रातले भर्खरै आङ्ग तन्काउँदै थियो। दिनभरी पूरा निद्रा सुतेर रात उठ्ने बेला भएको थियो। हामी रातमा सुत्छौं भनेर अरू पनि रातमै कहाँ सुत्छन् त? हामीले मर्निङ वाक गरेजस्तै रातले पनि नाइट वाक गर्नुपर्ने होला। जीवनको मेलो सार्न केही काम गर्नुपर्ने होला। कल्पना न हो मुख धुनुपर्ने होला, ब्रस गर्नुपर्ने होला, अनि मोबाइल स्क्रोल गरेर हाम्रो पात्रोमा आएका समाचारका नोटिफिकेसन हेर्दै क्यापाचिनो खानुपर्ने होला। दिन जस्तै त होला यो रात पनि। साँच्चि रातलाई रात, अँध्यारो लाग्छ होला कि उज्यालो ? दृष्टिविहीनलाई अँध्यारो पनि उज्यालो लागेजस्तै पो हो कि?
सुत्नुभन्दा आधा घण्टा अगाडि मलाई मोबाइल चलाउनै पर्छ। आजभोलि यो हरेक नेपालीको आदत नै बनेको छ। केही महिना पहिला मोबाइलबाट फेसबुक एप हटाएपछि सामाजिक सञ्जालको कुलत विस्तारै कम हुँदै गएको छ। तर यतिसम्म बुद्धु भइएको छ कि दिनभरी भेटिएको साथीको बर्थ डे पनि थाहा हुँदैन। थाहा नहुनु पनि एक प्रकारको आनन्द रहेछ त। शून्यतामा पनि जीवन हुन्छ भनेजस्तै। जानेर भन्दा पनि नजानेर धेरै कुरा जानिन्छ भनेको यही कारणले होला। सुधिर शर्माको लेटेस्ट पोडकास्ट सुन्दै थिएँ। अचानक ह्वाट्स एपमा सन्देश आयो।
'के हो यार आजभोलि त सवाल जबाफ नै छैन त? यसरी भुल्न त कहाँ मिल्छ र?,' नबिल बैंक म्यानेजरमा सेभ भएको नामबाट सोधिएको प्रश्न थियो।
खास नाम के होला? तपाई पनि कोही केटीको नाम सेभ गर्दा घरवालीको डरले यस्तै नाम सेभ गर्नुभएको छ? या केटाको नाम सेभ गर्दा घरवालाको डरले। जबाफ आफैलाई दिनुहोला। मनलाई दिनुहोला। आफैलाई दिएको जबाफ जत्तिको चोखो जबाफ कुम्भ नुहाउँदा पनि हुँदैन।
'सवाल तिमीले गर्न कहिले दियौ र? सवाल गर्नु तिमी आफ्नो हक सम्झन्छौ। रह्यो जबाफको कुरा, टोनी रविन्सको स्पिच सुन्ने तिमीलाई म जाबोले कहाँ चित्त बुझाउन सक्छु र?,' मैले हल्का घोचपेचको पारामा दिएँ।
कहिलेकाहीँ यस्तो जबाफ दिने आदतले मलाई ग्लानी बोध गराउँछ। सोच्छु अब यस्तो गर्दै गर्दैन। अब शान्त बन्छु। कोही बोल्यो भने टाउको मात्रै हल्लाउँछु। मुस्कानले स्वीकार गर्दिन्छु। बेकारमा मान्छेको मनमा किन बिझाउनु? केही दिन अगाडि एक जना स्पिकरको वाणी सुनेको थिएँ— 'तपाईंलाई अत्यधिक रिस उठेको बेला या कसैले काम बिगारेको बेलामा शान्त रहने फर्मुला प्रयोग गर्नुहोस् जिन्दगीका आधा उल्झन त्यसै त्यसै हराएर जान्छन्।'
यो कुराले मलाई शान्त रहन साह्रै बल गरेको थियो। तर थाहा पाउनु, प्रतिज्ञा गर्नु र लामो समयदेखि चल्दै आएको आदत बदल्नुका बीचमा केही फरक रहेछ।
'मेरो चित्तको पनि ख्याल लाग्दो रहेछ त?' कुनै टेलिभिजनमा अन्तर्वार्ता लिनका लागि तयार भएको अन्तर्वार्ताकार जस्तो उसले तत्काल प्रश्न गरी।
'अरे यार सिन्दुर भर्नुमा मात्रै प्रेम हुन्छ भन्ने भ्रममा छौ अझै पनि। तिमी ख्याल गर्दिन भनेर पनि भुलिने मान्छे होइनौ। हिँड्दा छायालाई अलग पार्न सकिन्छ र? सास फेर्दिनँ भनेर रोक्न सकिन्छ र?'
उसले लभ रियाक्ट गरी। मलाई आधा मुटु नै काटेर दिए जस्तो भयो।
***
नाम: आकृति। बस् पहिलो चिनारी यही थियो। अर्कोदिन थपियो उसको थर, केसी। परिचयहरू हरदिन फराकिला हुँदै गए। कन्सल्टेन्सीको जागिरले सहरतिर तानेको रहेछ। मोबाइल पसलमा भेटेपछि परिचयको ढोका खुलेको थियो।
मान्छे आँखाले होइन मनले चिनिँदो रहेछ। हेर्दाहेर्दै कोरिँदो रहेछ मुटुमा चित्र। कुनै बैंकमा 'लोन प्रोसेस' नगरेरै बन्दोरहेछ पिरतीको घर। यो आँखाले हरदिन, हरक्षण हजारौं मानिस भेट्छ। तर मनमा यही मान्छेको चित्र कोर्नुपर्दछ भनेर कसरी चिन्छ होला? के हुन्छन् होला सूचकहरू? हामीलाई दुईमा एक छान्न गाह्रो हुन्छ, यो आँखालाई लाखौंमा एक छान्न कति सजिलो भएको? केही प्रश्नका जबाफहरू च्याट जिपिटीमा पनि भेटिँदैनन्। भेटिए पनि मन खाने हुँदैनन्।
कोही कसैको चित्र मनमा कोर्नका लागि केही 'इन्डिकेटर' पनि राखिनु नि। सबै आफन्तीबाट एक्लो बनाएर ल्याएकी श्रीमती हुँदाहुँदै पनि किन अर्को मान्छेको चित्र कोरिन्छ मनमा? यो त सरासर पाप होइन र? धोका होइन र? नैतिक विचलन होइन र?
नारायण गोपालले राममान तृषितका शब्दहरूलाई उहिल्यै गुनगुनाएका थिए 'मैले पुण्य मन पराए या पाप मन पराए, जेहोस् मैले तिमीलाई चुपचाप मन पराए।' माया कसले कसरी गर्यो? किन गर्यो? कहिलेदेखि गर्यो? यस्तो फेहरिस्त खोजिँदैन। फेहरिस्त व्यापारमा हुन्छ। अडिटरको रिपोर्टमा हुन्छ। माया, केवल माया मात्रै हो। माया सधैं पुण्य हो। पवित्र मनले कसैलाई प्रेमका लागि निमन्त्रणा गर्नु पनि पाप हुन्छ त? प्रेमको कुन ऐन र नियमावलीको दफामा लेखिएको छ बिहे गरेकाहरूलाई प्रेम गर्नुहुँदैन भनेर? या सर्वोच्चले कुन नजिर प्रतिपादन गरेको छ? बिहे हुनु र प्रेम हुनु। एउटै हो र?
यत्ति हो। यत्ति हो हाम्रो प्रेमको इतिहास। कुनै इतिहास निकै छोटा हुन्छन् तर कहिल्यै सकिँदैनन्। डिलाइट कर्नरको क्याबिन नम्बर ७ साक्षी छ। खाजा खाने बहानामा उसैले हो घुमाउरो पारामा मायाको प्रस्ताव गरेको अनि घुमाउरै पारामा मैले स्वीकार गरेको। अपराध कसले गर्यो? प्रस्ताव गर्ने या स्वीकार गर्नेले? अब त एकै भइयो, अपराध पनि आधा आधा। सजाय पनि आधाआधा। माया पनि आधा आधा। हाँसो, खुसी, दुःख अनि पीडा सबै आधा आधा। मुटु आधा आधा।
'तिमी र म एक हुन सक्दैनौं। राधाकृष्ण जस्तो जोडी हुन सक्दैनौं। औपचारिक रूपमा आफ्नो हुन सक्दैनौ तर पनि किन यति धेरै माया लाग्छ मेरो मुटु?' मैले अघि नै भनिसकेँ सवाल गर्ने अधिकार उसलाई मात्रै छ।
मैले जबाफ दिने भूमिका निभाउनै पर्यो।
'तिमीले राधा कृष्णको कथा नपढेजस्तो लाग्यो। माया गर्न। मुटु साट्न। मन पराउन। रातभरी सपनामा देख्न। घरीघरी प्रोफाइल सर्च गरेर फोटो हेर्न। नाता चाहिँदैन। सम्बन्ध चाहिँदैन। औपचारिकता चाहिँदैन। भेट चाहिँदैन।' कृष्ण धराबासीको राधा निकै मन लगाएर पढेको थिएँ। मलाई राधा कृष्णको प्रेम परिभाषित गर्न के नै गाह्रो थियो र!
'राधा र कृष्णले एकअर्काको नभएरै कति धेरै माया गरे।'
उसको थप प्रश्न आउने छाँट थिएन। जबाफ दिनभन्दा कैयौं गुणा बढी क्षमता हुनुपर्दछ प्रश्न गर्नलाई।
मैले आफै थपेँ, 'समाजले देख्ने गरी एक भएकाहरू के साँच्चिकै एक भएका छन् त? सिउँदोका दुई किनारालाई सिन्दुरले जोडेजस्तै जोडिएका छन् त? तिमीलाई यस्तो लाग्छ। जीवनमा को एक भएको छ। को एक्लो भएको छ। यो नेटफ्लिक्सका लागि एउटा राम्रो वेबसिरिज बन्ला। हामी समाजका लागि होइन आफ्नो सन्तुष्टिका लागि एक भएका हौं भने किन विज्ञापन गर्नुपर्यो। संसारमा सबै वस्तुको विज्ञापन हुँदैन। तर पनि ती चलिरहेका हुन्छन्।'
प्रेममा संवादहरूमा अक्सर उसलाई मैले थकाएरै छाड्थेँ। गलाएरै छाड्थेँ। प्रेम गर्नमा भने उसले मलाई थकाउँथी। यो दुनियाँमा देखिनेभन्दा लुक्ने वस्तुको धेरै मूल्य हुँदो रहेछ। हामीले हाम्रो प्रेमलाई लुकाएर बहुमूल्य बनाइरहेका थियौं।
उसको जीवनको आफ्नै गति र लय थियो। अनि मेरो आफ्नै। हामीले आफ्नो जीवनको गति र लय नबिगारेर। नमेटेर। बाङ्गोटिङ्गो नपारेर। नयाँ जीवन चलाउनु थियो, चलायौं। प्रेमको सुन्दर घर बसाउनु थियो, बसायौं। कसैले नदेखोस्। कसैले नसुनोस्। हामी यही सजगताका बीचमा एउटा नैतिक सीमा बनाएका थियौं। कसले कतिबेला म्यासेज गर्ने। सुरूमा के लेख्ने? यावत-यावत आचारसंहिता थिए हाम्रा। आचारसंहिता पालनामा हामी दुबै सजग थियौं। सायद त्यही भएर केही अनर्थ भएको थिएन। दुबैको घरमा सुइँकोसम्म थिएन।
माघ जाडो ओढेर आएको थियो। सधैंभरी जाडो ओढ्न यो माघलाई कति रहर लागेको। यो माघमा श्रीमतीभन्दा पनि सिरक प्यारो लाग्ने। सिरकमा लुटपुटिएर टिकटक हेर्दै थिएँ। केही सिरकले न्यानो दिएको थियो, केही टिकटकले। वातावरण साँच्चै हट थियो। ह्वाट्सएप कराइहाल्यो।
'हेल्लो सर नमस्कार, म सरोज' म्यासेजको सुरूआत गर्दा यसैगरी गर्नुपर्ने आचारसंहिता उल्लंघन भएको थिएन।
'नमस्कार म्यानेजर साप,' मैले पनि सहजतासाथ जबाफ फर्काएँ।
'आज यो अन्तिम संवाद तपाईंसँग,' यो सानो वाक्यमा कति धेरै रहस्य लुकेको थियो। छटपटी र विरह लुकेको थियो। बोलिदिनेलाई केही शब्द त हो। तर सुनेर भोग्नेलाई साह्रै गाह्रो हुन्छ।
'तिमीले वाइन धेरै खाएको हो आज, सुत मस्तले भोलि कुरा गरौंला,' मैले परिस्थिति सहज बनाउने प्रयास गरेँ।
'सधैं खान्थेँ, आज नखाएको। मलाई तिम्रो सम्बन्धप्रति घृणा लागेर आयो। अब यसलाई अगाडि नबढाऊँ।'
'के भयो तिमीलाई अचानक, केही गल्ती भए माफ गरिदेऊ। अबदेखि नगरौंला।'
मेरो नम्रताले उसको उग्रतालाई थाम्न सकेन।
'म गलत बाटोमा थिएँ भन्ने कुरा मेरो आँखा खुल्यो। यो हाम्रो मात्रै कुरा होइन। सारा लुकाइएका सम्बन्धहरूको कुरा हो।'
उसले मलाई बोल्नै दिइन।
'मुटुमा समस्या भएर म लामो समय थला परेँ। बुढाले सबै काम छाडेर मलाई स्याहार्नुभयो। सोचेको थिएँ। तपाईंले श्रीमानभन्दा पनि बढी माया गर्नुहुन्छ। तर हाम्रो लुकाउने सम्बन्धले तपाईंलाई मसम्म ल्याउन सक्दैनथ्यो। मलाई भेट्न दिँदैनथ्यो। बिरामी भएर बेडमा पल्टँदा तपाईंलाई धेरै खोजेँ। आउनु भएन। आउनु पनि कसरी? देखिने सम्बन्ध नै के थियो र हाम्रो? श्रीमान नभएको भए म विरक्तिएर मर्ने थिएँ। यस्तो प्रिय मान्छेको सानो सानो कुरामा खोट देखेर म कसरी खुसी हुन सक्छु? जीवनमा जे कुरा आफ्नो हो, त्यसमा रमाउनु पर्दछ। जे होइन त्यसलाई आफ्नो बनाएर खुसी हुन सकिँदो रहेनछ।'
'आफ्नोबाट सबै खुसी मिल्ने भए हिजो किन तिमी बेचैन थियौ त?' मलाई पनि थामिनसक्नु भएको थियो। थोरै रिस मिसाएँ।
'मैले सम्बन्धको अर्थ बुझिनँ, महसुस गरिनँ। बाहिरी आवरण र भोगबिलासले मलाई शून्य बनायो। तर सबै फगत रहेछ। लुकेर बनाएका सम्बन्धहरू सबै अवैध हुन्। अनैतिक हुन्। हामीले हामीलाई जीवन सुम्पिएकाहरूको भावनासँग खेलेका रहेछौ। अब मैले जीवनमा यस्तो गल्ती कहिल्यै गर्ने छैन।'
'घरमा केही थाहा भयो र? आत्तिएकी छौ त,' रिसलाई निमोठेर म शान्त हुने प्रयास गरेँ।
'होइन, मेरो मनले नै यो सम्बन्ध अगाडि नबढाऊ भन्यो। डरैडरमा जोगाएको सम्बन्धको के अर्थ? जतिसुकै लुकेर सम्बन्ध राखे पनि मनबाट लुक्न सकिँदो रहेनछ। बिन्ती आजसम्म जे भयो, गलत भयो। अब बाँकी जीवनमा मैले आफूलाई संयमित बनाउँछु।'
यही अन्तिम संवाद लेखेपछि सायद मलाई ब्लक गरी मैले जबाफ लेख्न थाल्दा थाल्दै उसको ह्वाट्सएप अलप भयो।