नेपालमा पछिल्लो पटक प्लाइउड र भेनियर उद्योगको राम्रो विस्तार भइरहेको पाइन्छ। नेपालको हावापानी र भौगोलिक बनावटका कारण यी उद्योगका लागि आवश्यक कच्चा पदार्थ हाम्रै भूमिमा पर्याप्त मात्रामा पाइने गरेको छ।
नेपालमा खासगरी पहाडी भूभाग यी उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि उर्वर मानिन्छ।
पहाडी जिल्लाका अन्नबाली उत्पादन नहुने निजी आबादी जग्गाबाट संकलन हुने उत्तीस, मलातो, मौवा, कदम, पिठारी, लहरेपीपल लगायतका तीन महिनामै सडेर जाने कमसल प्रजातिका काठलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर नेपालका भेनियर उद्योगहरूले कोर भेनियर पत्ता उत्पादन गर्दै आएका छन्।
तिनै भेनियर उद्योगले उत्पादन गरेका कोर भेनियर पत्ता प्लाइउड उद्योगहरूले प्लाई बनाउन कच्चा पदार्थका रूपमा प्रयोग गर्छन्।
नेपालले भेनियर तथा प्लाइउड निर्यातबाट अर्बौं रूपैयाँ आम्दानी समेत गर्दै आएको छ। नेपालको भेनियर तथा प्लाइउडको प्रमुख बजार भारत नै हो।
यसले भारतसँगको हाम्रो व्यापार घाटा केही कम गर्न पनि प्रत्यक्ष सहयोग गरेको छ। भारतमा निर्माण क्षेत्र तीव्र रूपमा बढ्दै गएकाले नेपालका भेनियर तथा प्लाइउडका उत्पादनले राम्रै बजार पाइरहेका छन्।
भेनियर उद्योग काठमा आधारित आधुनिक उद्योगमध्ये एक महत्वपूर्ण उद्योग हो, जसले विशेषगरी प्लाइउड, फर्निचर, सजावटी प्यानल, ढोका तथा आन्तरिक सजावटका सामग्री उत्पादनमा आधारभूत कच्चा पदार्थको रूपमा काम गर्छ।
विश्वव्यापी रूपमा निर्माण क्षेत्र, सहरीकरण र फर्निचर उद्योगको विस्तारसँगै भेनियर तथा प्लाइउड उद्योगको माग तीव्र रूपमा बढिरहेको छ। दक्षिण एसियामा नेपाल, भारत र चीन यस उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण देशहरू हुन्।
चीन विश्वस्तरको उत्पादन शक्ति बनेको छ भने भारत विशाल उपभोक्ता बजारको रूपमा छ। नेपालले भने पछिल्ला वर्षहरूमा निर्यातमुखी उद्योगको रूपमा आफ्नो उपस्थिति विस्तार गर्न थालेको छ।
यी उद्योगहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं व्यक्तिलाई रोजगारी दिइरहेका छन्। नेपालको उद्योग क्षेत्रले विशेषगरी भारतलाई लक्षित गरी उत्पादन विस्तार गरेको देखिन्छ।
विशेषगरी काकरभिट्टा नाकाबाट मात्रै अर्बौं रूपैयाँ बराबरको प्लाइउड तथा भेनियर भारत निर्यात हुने गरेको छ। नेपालको अधिकांश उत्पादन भारतका दिल्ली, पञ्जाब, राजस्थान, हरियाणा लगायतका बजारमा पुग्ने गरेको पाइन्छ।
पछिल्ला वर्षहरूमा उद्योगीहरूले व्यावसायिक वृक्षारोपणतर्फ पनि लगानी बढाउन थालेका छन्।
विभिन्न अध्ययन अनुसार प्लाइउड तथा भेनियर उद्योगको आवश्यकतालाई ध्यानमा राखी हजारौं हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ। सरकारले पनि वृक्षारोपणलाई प्राथमिकतामा राखेको छ।
ग्रामीण अर्थतन्त्र, किसानको आयवृद्धि तथा कृषि–वन प्रणालीलाई यसबाट सकारात्मक प्रभाव पारिरहेको छ। नेपालमा वनजन्य स्रोतको पर्याप्त सम्भावना भएकाले यदि दीर्घकालीन योजना र दिगो वन व्यवस्थापनलाई प्रभावकारी रूपमा लागू गर्न सकियो भने यो उद्योगले निर्यात र औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना पनि उत्तिकै छ।
नेपाल प्लाइउड उत्पादक संघका अनुसार नेपालमा रहेका ८५ वटा प्लाइउड उद्योगहरूमा ४ हजार करोड रूपैयाँ लगानी छ। प्रत्यक्ष–अप्रत्यक्ष गरी ७० हजार जतिले रोजगारी पाएका छन्।
राज्यलाई मूल्य अभिवृद्धि कर (मुअकर), आयकर र भन्सार कर गरी वार्षिक १३५ करोड राजस्व यस क्षेत्रले सरकारलाई बुझाउँदै आएको छ। नेपालबाट आर्थिक वर्ष २०७९–८०, आर्थिक वर्ष २०८०–८१, आर्थिक वर्ष २०८१–८२, आर्थिक वर्ष २०८२–८३ मा क्रमशः २ अर्ब, सवा ७ अर्ब, ७ अर्ब र करिब ४ अर्बको प्लाईउड निर्यात भएको थियो।
यता भेनियर उत्पादक संघका अनुसार नेपालमा अहिले २ सयभन्दा बढी भेनियर उद्योगहरू सञ्चालनमा छन् भने त्यसबाट ८० हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन्।
यस क्षेत्रमा ७ सय करोडको लगानी छ भने राज्यलाई वार्षिक ८५ करोड भ्याट, ५० देखि ५५ करोड आयकर तिरी सरकारको ढुकुटीमा पनि ठूलो सहयोग गरेको छ।
चालु आर्थिक वर्षमा ३ अर्बभन्दा बढीको निर्यात भएको पाइन्छ।
कन्स्ट्रक्सन नेपालको एक तथ्यांक अनुसार बढ्दो सहरीकरण, पूर्वाधार विकास र वातावरणमैत्री तथा दिगो निर्माण सामग्रीको बढ्दो मागका कारण नेपालको हार्डवुड भेनियर तथा प्लाइउड बजार सन् २०२५ देखि २०३१ सम्म ६.६ प्रतिशतको वार्षिक वृद्धि दरमा बढ्ने दाबी गरिएको छ।
यो प्रक्षेपणले यी दुवै क्षेत्रको राम्रो सम्भावना रहेको तथ्य पुष्टि गर्छ।
नेपालको भेनियर तथा प्लाइउड उद्योगले विभिन्न चुनौतीहरू पनि भोगिरहेका छन्। विशेषगरी भारतले लागू गरेको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) सम्बन्धी प्रमाणपत्र प्रक्रियाले नेपाली उद्योगहरूलाई हरेक सालजसो प्रभावित गर्ने गरेको छ।
बिआइएस प्रमाणपत्र नवीकरण तथा स्वीकृतिमा ढिलाइ हुँदा नेपाली उत्पादन सीमामा रोकिने, निर्यात घट्ने तथा उद्योगीहरूले आर्थिक क्षति बेहोर्नुपरेका कुराहरू बाक्लै सुनिँदै आएका छन्।
यसले नेपाली निर्यातकर्ताहरूलाई ठूलो घाटा हुँदै आएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि नेपाल गुणस्तर प्रमाण चिह्नलाई भारतमा बिआइएस बराबरको मान्यता दिलाउनुपर्ने विषय द्विपक्षीय व्यापार बैठकहरूमा उठ्दै पनि आएको छ।
नेपालका प्लाइउड, भेनियर, चिया, अदुवा, अलैंची लगायतका केही कृषि उत्पादनहरूको निर्यातमा छिमेकी भारतले हरेक सालजसो गैरभन्सार अवरोध लगाई दुःख दिने गरेको छ।
हालै मात्र नेपाली चियाको गुणस्तर परीक्षणको नाममा नेपाली चिया बोकेका मालवाहक साधनहरू सीमा क्षेत्रमा दुई हप्ताभन्दा बढी रोकिन पुगे।
प्लाइउड र भेनियरले पनि हरेक साल भारतीय अवरोधको सामना गर्नुपरेको छ। त्यसबाट नेपाली व्यवसायीलाई ठूलो नोक्सानी भइरहेको छ। यस्ता संवेदनशील विषयमा नेपाल सरकारले भारतीय सरकारसमक्ष छलफलका माध्यमबाट समस्या समाधानको दीर्घकालीन उपाय खोज्नुपर्छ।
केही अध्ययन अनुसार यस्तो प्रक्रियागत जटिलताका कारण नेपाली प्लाइउड निर्यातमा उल्लेखनीय गिरावट आएको छ। त्यस्तै, कच्चा पदार्थको दीर्घकालीन उपलब्धता, गुणस्तरीय उत्पादन, आधुनिक प्रविधिको कमी तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि नेपाली उद्योगका प्रमुख चुनौतीका रूपमा छन्।
भारत र चीनजस्ता ठूलो उत्पादन क्षमता भएका देशहरूसँग प्रतिस्पर्धा गर्न नेपालले प्रविधि, गुणस्तर तथा उत्पादकत्वमा सुधार गर्नु आवश्यक देखिन्छ।
भारत विश्वकै ठूलो प्लाइउड तथा वुड प्यानल बजारमध्ये एक हो। भारतमा हजारौं साना तथा मध्यम उद्योगहरू प्लाइउड र भेनियर उत्पादनमा आबद्ध छन्।
गुजरात, हरियाणा, पञ्जाब, उत्तर प्रदेश तथा केरला जस्ता राज्यहरू यस उद्योगका प्रमुख केन्द्र मानिन्छन्। भारतको विशाल जनसंख्या, तीव्र सहरीकरण, निर्माण उद्योगको विस्तार तथा मध्यम वर्गको बढ्दो आयले प्लाइउड तथा फर्निचरको माग निरन्तर बढाइरहेको छ।
यही कारण भारतमा भेनियर उद्योगले ठूलो बजार पाउने गरेको छ।
भारत सरकारले गुणस्तरहीन आयात नियन्त्रण गर्न तथा घरेलु उद्योग संरक्षण गर्न गुणस्तर नियन्त्रण सम्बन्धी क्युसिओ पनि लागू गरेको छ।
यसअन्तर्गत विदेशी उद्योगहरूले भारतमा निर्यात गर्न निश्चित गुणस्तर मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपालका उद्योगहरू पनि भारतमा निर्यात गर्न बिआईएस प्रमाणपत्र प्राप्त गर्न बाध्य छन्।
भारतमा पनि कच्चा पदार्थको समस्या बढ्दै गएको देखिन्छ। विशेषगरी भेनियर उद्योगका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने काठको मूल्यवृद्धि तथा आपूर्ति असन्तुलनले उत्पादन लागत बढाएको विभिन्न प्रतिवेदनहरूले उल्लेख गरेका छन्।
यही अवस्थाले नेपालजस्ता छिमेकी देशका उद्योगहरूलाई भारतको बजारमा प्रवेश गर्ने अवसर पनि सिर्जना गरेको छ। भारतको विशाल बजार र बढ्दो मागका कारण नेपालका उद्योगहरूले प्रतिस्पर्धात्मक लाभ लिन सक्ने प्रशस्त सम्भावना देखिन्छ।
चीनले अत्याधुनिक प्रविधि, ठूलो उत्पादन क्षमता, सस्तो श्रमशक्ति तथा निर्यातमुखी औद्योगिक संरचनाका कारण विश्व बजारमा प्रभुत्व कायम गरेको छ। चीनको भेनियर उद्योग अत्यधिक स्वचालित प्रविधिमा आधारित छ।
चीनले अमेरिका, युरोप, मध्यपूर्व, अफ्रिका लगायत विश्वका विभिन्न बजारमा ठूलो मात्रामा प्लाइउड तथा वुड प्यानल निर्यात गर्ने गरेको छ। ठूलो मात्रामा उत्पादन गर्न सक्ने क्षमताका कारण चीनले तुलनात्मक रूपमा कम लागतमा उत्पादन गरी विश्व बजारमा प्रतिस्पर्धात्मक स्थान बनाएको छ।
नेपालका लागि प्लाइउड तथा भेनियर उद्योगले भविष्यमा ठूलो आर्थिक अवसर सिर्जना गर्न सक्छन्। विशेषगरी भारतको बढ्दो माग, भारतमा कच्चा पदार्थको संकट तथा निर्माण क्षेत्रको विस्तारले नेपाली उद्योगलाई निर्यात विस्तारको अवसर दिएको छ।
भेनियर, प्लाइउड तथा मूल्य अभिवृद्धि भएका उत्पादनमा जोड दिन सके राष्ट्रिय आय वृद्धिमा ठूलो सहयोग पुग्न सक्छ।
भेनियर तथा प्लाइउड उद्योगले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, किसानको आयवृद्धि, व्यावसायिक वृक्षारोपणको विस्तार तथा औद्योगिकीकरणमा समेत महत्वपूर्ण योगदान दिन सक्छन्।
साथै, यदि नेपालले दिगो वन व्यवस्थापन, गुणस्तरीय उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उत्पादन प्रणाली विकास गर्न सक्यो भने दक्षिण एसियाली बजारमा महत्वपूर्ण स्थान हासिल गर्न सक्ने सम्भावना पनि प्रबल छ।
भेनियर र प्लाइउड क्षेत्रमा काम गर्ने उद्योगहरूको छुट्टाछुट्टै प्रतिनिधि संस्थाहरू छन्। भेनियर र प्लाइउड एकअर्काका परिपूरक उद्योगहरू हुन्। एकको अभावमा अर्कोको अस्तित्व रहँदैन।
भेनियर उद्योगहरूलाई भेनियर उत्पादक संघ र प्लाइउड उद्योगहरूलाई प्लाइउड उत्पादक संघले प्रतिनिधित्व गर्छन्। यी दुवै संस्थाहरू आ–आफ्नो क्षेत्रको विकास तथा आफ्ना सदस्यहरूका समस्या समाधानमा क्रियाशील छन्।
नेपालमा उत्पादन हुने भेनियर तथा प्लाइउड दुवैको आन्तरिक एवं छिमेकी भारतीय बजारमा राम्रो सम्भाव्यता छ। सरकारले दिगो वन व्यवस्थापनमार्फत काठ, जडीबुटी, वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वनको योगदान अभिवृद्धि गर्ने कुरा आफ्नो नीतिमा ल्याएको छ।
यसले दुवै भेनियर तथा प्लाइउड उद्योगहरूमा राम्रो सन्देश पनि गएको छ।
भेनियर र प्लाइउड उद्योगीका आ–आफ्नै समस्या र माग पाइन्छन्।
भेनियर उद्योगीहरूले अधिकांश प्लाइउड उद्योगहरूले आफूलाई चाहिने करिब ८० प्रतिशत भेनियर आफै उत्पादन गर्ने र बाँकी २० प्रतिशत मात्र आन्तरिक भेनियर उद्योगबाट खरिद गर्ने गरेको बताइरहेका छन्।
यता प्लाइउड उद्योगीहरू करिब ७० प्रतिशत भेनियर उद्योगीबाट र ३० प्रतिशत मात्र उद्योग आफैले उत्पादन गरेको भेनियर कच्चा पदार्थ प्रयोग भइरहेको दाबी गरेका छन्।
आफ्ना उत्पादन आन्तरिक उद्योगहरूमा कम खपत भएको भन्दै भेनियर उद्योगहरूले हाल निर्यातमा लाग्दै आएको निकासी शुल्क घटाउनुपर्ने भनिरहेका छन्।
प्लाइउड उद्योगहरूले भने भेनियरको निकासी शुल्क बढाउनुपर्ने भनिरहेका छन्।
तेस्रो मुलुकसम्म पनि भेनियर निकासी हुने वातावरण बनाइदिनुपर्ने माग पनि भेनियर उद्योगीहरूको छ।
त्यस्तै, भेनियर उद्योगीहरूले कुनै केमिकल वा अन्य पदार्थको मिसावटबिना सोझै उत्पादन गरिने भेनियर पत्तालाई अति प्रज्वलनशील पदार्थका रूपमा वर्गीकरण गरी उद्योगहरूको बिमा गर्दा लाग्ने शुल्क अत्यधिक ९ प्रतिशत लाग्ने गरेकामा सो वर्गीकरणबाट भेनियरलाई हटाई न्यून शुल्क ३ प्रतिशतसम्ममा बिमा हुने व्यवस्था गरिनुपर्ने सुझाव पनि राख्दै आएका छन्।
यो मुद्दा उनीहरूले लामो समयदेखि उठाउँदै आएका छन् तर सरकारबाट उचित सम्बोधन हुन सकेको छैन। यसमा सम्बोधन हुन आवश्यक देखिन्छ।
अर्कोतिर भेनियर उद्योग चोरी निकासीको समस्याबाट पनि ग्रसित छन्। विशेषगरी गौर, मलंगवा, भिट्टामोड लगायतका सीमा क्षेत्रबाट अवैध रूपमा भारत निर्यात भइरहेकाले यसको प्रत्यक्ष असर स्वदेशी प्लाइउड र भेनियर उद्योगहरूमा परेको छ भने सरकारको राजस्वमा समेत ठूलो नोक्सानी भइरहेको छ।
ती नाकाहरूमा काँटाको व्यवस्था छैन। यस्ता भन्सार नाकाहरूमा सरकारले अलि बढी निगरानी बढाउनुपर्ने देखिन्छ। विशेषगरी भारतीयहरूले नेपालीको नाममा भेनियर उद्योगहरू लगाउने र उत्पादित भेनियर अवैध बाटो प्रयोग गरी भारतीय बजारमा पुर्याउँदा त्यसले सरकारको कानुन मानेर सञ्चालन भइरहेका वास्तविक उद्योगहरूले ठूलो मार खाइरहेका छन्।
यसमा राज्यको ध्यान जानुपर्छ।
प्लाइउड निर्यातमुखी उद्योगमा परेको र निर्यात गर्ने उद्योगहरूको निर्यातमा अनुदान पाउने कार्यविधि हाल खारेज भएकाले प्रोत्साहनका लागि यस्ता प्रावधानहरू पुनः कार्यान्वयन गर्नेतर्फ आगामी बजेटले सम्बोधन गर्नुपर्ने सुझाव प्लाइउड उद्योगीहरूको छ।
प्लाइउड उद्योगहरूमा प्रयोग हुने स्वदेशी कच्चा पदार्थ भेनियर एकदमै ठूलो परिमाणमा निकासी हुँदा आन्तरिक उद्योगहरू समस्यामा पर्ने देखिएकाले कच्चा पदार्थ निकासीलाई निरूत्साहित गरी तयारी मालवस्तु निकासीतर्फ प्रोत्साहन गर्ने नीति राज्यको हुनुपर्नेमा उद्योगीहरूको जोड छ।
प्लाइउड र भेनियर नेपालमा राम्रो सम्भाव्यता भएका उद्योगहरू हुन्। यिनका लागि आवश्यक कच्चा पदार्थ देशमै उपलब्ध छन्। कच्चा पदार्थ बाहिरबाट ल्याउन पर्दैन। भएका कच्चा पदार्थको अन्धाधुन्ध निर्यातमा सरकार चनाखो बन्नुपर्छ।
स्वदेशी प्लाइउड उद्योगका लागि आवश्यक सबै कच्चा पदार्थ यहीका भेनियर उद्योगहरूबाट आपूर्ति गर्ने र स्वदेशी उद्योगहरूलाई दिएर बढी भएको भेनियर मात्र निर्यातका लागि छिमेकी भारत तथा तेस्रो देशको बजारसम्म पुग्न सक्ने वातावरण सरकारले बनाइदिनुपर्छ।
भेनियर र प्लाइउड उद्योगीहरूलाई एकै ठाउँमा राखेर उनीहरूका मुद्दामाथि छलफल गरी समाधान गर्न सरकारले तदारूकता देखाउनुपर्छ।
सरकारले स्वदेशी उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धिमा जोड दिएको छ। वन, कृषि, ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रको कुरा पनि गरेको छ।
भेनियर र प्लाइउड क्षेत्र आन्तरिक स्रोत–साधनमै आधारित उद्योग भएकाले बाँझो खेतवारी, त्यसमा पनि आजभोलि बाँदरको समस्यामा रहेका पहाडी जिल्लाहरूमा कमसल खालका बोटबिरूवाको वृक्षारोपण गरी उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त उत्पादन गर्ने नीति राज्यले लिनुपर्छ।
यसबाट स्थानीय जनताहरूको आम्दानीको स्रोत जोहो हुन्छ, रोजगारीका अवसरहरू खुल्छन्, भारतसँगको व्यापार घाटा कम गर्न सहयोग हुन्छ र छोटो समयमा राम्रो आम्दानी समेत हुन सक्छ।
सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको दिगो वन व्यवस्थापनमार्फत काठ, जडीबुटी, वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वनको योगदान अभिवृद्धि गर्ने कुरा साकार पार्न प्लाइउड र भेनियर उद्योगहरूको प्रवर्द्धनमा आशालाग्दा कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ।