गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णुप्रसाद सुवेदी नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानको अध्यक्षमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सो जानकारी दिए।
त्यस्तै बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत गरेको छ।
यसैगरी सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
सरकारले डोटीस्थित शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए।