बेइजिङ डायरी
चीनका विभिन्न प्रान्तहरू घुम्ने क्रममा सिचुआन प्रान्तमा थुप्रै पटक पुगेको छु। नेपालसँग विशेष सम्बन्ध रहेको सिचुवान प्रान्तको छङ्तूमा नेपाली महावाणिज्य दूतावास पनि स्थापना भएको छ।
पहिलो पटक सन् २०१८ मा नेपालबाट आएका पत्रकारहरूको टोलीमा बेइजिङबाट गएर सँगसँगै घुम्ने अवसर मिलेको थियो।
त्यसपछि सन् २०२३ को सुरूमै निजी भ्रमणमा पुगेको थिएँ। पहिलो पटक थाहा नपाएको कुरा दोस्रो पटक पुग्दा थाहा भयो।
इन्टरनेटमा खोज्दै जाँदा तुचियाङयान सिँचाइ प्रणाली हेर्नै पर्ने एउटा महत्त्वपूर्ण स्थल हो भन्ने थाहा भएपछि त्यहाँ पुगेको थिएँ। अनि केही समय अगाडि पारिवारिक भ्रमणका क्रममा फेरि छङ्तू पुग्दा यो सिँचाइ प्रणालीमा पुगेँ।
सिचुवान प्रान्तको सदरमुकाम छङ्तूदेखि लगभग ४५ किलोमिटर पश्चिमा पर्ने तुचियाङयान सिँचाइ प्रणाली मानव इतिहासमै एउटा गज्जबको सिर्जना हो।
तुचियाङयान सिँचाइ प्रणाली चीनको सिचुआन प्रान्तमा रहेको एक प्राचीन, गैरबाँध हाइड्रोलिक इन्जिनियरिङ चमत्कार हो। यो लगभग २५६ ईसा पूर्वमा बाढी नियन्त्रण र कृषि सिँचाइ व्यवस्थापन गर्न निर्माण गरिएको थियो।
यो परियोजना आज पनि पूर्ण रूपमा क्रियाशील छ। युनेस्को विश्व सम्पदा सूचीमा रहेको यो परियोजनाले सिचुवान प्रान्तको युचुई, फइशायन र पाओफिङकोउ जस्ता प्रमुख नियन्त्रण घटकहरूमा बनाएर ६ लाख ६८ हजार सात सय हेक्टरभन्दा बढी कृषि भूमिमा सिँचाइ दिइरहेको छ।
मिन्चियाङ नदी पश्चिम लङमन पर्वतको दक्षिणी भागबाट सुरू हुन्छ। उक्त पहाडको उचाइ ३००० मिटरभन्दा केही कम छ। यो नदी जब पूर्वतिर बग्दै छङ्तू मैदानमा पुग्छ तब यो ७२० मिटरमा पुग्छ। तीन हजार मिटरको उचाइबाट छोटो दुरीमै ७२० मिटरमा झर्दा नदीको वेग तीव्र हुन्छ र फाँटिलो जमिनमा पुगेपछि एक्कासि कम हुन्छ।
तीव्र वेगमा बगेर आएको बालुवा र माटो कम वेग भएको मैदानमा पुगेपछि थिग्रिन थाल्थ्यो र नदी फाँटिलो बनेर आसपासलाई डुबाउने गर्थ्यो। बाढी प्रतिरोध गर्दै सिँचाइ सुविधा दिन यो आश्चर्यजनक मानव निर्मित प्रणाली विकास गरियो।
यो प्रणाली विकास गर्दा बिजुलीको आविष्कार भएकै थिएन। बारूदको पनि आविष्कार भएको थिएन। त्यसैले त्यति बेला बनाइएको यो प्रणालीले आज विश्वको ध्यान खिचिरहेको छ।
यो सिँचाइ प्रणालीलाई चिनियाँ विज्ञानको विकासमा एक आश्चर्य मानिन्छ। यसको भौगोलिक संरचना र इतिहास पनि निकै रोचक छ।
उचाइबाट आएको नदी छङतू मैदानमा झरेपछि अचानक सुस्त हुँदा पानीको धारमा बगेर आएको माटो थुप्रिँदै जान्थ्यो। यसले गर्दा नजिकैका क्षेत्रहरू बाढीको जोखिममा पर्थे।
तुचियाङयान सिँचाइ परियोजना क्षेत्र
तत्कालीन छिङ राजा चाओले यो परियोजना सुरू गरे। तुचियाङयानको निर्माणले नदीमा बाँध बाँध्नुको सट्टा च्यानलिङ र विभाजन गर्ने नयाँ विधि प्रयोग गरेर नदी उपयोग गरियो।
आज पनि यस सिँचाइ परियोजनाबाट ५,३०० वर्ग किलोमिटरभन्दा बढी जमिन सिँचाइ हुँदै आएको छ। यसले बाढी नियन्त्रण, सिँचाइ, जल यातायात र सामान्य पानी खपतमा व्यापक लाभहरू दिएको छ।
लगभग २३ सय वर्षअघि सुरू भएको यस परियोजनाले अहिले ६ लाख ६८ हजार ७ सय हेक्टर कृषि भूमि सिँचाइ गर्छ।
यसलाई सन् २००० मा विश्व सम्पदा सूचीमा समावेश गरिएको हो। यसलाई चीनले राष्ट्रिय पर्यटन क्षेत्र र ऐतिहासिक स्थलहरूको पहिलो समूह तथा राष्ट्रिय प्रदर्शन क्षेत्रका रूपमा प्राथमिक संरक्षित स्थल घोषणा गरेको छ।
यो प्रणाली निर्माण हुनुभन्दा अगाडि मिन्चियाङ नदीको क्षेत्रमा बस्ने मानिसहरू हरेक वर्ष बाढीबाट पीडित थिए। छिन राज्यकालका जलविद ली पिङले यो समस्या कसरी समाधान गर्ने भनेर अनुसन्धान सुरू गरे।
त्यहाँका पहाडहरूबाट तीव्र गतिमा बग्ने झरना र छाँगाहरूले पानीको बहाव बढाउँदै माटो बगाउने र सम्म मैदानमा आएपछि नदी सुस्त हुँदा माटो थुप्रिएर नदी फाटिँदा बाढी पसेर गाउँलाई बगाउने कुरा पत्ता लाग्यो। यसरी समस्या त पत्ता लाग्यो तर यसको समाधान पत्ता लागेको थिएन। यसको एक मात्र समाधान बाँध निर्माण गर्नु थियो।
सीमामा सेना आपूर्ति गर्न सैन्य जहाजहरूका लागि जलमार्ग खुला राख्न आवश्यक थियो। त्यसैले बाँध निर्माण गर्नुको सट्टा नदीको प्रवाहको एक भागलाई पुनर्निर्देशित गर्न र त्यसपछि सुख्खा छङ्दू मैदानमा अतिरिक्त पानी छोड्न युलेई पहाड मार्फत एउटा च्यानल काट्न एउटा कृत्रिम ताल निर्माण गरियो।
चीनको इतिहास पल्टाउँदा के भेटिन्छ भने तत्कालीन छिन वंशका राजा चाओले यो परियोजना निर्माण गर्न एक लाख टेल चाँदी र दसौं हजार मजदुर खटाएका थिए।
तटबन्ध बनाउन बाँसका ढडिया बनाएर ती ढडियामा ढुंगा भरिन्थ्यो र पानीभित्र राखिन्थ्यो। बाँसबाट बनेका त्यस्ता ढडियालाई चिनियाँ भाषामा 'माचा' भनिने काठका ट्राइपडहरूले विभिन्न ठाउँमा अड्याएका थिए। माछाको मुख जस्तो पानी विभाजन तटबन्ध निर्माण पूरा गर्न चार वर्ष लागेको चिनियाँ इतिहासमा उल्लेख छ।
बाँसका ढडिया
नदीको आधा पानी पठाउन च्यानल काट्नुपर्ने थियो। यो कुरा बारूदको आविष्कार हुनुभन्दा धेरै पहिलेको थियो। उक्त समयमा उपलब्ध हाते औजारहरूले पहाड काट्न दशकौं लाग्थ्यो।
त्यसैले चट्टानहरूलाई चाँडै तताउन र चिसो पार्न आगो र पानी प्रयोग गर्ने एक सरल विधि आविष्कार गरियो। जसले गर्दा चट्टानहरू फुट्थे र सजिलै हटाउन सकिन्थ्यो। आठ वर्षको कामपछि, पहाडबाट २० मिटर चौडा नहर निर्माण गरियो।
मिन्चियाङ नदीलाई ६० र ४० को अनुपातमा विभाजन गरेपछि स्वतः वाढी नियन्त्रण भयो। सिँचाइले सिचुआन प्रान्तलाई केही समयको लागि चीनको सबैभन्दा धेरै कृषि उत्पादक क्षेत्र साबित बनायो।
एकातिर जनधनको क्षति जोगायो भने अर्कातिर सिँचाइ प्रणाली विकास गरेर मानिसलाई समृद्ध बनायो।
प्रमुख तीनवटा नियन्त्रण घटकहरू निम्नानुसारका छन्।
युचुई (माछाको मुख बाइपास डाइक)– माछाको मुख जस्तै आकारको भएकाले यसलाई 'माछाको मुख' को तह भनिएको हो।
यो सिँचाइ निर्माणको प्रमुख भाग हो। यो यस्तो कृत्रिम तह हो जसले पानीलाई भित्री र बाहिरी धारमा विभाजन गर्छ। भित्री धार कृत्रिम रूपमा बनाइएको हो। यो गहिरो र साँघुरो छ। बाहिरी धार अपेक्षाकृत कम गहिरो र चौडा छ।
यो विशेष संरचनाले पानीलाई आश्चर्यजनक रूपमा विभाजन गर्छ। भित्री धारमा सुख्खा मौसममा नदीको प्रवाहको लगभग ६० प्रतिशत सिँचाइ प्रणालीमा पठाउँछ भने बाढीको समयमा ४० प्रतिशतमा सीमित बनाउँछ।
मौसमका आधारमा पानीको प्रवाहलाई छुट्ट्याउने, मिन्चियाङ नदीलाई भित्री र बाहिरी नदीमा विभाजित गर्ने सबभन्दा माथिल्लो भागको नियन्त्रण केन्द्र हो यो।
फेइशायन (स्पिलवे) फ्लडगेट– एउटा डाइभर्सन प्रणाली जसले भित्री नदीबाट अतिरिक्त पानी र तीव्र बहावलाई स्वचालित रूपमा बाहिरी नदीमा फाल्छ। फेइशायन वा फ्लाइङ स्यान्ड वेयरमा २०० मिटर चौडा खोल्ने ठाउँ छ जसले भित्री र बाहिरी धारहरूलाई जोड्छ।
ली पिङ र बादशाह चाओ
मिन्चियाङ नदीबाट सिँचाइका लागि लगिएको पानी
यसले पानीको प्राकृतिक घुमाउरो प्रवाहलाई भित्रीबाट बाहिरी धारसम्म अतिरिक्त पानी निकाल्ने काम गरेर बाढीबाट बचाउँछ। घुमाउरोले बाहिरी धारसम्म जान नसकेको माटो र बालुवालाई पनि बाहिर निकाल्छ।
आधुनिक प्रचलित कंक्रिट वेयरले मूल भार वहन गर्ने बासको ढडियालाई प्रतिस्थापन गरेको छ।
पाओफिङकोउ (बोतल-नेक च्यानल)– एउटा साँघुरो मार्ग जसले पानीलाई सिँचाइका लागि छङ्दू मैदानमा मोड्छ र पानीको मात्रालाई कुशलतापूर्वक नियन्त्रण गर्छ। पाओफिङकोउ वा बोटल–नेक च्यानल यो सिँचाइ प्रणालीको अन्तिम भाग हो।
यो च्यानलले सिँचाइका लागि पानी वितरण गर्छ।
यो विश्वको सबभन्दा पुरानो र एक मात्र बाँध नभएको सिँचाइ प्रणाली हो जुन २३ सय वर्षदेखि निरन्तर कार्यशील छ। यसले छङ्तू मैदानका लागि सिँचाइ सुनिश्चित गर्दै बाढी नियन्त्रण प्रणालीले स्वचालित रूपमा पानी बाँडफाँट गर्छ।
सुख्खा मौसममा नदीबाट ६० प्रतिशत पानी सिँचाइ नहरमा पठाउँछ र ४० प्रतिशत पानी नदीतिर बगाउँछ भने वर्षातको समयमा ४० प्रतिशत पानी सिँचाइ नहरमा पठाउँदै ६० प्रतिशत पानी नदीतिर पठाउँछ।
यो सिँचाइ प्रणालीले सिचुवान प्रान्तका ५० भन्दा बढी सहर र काउन्टीहरूमा सेवा प्रदान गर्दै सिचुवान प्रान्तको अन्न भण्डार समृद्ध बनाएको छ। यस्तो महत्त्वपूर्ण संरचनाले विभिन्न समयमा बाधा र क्षति पनि बेहोर्दै आएको छ।
सन् १६४४ मा चीनमा किसान विद्रोह भयो। उक्त विद्रोहको नेतृत्वकर्ता चाङ सियानचोङले छङ्दूमाथि विजय गरे। त्यसपछि मिङ वंशपछि छिङ राजवंशको शासन चीनमा सुरू भयो। शासन सत्ता संक्रमण र चाङ सियानचोङले छङ्तूमाथि गरेको नियन्त्रणले गर्दा उक्त क्षेत्रमा जनसंख्या घट्यो।
फलस्वरूप तुचियाङयान सिँचाइ प्रणालीलाई राम्ररी सञ्चालन गरिएन। अनि धान खेतीको उत्पादन पनि क्रमशः घट्न थाल्यो। सन् १९३३ मा गएको भूकम्पले तुचियाङयान सिँचाइ प्रणालीलाई भताभुंग बनायो।
चीनले त्यसपछि पुरानै शैली र प्रणालीमा तुचियाङयान सिँचाइ प्रणालीको पुनः निर्माण गरियो। फेरि सन् २००८ मे १२ तारिख सिचुवान प्रान्तको वेनछनमा ठूलो भूकम्प गयो। उक्त भूकम्पले फेरि सिँचाइ प्रणालीलाई केही क्षति पुर्यायो।
यो सिँचाइ प्रणाली निर्माण गर्ने मुख्य व्यक्ति हुन् ली पिङ।
मिन्चियाङ नदी
आधुनिक चीनमा ली पिङको ठूलो सम्मान छ। यो प्रणालीका सर्जक र निर्माणकर्ता भएकाले उनकै मूर्ति बनाएर मौसम नाप्ने विधि पनि स्थापना गरिएको थियो।
पूर्वी हान राजवंशको समयमा पानीको बहावको निगरानी गर्न नदीमा ली पिङको मूर्ति राखिएको थियो। पानीको सतह ली पिङको मूर्तिको काँधभन्दा माथि पुगेमा बाढी आउने भनी संकेत पाइन्थ्यो र यदि पानीको सतह मूर्तिको कम्मरमुनि पुगेमा खडेरीको संकेत पाइन्थ्यो।
सन् १९७४ मा उक्त मूर्तिलाई नदीबाट निकालिएर प्रदर्शनी कक्षमा राखियो। यो मूर्ति हालसम्म प्राप्त चीनमा मानवको सबैभन्दा पुरानो ढुंगाको मूर्ति मानिन्छ।
यो सिँचाइ प्रणालीमै मिन्चियाङ नदीमाथि झोलुंगे पुल बनाइएको छ। यो पुललाई 'दम्पती पुल' भनिन्छ। जहाँ प्रेमीप्रेमिका अथवा दम्पतीले फोटो खिच्छन्।
यो पुलले कृत्रिम टापूलाई दुवै किनारमा जोड्ने काम गरेको छ। चीनको पाँच प्राचीन पुलहरूमध्ये एकका रूपमा यो पुललाई लिइन्छ।
सन् १८०३ मा छिङ राजवंशको समयमा ह सियान्त नामका एक स्थानीय व्यक्ति र उनकी श्रीमतीले यो पुल बनाएका थिए। त्यसैले यो पुललाई उनीहरूको सम्मानमा 'दम्पती पुल' उपनाम दिइएको हो।
दम्पती पुल
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)