स्थानीय तहको पछिल्लो उपनिर्वाचनले सबैभन्दा उत्साही बनेको राजनीतिक दल हो, नेकपा (माओवादी केन्द्र)।
मंसिरमा सम्पन्न उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उदयपुरमा वडाध्यक्ष पनि जितेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई कोशी केन्द्रित अभियानमा व्यस्त तुल्याउँदै आएका छन्।
मोरङको ग्रामथानमा नमोनारायण माझी अध्यक्षमा निर्वाचित भएपछि कांग्रेसको गढ भत्काएको भन्दै खुसीयाली मनाएको माओवादीले ‘पूर्वमा ०६४ फर्केको’ दाबीसमेत गरेको थियो। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले देशैभरि कांग्रेस–एमाले जस्ता पुराना शक्तिलाई हराउँदै सफलता हात पारेको थियो।
पछिल्लो उपनिर्वाचनमा नेपाली कांग्रेको परम्परागत गढ मानिने ग्रामथानमा प्राप्त जीतले प्रचण्डलाई झनै पुलकित बनाएको थियो।
कुनैबेला कांग्रेसमै रहेका नमोनारायणलाई चुनावअघि पार्टीमा स्वागत गरेर पालिका अध्यक्ष जिताएको माओवादीले अध्यक्ष प्रचण्डलाई उपस्थित गराएर विजयसभा गरेको थियो। प्रचण्ड स्वयंले मोरङमा ०६४ फर्काएको भनेर नमोनारायणलाई बधाई दिएका थिए।
प्रचण्डकै शब्दमा ‘माओवादीका लागि मोरङमा ०६४ फर्काएका’ उनै नमोनारायण नेतृत्वमा रहेको ग्रामथान गाउँपालिका भने ६ महिनायता जनप्रतिनिधिहरुको झगडाको केन्द्र बनेको छ। जनप्रतिनिधिहरुबीचको बेमेलले निरन्तरता पाउँदा पालिका सधैं कचिंगलमा फसेको छ।
संविधान, ऐन, कानुनहरुले परिभाषित गरेको जिम्मेवारी सम्हाल्न गाउँपालिकाको नेतृत्वमा पुगेका जनप्रतिनिधिहरुबीच निरन्तर झगडाको कारण के हो?
माओवादीबाट निर्वाचित अध्यक्ष नमोनारायण माझी कांग्रेस र एमालेले आफ्नो अस्तित्व स्वीकार्न नसकेको र उनीहरुले चलाइरहेको दोहन रोकेका कारण आफूविरुद्ध षड्यन्त्र गरिरहेको बताउँछन्।
‘यो विवाद र झगडाको मुख्य कारण उनीहरु हुन्, म होइन’ उनको दाबी छ।
एमालेबाट निर्वाचित उपाध्यक्ष गुणवतीदेवी थारुसहित कांग्रेसका जनप्रतिनिधिहरु भने यस्तो विवाद र झगडाको सर्जक नै अध्यक्ष माझी भएको बताउँछन्।
‘उनी आउनुअघिसम्म पालिकामा कुनै विवाद थिएन, राम्रोसँग कामहरु अघि बढिरहेका थिए,’ उपाध्यक्ष थारुको भनाइ छ ‘आफू नै कानुन, अझ त्यो भन्दा पनि माथि ठान्ने उनको शैली र सोचले विवाद निम्त्याएको हो। उनको दादागिरी शैली अहिलेको समयमा स्वीकार्य हुनसक्दैन।’
दुई पक्षमा प्रष्टतः विभाजित ग्रामथानका जनप्रतिनिधिबीचको बेमेलकै कारण यहाँको विवाद पटकपटक अदालतसम्म पुगिसकेको छ। जनप्रतिनिधिबीचको विवादले गाउँपालिकाका विभिन्न शाखामा धेरैपटक तालाबन्दीको अवस्था निम्त्याएको छ। बैठक बहिष्कार गर्ने विषय सामान्य जस्तै भइसकेको ग्रामथानमा एकअर्काले चढ्ने गाडीको चाबी खोस्ने तहमा जनप्रतिनिधिहरु नै उक्लिसकेका छन्।
यही सिलसिलामा ग्रामथान २ का वडाध्यक्ष यादव खतिवडालाई अध्यक्षले ज्यान मार्ने धम्की दिएको, भौतिक आक्रमण गर्न खोजिएको भन्दै एमाले मोरङले विज्ञप्ति निकालेर विरोध प्रकट गरेको छ।
एमालेबाट निर्वाचित वडाध्यक्ष खतिवडालाई यसबारे प्रश्न गर्दा उनले ‘अध्यक्षले मलाई ठेगान लगाइदिने धम्की दिएको, अपशब्द प्रयोग गरेको’ दाबी गर्दै ‘उनका सहयोगी, परिचालित गुण्डाले आक्रमण प्रयास गरेको’ बताए।
‘यो चैत ३१ गतेको कुरा हो अध्यक्षले ठेगान लगाइदिने धम्की दिएका हुन्,’ खतिवडाले भने ‘उनकै उपस्थितिमा उनका सचिवालयका कर्मचारी, सहयोगी बाउन्सरहरुले आक्रमण प्रयास गरे।’
वडाको बजेट अध्यक्षले रोकिदिएको र बजेट नरोक्न आग्रह गर्दा आफूमाथि आक्रमण प्रयास भएको दाबी वडाध्यक्ष खतिवडाको छ।
यसबारे अध्यक्ष माझीलाई सेतोपाटीले सोधेको छ। उनले ‘कांग्रेस–एमालेले आफूमाथि षड्यन्त्र गरेको’ दाबी गरे।
‘म निर्वाचित भएर आएको ६ महिना भयो। यस अवधिमा २ पटक मात्रै कार्यपालिका बैठक भएको छ। बैठकमा सधैं अवरोध, सधैँ बखेडा झिक्ने उनीहरु हुन्,’ माझीको आरोप छ ‘अध्यक्षको अस्तित्व नै नस्वीकार्ने, बहुमतको आडमा पेल्न खोज्ने अनि कमाउधन्दा चलाउन खोज्नेहरुलाई मैले नियन्त्रण गर्न थालेँ। मसँग उनीहरु बिच्किनुको कारण यही हो।’
वडाहरुको बजेट रोकिनुको कारणबारे उनले पालिकाले पाउने समानीकरण अनुदानको आकार घटेको र सोही अनुसार प्राथकिताका आधारमा बजेट वितरण गरिएको उनले बताए।
‘भाँडामा थोरै छ भने भाग लगाउँदा पनि प्राथमिकता अनुसार लगाउनु पर्यो नि,’ माझीको भनाइ छ, ‘मैले राम्रो काम गर्न खोज्दा कांग्रेस एमालेले भाँजो हाल्नु खोजेको हो।’
उनको दाबी विपरीतको जिकिर अरू जनप्रतिनिधिको छ।
‘नियम विपरीत कामहरु गर्ने, आफ्नो मान्छेलाई ठेक्का दिन खोज्ने, पेलेर जान खोज्ने शैलीले समस्या ल्याएको हो,’ उपाध्यक्ष थारु र वडाध्यक्ष खतिवडासहितका एमाले कांग्रेसका जनप्रतिनिधि भन्छन् ‘हुँदाहुँदा अहिले त ज्यान लिनेसम्मको धम्की आइसकेको छ। यो सह्य हुने खालको छैन।’
उपाध्यक्षसहित ६ जना कार्यपालिका सदस्य भएको एमाले र सात जना कार्यपालिका सदस्य भएको कांग्रेसका जनप्रतिनिधिहरु अध्यक्ष माझीले पालिकामा मनोमानी गरेको बताउँछन्। कार्यपालिकामा माओवादीबाट अध्यक्षसहित २ जना छन्।
ग्रामथानमा जिम्मेवारी सम्हालेको केही समयपछि नै अध्यक्ष माझीले पालिकाभित्रका नहरमा गैरकानुनी रुपमा हुने गरेको माटो उत्खनन् रोक्न खोज्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका थिए।
त्यसपछि पनि विवाद जारी रहेको पालिकामा अदालतले दुई पटक माझीको कदमलाई कानुन विपरीत ठहर गरिसकेको छ।
आफूखुसी कार्यपालिका बैठक बोलाएको भन्दै अरु जनप्रतिनिधि अदालत गएपछि उच्च अदालत विराटनगरले माझीले आयोजना गरेको पालिका बैठक अवैध भएको र निर्णय कार्यान्वयन नगर्न भनेको थियो। अघिल्लो महिना माओवादीका नेताहरुसँग चीन भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिने माझीको निर्णयमा पनि अदालतले रोक लगाएको थियो।
जनप्रतिनिधिहरुबीचको आपसी विवादले उग्र रुप लिँदा दुई महिनाभन्दा लामो समयदेखि कसैले पनि पालिकाको गाडी चढेका छैनन्। सुरुमा आफूले भने बमोजिमको निर्णय गर्न असहयोग गरेको भन्दै अध्यक्ष माझीले उपाध्यक्षको गाडी र वडाध्यक्षहरुको बाइकको चाबी नियन्त्रणमा लिएका थिए।
लगत्तै अरु जनप्रतिनिधिले अध्यक्षलाई पनि गाडी चलाउन नदिने घोषणा गरेपछि गाडीहरु थन्किएका छन्।
‘जनताको काम गर्नलाई पालिकाको गाडी चढ्ने हो, कामै नभएपछि किन चढ्ने भनेर स्रोत बचाएको हो,’ यसबारे अध्यक्ष माझीले भने ‘जनताको काम रेगुलर हुन थालेपछि चढौंला। अहिले भएको छैन। त्यसैले स्रोत दुरुपयोग नगरेका हौं।’
यसरी जनप्रतिनिधिहरुबीचको बेमेलले पालिकामा सधैंजसो तनाव भएपछि कर्मचारीहरु पनि दिक्क बनेका छन्। काम गर्ने वातावरण नभएको उनीहरुको गुनासो छ।
‘यहाँ दोहोरो, तेहेरो निर्देशनको मार छ,’ ग्रामथानका एक कर्मचारीले भने ‘अध्यक्षले भनेको मानौं भने उपाध्यक्ष र अरुले केरकार सुरु गर्छन्। अरुले भनेको टेरौं अध्यक्ष त स्पष्टीकरण नै सोधिहाल्छन्। ग्रामथानमा अहिले त्रासको अवस्था छ। काम गर्ने वातावरण छैन।’