कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीको परीक्षा नलिने नीति हालै सार्वजनिक भएको छ। परीक्षा चाहिन्छ वा चाहिँदैन भन्ने र यसका विकल्पमा बहस पनि सुरू भएको छ।
यसै सन्दर्भमा यसै विषयका अनुसन्धानमा आधारित तथ्यहरू विश्लेषण गर्नेछु।
प्राथमिक तहमा परीक्षा हटाउनु भनेको मूल्यांकन नै हटाउनु होइन, बरू बालबालिकाको सिकाइलाई सही तरिकाले मापन गर्नु हो।
प्रगतिशील विद्यालयहरूले बिना परीक्षाको गुणस्तरयुक्त शिक्षा दिँदै आएका छन्। यो प्रयोग नौलो होइन।
सिकाइको मूल्यांकन बिना पढाइ हुन सक्दैन। यो अपरिहार्य छ र विश्वका सबै विद्यालयमा यो नियम अभ्यासमा ल्याइन्छ।
तर मूल्यांकनका स्वरूप फरक छन्। हामीले समयसीमा तोकेर औपचारिक परीक्षामा स–साना विद्यार्थी राख्छौं भने त्यसले एउटा सानो पक्षको मात्रै मापन गर्ला, समग्रमा मूल्यांकन गर्दैन। तसर्थ औपचारिक परीक्षा प्रणाली प्रभावकारिताको अभिप्रायः कम रहन्छ।
औपचारिक परीक्षा प्रभावकारी नभएको धेरै अध्ययनहरूले देखाएका छन्।
पहिलो अध्ययन भन्छ — वार्षिक योजनामा प्रथम, द्वितीय र अन्तिम परीक्षा भनेर जुन परम्परागत परिपाटीले विद्यालयले मूल्यांकन गर्छन्, त्यो प्रणालीले सिकाइलाई कुनै सहयोग गर्दैन। बरू परीक्षाको भय उत्पन्न गराएर सिकाइमा नकारात्मक असर पर्न सक्छ।
दोस्रो — परीक्षाका लागि छुट्ट्याइएको समयले विद्यार्थीको सिकाइ समय उल्लेख्य रूपमा विस्थापित गर्छ।
उदाहरणका लागि नेपालको परिप्रेक्ष्यमा औसत सात दिन परीक्षा राख्दा त्रैमासिक परीक्षाले विद्यालयको २१ कार्यदिन सिकाइ क्रियाकलाप बिना बित्छ। त्यस बाहेक परीक्षा बिदाले, परीक्षा अघिका र पछिका व्यवस्थापन कार्यले पनि सिकाइ दिन घटाउन सक्छ।
तेस्रो — अंक वा ग्रेड दिएर विद्यार्थीमाझ तुलनात्मक ढंगले श्रेणीकरण गरिन्छ। त्यसले विद्यार्थीको अद्वितीयपनलाई सम्बोधन गर्न सक्दैन। यसै साथ राम्रो परीक्षा परिणामका लागि उत्तर घोकाएर शिक्षण गर्ने प्रवृत्ति विकास हुन सक्छ।
चौथो — प्राथमिक तहका विद्यार्थीको मूल्यांकन गरिनुपर्ने भावनात्मक, शारीरिक र सामाजिक पक्ष पन्छाउँछ।
पाँचौं — बौद्धिक विकासलाई केही हदसम्म मात्र औपचारिक परीक्षा प्रणालीले मापन गर्न सक्छ तर यथास्थितिवादी परम्परागत परीक्षाले वैचारिक विकासलाई पर राख्छ।
र, छैटौं — प्राकृतिक रूपमा शैक्षिक सबलता भएका बालबालिकालाई मात्र यो प्रणालीले प्रकाशमा ल्याउँछ। उत्प्रेरणा कम भएका वा सिकाइमा फरक शैली राख्ने विद्यार्थी कक्षामा पछि पर्ने सम्भावना हुन्छ।
अब परीक्षाको शब्दलाई मूल्यांकन बनाउने र त्यसलाई अनुसन्धानमा आधारित प्रक्रियागत ढाँचालाई वैज्ञानिक ढंगले लागू गर्ने हो।
स्मरण राखौं, ओइसिडीको अध्ययनले औपचारिक परीक्षा नचाहिने नै देखाउँदैन तर यसको मात्र प्रयोग सीमित भन्छ। सन्तुलित र छोटा औपचारिक परीक्षाले अन्तिम मूल्यांकनलाई केही हदसम्म जोड्न सक्छ।
सिकाइ र मूल्यांकन एउटै सिक्काका दुई पाटा हुन्।
एउटा सत्य बुझौं, बिना मूल्यांकन सिकाइ अघि बढ्दैन। यदि शिक्षा नीतिले मूल्यांकनलाई कम आँक्यो भने आधारभूत तहको शैक्षिक जग अत्यन्तै कमजोर बन्नेछ। तसर्थ सिकाइ र मूल्यांकनलाई उत्तिकै जोडका साथ निरन्तरता दिन अपरिहार्य छ।
प्राथमिक शिक्षा मूल्यांकनका दुई महत्वपूर्ण पाटा छन्। पहिलो समष्टिगत र दोस्रो निर्माणात्मक।
प्राथमिक तहको मूल्यांकन निर्माणात्मक पक्षमा केन्द्रित हुनुपर्छ। निर्माणात्मक मूल्यांकनका आधारमा रहेर समष्टिगतलाई समेटिनुपर्छ। यदि निर्माणात्मक मूल्यांकनका सूचकहरू सकारात्मक छन् भने स्वतः समष्टिगत तथ्यांक सही र खोजेजस्तो हुन्छ।
निर्माणात्मक मूल्यांकनका प्रशस्त सबल पक्षहरू छन्। ओइसिडीको अध्ययनले शैक्षिक समतामा वृद्धि भएको देखाउँछ। बेलायती अनुसन्धान संस्था इइएफको अध्ययनले पनि यसका सकारात्मक पक्षहरू प्रमाणित गर्छ।
पल ब्ल्याक र डाइलनको अध्ययनले भन्छ — वास्तवमा निर्माणात्मक मूल्यांकनले नै प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ सुधार गर्छ।
यहाँ महत्त्वपूर्ण तथ्य के छ भने, बौद्धिक प्रगतिका लागि निर्माणात्मक मूल्यांकनलाई मात्र केन्द्रमा राखिए पनि विद्यार्थीको समग्र मूल्यांकन हुँदैन। यसले सामाजिक, शारीरिक र भावनात्मक विकास सम्बोधन गर्दैन। ती पक्ष पाखा लगाउँदा बौद्धिक प्रगतिमै खलल पुग्ने हुन्छ। तसर्थ प्राथमिक शिक्षाको मूल्यांकनमा ती आयामहरूको पनि सन्तुलित मूल्यांकन अत्यावश्यक हुन्छ।
प्राथमिक शिक्षाको मूल्यांकन माथिल्लो तहको जस्तो रेखीय हुँदैन। यसमा माथि उल्लेख गरिएका पक्षहरूले केही विकासात्मक मूल्यांकनका जटिलता दिन्छन् तर पनि औपचारिक परीक्षा भन्दा निर्माणात्मक मूल्यांकन प्रभावकारी हुने अध्ययनहरूले देखाउँछन्।
यहाँ पनि उल्लेख्य कुरा के छ भने निर्माणात्मक मूल्यांकनको शक्ति शिक्षकको खुबी, अनुशासन र कक्षाकोठाको प्रक्रियामा भर पर्छ।
बिना परीक्षाको प्राथमिक शिक्षा लागू गर्दा विशेषतः शिक्षकहरू र नीतिनिर्माताका लागि बुझ्नैपर्ने आधारभूत सैद्धान्तिक पक्षहरू यहाँ राख्छु र त्यसपछि बिना परीक्षाको प्राथमिक शिक्षा कसरी लैजान सकिन्छ त्यसको संक्षिप्त छलफल गर्नेछु।
हार्वर्ड विश्वविद्यालयको प्रोजेक्ट जिरो अन्तर्गतको प्रकाशन, मेकिङ थिंकिङ भिजिबलका लेखक रन रिचार्डको सार यस प्रकार छ।
विद्यार्थीको सिकाइ त्यो बेला सफल हुन्छ जब हामीले तिनीहरूको विचारमा आएको परिवर्तन देख्न सक्छौं।
मेरो विचारमा कुनै विद्यार्थीका सोचाइलाई भित्री प्रक्रियाको रूपमा मात्र नलिई यसका उत्पादनहरू केन्द्रित गर्दै सोचाइ देखिने गराउनुपर्छ र यो कक्षाकोठाको विधिशास्त्रको प्रक्रियाका, जस्तै प्रश्नोत्तर गरेर, तर्कका आधार राखेर, प्रस्तुतीकरण इत्यादिले देखाउन सक्छ।
त्यसबाट आएका प्रमाणहरूको आधारमा मूल्यांकनको पक्ष सम्बोधन गर्ने हो भने, सिकाइलाई बिना कुनै औपचारिक परीक्षा सफलतापूर्वक स्वतः अघि बढाउन सकिन्छ।
विख्यात शिक्षा मनोवैज्ञानिक जाँ पियाजे भन्छन् — विद्यार्थीका सिकाइ र बौद्धिक विकास बाल्यकालमा स–साना संरचना, जसलाई स्केमा भनिन्छ, बाट सुरू हुन्छ र तिनको उमेरगत विकाससँगै परिपक्वता आउँछ। यसबाटै विचार प्रक्रियाको विकास उमेरगत रूपमा हुन्छ। यी संरचनामा आएका परिणाम मूल्यांकन गर्दै उनीहरूलाई बौद्धिक उन्नतितर्फ लैजानुपर्छ।
बाल्यकालका प्रगतिशील शिक्षा प्रवर्तक मरिया मन्टेसोरी र रेजियो इमिलियाका मालागुत्जी भन्छन् — प्राथमिक तहका बालबालिकाले आफ्नै तरिकाले खोज्दै सिक्छन्, उनीहरूको आवश्यकता भिन्न हुन्छ र तिनलाई शिक्षाले सम्बोधन गर्न सक्नुपर्छ।
मालागुत्जी त पाठ्यक्रम नै विद्यार्थीको आवश्यकता सम्बोधन गरेर निर्माण गरिनुपर्छ भन्छन्। विद्यार्थीका क्रियाकलाप परिणामका आधारमा उनीहरूको विकासलाई मापन गर्न सकिन्छ।
मस्तिष्क विकासको क्रम पूर्व र प्राथमिक तहमा उच्च हुन्छ। अस्वाभाविक शैक्षिक दबाबले यसलाई नकारात्मक असर गर्न सक्छ र कालान्तरमा विद्यार्थीहरू वयस्क बन्दा त्यस्ता आघातपूर्ण प्रभावहरू सतहमा आउन सक्छन्।
प्राथमिक तहको मूल्यांकनले उल्लिखित सिद्धान्तहरूलाई आधार मानेर सिकाइको खाका कोर्दा ती बालबालिकाको उच्चतम विकास भएको धेरै अध्ययनहरूले पुष्टि गरेका छन्।
स्मरण रहोस्, उल्लिखित सिद्धान्तले सबै समेट्दैन तर दिशानिर्देश गर्छ। ती सिद्धान्तसँग बाल्यकाल (इसिडी) का अनुसन्धानका आधारमा भएका नवप्रवर्तित विधिशास्त्र समायोजन गर्न सकिन्छ।
माथिका सिद्धान्त र अनुसन्धानलाई आधार राखेर बिना परीक्षाको, तर मूल्यांकनसहितको, प्राथमिक शिक्षाको प्रक्रिया कस्तो हुन्छ, त्यसको छलफल गर्छु।
यस खाकाले विशेषतः बौद्धिक विकासका पक्षहरू समेट्छ।
प्राथमिक विद्यालयको शिक्षण उद्देश्यसहितको गन्तव्यमा आधारित रहन्छ। पाठ्यक्रमका सिकाइ उपलब्धिका आधारमा विद्यार्थीको शैक्षिक गन्तव्य पहिला तय गर्न अत्यावश्यक हुन्छ। शैक्षिक दिशाहीनता भएमा खोजेको परिणाम प्राप्त हुँदैन। तसर्थ शिक्षकले गन्तव्य सहितको मार्गमा विद्यार्थीलाई निर्देश दिनुपर्छ।
यो परीक्षा–विहीन प्रणालीको प्रथम आधार हो।
विद्यार्थीका आवश्यकता अनुसार अनुभवात्मक विधिशास्त्रलाई गन्तव्यसहितको दिशातर्फ अघि बढाउनुपर्छ। यी अनुभवात्मक शैक्षिक क्रियाकलापबाट आउने उत्पादनहरू, जस्तै मौलिक लेखन, चित्रकला, समस्या समाधानका परिणतिहरू, इत्यादिलाई दस्तावेजीकरण गरिनुपर्छ।
विद्यार्थीका शैक्षिक क्रियाकलापका ती उत्पादन विद्यार्थीका बौद्धिक विकासका प्रमाणहरू हुन् जसको गुणात्मक मूल्यांकन गर्न सकिन्छ।
विद्यार्थी–केन्द्रित योजना–आधारित अनुभवात्मक क्रियाकलापले शिक्षण विद्यार्थीमुखी हुन्छ जसमा सिक्ने अभिभारा पूरै विद्यार्थीलाई दिइन्छ र शिक्षक सहजकर्ताका रूपमा स्थापित हुन्छन्।
यस अवस्थामा शिक्षकले विद्यार्थीलाई पढाउने प्रवृत्ति फेरिएर विद्यार्थीले सिक्नेमा परिवर्तन हुन्छ र कक्षाकोठामा सिकाइको अदभूत विद्यार्थी सहभागिता सिर्जना गर्छ जसले विद्यार्थीको सिकाइ उत्कृष्ट बन्छ।
यस्तो लाग्छ मानौं, कुनै प्रयत्न बिना नै काम भइरहेको छ। यस अवस्थामा विद्यार्थीमा शैक्षिक तनाव रहँदैन, सिकाइमा आनन्द आउँछ र विद्यार्थी खुसी बन्छन् जुन शिक्षा उद्देश्य प्राप्तिका लागि अपरिहार्य छ।
विद्यार्थीका त्यसरी आएका शैक्षिक उत्पादनलाई शिक्षकहरूले अध्ययन गर्छन् र विद्यार्थीको प्रगति आँक्छन् वा मापन गर्छन्। यसलाई गुणात्मक र परिणामात्मक दुवै किसिमले गरिन्छ।
यस्ता प्रकारका विविध किसिमका प्रक्रियाहरू चलिरहन्छन्, विद्यार्थीका शैक्षिक उत्पादनलाई मूल्यांकन गरिरहन्छन्, हरेक दिन हरेक हप्ता। यो नै निरन्तर मूल्यांकनको मर्म हो।
यहाँ एक महत्त्वपूर्ण तत्व आउँछ। विद्यार्थीका सिकाइ प्रमाणले कुन पक्ष सबल छ र कुनमा सबलीकरण गर्नुपर्छ भन्ने निर्णय गर्नुपर्छ।
जुन पक्ष कमजोर देखिएको छ, त्यसमा शिक्षणको विभेदीकरणका माध्यमबाट समायोजन गर्दै पृष्ठपोषण गर्दै विद्यार्थीलाई उन्नतितर्फ लगिन्छ। यो नै निर्माणात्मक मूल्यांकनको मुख्य संयन्त्र हो। यही संयन्त्रले औपचारिक परीक्षालाई सहजै विस्थापित गर्छ र यसको आवश्यकतालाई सीमित बनाउँछ।
अन्त्यमा, विद्यार्थीका सम्पूर्ण कार्यहरूको एक पोर्टफोलियो बनाइन्छ जसले विद्यार्थीका प्रगतिलाई छर्लंग पार्छ र त्यो पोर्टफोलियोलाई रूब्रिक्स वा अन्य मूल्यांकनका औजार र रणनीति प्रयोग गरेर समग्रतामा मूल्यांकन स्थापित गरिन्छ।
मूल्यांकनका लागि विविध किसिमका रणनीति पनि हुन्छन् जस्तै कक्षाकार्य, परियोजना, मौखिक सवाल–जबाफ, प्रस्तुतीकरण इत्यादि। तिनलाई औजारहरू, जस्तै एक्जिट स्लिप वा छोटो समयको अनौपचारिक लेखन, समस्या समाधान, का प्रयोग गर्दै मूल्यांकनको तथ्यांक राखिन्छ।
प्राथमिक शिक्षकलाई विद्यार्थी–केन्द्रित शिक्षण र निरन्तर मूल्यांकनको र प्रधानाध्यापकलाई शैक्षिक नेतृत्वको तालिम दिएमा यस लेखमा औंल्याइएका पक्षहरूलाई सहजै लागू गर्न सकिन्छ।
परीक्षा–विहीन प्राथमिक शिक्षा सफल बनाउन प्रभावकारी, परिणाममुखी तालिम देशव्यापी नै गर्नुपर्ने हुन्छ। अन्यथा प्राथमिक शिक्षा अर्को दुष्चक्रमा फस्ने सम्भावना रहन्छ।
हाम्रो चुनौती परीक्षा हटाउनु होइन, परीक्षाको स्थानमा विश्वसनीय मूल्यांकनको संस्कार विकास गर्नु हो।
आशा र भरोसा लिएको छु नवनिर्वाचित यस सरकारको यो उत्कृष्ट अग्रसरता र यसप्रतिको सही नीतिगत सक्रियताले हाम्रा कलिला बालबालिकाले गुणात्मक शिक्षा पाउने छन् र विद्यालयको सकारात्मक अनुभव लिएर अघि बढ्नेछन्।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)