कर्मकल्चर
हाम्रो व्यास नगरपालिका–११ ले तीन दिने सचेतना कार्यक्रम राखेकामा म त्यतिखेरसम्म दंग परिरहेको थिएँ, जतिखेर वडा कार्यालयको तेस्रो तलास्थित हामी बसिरहेको हलको ढोका एक्कासि घर्याक्क खुल्यो।
मैले आफ्ना केही अनुभव सुनाउँदै थिएँ। हरेक टोलबाट दुई जना प्रतिनिधि सम्मिलित त्यस कार्यक्रममा ३५ वटै टोल मिसिँदा हल भरिएको थियो।
महिला र पुरूष बराबरी थिए, सराबरी बसाइ भने भएन। महिला एकातिर र पुरूष अर्कातिर बस्नु भन्ने कुनै नियम नहुँदा पनि सबै जनाले स्वतः त्यसरी सिट सारेका थिए।
वडा सदस्य कमला बिकको अगुवाइमा जारी कार्यक्रमको मञ्चमा बस्दा मेरो बायाँतिर महिला सहभागी दीर्घा र दायाँतिर पुरूष परे।
दुवैतिर बस्ने किसानहरू आउजाउ गर्दा र बिहानभरि घरधन्दाले थकित देखिन्थे। कति तिर्खाएका थिए, बल्ल मैले ख्याल गरेँ।
ढोका खोलेर कसैले जब अँगालोभरि पानीका बोतलहरूको डंगुर ल्यायो, तब पानीका लागि हात पसार्ने संख्याले मेरो ध्यान खिच्यो।
हाम्रो यो तनहुँसुर फेदी–बेँसी क्षेत्र हुँदै हो, जहाँ हुप्प गर्मी चढाउन डाँडाहरूले आपसमा अँगालो हालेर उपत्यका बनाएका छन्। वसन्तयाममा लामो झरी भर्खर टुंगिएको थियो र क्षितिज जताततै छ्याङ्ग थियो। घाम टहटह भइसकेको मध्याह्न —पंखा खोलौं वक्ता नसुनिने, नखोलौं गर्मी उफ्रिरहेको बेला—तिर्खालु जनमाझ पानी हातहातै आइपुग्यो।
भित्तातिर फर्केर मैले ब्यानर फेरि पढेँ, जसमा जलवायु परिवर्तन सम्बन्धी सचेतना भनेर लेखिएको थियो।
हाम्रा ब्यानरहरू प्लास्टिकमुक्त छैनन्, हाम्रो बानी परिसकेको छ—सस्तो पनि र सजिलो पनि।
मलाई अनुभव छ, म हरेक पटक आफ्नो कार्यक्रमका लागि दमौली गएर कपडा किनेर लेखाउँदा बढी शुल्क परेको छ। तैपनि वडा कार्यालयको सिधा अगाडि खुला चौरमा त्यसरी टाँग्दा केही सन्देश देला भन्ने सोच्थेँ।
हरेक सोचाइ साकार हुनैपर्छ भन्ने छैन!
पानीको बोतलले पनि त्यसरी नै मलाई अवाक बनायो। त्यही कार्यालयमुन्तिर बस प्रतीक्षालयमा गाउँका एक ज्येष्ठ नागरिकले माटोको गाग्री ल्याएर राखिदिँदा म साक्षी बसेको थिएँ।
हाम्रो टोलमा आउने खानेपानी हाम्रो गाउँको परम्परागत पधेरोबाट आउँछ, जसको नाम नै 'पहरे पानी' छ, र जुन कलकल पिउँदा घाँटी होइन, आँत नै भिजेको अनुभूति हुन्छ।
त्यही भएर अलि टाढा टोल बस्ने ती ८६ वर्षीय सुर्खाली बाले जुन दिन गाग्री किनेर ल्याएका थिए, त्यो दिन मलाई पनि भनेका थिए— यहाँको धाराको पानी हरेक दिन भरिदिनुस् है।
म सधैं नबस्ने हुँदा जिम्मा लिन सक्दिनथेँ, अरू छिमेकीले भरिदिन्छन् र उनको मन सन्चो हुन्छ। उनी बेलाबेला आएर गाग्री हेर्छन्, फुटे अर्को ल्याइदिन्छन्।
राजमार्गको घाँसीकुवादेखि भित्र पर्ने हाम्रो टोलमा यी ज्येष्ठ नागरिक नयाँ 'घाँसी' लाग्छन्। यो कुरा बेग्लै हो कि उनको सन्देश अरूमा सर्न सकेको छैन — त्यही आँगनको वडा कार्यालयमा समेत!
म वडा कार्यालय र त्यस कार्यक्रमकी संयोजक वडा सदस्यप्रति कुनै गुनासो गर्दिनँ। हाम्रो वडा मात्रै अपवाद कसरी हुन्छ?
हामीले भर्खरै सिंहदरबारबाट आएको औपचारिक समारोहको तस्बिर देखेका छौं, जहाँ दोहोरीलत्त टेबलमा कुर्सीपिच्छे बस्ने विदेशी राजदूतहरूका लागि त्यस्तै बोतल राखिएको थियो। प्रधानमन्त्रीले मित्रराष्ट्रहरूलाई सामूहिक सम्बोधन गर्दा त्यो ताल थियो भने यहाँ त आफ्नै वडाभित्रका टोलबासीहरू थिए!
त्यति मात्र किन? जलवायु परिवर्तनबाट नेपाल झन् प्रभावित भएको दर्साउन अन्तर्राष्ट्रिय सम्मेलन (सगरमाथा संवाद) को निम्ता दिन पोहोर वैशाखमा परराष्ट्र मन्त्रालयले विदेशी राजदूतहरूलाई यसैगरी प्लास्टिकको पानीले स्वागत गरेको थियो।
हामी सिक्नेवाला छैनौं— पोहोरको पुरानो सरकार होस् कि यस पटकको नयाँ सरकार!
सरकार बदल्न सकिन्छ, बदलिएन मात्र होइन, धेरैलाई बढार्यो पनि। संस्कार बदल्ने भन्ने कुरा मात्रै अर्कै हो।
प्लास्टिक आफैमा पेट्रोलियम पदार्थको उपज भएकाले मात्र वातावरण विरोधी मानिएको होइन, यो सय वर्षसम्म नसड्ने भएकाले पृथ्वीका लागि भार भएको हो।
त्यसअलावा यसको प्रयोग यति व्यापक र जथाभावी भइरहेको छ, व्यवस्थापन हुन नसक्दा आज समुद्रमा माछाभन्दा बढी प्लास्टिक थुप्रिएको छ। पृथ्वीलाई सात फेर बेर्न पुग्ने प्लास्टिक निस्किसकेको छ रे!
हामीले आफ्नै वरिपरि नियाल्यौं भने पानी बग्ने भ्वाङ प्लास्टिकले टालिसकेको हुन्छ, प्लास्टिक नउडेको कुनै हावा हुँदैन, प्लास्टिक नभेटिने कुनै माटोको डल्लो हुँदैन।
हामी दैनिक जीवनमा किनमेल गर्न निस्किनु भनेको प्लास्टिकको थुप्रो बोकेर फर्किनु हो। काठमाडौं हुँदा मेरो आफ्नै कमिज र पाइन्टका सबै खल्तीमा थाहै नपाई कुनै न कुनै प्लास्टिक हुन्छ, झोलाभित्र त्यस्तै।
पसल जानु भनेको प्लास्टिक बोकेर फर्किनु!
मैले वडा सभाहलभित्र केही बेरअघि मात्र प्लास्टिकको चर्चा गरेको थिएँ।
अघिल्लो साँझ हाम्रो घरपछाडि म बाल्टिनमा पानी लिएर दौडिएको सुनाउँदै थिएँ— कसैले प्लास्टिकको थुप्रो ल्याएर सल्काइदिएको रहेछ।
त्यो साँझ हाम्रो टोलको अर्को छेउमा त्यस्तै अर्को थुप्रो जलिरहेको थियो। झरीले सिनित्त पारेको उपत्यकाको आकाशतिर हाम्रै टोलबाट दुई ठाउँमा विषालु धुवाँ पुत्पुताइरहेका थिए— र, एउटा चाहिँ त्यही वडा भवनकै मुन्तिर!
केही बेरमा पानीका बोतल भित्रिएपछि म खुइय्य गर्नुको कारण फेरि फोहोरको थुप्रो जल्छ भनेर होइन, म कुलो जाने बाटोमा जुन डम्पिङ साइट छ, त्यहाँ फेरि यस्तै फजुल र फाल्टु फोहोरको राश लाग्ने भयो भनेर हो।
हाम्रो सामुदायिक वनको सुन्दर कुनातिर त्यो डम्पिङ साइट खोतलेर हेर्ने हो भने हाम्रो कथित आधुनिक जीवनशैलीको विकृत र विकार रूप देख्न सकिन्छ।
हाम्रा गाउँघरमा पहिला जति फोहोर हुन्थ्यो, त्यो सबै सड्ने–गल्ने भएकाले यो कुनै चासोको विषय नै हुँदैन थियो। आज हामी सडक हुँदै सहरबाट आउने सामानका उपभोक्तामा बदलिएकाले हामीलाई नसड्ने, नकुहिने फोहर कसरी व्यवस्थापन गर्ने भन्ने मुद्दा छ।
हाम्रो सचेतना कार्यक्रमलाई बिट मार्न प्रमुख अतिथिका रूपमा नगरप्रमुख बैकुण्ठ न्यौपाने आइपुगेपछि मैले फेरि थोरै मन्तव्य राख्न पाउँदा हाम्रो वडाको आफ्नो पहिचान के हुन सक्छ होला भन्ने प्रश्न गरेँ।
मेयर न्यौपानेले आफ्नो बोल्ने पालोमा हाम्रो नगरको एउटा पहिचान प्लास्टिकमुक्त अभियान भएको सम्झाए।
प्लास्टिकका झोला प्रयोगमा कमी आएको पक्कै होला, तर झोलाइतर बोतलदेखि प्याकेटसम्म प्लास्टिक नटाँसिएको लगभग कुनै सामान नहोला।
यसरी पनि भन्न सकिन्छ — हाम्रो बिहान प्लास्टिकबाट सुरू भएर प्लास्टिकसँगै अस्ताउँछ!
मेयरलाई बिदा गरेपछि म तल झरेर अघिल्लो दिन जल्न बाँकी प्लास्टिकको राश हेर्दै घर फर्किएँ।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle