ललितपुर महानगरको नगर प्रहरी कार्यालयमा मंगलबार साँझ साढे ७ बजे फोनको घन्टी बज्यो।
हटलाइन नम्बर ११३१ मा आएको उक्त फोन नगर प्रहरीले झटपट उठाइहाले।
उताबाट एक पुरूषले चिच्याउँदै भने, 'सर हाम्रो कोठामा सर्प पस्यो।'
नगर प्रहरीले ठेगाना टिपे। एउटा टोली तुरून्तै घटनास्थल पुग्यो।
घटनास्थल थियो — हरिसिद्धि।
वरिपरि जस्ताले बारेको कोठाको खाटमुनि सर्प पसेको रहेछ। नगर प्रहरी टोलीलाई त्यो सर्प निकाल्न झन्डै पन्ध्र मिनेट लाग्यो।
त्यसै दिन दिउँसो २ बजेतिर हात्तीवनबाट त्यस्तै फोन आएको थियो। फोन गर्नेले कोठामा सर्प पसेको सूचना दिएका थिए। नगर प्रहरी टोलीले १५-२० मिनेटमा सर्प उद्धार गरेर खोला नजिक छाडिदिएको थियो।
तीन साताअघि खुमलटारमा त घरको कोठाभित्र होइन, पार्किङ गरेर राखेको स्कुटीभित्रै सर्प पसेको थियो।
'स्कुटीको डिकी वरिपरि घुमेर बसेको अवस्थामा सर्प भेटियो,' ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, 'हरियो रङको सर्प निकै लामो थियो।'
गर्मी बढेसँगै काठमाडौं उपत्यकाभित्र सर्प देखिने क्रम बढेको छ। यस्ता फोनकल ललितपुर नगर प्रहरी कार्यालयमा दिनहुँ आउन थालेका छन्।
काठमाडौं उपत्यकामा तराईको जस्तो सर्प हुँदैन भन्ने आमधारणा छ। यहाँका स्थानीय तराई जाँदा सर्पको बिगबिगी सुनेरै डराउँछन्। सरिसृप विशेषज्ञहरू भने काठमाडौंमा सर्प देखिनुलाई नौलो मान्दैनन्। उनीहरूका अनुसार तराईको समथरदेखि पाँच हजार मिटर उचाइसम्म सहजै सर्प पाइन्छन्।
काठमाडौं उपत्यकामा पनि लगभग २२ थरीका सर्प पाइने विज्ञहरूको भनाइ छ। हावापानीअनुसार प्रजाति फरक हुन्छ। तराईको तातोमा बस्ने सर्प काठमाडौंमा कम हुन्छ, तर हुँदै नहुने होइन। धामनजस्ता केही सर्प भने तातो र चिसो दुवै हावापानीमा पाइन्छन्।
गर्मी याममा तापक्रम बढेसँगै जमिनको सतहमै सर्प देखिन थाल्छ। त्यही भएर ललितपुरको नगर प्रहरी टोलीले यस्तो घटनामा उद्धार गर्न पाँच जनाको छुट्टै समूह तयार पारेको छ। उनीहरूलाई घर वा कोठाभित्र लुकेको सर्प खोज्ने र उद्धार गर्ने तालिम दिइएको छ। तत्काल खबर गर्न ११३१ को हटलाइन नम्बर छ। करिब ४२ हजारभन्दा बढी घरमा हटलाइन नम्बर सहितको सूचना टाँसेको हाछेथुले जानकारी दिए।

ललितपुर महानगरले सर्प उद्धार टोली बनाउन कसरी सुरू गर्यो त?
हामीले यसबारे हाछेथुसँग सोध्दा एक वर्षअघि नै पाँच जनाको छुट्टै समूह गठन गरेर सर्प समात्ने तालिम दिइएको बताए।
उनका अनुसार गत असारको बाढीपछि मेडिसिटी अस्पताल नजिकै एक स्थानीयको घरमा कोठाभित्रै सर्प पसेको थियो। ती स्थानीयले अत्तालिँदै महानगर कार्यालयमा फोन गरेका थिए। त्यति बेला नगर प्रहरीसँग सर्प समातेको अनुभव थिएन। कसरी समात्ने भन्ने जानकारी पनि थिएन।
हाछेथुले तुरून्तै आफ्नो वाकीटकीमार्फत् 'कसैलाई सर्प समात्न आउँछ' भनेर सोधे।
जबाफमा सुरज बुढाथोकी नामका नगर प्रहरीले सर्प समात्न सक्ने बताए। उनले यसको तालिम पनि लिएका रहेछन्।
'त्यसपछि उनकै नेतृत्वमा चार जनालाई घटनास्थल पठायौं,' हाछेथुले भने, 'उनले कोठाभित्र लुकेको सर्प सहजै समाते।'
उनले अगाडि भने, 'त्यो घटनापछि हामीलाई काठमाडौं उपत्यकाभित्र पनि गर्मी याममा सर्पको बिगबिगी बढ्न सक्छ भन्ने महसुस भयो। यस्तो घटना फेरि फेरि हुन सक्ने भएकाले सर्प उद्धार गर्न सक्ने टोली नै बनायौं। सुरजले नै टोलीका सदस्यलाई सर्प समात्ने तालिम दिए।'
ललितपुर महानगरले स्थानीयको घरबाट उद्धार गरेको सर्पलाई बस्ती नभएको खोलाछेउ वा जंगलमा लगेर छाडिदिन्छ। सर्वसाधारणको जानकारीका लागि सामाजिक सञ्जालमा भिडिओ पनि पोस्ट गर्छ। तिनै भिडिओ हेरेर पछिल्लो समय हटलाइन नम्बरमा फोन आउने क्रम बढेको हाछेथु बताउँछन्।
'अहिले दिनकै दुइटाजति फोन आउँछ,' उनले भने, 'फागुन महिनाभरिमा हामीले दुईपटक सर्प उद्धार गरेका थियौं। चैत र वैशाखमा धेरै छन्।'
टिमले भैंसीपाटी आवास क्षेत्र, बागडोल, धापाखेल, मेडिसिटी अस्पताल छेउछाउ, कुपन्डोल, हरिसिद्धि, ग्वार्खु र हात्तीवनबाट सर्प उद्धार गरेको उनले जानकारी दिए। यी घटनामा मानवीय क्षति भने भएको छैन।
काठमाडौं उपत्यकामा सर्प देखिने क्रम बढेको घटनाबारे हामीले मुटु, मिर्गौला र सर्पदंश विज्ञ डा. सञ्जीव शर्मासँग कुरा गरेका छौं।
उनले यहाँ सर्प देखिनु सामान्य भएको बताए। पहिलेभन्दा गर्मी बढेकाले संख्यात्मक रूपमा सर्प देखिने क्रम बढी भएको हुनसक्ने उनको भनाइ छ।
'तापक्रम बढेपछि सर्पहरू बस्नयोग्य ठाउँ खोज्दै घर वा कोठाभित्र पसेका हुन सक्छन्,' उनले भने, 'काठमाडौं छेउछाउका जंगलमा सहरीकरण बढ्दै गएकाले सर्पहरू बस्तीमा पसेका पनि हुन सक्छन्।'
प्राध्यापक तथा सर्पदंश विज्ञ करणबहादुर शाह पनि काठमाडौंमा सर्प देखिनु सामान्य भएको, तर सामाजिक सञ्जालमा फोटो वा भिडिओ हाल्ने क्रम मात्र बढेको बताउँछन्।
'पहिले मानिसहरूले सर्प देख्नासाथ मारेर फाल्थे। पूरै सहरभरि हल्लाखल्ला हुँदैन थियो। अहिले फोटो वा भिडिओ खिचेर सामाजिक सञ्जालमा हालिन्छ। यसले ठूलै घटना भयो जस्तो होहल्ला हुन्छ,' उनले भने।

उनका अनुसार चौध सय मिटर उचाइको काठमाडौंमा पाइने सर्पमा राजगोमन, गोमन, मुगा, हरेउ, हरहरा, गुरूवे, धामन, चिचिन्डे, शिरिषे, चंखे, पानी साप लगायत छन्। यीमध्ये राजगोमन, गोमन र मुगा सबभन्दा विषालु मानिन्छन्। यिनले टोकेमा तुरून्तै उपचार नभए ज्यान जान्छ।
संसारकै ठूलोमध्येको राजगोमनसमेत यहाँ फेला परेको छ। गोमन २५ सय मिटर उचाइसम्म पाइएका छन्। दामनमा धेरै गोमन फेला परेको उनी बताउँछन्। त्यस्तै चन्द्रागिरि र स्वयम्भूमा पनि धेरै छन्।
मुगा सर्प भने मुगा रङको हुन्छ। यो प्रायः पहाडी भाग र उपत्यकामै पाइन्छ। कीर्तिपुरतिर धेरै भेटिने उनले जानकारी दिए।
चंखे भनिने 'माउन्टेन किलवे' सर्प एकदमै छिटो गतिको हुन्छ। शिरिषे भनिने सर्प शिरिषको रूख वा झाडीमा धेरै पाइन्छ। यसका पनि दुई प्रजाति छन्।
स्थानीय नेवार भाषामा 'सिक: फ्याँचा' (चिचिन्डे) भनिने सर्प काठमाडौंका पुराना माटाका घरहरूमा सामान्य थियो। यो सर्पले मुसा खाएर अन्नको सुरक्षा गर्ने हुँदा मार्न हुन्न भन्ने भनाइ थियो।
यी र अरू केही सामान्य जातका सर्प विषालु नहुने शाह बताउँछन्। यिनले टोक्दा मान्छे मर्दैन। सुन्निने र दुख्ने भने हुन्छ।
दस-बाह्र वर्षअघि यहाँ अजिंगर पनि भेटिएको थियो, पशुपति र विष्णुमति आसपास। शाहका अनुसार त्यो यहीँ हुर्केको हो वा कतैबाट आएको यकिन छैन। अजिंगर बाँच्न सक्ने वातावरण भने यहाँ छ। कास्कीमै २५०० मिटर उचाइमा अजिंगर फेला परेको थियो।
उनका अनुसार बाहिरी जिल्लाबाट शिवरात्रि लगायत पर्वमा काठमाडौं आउने साधुहरूले पहिले स-साना अजिंगर लिएर आउँथे। त्यसरी ल्याइएका अजिंगर ठूला भएपछि खुवाउन समस्या भएर वा अन्य कारणले यहीँ छाडिएका हुनसक्छन्।
तराईमा छ्यास्छयास्ती पाइने तर यहाँ नदेखिएका सर्प उताबाट गाडीमा सामान (विशेषगरी काठ) ल्याउँदा सँगै आए भन्नेहरू पनि छन्। शाह भने यसलाई गलत मान्छन्।
न्याउरी, मुसा, छुचुन्द्रो, भ्यागुता लगायत जीव सर्पका आहारा हुन्। यी काठमाडौं उपत्यकामा सजिलै पाइने हुँदा यहाँ सर्पको बसोबास रहेको पुष्टि हुने शाह बताउँछन्। सर्पलाई आहारा बनाउने चील, गरूड, बाज लगायत पनि उपत्यकामा पाइन्छन्।
सरिसृप विज्ञ शाह सर्पबाट सकेसम्म टाढै रहन सुझाउँछन्।
'सर्प देख्नेबित्तिकै डराउने र आक्रमण गर्ने प्रवृत्ति राम्रो होइन। कुनै सर्पले लखेटेर वा झम्टेर टोक्दैन। उसलाई हानि हुँदा आत्मसुरक्षा निम्ति टोक्ने हो,' उनले भने, 'यसै छाडिदिए केही गर्दैन। त्यसैले सर्प देख्दा नचलाउनु र नजिक नजानु राम्रो।'
यस्तो अवस्थामा ललितपुर महानगरले जुन तरिका अपनाएको छ, त्यसले सर्वसाधारणलाई सर्पबाट बच्न फाइदा पुर्याएको छ।
आगामी दिनमा घटना बढ्दै गए पाँच जनाको टोली विस्तार गर्न सकिने नगर प्रहरी प्रमुख हाछेथु बताउँछन्।
***