'अब त गरेर खान पाउनुपर्यो नि ! शान्ति चाहियो...'
नयाँ बानेश्वर चोकको आडमै रहेको कफी सपभित्र दुई युवक चियाको चुस्की लिँदै गफिँदै थिए। उनीहरूले राखेको शान्तिको खोजको कारण थियो— एमाले अध्यक्ष केपी ओली पक्राउपछिको प्रदर्शन।
'भोटै दिएर जिताएपछि त मान्नुपर्छ है!'
कुराकानीमा उनीहरू नयाँ जनमतबाट बनेको सरकारलाई समर्थन गर्नुपर्छ पनि भन्दै थिए।
संयोग पनि कस्तो, ६ महिनाअघि यही नयाँ बानेश्वर चोकमा जेनजी आन्दोलनको एपिसेन्टर थियो। अहिले एमाले समर्थक पनि यहीँ आन्दोलनरत छन्। अनि साक्षी चाहिँ जलेर जीर्ण भएको संसद भवन ठिंग उभिएको थियो। लाग्थ्यो — धुवाँको गन्ध अझै हामीले सुँघ्न सक्थ्यौं।
झट्ट हेर्दा कलेज जीवनको उत्तरार्द्धका देखिने ती ठिटा छात्रवृत्तिको घनचक्करमा विदेश उड्न नपाएर यतै अड्किरहेको उनीहरूको बातचितबाटै बुझिन्थ्यो। गाउँबाट दुःखजिलो गरी सहरमा पढ्न राजधानी छिरेका उनीहरू देशको ताल देखेर त्यसै बिरक्तिएको उनीहरूको प्रत्येक लवजले बताउँथ्यो।
कफीको कपबाट उडिरहेको तातो बाफसँगै बाहिरको दृश्य पनि तातिएको थियो। काम विशेषले अन्तै जानुपर्ने म पनि बानेश्वरमा अड्किएपछि चिया, कफीको सहारामा त्यहीँ रोकिएको थिएँ।
तर ओली समर्थकले ६ महिनापछि सडक तताएपछि ती दुई भाइ आक्रोशित थिए।
ओलीको रिहाइको माग गर्दा सडकमा केहीबेरअघि अराजक भएका युवाको सन्दर्भ कोट्याउँदै एक युवकले भने, 'देश बिगार्ने यिनै होइनन्? यिनले देशमा शान्ति आउन दिन्छन्?'
उनीहरूको टेबलको सामुन्ने चिया खाँदै मोबाइलमा एकटकले स्क्रोल गरिरहेका अर्का एक अपरिचित युवक अकस्मात ती दुई भाइको गफमा मुख खोले, 'कस्तो शान्ति हो भाइहरू? हिजो यहीँ पेट्रोल छर्केर आगो लगाउनेहरूलाई पनि आज शान्ति नै त चाहिएको होला नि, होइन?'
लौ पर्यो फसाद — आफ्नै गफमा केन्द्रित दुई युवक अक्क न बक्क परे। नचिनेको मान्छेलाई नसुनेझैं गरौं वा शान्ति ल्याउन गफिएका दुई सदस्यीय युवाहरू अर्को टेबलबाट आएको खुला चुनौतीलाई प्रतिकार गरौं!
त्यही केही क्षणको मुखामुखपछि पहिलो युवक बिस्तारै बोले, 'हिजोको आन्दोलन त आवेगमा थियो नि दाइ...अवस्था नै त्यस्तो थियो...।'
यत्तिकैमा बाहिर प्रहरीले एउटा भिड लखेटेपछि सुरू हुनै लागेको दुई युवक भर्सेस एक युवकको 'शान्तिको खोजीः एक विमर्श' सुरू हुन नपाउँदै बिथोलिएझैं भयो।
कफी सपभित्रको त्यो संवाद केवल दुई व्यक्तिबीचको बहस मात्रै थिएन। अथवा शान्ति खोज्नेहरूलाई अपरिचितले चुनौती दिएर शान्तिका तत्व खोज्न दिएको चुनौती मात्र थिएन, अहिलेको सामाजिक परिवेशको सचित्र बयान पनि थियो।
कतै त्यो हिजोको उन्माद र उन्मादपछिको शान्तिको खोजी पनि थियो।
बाहिर प्रहरीको हुल भर्सेस ओली समर्थकबीच 'टम एन्ड जेरी' खेल सामान्य बन्दै थियो, कफी सपमा भएकाहरू आफ्नै लयमा गफिँदै पनि थिए।
चिया, कफी खाँदै त्यही छलफलमा म आफै चुपचाप अप्रत्यक्ष रूपमा सहभागी थिएँ — छेउछाउका टेबलका हल्लाखल्लाबीच दुई युवाको शान्ति विमर्शले फेरि निरन्तरता पाउन थाल्यो।
बाहिरको वातावरण केही शान्त बन्दै थियो, अपरिचित युवकले ती दुई युवकको ध्यान आकृष्ट गर्न खोज्दै भने, 'भाइ हो, जेनजीका नाममा भएको आन्दोलनपछिका दिनलाई शान्तिको खोजी त भन्न नमिल्ला?'
अब भने दुई युवक पनि जोसिएको भान भयो, प्वाक्क एक युवकले भने, 'दाइ, त्यो आन्दोलन त खराबलाई हटाउन थियो, होइन र?'
सँगैका अर्का युवक पनि बोले, 'तपाईंहरूले पनि बुझ्नुपर्यो दाइ, भ्रष्टाचारको विरोध, सुशासनको खोजीको त्यो आन्दोलन शान्तिकै लागि थियो।'
जेनजी आन्दोलनपछि देश अशान्त भयो भन्ने ती अपरिचितको तर्कलाई दुई युवकले प्रतिकार गर्दै आन्दोलनको अन्तर्य बताएपछि भने दुई टेबलमा शान्तिको विमर्श राम्रै चल्ला भन्ने मलाई लाग्यो।
तर अपरिचित युवक आक्रोशित भएनन्। सम्हालिँदै उनले दुई युवकलाई प्रश्न गरे, 'मास हिस्टेरियाको जगमा बनेको सत्ता संरचनाले के साँच्चै शान्तिको अभ्यास गर्न सक्छ?'
दुई युवकले प्रश्नको उत्तर दिन नपाउँदै ती अपरिचित फेरि अघि बढ्दै भने, '...किनकि हिजो जे भयो, त्यो केवल विरोध थिएन है भाइ हो। त्यहाँ हिंसा सबैभन्दा अघिल्तिर थियो, त्यो उन्मादबाट निर्देशित थियो।'
बसिरहेको कफी सपको मेच दुई युवकतिरै फर्काउँदै अपरिचितले एकोहोरो तर्क गर्न थाले, 'जहाँ सार्वजनिक सम्पत्ति जलाइए, नेताका निजी घरहरू निशानामा परेर खरानी भए, व्यापारिक प्रतिष्ठानहरूसमेत ध्वस्त पारिए।'
अपरिचितले केही बुझाउन खोज्दै जेनजी आन्दोलनबारे केही प्रकाश पार्न खोजे। जबाफमा दुई युवकले आन्दोलनले तत्कालीन सरकारलाई निशाना बनाएकाले यावत कुराहरू भए, कतिपय गलत पनि भएका हुन सक्छन् भनी अपरिचितलाई दुई युवाहरूले पनि आश्वस्त पार्न खोजे।
अपरिचित युवालाई चित्त बुझेनछ। मेचलाई अझै अघि सार्दै गम्भीर मुद्रामा उनले युवकहरूलाई प्रश्न सोधे, 'तपाईंहरू असहमत हुन सक्नुहुन्छ, तर जाँचबुझ आयोगले भदौ २४ बारे कुरै गर्न चाहेन, किन?'
प्रश्नसँगै अपरिचितले थप भने, '...र त्यो भदौरे भीडमा उन्माद बोक्नेहरूलाई नै आज शान्ति चाहिएको छ भन्ने सुन्दा कम्तिमा मलाई चाहिँ आश्चर्य लाग्छ।'
वार्तालाप अन्त्यहीन हुँदै गएको थियो। कुरो ठिक वा बेठिकमा टुंगिने अवस्था नदेखिएपछि साँझ पर्दै गएको संकेतले म भने त्यहाँबाट उठेँ।
काउन्टरमा कफीको पैसा तिरेर निस्कँदा गेटै बाहिर हिँडिरहेका केही युवाहरूको समूहबीच फेरि उस्तै कुरा सुन्न पाएँ, 'यस्तो पाराले देशमा कसरी शान्ति आउँछ?'
उनीहरू भन्दै थिए, '...गर्नै दिँदैनन्।'
उनीहरूको भावभंगी, शैली, स्वभाव हेर्दा आकलन गर्न सकिन्थ्यो— हिजो यिनै जेनजीका नाममा प्रहरीमाथि ढुंगामुढा गर्दै अगाडि बढ्नेमा थिए।
किनभने उनीहरू भन्दै थिए, 'हिजोको सरकारको अहंकार ढाल्न हामी अघि सरेका हौँ। संसद भवन त्यसै जलेको होइन।'
झिस्मिसे अँध्यारो हुँदै थियो, सडकमा गाडी एकोहोरो हुइँकिरहेका थिए।
ती युवाहरू हिँडिरहेकै पछिपछि थिएँ म। तर हिजो जो आक्रोशित भएर आगो लगाए, उनीहरू नै आज शान्तिको खोजीमा निस्किएको देख्दा मलाई कफी सपको अपरिचित युवकको सम्झना आयो।
लाग्यो, यहाँ ऊ भए कति प्रतिवाद गर्थ्यो होला!
मैले मनमनै प्रश्न गरेँ — भाइ हो, तिमीहरूले खोजिरहेको शान्ति कस्तो हो?
अनायास मेरो मुखबाट निस्कियो— मुर्दा शान्ति !
नयाँ बानेश्वर चोकबाट पैदलै संसद भवनको मार्गबाट मीनभवनतर्फ मेरो गन्तव्य थियो।
हिँड्दै गर्दा अनेकन कुरा मनमा आइरह्यो— के लोकतन्त्र वास्तवमा चुनाव जित्ने प्रक्रिया मात्रै हो त?
०६२/०६३ सालको राजनीतिक परिवर्तन लोकतन्त्रप्रतिको चाहना थियो। जति बेला वैयक्तिक स्वतन्त्रतामाथि अंकुश लागेको अवस्था थियो।
लोकतन्त्रबारे विश्व प्रसिद्ध लेखकहरूको सारतत्वलाई एउटै शब्दमा भन्ने हो भने, लोकतन्त्र भनेको 'व्यवहार' हो।
अर्थात्, लोकतन्त्रमा असहमति पनि सुरक्षित हुन्छन्, विरोध पनि मर्यादित हुन्छ, र त्यहाँ शक्ति प्रयोगको सीमा पनि निश्चित गरिएको हुन्छ।
झिसमिसे अध्याँरोमा बाटो पारि संसद भवन ठिंग उभिरहेको देख्दा मनमा प्रश्न उब्जियो— लोकतन्त्रको बहस गर्ने थलो, यो संसद भवनप्रति युवाहरू किन आक्रोशित बने होला?
कतै कफी सपको अपरिचित युवकले भने जस्तै उन्मादले भरिएको त्यो आन्दोलन अराजक भएका कारण आँखा नदेखेको परिणामले संसद भवन आफै खरानी हुनुपरेको त होइन?
कफी सपभित्रको संवाद फेरि सम्झिन्छु— अब त शान्ति चाहियो...।
तर शान्ति केवल इच्छा होइन, अभ्यास हो। हिंसालाई वैधता दिएर शान्ति माग्नुको तुक हुँदैन। किनकि हिंसाले एकपटक समाजमा ठाउँ पायो भने त्यो कसैको नियन्त्रणमा रहँदैन।
घर फर्किँदै गर्दा त्यस साँझ विगतदेखि वर्तमानको सम्झना भयो र अनायास कोतपर्व सम्झेँ।
कोतपर्वको इतिहास कोट्याएर हेर्दा हिंसाको जगमा बनेको सत्ताका अवगुणहरू सम्झिएँ।
कोतपर्वको इतिहासलाई केलाउँदा त्यो केही समयका लागि शक्तिशाली वास्तवमै देखिन्थ्यो, तर भित्रभित्रै अस्थिर थियो।
कोतपर्वबाट उदाएका जंगबहादुरको उदय र पतनले यही भन्छ। आज देखिएको शान्ति पनि फगत त्यस्तै त होइन— बाहिर शान्त, भित्र असन्तुष्ट।
अन्तिम प्रश्न फेरि उही हो— अहिलेको अवस्था हेर्दा, के वास्तवमै हामीले शान्ति रोज्न हिजो भड्किएका थियौं? वा अहिले थाकेर चुप बसेका हौं?
यदि अहिलेको सन्नाटा डरको परिणाम हो भने यो शान्ति होइन— केवल 'मुर्दा शान्ति' हो।
एक्सः @Dahal_Shankar
(शंकर दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)