चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ठूला करदाताहरूले बुझाउने राजस्वमा उल्लेखनीय सुधार देखिएको छ। समग्रमा सरकारले संकलन गर्ने राजस्व १० प्रतिशतले घटे पनि ठूला करदातामार्फत संकलन हुने राजस्वमा भने अघिल्लो वर्षको साउनको तुलनामा २२ प्रतिशतले बढेको हो।
वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने र विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूको कर प्रशासन ठूला करदाता कार्यालयले गर्छ। अहिले यस्ता करदाता ५८५ रहेका छन्।
ठूला करदाता कार्यालय स्रोतका अनुसार आर्थिक वर्षको पहिलो महिनामा २० अर्ब १६ करोड रुपैयाँको राजस्व उठेको छ। अघिल्लो वर्ष साउन महिनामा १६ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको थियो। यस हिसाबले ३ अर्ब ६२ करोड रुपैयाँ राजस्व ठूला करदातामार्फत बढेको छ।
विशेषगरी साउनमा उठ्ने धेरै राजस्व असार महिनामा हुने कारोबारसँग सम्बन्धित हुन्छ। असारको मूल्य अभिवृद्धि कर करदाताहरूले साउन २५ गतेभित्र राजस्व खातामा जम्मा गरेका हुन्छन् भने असार महिनामा काटेको अग्रिम कर कट्टी पनि साउन २५ गतेभित्र राजस्व खातामा जम्मा गरिदिने गर्छन्। यसले असारमा कारोबारमा सुधार आएको देखाएको छ।
ठूला करदाता कार्यालय स्रोतका अनुसार ठूला करदातामार्फत संकलन हुने मूल्य अभिवृद्धि कर २४ प्रतिशतले बढेको छ। २०८१ साउन महिनामा ठूला करदाता कार्यालयले ३ अर्ब ९१ करोड रुपैयाँ भ्याट उठाएको थियो। अहिले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
आयकरमा पनि उल्लेखनीय सुधार देखिएको छ।
साउनमा उठ्ने आयकरमा टिडिएस र ब्याजकरको हिस्सा बढी हुने गर्छन्। २०८१ साउनमा ६ अर्ब १७ करोड रुपैयाँको आयकर ठूला करदाताले बुझाएका थिए। अहिले बढेर ९ अर्ब रुपैयाँ पुगेको छ। ठूला करदाताले बुझाउने आयकरमा ४५ प्रतिशतको सुधार देखिन्छ।
यद्यपि, ब्याजकर भने फेरि घटेको छ। गत वर्ष साउनमा ठूला करदाताले ५ अर्ब २६ करोड रुपैयाँको ब्याजकर बुझाएकोमा अहिले ४ अर्ब ८६ करोड रुपैयाँ मात्रै बुझाएका छन्।
समग्रमा साउन महिनामा ठूला करदाताहरूले बुझाउने राजस्वमा २२ प्रतिशतको वृद्धिदर देखिन्छ।
साउन महिनामा भन्सार राजस्वमा समग्रमा ११ प्रतिशतको वृद्धि रहेको छ। तर, गैरकर राजस्व भने उल्लेखनीय घट्दा चालू वर्षको राजस्व अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले कमी छ।
साउन महिनामा समग्र राजस्व ८४ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ। अघिल्लो वर्ष ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको थियो। यसमध्ये कर राजस्व ८० अर्ब ९८ करोड रुपैयाँ उठेको छ। गत वर्ष ७७ अर्ब ४१ करोड रुपैयाँ उठेको थियो। यस हिसाबले कर राजस्वमा ४ प्रतिशतले बढेको देखिन्छ।
गैरकर राजस्व गत वर्ष साउनमा १७ अर्ब ३३ करोड रुपैयाँ उठेको थियो। अहिले भने ३ अर्ब ८० करोड रुपैयाँ मात्रै संकलन भएको छ। गैरकर राजस्व अघिल्लो वर्षको तुलनामा ७८ प्रतिशत कम उठेको छ।
साउन महिनामा ४२ करोडको अनुदान र ३० करोड रुपैयाँको अन्य प्राप्ति भएको छ। अघिल्लो वर्ष साउनमा अन्य प्राप्ति २ अर्ब २१ करोड रुपैयाँ पुगेको थियो। वैदेशिक अनुदान भने उठेको थिएन।
समग्रमा पहिलो महिना ऋणबाहेक सरकारले संकलन गरेको आम्दानीमा १२ प्रतिशतको ह्रास छ। गत वर्ष ९६ अर्ब ९५ करोड रुपैयाँको यस्तै आम्दानी भएकोमा चालू वर्षमा ८५ अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ।