नेकपा (एमाले) का बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आइतबारबाट सुरू हुँदैछ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्नेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्ने कार्यक्रम तय भएको छ।
ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरू सहभागी हुने एमाले बागमती प्रदेश कमिटीले जानकारी दिएको छ।
निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाअध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तहदेखि केन्द्रतहसम्म नै रणनीति बनाउने ध्येयले भेला राखिएको हो।
बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरू संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो।
भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन्। भेला आइतबार र सोमबार सञ्चालन हुनेछ।