ऊ हिँड्दा म चुपचाप हेरिरहेको थिएँ। न रोकिन भनेँ, न रोक्ने कोसिस गरेँ।
केही कुरा यस्ता हुन्छन्—जहाँ शब्दभन्दा चुप लाग्नु नै सायद सही जबाफ हुन्छ।
अहिले सम्झँदा लाग्छ—माया त टाढिँदैमा सकिँदैन, तर विश्वास चिर्दा चुँडिन्छ। र हामीबीच त्यही भयो—बुझाइको डोरी चुँडियो।
हामीबीचको सम्बन्ध चार वर्ष लामो थियो। हाम्रो पहिलो भेट कलेजको लाइब्रेरीमा भएको थियो। ऊ किताबभन्दा चिया रोज्ने खालकी थिई। म भने किताबमै हराइरहने। तर चिया र किताबको त्यो दिनको भेटले हामीलाई मनको बुट्टामा गाँसेको थियो।
सुरू सुरूमा सानो कुरा— यो किताब राम्रो छ? आजको नोट्स के थियो? पढाइ कस्तो चल्दै छ?, साथीहरू कहाँ छन् ? जस्ता सामान्य संवादबाट सुरू भएको कुरा एक दिन 'तिमी बिना अब दिन बित्दैन' सम्म पुग्यो।
ऊ खुसी हुन जान्थी—सानो कुरामा रमाउँथी। एकपटक मेरो नाटकमा सानो भूमिका थियो, ऊ त्यसलाई लिएर तीन दिनसम्म हाँसिरहन्थी। त्यो हाँसो मेरो जिन्दगीको सबभन्दा ठूलो पुरस्कार लाग्थ्यो। तर समय सधैं एउटै रङको रहँदैन भन्ने कुरा पनि मलाई मज्जाले थाहा थियो। यसरी हाम्रो सम्बन्ध कलेज पढ्दाको अन्तिम अन्तिम सेमेष्टर पुग्दै थियो।
ऊ स्नातक सकेपछि केही फरक योजना बनाउँदै थिई। विदेश जाने सोच, करिअर बनाउने सपना।
मैले भने सोचेको थिएँ—यहाँ बसौं, एउटै सहरमा, सामान्य जीवन बाँडौं।
त्यही सोचबीच दूरी बढ्न थाल्यो।
'हेर न, तिमीसँग भविष्य सजिलो देख्दिनँ,' एक दिन उसले भनी !
मैले आश्चर्य मानें, तर केही बोलिनँ।
'तिमीलाई माया गर्छु,' उसले थपी, 'तर म आफ्नो सपना पूरा नगरी बस्न सक्दिन। म आफ्नै यात्रा तय गर्न चाहन्छु।'
त्यो बेला म ‘स्वार्थी’ भन्न पनि सक्दिनँ थिएँ, ‘सही’ भन्न पनि सक्दिन थिएँ। बस् मौन भएँ। मलाई लाग्यो मौनता नै सबैभन्दा ठूलो शक्ति हो।
ऊ गएको दुई हप्ता भइसकेको थियो, जब मैले उसको नम्बरबाट म्यासेज पाएँ—'तिमीलाई सम्झिरहेको छु, तर म फर्कन सक्दिनँ। माफ गर।'
त्यो म्यासेजले त मलाई भत्काइदियो। मनमा ठूलै ज्वारभाटा उत्पन्न भएको महसुस भयो।
केही महिनासम्म म गुम्सिएको जस्तो रहेँ। एकान्त वातावरण मन पर्न थाल्यो। भिड मन पर्न छोड्यो र भिडदेखि टाढा रहने प्रयास गरेँ तर मन कहाँ मान्थ्यो त्यो पहिलो भेटको चियागफ, सँगै चार वर्ष बिताएका पलहरू सम्झेर आँखामा झलझली याद आउन थाले। साथीहरू भन्ने गर्थे, खुट्टा भए जुत्ता कति कति! एउटा गए अर्की आउँछ। किताबहरूबाट सिकेको ज्ञानले सम्झाउँथ्यो 'समय सबैको औषधि हो।'
तर न किताबी ज्ञानले त्यो पीडा बुझ्न सके, न साथीहरूले त्यो खालीपना। तर समय बित्दै गयो। विस्तारै ती साथीहरूले भनेका कुरा अनि पुस्तकले सिकाएको ज्ञान नै वास्तविक रूपमा सत्य सावित भए। विस्तारै म आफूलाई बुझ्दै गएँ। आफू भित्रको ´म` लाई चिन्न थालेँ। ब्याचलर पनि सकियो। अनि म लोक सेवा तयारी गर्न थालेँ।
दुई वर्षको अन्तरालमा म स्थिर भएको थिएँ। आफ्नो करियरतर्फ ध्यान केन्द्रित गर्न थालेँ। त्यो दुई वर्षको स्थिरता, मेहनतले एकदिन मुहारमा खुसी ल्यायो। सरकारी सेवामा प्रवेश पाएँ, जीवन लयमा थियो।
एकदिन बिहानको चिया सँगै फोन आयो—नम्बर अपरिचित, तर स्वर परिचित—
'हेर न, म फर्किएकी छु। भेट्न सकिन्छ?,' उताबाट परिचित स्वरले बोल्यो।
मैले विश्वास गर्न सकिनँ।
त्यही स्वर, जसले दुई वर्ष अगाडि 'म तिमीसँग बस्न सक्दिनँ' भनेकी थिई, आज फेरि फर्किन खोज्दै थिई।
भेटवार्ता टुंगिएको ठाउँकै कफीसपमा भेट्ने भन्ने निधो गरियो। उसले उही पुरानै रङको कोट लगाएकी थिई। अनुहारमा थकान, आँखामा अनिश्चितता।
'कस्तो छौ तिमी?' उसले सोधी।
'जीवन चल्दै छ,' मैले छोटो जबाफ दिएँ।
उसले सिधा आँखामा हेरी—'तिमीलाई मैले छोडेर गल्ती गरेँ।'
'त्यसबेला तिमीले मलाई प्राथमिकता बनाइनौ,' मैले भनें, 'अब किन फर्कियौ?'
'किनकि तिमी नै थियौ—जो मेरो पागलपनमा पनि शान्त रहन्थ्यौ। मेरो सपना सँगै माया गर्न सक्ने। तिमी ‘ब्याकअप’ थियौ, तर अब थाहा पाइरहेछु—तिमी नै ‘ओरिजिनल’ थियौ।'
त्यस वाक्यले मलाई स्तब्ध बनायो।
मलाई माया त अझै उसैसँग थियो—तर म अब फेरिएको थिएँ। अब म त्यस्तो मान्छे थिएँ—जो आफ्नो आत्मसम्मानमा सम्झौता गर्न सक्दैनथ्यो।
'म अब तिमीसँग पहिले जस्तो हुनै सक्दिनँ,' मैले विस्तारै भनें, 'तिमीले मलाई आवश्यकता परेको बेला सम्झियौ, तर म तिमीलाई जरूरी मान्थें। त्यही फरक हो।'
ऊ चुप रही।
'जीवन फेरि सुरू गर्न सकिन्छ,' उसले भनी, 'तर केवल माफी मागेर हैन, माया गरेर।'
'तिमीले माया गर्न चिनेको भए, मैले तिमीलाई आज सम्झाउनु पर्थेन,' मैले अन्तिमपटक भनें।
त्यो दिनपछि हामी फेरि भेटेनौं।
ऊ सायद अझै टाढा कतै यात्रा गर्दैछे—आफ्नो सपना सँगै।
समयको नदी बगिरहेकै छ। हामी भने ती किनारहरू हौं, जहाँ कहिलेकाहीँ तटबन्ध चुँडिन्छ, बाढी आउँछ, अनि फेरि केही समयपछि सब थामिन थाल्छ। उसले गएको पनि यस्तै एक बाढी जस्तै थियो—मनको कुना काप्चासम्म पुगेर आँधी ल्याउने। तर, त्यस आँधीपछि जुन मौनता बाँकी रह्यो, त्यो नै मेरो पुनर्जन्मको आधार बन्यो।
उसको सम्झनाले कहिलेकाहीँ तर्साउँछ अझै पनि, तर अब म त्यति कमजोर छैन। म अब ऊ माथिको माया होइन, आफूभित्रको भरोसमाथि अडिएको छु।
अहिले म प्रेम गर्छु, तर उसलाई होइन—म आफूमा बाँकी रहेका आशामाथि।
माया गर्छु, तर उसलाई फर्काउने सपना होइन—आफ्नै सत्य स्वीकार्ने साहसलाई।
र, सबैभन्दा बढी म माया गर्छु—आफूभित्रको ‘म’ लाई, जो टुट्यो, बिथोलियो, भत्कियो, तर कहिल्यै भागेन । ऊ त गई , तर म अझै यहाँ छु—पूरा भएर होइन, तर आफूजस्तै भएर।