बेइजिङ डायरी
नेपाली तागाधारीहरूले दिवंगत आफन्तलाई वर्षको दुई पटक श्राद्ध गरेर तर्पण दिन्छन्। एक पटक मृत्यु भएको तिथिमा र अर्को पटक दसैंअगाडि सोह्र श्राद्धमा पर्ने तिथिमा।
नेपालीले जस्तै चिनियाँहरूले पनि वर्षको दुई पटक दिवंगत आफन्तलाई तर्पण दिन्छन् — एक पटक मृत्यु भएको तिथिमा र अर्को पुर्खा दिवसमा।
हरेक वर्षको अप्रिल ४ वा ५ तारिख चिनियाँ पुर्खा दिवस पर्छ। यसपालि अप्रिल ५ तारिखमा परेको छ।
चिनियाँहरू हरेक वर्षमा पर्ने मृतकको तिथि र पुर्खा दिवसका दिन दिवंगतका चिहानमा पुग्छन्। चिनियाँ चलन अनुसार मान्छे मरेपछि जमिनमा गाड्ने र चिहान बनाउने हो। हिजोआज सहरी क्षेत्रमा शव गाड्ने जमिन नभएकाले जलाइन्छ।
जलाइएको शवबाट अस्तु लिएर ग्रामीण क्षेत्रमा सानो चिहान बनाइन्छ। यसरी चिहान बनाउनुको मुख्य कारण पुर्खा दिवसको महत्वले पनि हो।
चिहान बनाउन जमिन किन्न निकै धेरै पैसा चाहिन्छ। त्यस कारण जोसुकैले चिहान बनाउन सक्दैन। जसले चिहान बनाउन सक्दैनन्, उनीहरू चौबाटोमा गएर नक्कली कागजका पैसा जलाउँदै मृतकको सम्झना गर्छन्।
चौबाटोमा कागज जलाउँदा धुँवा उड्ने, सडक फोहोर हुने, सुरक्षा खतरा हुने आदि कारणले गर्दा चीन सरकारले त्यसो नगर्न नागरिकलाई आह्वान गर्दै आएको छ। तर पनि यस्तो चलन राजधानी बेइजिङका सडकमा अझै पनि देख्न सकिन्छ।
जो जसले आफन्तको स्मृतिमा चिहान बनाएका हुन्छन्, उनीहरू त्यहाँ जान्छन् र श्रद्धाञ्जली दिन्छन्। ग्रामीण क्षेत्रमा चाहिँ अझै पनि शव गाड्ने चलन छ। त्यस्तो चिहानमा गएर वरिपरिको झार उखेलेर सफा गर्दै चिहानमाथि नयाँ माटो थपेर श्रद्धाञ्जली दिने चलन छ।
दिवंगत मानिसलाई मनपर्ने परिकारहरू पनि चिहानमा राखिदिन्छन्। फलफूल, खानेकुरा, जुस लगायत खानेकुरा चिहान माथि राखेर 'भोक र तिर्खा लागेमा खानू है' भनेर प्रार्थना गर्छन्।
खाद्य तथा पेय पदार्थ चिहानमा राख्दा दिवंगत मान्छेका रूचि अनुसार छनोट गरिन्छ। उक्त व्यक्ति जिउँदो हुँदा चुरोट खान्थ्यो भने केही प्याकेट चुरोट राखिन्छ। रक्सी खान्थ्यो भने रक्सीका बोतल राखिन्छ। महिला तथा पुरूषका रोजाइ अनुसार सामानहरू राखिदिने चलन छ चिनियाँ समाजमा।
आगो बाल्न चौबाटो नै रोज्नुपर्ने कारण चाहिँ दिवंगतहरू चौबाटोमा आएर कता जाने भनेर बेखर्ची भएर टोलाउँछन् भन्ने चिनियाँ विश्वास हो। त्यस कारण चौबाटोमै गएर पैसा बालेपछि उनीहरूले पाउँछन् रे!
चीनका परम्परागत मुख्य चाडपर्वहरू वसन्त महोत्सव, ड्र्यागन बोट महोत्सव अथवा मध्य–शरद महोत्सव तिथिमिति हरेक वर्ष फरक पर्छ। तर पुर्खा दिवस चाड सधैं अप्रिलको ४ वा ५ तारिखमै पर्छ। यसो हुनुको मुख्य कारण अन्य पर्वहरू चन्द्रमासको पात्रो अनुसार निर्धारित हुन्छन् भने पुर्खा दिवस सौर्यपात्रो अर्थात् ग्रेगोरियन पात्रोका आधारमा निर्धारित हुन्छ।
बेइजिङको व्यस्त चौबाटोमा पितृको सम्झनामा आगो बालेर पैसा डढाउँदै
पुर्खा दिवसलाई चिनियाँ भाषामा 'छिङमिङ च्ये' भनिन्छ। छिङमिङको अर्थ शुद्ध र चम्किलो भन्ने हो भने च्येको अर्थ पर्व। अब यसलाई नेपाली भाषामा अनुवाद गरेर किन पुर्खा दिवस भनियो भन्ने प्रश्न पनि उठ्छ। शुद्ध र चम्किलो पर्व भन्नुभन्दा यस पर्वमा बितिसकेका व्यक्तिलाई सम्झना गरिने भएकाले पुर्खा दिवस भनिएको हो।
त्यसो त यस दिवसलाई 'चिहान सफा गर्ने दिवस' पनि भनिन्छ।
चीनका अन्य चाडपर्वहरू चन्द्रमाको गतिबाट उत्पन्न हुने तिथि अनुसार हुन्छन्। चन्द्रमासको पात्रो अनुसार तिथि निकाल्दा ग्रेगोरियन क्यालेन्डरमा हरेक वर्ष अगाडि अथवा पछाडि पर्छ। पुर्खा दिवस चाहिँ सूर्यको गति अनुसार तय गरिएको हुन्छ। त्यस कारण सधैं अप्रिल ४ अथवा ५ तारिख पर्छ।
एक दिन तलमाथि हुनुको कारण सूर्यको अकासीय देशान्तर १५ डिग्रीमा पुग्ने दिनका रूपमा परिभाषित गरिएकाले हो। प्राचीन चीनमा कृषि प्रणालीलाई मार्गदर्शन गर्न सिर्जना गरिएका २४ सौर्य पदहरूमध्ये देशान्तर १५ डिग्रीमा पुग्ने दिनलाई पाँचौं प्रणाली मानिन्छ।
ग्रेगोरियन पात्रो अनुसार पृथ्वीले सूर्यलाई एक चक्कर लगाउन ३६५.२४२२ दिन लाग्छ। क्यालेन्डरमा भने वर्षमा ३६५ दिन मात्र राखिन्छ। हरेक चार वर्षमा अधिक वर्ष पर्छ जसमा ३६६ दिन रहन्छ। अरू बेला २८ दिन मात्र हुने फेब्रुअरी महिना अधिक वर्षमा २९ दिन पुगेको हुन्छ। त्यस कारण चिनियाँ पुर्खा दिवस पनि प्रत्येक वर्ष लगभग ६ घन्टाले अघिपछि पर्छ।
चीनमा मार्चदेखि वसन्त ऋतु सुरू हुने भएकाले अप्रिलदेखि खेतीपाती सुरू हुन्छ। सौर्य मासको हिसाब गरेर पुर्खा दिवसदेखि गर्मी याम सुरू हुने भएकाले खेतीपाती सुरू गर्ने चलन चिनियाँले बसालेका छन्।
चीनमा थाङ राजवंश (सन् ६१८–९०७) को समयदेखि पुर्खा दिवस मनाउन थालिएको हो।
बेइजिङमा वृक्षरोपण कार्यक्रममा सहभागी विदेशीहरू
पुर्खा दिवसका दुइटा महत्व छन्।
आफ्ना दिवंगत प्रियजनको स्मृति गर्दै उनीहरूको सम्मानमा प्राचीनकालदेखि नै पुर्खाको पूजा गर्नु पहिलो महत्वको कुरा हो।
दोस्रो महत्वका रूपमा वसन्त ऋतुको अनुष्ठान गरेर कृषिको सुरूआत गर्नु हो। तसर्थ यस दिनलाई चीनमा प्राकृतिक र सांस्कृतिक संगम मानिन्छ।
चिनियाँ पर्वहरूमा वसन्त महोत्सव, ड्र्यागन डुंगा महोत्सव र मध्य–शरद महोत्सवपछि पुर्खा दिवस पर्छ। चीनमा चौ राजवंशको समयदेखि सम्राट र सेनापतिहरूको चिहान सफा गर्ने कार्य सुरू भएको मानिन्छ।
जनताले आफ्ना शासकप्रतिको आस्था र कर्तव्यवोध गरून् भन्ने उद्देश्यका साथ यसको सुरूआत भएको चिनियाँ किम्बदन्तीमा उल्लेख छ।
सन् १९१२ मा चीन गणतन्त्रमा प्रवेश गरेपछि पुर्खा दिवसलाई नयाँ ढंगले मनाउन थालियो।
सन् १९१५ मा पुर्खा दिवसलाई वृक्षरोपण दिवसका रूपमा मनाउँदै रचनात्मक बनाइएको थियो तर सन् १९२८ मा यस्तो अभ्यास हटाइयो।
हिजोआज पुर्खा दिवसका अवसरमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिन्छ— सार्वजनिक पार्कहरूमा पिङ खेल्ने, प्राचीन चिनियाँ फुटबल (कुजु) खेल्ने, चंगा उडाउने, वृक्षरोपण गर्ने, डोरी तानातान गर्ने, भाले जुधाइ खेल्ने आदि।
पुर्खा दिवस चीन बाहेक भियतनाम, दक्षिणकोरिया, मलेसिया र सिंगापुरसँगै अधिक चिनियाँहरूको बसोबास भएका अन्य देशमा पनि मनाइन्छ।
सन् १९४९ मा चीन जनवादी गणतन्त्रमा प्रवेश गरेपछि संस्कृति मन्त्रालयले पुर्खा दिवसलाई राज्यपरिषद अन्तर्गतको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीको पहिलो समूहमा समावेश गरेको छ। त्यसपछि यो दिन चिनियाँ सहिद तथा नेताहरूको समाधिमा गएर श्रद्धाञ्जली दिने चलन पनि बस्यो।
सन् २००८ देखि यो दिन चीनमा सार्वजनिक बिदा दिन थालिएको हो।
सन् १९१४ देखि सुरू भएर १९२८ सम्म कायम रहेको पुर्खा दिवसलाई वृक्षरोपण दिवसले जनमानसमा अहिले पनि निकै गहिरो प्रभाव पारेको छ। अहिले पनि चिनियाँहरू यो दिन बिरूवा रोप्छन्। दिवंगत भएका आफन्तका नाममा रूख रोप्नाले हरियाली विकास हुने सकारात्मक कुरालाई चीनको सरकारी स्तरबाट पनि प्रोत्साहन गरिएको छ।
बेइजिङको सार्वजनिक पार्कमा चंगा उडाइँदै
अचम्मको कुरा चाहिँ के छ भने, यो दिनमा पहिले पहिले एक विशेष प्रकारको वनस्पतिको हाँगा उल्टोपट्टि (टुप्पा) बाट जमिनमा गाड्ने चलन थियो। अहिले पनि कताकति यो चलन कायम छ।
उक्त वनस्पति नेपालमा पनि पाइन्छ र त्यसलाई नेपालीमा बैंस भनिन्छ। मसिना र चिल्ला पात हुने बैंसका साना हाँगाहरू जमिनतिर झुलेका हुन्छन्। नेपालमा पनि बैंसको हाँगा उल्टोपट्टिबाट गाड्ने चलन छ। यसको हाँगा निकै छिटो सर्छ र गाईबस्तु तथा भेडाबाख्राका लागि राम्रो घाँस मानिन्छ।
चिनियाँ समाजमा बैंसलाई प्रेत भगाउने बिरूवाका रूपमा लिइन्छ। चिनियाँ पुर्खा दिवसमा बैंसको हाँगा नै गाड्ने चलनबारे विभिन्न थरी किम्बदन्ती पाइन्छन्।
पहिलो किम्बदन्ती अनुसार, मानिसलाई खेती गर्न सिकाउने पूर्वज 'शेनोङ' को सम्झनामा बैंस रोप्न थालियो। र, पछि यसलाई दीर्घायुका लागि प्रार्थना गर्ने अर्थमा विकसित भयो।
दोस्रो किम्बदन्ती अनुसार, एक जना सम्राट मन्त्रीहरूसँगै पुर्खालाई श्रद्धाञ्जली दिन पहाड चढ्दै थिए। सम्राटले आफ्ना पूर्वजले रोपेर बुढो भएर सुकेको बैंसको रूख फेरि बौरिएर हरियो भएको देखे। त्यसपछि बैंसलाई पुर्खा दिवसको बिरूवा नाम दिइयो। र, सो दिन यसको हाँगा गाड्न थालियो।
तेस्रो किम्बदन्ती अनुसार, थाङ राजवंशका एक जना सम्राटले महामारीबाट बच्न आशीर्वादका रूपमा आफ्ना मन्त्रीहरूलाई बैंसका पातको माला लगाइदिएका थिए। त्यसपछि पुर्खा दिवसमा बैंस रोप्न थालियो।
पुरानो समयमा बैंसलाई मौसमको भविष्य हेर्न पनि प्रयोग गरिन्थ्यो। बैंसका हाँगा बलेसीमा राखिन्थ्यो। बैंसको हाँगा हरियो भयो भने मुसलधारे पानी पर्ने र सुक्यो भने घाम लाग्ने पूर्वानुमान गर्ने चलन प्राचीन चिनियाँ समाजमा थियो।
धेरै चिनियाँहरू के विश्वास गर्छन् भने बैंसका हाँगामा दुष्ट आत्माबाट जोगाउने शक्ति हुन्छ, तिनीहरूलाई भूत भगाउने हाँगा पनि भनिन्छ।
पहिले पहिले चिनियाँ गाउँघरतिर ढोकामाथि बैंसका हाँगा सिउरिने चलन पनि थियो। यसो गर्दा भूतप्रेतहरू घरमा प्रवेश गर्न सक्दैनन् भन्ने विश्वास थियो।
पुर्खा दिवसमा हुने लोकप्रिय कार्य चंगा उडाउनु पनि हो।
यो दिन किन चंगा उडाइन्छ भन्ने कुराका पछाडि दुइटा परम्परागत मान्यता छन्। चंगा उडाउँदा आफ्ना दुर्भाग्य पनि उडेर जान्छन् भन्ने चिनियाँहरूको परम्परागत विश्वास छ। त्यही भएर यो दिन चंगा उडाउँदा चंगा निकै उचाइमा पुगेपछि लट्टाइबाट धागो काटिन्छ र आफ्ना दुर्भाग्य उडेर आफूदेखि धेरै टाढा पुगोस् भन्ने विश्वास गरिन्छ।
अर्को मान्यता चाहिँ दिवंगत प्रियजन स्वर्ग (आकाश) बस्छन् र उनीहरूलाई सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने छ।
कतिपय चिनियाँ र नेपाली चालचलन र सांस्कृतिक रीतिरिवाजहरू मिल्दाजुल्दा छन्। नेपाली तागाधारीले श्राद्ध गरे जस्तै जनै नलाए पनि चिनियाँहरू पनि श्राद्ध गरिरेहका छन्।
माथि चिनियाँ सक्कली पैसा र तल मरेका मान्छेलाई दिने नक्कली पैसा
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)