परराष्ट्र मन्त्री आरजु राणाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताएकी छन्।
काठमाडौंमा शुक्रबारदेखि सुरू भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा बोल्दै उनले भनिन्, ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ।’
सो विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाइ छ।
यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको स्पष्ट गर्दै मन्त्री राणाले भनिन् ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित छ। यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदान मार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ।’
संवादले प्रतिबिम्ब र आत्मनिरीक्षणको लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ।
जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै मन्त्री राणाले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन्।
उनले नेपालले भने यसको संकट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेका दृष्टान्त पेस गरेकी छन्।
‘हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौँ, तर पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौं । यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्छ, नत्र ढिलो हुनेछ। त्यसैले आजदेखि आगामी तीन दिनमा हामीले आफैंलाई जलवायु संकटको अस्तित्वगत खतरालाई कसरी सम्बोधन गर्ने, यस पृथ्वी र ब्राह्मणको स्वास्थ्य अवस्थाको पुनस्र्थापित गर्ने र यसमा बस्ने मानिसहरूको कल्याण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सोध्नेछौं,’ उनले भनिन्।
मन्त्री राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति बनाएको बताइन्।
‘पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोचले सबैले पृथ्वी र प्रकृतिलाई माया गर्ने र कुनै क्षति नपुर्याउने गरी काम गर्न सकिएमा सबैको भलो हुने र जलवायु परिवर्तनको प्रभाव पनि कम हुनेछ। यसबाट हामीले हाम्रा पूर्खाको सम्पत्ति भोलिको पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौँ,’ उनले भनिन्।
विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरूको असर कम गर्न हाम्रो क्षमता र स्रोत धेरै कम रहेकोले राष्ट्रिय र स्थानीय अनुकूलन योजनाहरू कार्यान्वयन गर्न नेपाललाई स्रोत आवश्यक परेको उनको भनाइ छ। त्यसैले नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा रहेको पनि उनले बताइन्।
विश्वले नेपाल जस्ता देशहरूको जोखिमलाई स्वीकार गर्नुपर्ने र जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने भन्दै उनले भनिन्, ‘मलाई आशा छ कि यो मञ्च जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र विपद् जोखिमजस्ता समस्याको समाधानमा एक अवसर हुनेछ।’