नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेता शेखर कोइरालानिकट नेविसंघका केन्द्रीय सदस्यहरूले आइतबार बूढानीलकण्ठमा सभापति देउवालाई भेटेर अहिलेको नेतृत्वबाट नेविसंघको १२ औं महाधिवेशन सम्भव नदेखिएकोले विकल्प खोज्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।
केन्द्रीय सदस्य प्रेमिका राना मगरको नेतृत्वमा सभापति देउवा निवास पुगेका विद्यार्थीहरूले नेविसंघको १२ औं महाधिवेशन सुनिश्चित गरिनुपर्नेमा पनि सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।
साथै उनीहरूले दुजाङ शेर्पा नेतृत्वको नेविसंघ तदर्थ समितिको म्याद पार्टी केन्द्रीय समितिबाट थप भएका खण्डमा विरोध गर्ने र सामूहिक रूपमा राजीनामा दिने पनि बताएका छन्।
सभापति देउवा निवास पुगेका केन्द्रीय सदस्य भुवन भट्टले अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव नभएकोले विकल्प खोज्न आग्रह गरिएको बताए।
‘सभापतिज्यूलाई भेटेर हामीले नेविसंघको अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव देखिएन, विकल्पबारे सोच्नुपर्यो भनेर ध्यानाकर्षण गराएका हौं,’ उनले सेतोपाटीसँग भने।
सभापति देउवाले नेविसंघबारे पार्टी केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय लिइने प्रतिबद्धता जनाएका थिए।
नेविसंघ संस्थापन पक्षले भने स्ववियु निर्वाचनमा खट्नुपरेका कारण पनि महाधिवेशन तयारी गर्न नसकिएको जिकिर गर्दै तीन महिना समय थप हुने हो भने महाधिवेशन गर्न सकिने बताउँदै आएको छ।
नेविसंघको १२ औं महाधिवेशन गराउनका लागि पार्टी केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारीअनुसार सभापति देउवाले २०७८ चैतमा दुजाङ शेर्पालाई अध्यक्ष नियुक्त गरेका थिए।
यस्तो छ ध्यानाकर्षण पत्र:

