भाग ३:
पोखराबाट अनितासँग छुटेपछि मनमा अनेक कुरा खेलाउँदै घर फर्किएँ। आमाको स्वास्थ्य नाजुक भएकोले पुन: फोन आयो कान्छा बाको! आउँदै छु भने उहाँलाई! घरमा पुगेर आमासँग भलाकुसारी गर्न हतार थियो मलाई! बीच बाटोबाट अनितालाई फोन गरी मैले! जाँदै छु भनेर! आफ्नो ख्याल राख्नु भनेर माया दर्साएँ। खाना खान खासै मन लागेन बरू रिंगटा लाग्यो। बस लाग्यो! पानी मात्र पिएँ एक बोतल! 'आऊँ तिम्रो घर?' सोधी अनिताले! मन चोरेकी हो वा के हो? होस् भने उसलाई अहिले 'व्यापार गर्नू!' केही पर्यो भने फोन गर्नू' भन्दै ढाडस दिई। 'हुन्छ' भने उसलाई मैले।
टाउको अझै दुख्यो। भोकले होला भन्ने लागेर बस रोकेको मौकामा एउटा चाउचाउ किनेर खाँदै सिटमा बसेँ। कहिले आमाको कुरा मनमा आउँछ! कहिले अनिताको कुरा मन भरी खेल्छ। अनेकन मनोदशाबाट गुज्रँदै थिएँ म। सानो झोला थियो त्यो च्यापेर स्टेसनमा झरेँ! गोजी छामेको फोन त हराएछ। त्यसले पनि आजबाट छोड्यो मलाई! हुस्सु नै छु म पनि! कता खस्यो खस्यो! फोनको भन्दा सिमकार्डको चिन्ता भयो। फेरि सिमकार्ड निकाल्न चिन्ता बढ्यो। कहाँ सजिलो छ र सदरमुकाम पुगेर सिमकार्ड निकाल्न! दिन माया मार्नु पर्छ! त्यो भन्दा पनि सबैसँग सम्पर्क टुट्यो। सञ्चारबाट बाहिर भएँ म।
घर पुगेँ। 'आमा...म आएँ' भन्दै कराएँ। आमा ओछ्यान पर्नु भएछ। पुलुक्क हेर्नुभयो! 'कस्तो छ आमा?' सुम्सुम्याई आमालाई! आँसु झार्नु भयो। छिमेकीकाबाट दूध ल्याएँ आमालाई पिलाएँ। 'छोरा तँलाई झन्डै नदेखेको? आज बिहान त मर्छु जस्तै भयो।'
'केही हुन्न आमा! म छु नि!' आमालाई ढाडस दिएँ।
आमाले सानो स्वरमा 'तेरो घर जम देखेर मर्ने धोको थियो खै बाबु नदेख्ने भए कि क्या हो? फलानाको सन्तान मासियो नभनून्! म डाँडा माथिको जुन हो आज हो कि भोलि!,' आँखाबाट बलिन्द्र आँसु झार्नु भो!
साँझ पर्यो। जाउलो पकाएँ। आमालाई अलिकति खुवाएँ र मैले पनि थोरै खाएँ। खाने रूचि भएन। कर गरी खाएँ। भाँडा माझेँ आफैले। परिवार सानो हुनु पनि नराम्रो रहेछ क्या!
कान्छा बा आउनु भयो।
'बाबु तँलाई साथी चाहिन्छ कि?' भन्न'भयो! 'पर्दैन बाबा' भनेँ। 'त्यसो भए केही अप्ठेरो भए बोलाउनु है, सुत्न गएँ,' भनेर हिँड्नु भयो। टाउको हल्लाएँ मैले।
आमाकै नजिक पिँढीमा ओछ्यान लगाएर सुतेँ म पनि। अनितालाई सम्झेँ तर फोन गर्न फोन छैन। नम्बर सेभ भएको फोन हराई गो! नम्बर याद छैन! होस...! भोलि सदरमुकाम गएर सिमकार्ड लिन्छु अनि डाटा लिएर अनलाइनमा कुरा गर्नुपर्ला भन्दै मिठो कल्पना मनमा साचेर सुतेँ।
बेस्सरी थाकेको थिएँ! निदाएछु! बिहानको पख घर नजिकै आएर फ्याउरो करायो रे! अशुभ भयो कि क्या हो भनेर कान्छा बा आउनु भएछ! 'कान्छा! विकल्प!' भन्नुभयो मलाई। ब्युझिएँ म! 'बत्ती बाल त छोरा' भन्नुभयो। बत्ती बालेर आमालाई यसो छोएँ। जिउ चिसो भएछ! कान्छा बाले 'राम राम राम.....' भन्नुभयो!
'पराल ओछ्या! तुलसीको मोठमा सारौं' भन्नुभयो! आमाले राति नै छोडेर जानुभएछ! गाउँमा को नै छ र आजभोलि? युवाविहीन गाउँमा बिहानपख बुढाबुढीको चहलपहल भयो। मान्छेहरू घरमा भेला भए! छोरालाई कुरेको रहेछ भन्न लागे कोही! कति भाग्यमानी थला नपरी बितिन् भन्न थाले कोही! गाउँका ८/१० जना मान्छे जम्मा भए! कान्छा बाले शङ्ख एकोहोर फुक्नुभयो! आँसु थामिएन। सेतो कपडाले छोपेको आमाको लाशलाई अङ्गालो हालेँ! रोएँ। कराएँ। अन्तिम सत्य यही थियो। आमाले सधैंलाई छोडेर जानुभयो। झन् नितान्त एक्लो भए अब!
आमाको १३ दिने काम सकियो! १३ दिनसम्म म पूरै बाहिरी संसारबाट अलग भएँ। पण्डितले 'मोबाइल चलाउन हुन्न है' भन्नुभयो। मोबाइल भए पो चलाउनू! मनले उत्तर दियो।
१५ दिने मासे सकेपछि सदरमुकाम गएर सिमकार्ड लिएँ! मोबाइल किनेँ! सिमकार्ड लिएर डाटा प्याक लिएँ। अनितालाई सम्पूर्ण कुरा अनलाइनमा बताएँ। फोन नम्बर मागेर फेरि सेभ गरेँ। नम्बर कण्ठ थिएन! अब भने कण्ठ भयो।
धेरै पिर गरी उसले! सान्त्वना दिई मलाई। 'आऊ यतै' भनी उसले! कि म आऊँ त? फोन नगर्दा अनेक शंका लागेको थियो। माफ गर है विकल्प! गलत सोचे तिमीलाई मैले!'
रित्तो घरमा के बस्नु? मेरो कोही छैन यहाँ! एउटा मनले त्यसो भन्यो। गाउँमा खेतबारी छ तर त्यो बिक्दैन। सम्पत्तिको नाममा भएको त्यो खेतबारी अब के काम? कान्छा बालाई 'सके काम गर्नु, नसके बाझै छोड्नु है' कान्छा बा भनेर बाटो लागेँ।
अनितालाई पोखरा आउँदै छु भनेँ! आऊ यतै होटललाई अझ व्यवस्थित गरेर चलाउला भनी उसले! मनमा अनेक सपना सजाएँ। भविष्यको सुन्दर कल्पना गरेँ। ४० कटेसी रमाउला भन्ने गीतको याद झल्झली आयो! कलङ्की पुगेर पोखरा जाने बस चढेँ। समय त्यस्तै बिहानको ८ बजेको हुँदो हो।
थानकोट चेकपोष्ट छेउमा गाडी रोकियो। गाडीमा थोरै सिट खाली थिए। एउटा मान्छे चढ्यो। मेरै सिटमा आएर बस्यो। कुराकानी गर्यो। 'म पनि पोखरा जाने' भन्दै गफ गर्न सुरू गर्यो। मान्छे फरासिलो रहेछ। कुरा गर्दै अगाडि बढ्यौ। गाडी धादिङ जिल्ला प्रवेश गर्यो। केही तल पुगेपछि खाजा खाने र दिशा पिसाब गर्ने भए झर्नू है भन्दै सहचालक करायो। बरखी बारेको मान्छे केही खान्न भनेर सुन्तला किनेँ! एउटा खाएँ! अरू झोलामा हालेँ!
मसँगै बसेको मान्छे गाडी चढेन! गाडी छुट्यो क्यारे भनेर सहचालकलाई कराएँ! सहचालक भाइले अर्को गाडीमा आउँछ। मुग्लिनमा खाना खाँदा भेट्छ! हुन्दिनु भन्यो! मैले ठानेँ साँच्चिकै उसको बस छुट्यो! सिटमा उसको सानो झोला थियो। झोला साइडमा राखिदिएँ! झोलामा के थियो? खोतल्ने कुरा भएन। जतनसाथ राखिदिएँ।
खानीखोला पुगेपछि बस रोकियो। एक जना मान्छे गाडी चढे। सरासर मेरो छेउमा आएर झोला समात्यो! प्रश्न गर्यो 'झोला कसको हो?' मैले मेरो हो भनेँ। 'पक्का हो? तपाईंकै हो? मलाई बेइमानी छ भन्ने थाहा भएन। हो मेरै हो भनेँ। बस छुटेको मान्छे आउला र दिउला भनेर झुटो बोलिदिएँ! त्यो मान्छेले काम छ बाहिर आउनुस् न एकपटक भनेर बोलायो। म झोलासहित बाहिर निस्केँ। तिनीहरूले फोनमा केही कुरा गरे जस्तो लाग्छ। तर के भने? थाहा भएन! सुनिनँ!
'हामी पुलिस हौं, तपाईं हाम्रो साथमा हिँड्नुस्' भने!
'किन र?' सोधेँ मैले।
'तपाईं लागुपदार्थ, गाँजा कारोबार गर्नु हुँदो रहेछ! तपाईंलाई हामीले पक्रेका छौं।' अनेक बिन्ती गरेँ! अर्कै मान्छेको झोला हो भनेँ मैले! पत्याएनन्! 'चिया खाने ठाउँमा छुट्यो त्यो मान्छे! त्यसैले झोला राखिदिएको मात्र हो! मेरो झोला हुँदै होइन।' सबै यसै भन्छन् भन्यो एक जना पुलिसले।
कानुनको नजरमा लागू पदार्थ कारोबारी भएँ म!
'मेरो झोला' भनेको आवाज रेकर्ड गरेका रहेछन् उनीहरूले! त्यसैलाई आधार मानेर मलाई पक्रे। सप्रमाण भन्दै अनुसन्धान सकाएर अदालत पेस गरे मलाई। अन्तत प्रमाणको आधारमा दोषी देखिएँ!वास्तवमा दोषी थिइनँ। परिबन्धमा परेँ म! यो कुरा भगवानलाई मात्र थाहा छ! न्याय देऊ भगवान भनेँ! तर भगवान के सुन्थे? भगवानप्रति विश्वास गुम्यो। दुई वर्षको जेल सजाय तोक्यो अदालतले। प्रक्रिनसाथ फोन खोसे प्रहरीले! फेरि सबैसँग सम्पर्कविहीन भएँ म!
'सक्छस् भने अझै दया राखी दु:ख दे भगवान! खप्न तयार छु!' जेलको अनुभव पनि पाएँ मैले। नाइकेसँग खुब डराउनु पर्दो रहेछ जेलमा। नाइकेको छुट्टै राज्य हुँदो रहेछ जेलमा। जेल परेको ४/५ महिनापछि नाइकेसँग राम्रो सम्बन्ध बनाएँ। २००/ ४०० सय बेला बेलामा दिन्थेँ उसलाई। एक दिन नाइकेलाई आफ्नो जीवनका सबै कहानी सुनाएँ। उसले मेरो बेदना सुन्यो! 'त्यसो भए चिठी लेख पुर्याउने व्यवस्था मिलाइदिन्छु' भन्यो उसले। चिठी लेखेँ मैले! अनितासम्म चिठी पुग्यो मेरो!
चिठी पाएपछि भेट्न आई अनिता मलाई! 'तिमीले गल्ती त गरेका छैनौ नि विकल्प?'
'खाँदै नखाएको विष लाग्यो अनिता मलाई! जिन्दगीमा यस्तो पनि हुँदो रहेछ! परिबन्धमा परेँ म! जीवनमा यस्तो मोड पनि आउँदो रहेछ!'
परलोक गएकी आमाको कसम खाएँ! फसायो मलाई! चिन्दिनँ म त्यो झोला छोड्नेलाई! मैले त साँच्चिकै बस छुटेको होला भन्ने ठानेर झोला मेरो हो भनेको थिएँ'! त्यो नै ठूलो गल्ती भएछ मेरो! कसैलाई सहयोग गर्न खोज्नु बेकार रहेछ! झोलामा गाँजा छ भन्ने मलाई के थाहा? मान्छे त्यति पापी र बेइमान हुन्छ भनेर कसरी पत्याऊँ म जस्तो सोझो मान्छे? धिक्कार छ त्यो पापीलाई! धिक्कार छ सतही अनुसन्धान गरेर अदालत पेस गर्ने पुलिसलाई! बोलीको प्रमाणलाई आधार मान्दै अदालतले पनि दोषी देखायो! निर्दोष हुँदाहुँदै जेल सजाय पाएँ! फसेँ म! मेरा कुरा सुनेर रोई ऊ!
नियाउरो अनुहार लगाउँदै पोखरा फर्की ऊ! तर माया भने रहेछ उसलाई मेरो! फर्किंदा मलाई केही पैसा छोडी 'खान मन लागेको कुरा किनेर खानू!'
एक जुग जस्तो लाग्ने दुई वर्ष कष्टसँग बिते! जेल सजाय सकियो! छुटेँ म! आत्माग्लानी भने कत्ति पनि थिएन! किनकी म गाँजा कारोबारी थिइनँ! गल्ती थिएन! अब जाने कता? बेस्सरी दोधार भयो। अल्मलमा परेँ! अन्तर मनले पोखरा जा भन्यो! गएँ पोखरा! अनिता खुसी नै भई! तिमी मेरो जोवनको राजा भन्दै स्वागत गरी! अब कहिल्यै छुट्नु नपरोस् भन्ने अपेक्षा राखी उसले! अनिताको व्यापारलाई सक्दो सहयोग गरेँ! आधी र हुरी जस्तो भयो मेरो जिन्दगी! तपाईंहरूको चाहिँ यस्तो कहिल्यै नहोस् है भगवान!
यी पनि
न पैसा कमाएँ, न श्रीमती पाएँ!
पूर्वश्रीमतीसँग होटलमा जम्काभेट!