू चन्द्रशेखरको भाषणको क्यासेट लुकीलुकी सुन्थे।
फागुन ७ गते।
जनकपुरमा जुलुसहरू निस्के। सबभन्दा पहिला शिवचोकमा युवराज खातीले कांग्रेसको झन्डा फहराएर सडकमा नारा लगाए। उनलाई तत्काल गिरफ्तार गरिएको थियो। त्यो गिरफ्तारीको चर्चा सहरभर फैलियो। अन्य दर्जनौं नेता पनि गिरफ्तार भएको खबर सुन्यौं।
मलाई यी सबै कुरा नौलो र रमिता जस्तो लागिरहेको थियो।
दुई दिनपछि, फागुन ९ को साँझ जनकपुरमा एकाएक सन्नाटा छायो।
बजार पूरै बन्द थियो। मानिसहरू हिँडिरहेका थिएनन्। हामी ट्युसन पढेर फर्किँदै गर्दा बजारभरि प्रहरी मात्र देखिन्थे।
अनि गाइँगुइँ सुनियो— यदुकुहामा शिवधारी यादवलाई पक्रिन प्रहरी गएको थियो, मान्छेहरूले रोक्दा अन्धाधुन्ध गोली प्रहार गर्यो रे! मान्छहेरू मरे रे!
शिवधारी यादव — यो नाम मैले त्यही दिन पहिलो पटक सुनेँ।
२०४६ को आन्दोलन सफल भयो। केही दिनसम्म नारा जुलुस भइरहे। परीक्षा नजिकिएपछि हामी विद्यार्थीहरू केही महिना 'गुप्तबास' बस्थ्यौं। यसरी बस्दा बाँकी दुनियाँको मतलब हुँदैन थियो। परीक्षापछि कता कता भइयो, २०४८ सालमा म काठमाडौं आएँ। त्यसयता यतै बसेँ।
जनकपुर छाडेको धेरै वर्षसम्म मलाई यदुकुहा, त्यहाँका सहिद र शिवधारी यादवबारे खासै चासो भएन। म आफ्नै दुनियाँमा व्यस्त भएँ।
२०६३ सालमा मधेस आन्दोलन भएपछि मधेसको समाज, राजनीति, द्वन्द्व, विकास लगायत पक्षबारे अध्ययन गर्न नेपाल–मधेस फाउन्डेसन स्थापना गरियो। त्यसपछि मलाई यदुकुहा जस्ता ठाउँ र शिवधारी यादव जस्ता पात्रहरूले फेरि ताने।
मधेसमा यदुकुहा जस्ता कयौं ठाउँ छन् जहाँ पञ्चायत, माओवादी युद्ध र त्यसपछिको लोकतान्त्रिक कालमा ठूला ठूला गोली काण्ड भएका छन्। टीकापुर, नेपालगञ्ज, अजिगरा (कपिलवस्तु), बेथरी (रूपन्देही), मर्चवार क्षेत्र, वीरगन्ज, गौर, जनकपुर, लहान, सप्तरीको मलेठ, रूपनी र भारदह, मोरङको रंगेली यस्तै ठाउँ हुन्। यहाँ विभिन्न कालखण्डमा अनेक आन्दोलनका दौरान मधेसी समुदायका धेरै मानिसहरू प्रहरीको अन्धाधुन्ध गोली लागेर मारिएका थिए।
२०७६ को पुस–माघमा म र प्राध्यापक प्रमोद मिश्रले झापादेखि कञ्चनपुरसम्म भ्रमण गरेका थियौं। सो क्रममा हामी यदुकुहा पनि पुगेका थियौं।
२०२९ र २०४६ सालमा गरेर सात जना सहिदको गाउँ बनेको यदुकुहा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्भवतः पहिलो महिला सहिदहरूको मातृभूमि पनि हो। माओवादी युद्धकालमा त्यहाँ प्रहरी चौकीमाथि आक्रमण हुँदा ठूलो जनधन क्षति भएको थियो।
सहिदनगर बनिसकेको यदुकुहाको बजार क्षेत्रमै कामेश्वर र कुशेश्वरको समाधिस्थल छ। महिला सहिद पार्क पनि बनाइएको छ। त्यो बेला शिवधारी यादव भने सहिदनगरमा भेटिएनन्। उनी एकाध दिनका लागि जनकपुर गएका रहेछन्। हामीले उनलाई जनकपुरमा भेट्यौं।


त्यसयता म ६ पटक सहिदनगर गएँ र दर्जनौं स्थानीय बासिन्दासँग कुराकानी गरेँ। शिवधारी यादवसँग पनि तीन पटक भेटेँ।
हरेक पटक सहिदनगर जाँदा, त्यहाँ कसैसँग कुरा गर्दा त्यो ठाउँ र शिवधारी यादवबारे जिज्ञासा बढ्थ्यो।
म थाहा पाउन चाहन्थेँ— आखिर २०४६ सालमा सहिदनगरमा कसरी त्यत्रो ठूलो गोलीकाण्ड भएको थियो? देहातमा बस्ने शिवधारी यादव कसरी त्यति प्रभावशाली नेता भए जसलाई समाउन जनकपुरबाट दर्जनौं प्रहरी गएका थिए? उनका लागि आफ्नो ज्यानको मतलब नगरी गाउँलेहरू किन र कसरी उभिएका थिए? सामान्य परिवारमा जन्मेहुर्केको, सामान्य लेखपढ गर्न मात्र जानेको मानिस कसरी राज्यविरूद्धको लडाइँमा होमियो? विद्रोही बन्यो? उसको विद्रोहबाट वरिपरिको समाजमा के प्रभाव पर्यो? शिवधारी यादव एक पात्रको नाम मात्र नभएर कसरी प्रवृत्ति बन्यो?
२०७६ पुसमा शिवधारी यादवलाई पहिलो पटक जनकपुरमा भेट्दा २०४६ सालको गोलीकाण्डबारे मात्र कुराकानी भयो। गत वर्ष वैशाखमा दोस्रो पटक उनकै निवास गोठकुवाँमा भेट भयो। त्यस बेला अरू पुराना आन्दोलन र उनको जीवनबारे विस्तृतमा कुराकानी गर्ने अवसर मिल्यो।
उनको घर अत्यन्त सामान्य थियो — ओसिएको भुइँ, माटोका भित्ता र खपडाको छानो। लाम्चो कोठाभरि धानचामल राख्ने स–साना भकारी अटाएका। एउटा खाट, प्लास्टिकको कुर्सी र दुई–चार थान मुढा। काठको सानो बेन्चमाथि घरेलु प्रयोगका सामान राखिएको। भुइँ ओसिएकाले खाटका खुट्टामुनि इँटा हालिएको। माटोको भित्तामा साना झ्याल। एउटा सामान्य पंखा।
उमेरले ८२ वर्षमा हिँडिरहेका शिवधारीको बसाइ अभावग्रस्त, कष्टकर नै देखिन्थ्यो।
पहिलो पटक हामी तीन जना सिधै घर पुग्दा उनी अलि अचम्म परेको भान भयो। खुलेर कुरा गर्न चाहेनन्। भेट्न आएको उद्देश्यबारे विस्तृतमा बताएपछि केही सहज भए। चार वर्षअगाडि जनकपुरमा भएको भेट सम्झाएपछि हाम्रो कुराकानी सुरू भयो।
मैले सोधेँ, '२०४६ सालमा यो ठाउँमा कसरी त्यत्रो ठूलो गोली काण्ड भयो?'
शिवधारीले भने, '२०४६ साल फागुन ७ गतेदेखि नेपाली कांग्रेस र वाम मोर्चाले प्रजातन्त्र पुनः स्थापनाका लागि देशभरि आन्दोलन घोषणा गरेका थिए। सात गते सबै जिल्लाको सदरमुकाममा जुलुस प्रदर्शनको कार्यक्रम थियो। म त्यस दिन जनकपुर जानुपर्ने थियो तर गइनँ। मलाई थाहा थियो, जनकपुर गएँ भने पुलिसले गिरफ्तार गरिहाल्छन्। त्यस कारण म र यहाँका साथीहरूले जनकपुर जानुको सट्टा ९ गते यदुकुहामै विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेका थियौं।'
उनी भूमिगत शैलीमै तयारीमा जुटेका थिए। आफूलाई जुनसुकै बेला पनि गिरफ्तार गर्न सक्छन् भन्ने लागेर सचेत पनि थिए। यदुकुहाको थानामा काम गर्ने एक जनासँग उनको राम्रो सम्बन्ध थियो। उनीबाट गोप्य सूचनाहरू पनि थाहा हुन्थ्यो।
९ गते बिहान उनी घरमै थिए।
यदुकुहा स्कुलमा कक्षा ९ मा पढ्ने उदयशंकर मण्डल आएर भने, 'थानामा जनकपुरबाट ४०/५० जना प्रहरी आएका छन्, तपाईंलाई गिरफ्तार गर्न आउँदैछन्।'
शिवधारी आफ्नो घरबाट निस्केर अलि पर छेउको घरमा लुके। एकै छिनमा दर्जनौं प्रहरी आइपुगे। उनको घरलाई घेरा हाले।
उनका छोरा, खबर लिएर आउने उदयशंकर र उनको घरमा काम गर्न बसेका अर्का एक युवालाई समातेर पाता फर्काएर बाँधिदिए। कुटपिट गरे। खानतलासी गरे।
शिवधारीको घर प्रहरीले घेरा हालेको थियो। त्यति बेलासम्म गाउँभरिका मानिसको भीड लाग्यो। त्यो भीडले प्रहरीलाई घेरा हालेजस्तो भयो।
'म भेटिएको थिइनँ। तर भीड देखेर प्रहरीहरू आत्तिएका थिए,' शिवधारीले भने।
त्यतिकैमा उनका भतिजाले प्रहरीलाई सोधे, 'तपाईंहरूसँग घरको खानतलासी गर्ने कागज छ? देखाउनुस्। होइन भने तपाईं प्रहरी हो कि, नक्कली पोसाकमा आएको, कसरी बुझ्ने?'
भतिजा र प्रहरीबीच विवाद बढ्दै गयो। उता शिवधारी लुकेको घरको ढोकासम्म मानिसको भीड बढ्दै थियो।
सयौं मान्छेका बीच प्रहरीको जोर चलेन। अन्त्यमा माफी मागेर शिवधारीको घरको उत्तरतिरको बाटोबाट निस्किए। दुई–चार घर उत्तर लागेपछि टोल सकिन्थ्यो। त्यहीँनिर एउटा पक्की घर थियो।
'त्यही पक्की घरमा आड लागेर मेरो घरतिर भएको मानिसको भीडमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरे। दर्जनौं मान्छे घाइते भए। गाईगोरूलाई पनि गोली लागेको थियो,' शिवधारीले त्यो क्षण सम्झिँदै सुनाए।
गोली लागेकाहरूलाई स्वास्थ्य चौकी लगियो। त्यो अवस्थामा पनि यदुकुहामा जुलुस निकालिएको थियो। स्वास्थ्य चौकी यदुकुहा प्रहरी थानाको छेउमै भएकाले प्रहरीले एकैछिनमा सबै घाइते कब्जामा लिए र जनकपुर लगे। साँझसम्म पाँच जनाको मृत्यु भएको जानकारी आयो।
मृत्यु हुनेमध्ये दुई जना शिवधारीलाई सूचना दिन आएका विद्यार्थी उदयशंकर मण्डल र उनकी दिदी जानकी देवी यादव थिए। अन्य मृतक मुनेश्वरी देवी यादव, सोनावती देवी यादव र रामनारायण यादव उनका छिमेकी थिए।
दुई दिनसम्म प्रहरीको ठूलो जत्था शिवधारीको घरमा घेरा हालेर बसेको थियो।
'म तीन–चार रात यदुकुहाकै विभिन्न टोलमा जसोतसो लुकेर बसेँ। पछि सीमापारि बसेका साथीहरूको सम्पर्कमा पुगेँ,' उनले सुनाए।
शिवधारीका कुरा सुन्दै गर्दा उनी कसरी राजनीतिमा आए भन्ने जान्न मन लाग्यो।
त्यो बेला तराई–मधेसमा प्रायः धनी, जमिनदार पृष्ठभूमिका मानिस नै प्रतिबन्धित नेपाली कांग्रेसको राजनीतिमा लाग्थे, नेता हुन्थे। शिवधारीको पारिवारिक पृष्ठभूमि त्यस्तो थिएन।
उनी एक मुद्दाका कारण राजनीतिमा प्रवेश गरेका रहेछन्।
उनको गाउँमा काठमाडौंका योगेन्द्रराज पाण्डे नामका राजगुरूको धेरै जग्गा थियो। २०२२ सालमा सरकारले भूमिसुधार लागू गरेपछि राजगुरूले त्यहाँका जग्गा बेच्ने भए। शिवधारीले पनि किन्न भनेर बैना दिएका थिए। तर पछि उनलाई जग्गा दिइएन। बैना पनि फिर्ता पाएनन्।
त्यसपछि जग्गावालाको अंशियार खोजेर शिवधारीले हकसाफी मुद्दा दायर गरे। अन्ततः २०२४ सालमा उनले जग्गा पाए।
'त्यो मुद्दामा मेरो धेरै सम्पत्ति सकियो। मुद्दा लड्ने क्रममा अनेक राजनीति कार्यकर्ताहरूसँग भेटघाट, संगत भयो। त्यहीँबाट मेरो राजनीति यात्रा सुरू भयो,' उनले भने।

शिवधारीले २०२४ सालमै कांग्रेसको सदस्यता लिए। खासगरी धबौलीका मुरलीप्रसाद उपाध्याय र दुहबीका देवनारायण झाको संगतका कारण कांग्रेसको सदस्यता ग्रहण गरेको उनले बताए।
मुद्दामामिला सकिएपछि उनी आफ्नो खेतीपातीमै केन्द्रित भए। गाउँमा केही युवाहरूले एउटा युवक संगठन निर्माण गरेका थिए। त्यसमा शिवधारी पनि आवद्ध भए। संगठनले बाटोघाटो, पाटी, पौवा, कुलो, पैनी आदि बनाउने काम गर्थ्यो। एउटा पुस्तकालय पनि बनाएको थियो।
'यिनै कामका कारण हाम्रो संगठन लोकप्रिय भयो। तर पार्टीका नेताहरूले मलाई चिन्थेनन्,' उनले भने।
२०२६ सालमा गाउँ पञ्चायतको चुनाव हुने भयो। प्रतिबन्धित भए पनि कांग्रेसको तर्फबाट सीताराम साहु उम्मेदवार थिए भने कम्युनिस्टका तर्फबाट लालचन साहु।
त्यहीताका स्थानीय युवाहरूले शिवधारीलाई पनि उक्साए, हौस्याए। उनले प्रधानपञ्चका लागि उम्मेदवारी दिए। पहिलो चरणमा कसैको ५१ प्रतिशत मत आएन। दोस्रो चरणमा कम्युनिस्ट उम्मेदवार लालचन र उनीबीच प्रतिस्पर्धा भयो। शिवधारीले जिते। यसरी २०२६ सालदेखि २०२८ सालसम्म उनी यदुकुहाका प्रधानपञ्च भए।
मैले उनलाई २०२९ सालमा कामेश्वर–कुशेश्वर मारिएको घटनाबारे सोधेँ।
उनले भने, '२०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि त्यसको विरोधमा देशभरि विद्यार्थी आन्दोलन भइरहेको सुनेको थिएँ। शेरबहादुर देउवाको नेतृत्वमा त्यो आन्दोलन भइरहेको हामीले सुनेका थियौं।'
२०२९ साउन–भदौतिर गाउँमा शिवधारीहरूको युवक संगठनले यदुकुहा स्कुलका विद्यार्थीहरूसँग मिलेर आन्दोलन गर्ने योजना बनायो। पहिलो दिन जुलुसबाट प्रहरीले महेन्द्र नायक नामका विद्यार्थीलाई पक्रेको थियो। महेन्द्रलाई भोलिपल्ट रेलबाट जनकपुर पठाउन लागेको खबर आयो। विद्यार्थीहरूले महिनाथपुर स्टेसन नजिक पटरीमा सुतेर रेल रोक्न लगाए र महेन्द्रलाई छुटाए।
त्यो घटनाबाट स्थानीय माहौल निकै तातेको थियो। विद्यार्थीहरू उत्साहित थिए, पुलिस प्रशासन आक्रोशित थियो।
केही समयपछि असोज १ गते, हाटको दिन पारेर फेरि जुलुस निस्कियो।
'विद्यालय, प्रहरी थाना र बजार लाग्ने ठाउँ टाँसिएका थिए। साथीहरूले भने अनुसार त्यस दिनको जुलुस निकै उग्र थियो। प्रहरीले अन्धाधुन्ध गोली चलाएका थिए,' शिवधारीले भने, 'बजारमा धेरै मान्छे घाइते भए। दुई जना विद्यार्थी कामेश्वर मण्डल र कुशेश्वर गोइत मारिए।'
त्यो दिन शिवधारी भने यदुकुहामा थिएनन्। उनी भारतको कोलकाता गएका थिए।
जिल्ला तहमा उनको कुनै नेतासँग राम्रो चिनजान थिएन। तर मुरलीप्रसाद उपाध्यायले उनलाई सुवर्ण शमशेरलाई भेट्नुपर्छ भनिरहन्थे। सुवर्ण शमशेर कोलकातामा भएकाले शिवधारी उनैलाई भेट्न गएका थिए।
कांग्रेस जिल्ला तहका नेतासँग सम्पर्क नगरी उनी एकै पटक सुवर्ण शमशेरलाई भेट्न कोलकाता किन गएका थिए?
आठ दशक उमेर काटिसकेका शिवधारीले केही बेर सम्झिए र भने, 'जिल्लाका नेतासँग त मेरो खासै सम्पर्क थिएन। कोही जनकपुर त कोही सीमापारि सेल्टर लिएर बसेका थिए। उनीहरूको ठेगान मलाई थाहा थिएन। मुरलीप्रसादले कोलकाता गयो भने सुवर्ण शमशेरसँग त भेट हुन्छ नै भनेकाले म यताउता नलागी सिधै उतै गएको थिएँ।'
शिवधारीलाई यदुकुहामा त्यस दिन भएको घटनाबारे पनि सुवर्ण शमशेरले नै जानकारी दिएका थिए।
उनी कोलकाताबाट फर्के, नर्थ–बिहार रेलबाट जयनगर पुगे। त्यहाँ उनले आफ्नो गाउँमा गोली चलेको र कामेश्वर–कुशेश्वर मारिएको सुने। प्रहरीले आफूलाई खोजिरहेको सूचना पनि पाए। गाउँ जान जयनगरबाट रेल चढेका उनको बीच बाटोमै सोच फेरियो। उनी सिधै जनकपुर गए।
जनकपुरको रेल स्टेसनमा उनको जीवछ छिटान नामका व्यक्तिसँग भेट भयो। छिटान त्यति बेला जिल्ला पञ्चायतका उपसभापति थिए।
उनले शिवधारीलाई भने, 'तपाईंलाई पुलिसले खोजिरहेको छ। बरू सिधै सिडिओ कार्यालयमा गएर आफू भर्खर भारतबाट आउँदै गरेको भन्नुभयो भने प्रहरीले समात्दैन होला।'
शिवधारीलाई कुरो ठीकै लाग्यो। उनी सिधै सिडिओ कार्यालय गए।
सिडिओले तुरून्त उनलाई पक्रिन लगाए। उनलाई जानकी मन्दिर नजिकको प्रहरी चौकी पठाइयो।
'त्यहाँ निकै यातना दिइन्थ्यो। पछि जलेश्वर जेल लगे। त्यो नै मेरो पहिलो जेल यात्रा थियो,' उनले सम्झिए।
जेल परेको आठ महिनापछि, २०३० सालमा उनी रिहा भए।
'त्यसपछि बल्ल मलाई पार्टीका साथीहरूले खोजी गर्न थाले,' उनले भने।
यसपछि उनी कांग्रेसका कार्यकर्ता बने र निरन्तर रूपमा गाउँमै बसे। अरविन्द यादवद्वारा लिखित शिवधारीको आत्मकथामा उल्लेख भए अनुसार २०३६ र २०४२ सालको कांग्रेसी आन्दोलनमा उनी जेल परे। त्यो बेला उनको जीवन निकै यातनापूर्ण रह्यो।
शिवधारीका अनुसार हाल उनी पार्टीमा जिल्ला कार्यसमितिका सल्लाहकार छन्।
सामान्य किसान परिवारका शिवधारी एक मुद्दाका कारण राजनीतिक बाटोतिर मोडिएका थिए। कालान्तरमा उनी प्रधानपञ्च हुँदै, कांग्रेसका विद्रोही कार्यकर्ता बने। बेलाबेला प्रहरीको यातना खेपे। पार्टीका नेता–कार्यकर्ताको संगत, आफ्नै जुझारू र इमानदार स्वभावले उनलाई पञ्चायत कालभरि विद्रोही बनाइरहेको देखिन्छ।
२०४७ सालको निर्वाचनमा नेपाली कांग्रेसले उनलाई उनको गृहजिल्ला धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो। उनले सजिलै जिते।
नेपाली कांग्रेसको सरकार बन्यो।
पहिलो पटक प्रतिनिधि सभा सदस्य बन्दाको अनुभवबारे सोध्दा उनले भने, 'अरू त राम्रै रह्यो। तर शपथ ग्रहण कार्यक्रममा दौरासुरूवाल, टोपी लगाउन अनिवार्य थियो। मसँग दौरासुरूवाल थिएन। रामवरणलाई (पूर्वराष्ट्रपति डा. रामवरण यादव) भनेँ। उहाँले व्यवस्था गरिदिनुभयो। जीवनमा पहिलो पटक दौरासुरूवाल, टोपी लगाएर ऐनामा हेर्दा त साह्रै अप्ठ्यारो लागेको थियो। आफैले आफूलाई नचिनेजस्तो भयो।'
उनले अगाडि भने, 'पछि मैले गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई भेटेर मलाई दौरासुरूवाल लगाउन निकै अप्ठ्यारो लाग्छ, जीवनभर धोतीकुर्ता लगाउने मान्छे हो हामी त भनेँ। तुरून्तै उहाँले तपाईं धोतीकुर्ता नै लगाउनुस् न त, केही फरक पर्दैन भन्नुभयो। त्यसपछि बल्ल राहत भएको थियो।'
शिवधारीलाई मैले सोधेँ, 'तपाईं मन्त्री त बन्नुभएन नि?'

यसबारे उनी खासै खुल्न चाहेनन्, यत्ति भने, 'अब त्यस्तै भयो!'
मेरो प्रश्न सुनेर शिवधारीको छेउमै बसेका लक्ष्मीनारायण यादव भने मुसुक्क हाँसे। लक्ष्मी शिवधारीका छिमेकी हुन्, नातामा भतिजा पर्छन्।
२०४६ सालताका उनी राराब क्याम्पस, जनकपुरका विद्यार्थी नेता थिए। हामीलाई वृक्षरोपण गर्न, ताली पिट्न लैजाने दाजु उनै हुन्। २०४८ सालको निर्वाचनमा शिवधारीका निकट सहयोगी, निर्वाचन व्यवस्थापक र जितेपछि सहिदनगर बनिसकेको यदुकुहादेखि काठमाडौंसम्मका सहयात्री पनि उनै थिए।
हाल लक्ष्मी नेपाली कांग्रेस, धनुषाका उपसभापति छन्।
उनलाई मैले छुट्टै भेटेर सोधेँ, 'खासमा शिवधारीजी मन्त्री किन बन्नुभएन?'
उनले विस्तारमा भने, '२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन हुँदा पहिलो सूचीमा कृषि मन्त्रीमा शिवधारी यादवको नाम थियो। धनुषाको राजनीतिमा लीला कोइराला र महेन्द्रनारायण निधि फरक समूहका थिए। तर दुवैले शिवधारीजीलाई सिफारिस गरेका थिए। किसुनजी (कृष्णप्रसाद भट्टराई) को पनि चाहना थियो। शिवधारीजी मन्त्री बन्ने चर्चा व्यापक थियो। हामी निकै उत्साहित थियौं।'
लक्ष्मीका अनुसार अघिल्लो रात उनीहरू गौशालाको गेस्टहाउसमा बसेका थिए। बिहान चार बजे रामवरण यादव आए। उनले शिवधारीलाई गिरिजाप्रसादले भेट्न बोलाएको खबर दिए।
उनीहरू तीनै जना गए। गिरिजाप्रसादलाई भेट्न भने रामवरण र शिवधारी मात्र भित्र गए। लक्ष्मीनारायण बाहिरै बसे। उनीहरू फर्केर आएपछि के कुरा भयो भनेर सोधे।
'गिरिजाबाबुले धनुषाबाट एक जना मन्त्री बनाउन खोजेको, कसलाई बनाउँदा राम्रो हुन्छ भनेर सोध्नुभएछ,' लक्ष्मीले भने, 'शिवधारीजीले युवालाई बनाउँदा पनि राम्रै हुन्छ भन्नुभएछ।’
शिवधारीको कुरा सुनेपछि लक्ष्मीले तत्कालै लीला कोइराला र महेन्द्रनारायण निधिलाई फोन गरे र सबै कुरा भने।
त्यस दिन भएको मन्त्रिमण्डलमा धनुषाबाट कसैलाई राखिएन। त्यो सरकार गठन भएको ६ महिनापछि डा. रामवरण यादवलाई स्वास्थ्य मन्त्री बनाइएको थियो।
शिवधारीलाई मैले २०४७ सालको निर्वाचनपछि पार्टीले तपाईंलाई किन टिकट दिएन भनेर पनि सोधेको थिएँ।
जबाफमा उनले भने, 'काम नपरेसम्म कहीँ नजाने मेरो बानी छ। अर्कातिर सबै नेतासँग चिनजान छँदै थियो। सबैलाई मेराबारे थाहा थियो। सभापति किसुनजी चार पटक मेरो घरमा बस्नुभएको थियो। प्रधानमन्त्री गिरिजाबाबु पनि कैयौं पटक आउनुभएको थियो। २०४६ सालको आन्दोलन सफल भएपछि गणेशमानजी गाउँ आउनुभएकै हो। महेन्द्रनारायण निधि धनुषाकै नेता। मेरो बारेमा सबैलाई थाहा थियो। अब मैले गएर फेरि के भन्ने?'
२०५१ सालको मध्यावधि निर्वाचनमा उनलाई टिकट दिइएन। उनको घर भएको धनुषा क्षेत्र नम्बर १ मा जटही (धनुषा–४) घर भएका स्मृतिनारायण चौधरीलाई टिकट दिइयो।
शिवधारीले गिरिजाप्रसादलाई भेटेर आफूलाई किन टिकट नदिएको भनेर सोधे।
जबाफमा उनले भनेछन्, 'ओहो, आप ही का टिकट कट गया, आप पहले क्योँ नहीँ आए। हम तो भुल गए। आपको पहले आना चाहिए था। अब जो हुवा सो हुवा। इस बार पार्टीका जो उम्मेदवार है, उसको सहयोग करदिजिए। अगली बार देखेगेँ।' (ओहो, तपाईंको टिकट काटियो। तपाईं पहिल्यै किन आउनुभएन, मैले त बिर्सेँ। तपाईं पहिल्यै आउनुपर्ने थियो। अब जे भयो भयो, यसपालि पार्टीका जो उम्मेदवार छन्, उनलाई सहयोग गरिदिनुस्, तपाईंलाई अर्कोपटक हेरौंला।')
शिवधारी काठमाडौंबाट फर्किएर पार्टीलाई सहयोग गरे। स्मृतिनारायणले जिते पनि।
२०५६ सालमा फेरि निर्वाचन हुने भयो। शिवधारीले फेरि टिकट पाएनन्।
उनी फेरि काठमाडौं गएर गिरिजाप्रसादलाई सोधे, 'यस पटक फेरि मलाई टिकट दिनुभएन त, किन?'
जबाफ फेरि उही पाए, 'तपाईं समयमा आउनुभएन। मलाई याद रहेन। यस पटक पनि पार्टीलाई सहयोग गरिदिनू।'
'उहाँले सहयोग गरिदिनू भनिरहनुभयो। मैले यसपालि त सम्भव छैन, म कुनै हालतमा सहयोग गर्दिनँ भनेर प्रधानमन्त्री निवासबाट बिदा भएँ,' शिवधारीले भने, 'म पार्टीको काममा नलागी गाउँ नै आएर बसेँ। स्मृतिनारायणजीले चुनाव हार्नुभयो।'
त्यस वर्ष धनुषा क्षेत्र नम्बर १ बाट एमालेका रामचन्द्र झाले चुनाव जितेका थिए।
त्यसपछि पनि नेपालमा दुई पटक संविधान सभाको, दुई पटक प्रतिनिधि सभाको, दुई पटक प्रदेश सभाको र दुई पटक नै स्थानीय तहको निर्वाचन भइसकेका छन्।
तर शिवधारी कहिल्यै कतै पार्टीको छनौटमा परेनन्।
उनको कथा सुनेपछि मैले तराई–मधेसको समाज र राजनीतिबारे अमेरिकी विद्वान फेड्रिक गेजले भनेका कुरा सम्झिँए।
पचास वर्षअघि गेजले तराईको समाज, राजनीति र काठमाडौंसँगको सम्बन्धबारे किताब लेखेका थिए। त्यसमा उनले तराईको राजनीतिमा प्रभावशाली हुन चार तत्वले काम गर्छ भनेर लेखेका छन् — धनी वा जमिनदार परिवारिक पृष्ठभूमि, स्थानीय जातीय संरचनामा माथिल्लो तहका, काठमाडौंको सत्तासँग राम्रो सम्बन्ध भएका र निर्वाचन/राजनीतिको दाउपेच खेल बुझेका, पढालेखा।
आफ्नो पूरा जीवन राजनीतिमा बिताएका यदुकुहाका यी नेता शिवधारी यादवमा सायद गेजले भनेका तत्व भेटिँदैनन्!
(तुलानारायण साहका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @tulashah