नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूलाई घरमा बोलाएर छलफल गर्ने र चियानास्ता गराउने चक्रीय पालो आज नेता गोपालमान श्रेष्ठको भागमा परेको थियो।
उनले पूर्वपदाधिकारीहरूलाई निम्त्याएर आइतबार करिब दुई घन्टा छलफल गरे, चियाबिस्कुट खुवाएर बिदा गरे।
पूर्वउपसभापति श्रेष्ठको निम्तोमा उनको निवासमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका हुन्।
अघिल्ला बैठकमा सामेल हुने गरेका पूर्वउपसभापति विजयकुमार गच्छदार भने आज देखिएनन्।
श्रेष्ठ निवास सानेपामा भएको जमघटमा नेताहरूले पार्टीभित्रका आन्तरिक विषय र कांग्रेस सामेल रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको गठबन्धन सरकारका गतिविधिबारे समीक्षा गरे।
साथै सभापति शेरबहादुर देउवानिकट ६ जना नेताहरूको यो जमघटले १५ औं महाधिवेशनसम्म देउवा समूहलाई एकढिक्का राख्ने र थप शक्ति विस्तार गर्ने रणनीति लिएको छ।
नेताहरूलाई निवास बोलाएर छलफल गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई के-के विषयमा कुराकानी भयो भनेर हामीले सोधेका छौं।
उनले नेताहरूले छलफलमा उठाएका कतिपय आन्तरिक विषयबारे खुलाउन चाहेनन्। तर गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, पार्टीको क्रियाशील सदस्यता नवीकरण सुस्त गति र त्यसले महाधिवेशनको मितिमा पार्ने प्रभाव तथा सरकारका कामकारबाहीको समीक्षाबारे भने केही कुरा सुनाए।
‘कांग्रेस क्रियाशील सदस्यता नवीकरणका काम चलिरहेका छन्, तर त्यति राम्रोसँग गति लिन सकिरहेको अवस्था छैन, हामीले यसबारे पनि कुरा गर्यौं,’ उनले भने, ‘सधैं अधिवेशनका बेला कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर विवाद सिर्जना हुने गर्छ, नवीकरणका लागि म्याद थप गर्नेलगायत काम पार्टीले गर्नुपर्छ भन्ने हो।’
महामन्त्री गगन थापाले चैत २९ गतेभित्र नवीकरण सक्न जिल्ला कार्यसमितिलाई निर्देशन पठाएका थिए। त्यो समयमा क्रियाशील नवीकरण नभएपछि वैशाख १५ गतेसम्म म्याद थपिएको थियो, यो अवधिभित्र गोरखा, अर्घाखाँचीलगायत चार जिल्लाले मात्रै नवीकरण सूची केन्द्रमा पठाएका छन्, अरूको बाँकी नै छ।
पूर्वउपसभापति श्रेष्ठका अनुसार समसायमिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो।
उनीहरूले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै प्रश्न उठाउने गरी गतिविधि भइरहेकोले यससम्बन्धी कार्यक्रम गर्ने निर्णय पनि भएको छ। सभापति देउवा पक्षका ६ भाइ नेताहरूले प्रदेशस्तरमा यस्ता कार्यक्रम गर्दै शक्ति विस्तार रणनीति लिएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र आजको सन्दर्भको विषयलाई लिएर पहिले बागमती प्रदेशको काठमाडौंमा कार्यक्रम गर्छौं,’ उनले भने, ‘त्यसपछि सातै प्रदेशमा गर्ने हाम्रो इच्छा छ, यसमा साथीभाइहरूलाई थप जोड्दै जाने। पहिले शेरबहादुर देउवाजीकहाँ ११ भाइ गएका थियौं, त्यसबेला पूर्वसहमहामन्त्री लगायत धेरै साथीहरू छुट्नु भएको थियो, उहाँहरूलाई पनि समेटेर अघि बढ्ने कुराकानी भइरहेको छ।’
पूर्वपदाधिकारीहरूको बैठक प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाको निवास हुँदै आइतबार गोपालमान निवासमा आइपुगेको थियो। एकै घरमा बैठक गर्दा ‘भार’ पर्ने भएकोले ठाउँ फेर्दै छलफल गर्दै आएको श्रेष्ठ सुनाउँछन्।
छलफलमा नेताहरूले उठाएका कुराहरू सभापति देउवालाई सुनाउने गरिएको छ।
‘हामीले त सभापतिज्यूलाई सहयोग गर्ने न त हो, सभापतिज्यूलाई सहयोग गर्ने, सभापतिज्यूबाट पनि भविष्यमा सहयोग लिने हो,’ उनले भने, ‘अहिलेको सरकारलाई पनि कसरी बलियो बनाउने त्यो बारेमा सोच्ने र भोलि सभापति देउवा प्रधानमन्त्री भएर काम गर्दा पनि हामीले उहाँलाई पनि भरपूर मद्दत गर्नेमा नेताहरू प्रतिबद्ध हुनुहुन्छ।’
आमनेपालीमा निराशा देखिएको विषयमा पनि उनीहरूबीच कुराकानी चलेको थियो। कसरी मानिसहरूलाई आशावादी बनाउने भन्नेबारे सरकार र पार्टीले सोच्नुपर्ने पनि उनीहरूले बताएका थिए।
‘आमनेपालीमा निराशा देखिएको छ, उहाँहरूलाई आशा जगाउने काम गर्नुपर्यो। अहिलेको बजेटबाट र अरू कामकारबाहीबाट पनि आशावादी बनाउन सक्नुपर्यो भन्ने हाम्रो सुझाव हो,’ उनले भने, ‘सरकारले केही गर्छ भन्ने वातावरणको सिर्जना गर्नुपर्छ।’
आफूहरूले जमघट गरेर लन्च, चिया गफ गर्ने गरेको र यसलाई निरन्तरता दिने पनि उनले बताए।
‘गभर्नर नियुक्तिलाई लिएर नचाहिँदो किचलो भइरहेको छ, यसमा पनि हामीले चिन्ता व्यक्त गर्यौं,’ उनले भने, ‘गभर्नर नियुक्ति डेढ/दुई महिना अघि नै हुनुपर्थ्यो।’
पूर्वपदाधिकारीहरूले बेलाबखत यस्ता जमघट गरेर सभापति देउवालाई ध्यानाकर्षण गराउँदै आएका छन्।
१५ औं महाधिवेशनसम्म देउवा समूहलाई एकजुट बनाउँदै सहमतिमै सभापति उम्मेदवार तय गर्ने जमर्को उनीहरूमा देखिन्छ। तर अहिले नै देउवा समूहबाट सभापति उम्मेदवार को बन्ने भन्नेमा उनीहरूको छलफल पुगेको छैन, समूह एकजुट बनाउने र शक्ति विस्तार गर्नेमा उनीहरू लागेका छन्।
यसअघि वैशाख ११ गते पूर्वमहामन्त्री शशांक कोइराला निवासमा पनि यस्तै जमघट भएको थियो। लोकतन्त्र दिवसका अवसरमा कोइरालाले चियापानसहित नेताकार्यकर्ता भेटेका थिए। शशांक पनि पछिल्लो समय देउवा समूहमा छन्।
त्यसअघि यस्तो जमघट चैत १६ गते पूर्वउपसभापति विमलेन्द्र निधि निवासमा भएको थियो। जहाँ पूर्वउपसभापति गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रकाशमान सिंह ‘लन्च मिटिङ’ मा पुगेका थिए।
आलोपालो नेताहरूका घरमा पुगेर छलफल गर्ने देउवानिकट यी ६ जना नेताहरू सबै १५ औं महाधिवेशनमा सभापति पदका आकांक्षी छन्। अब कसले समूह र भावी सभापति पदमा उम्मेदवारी दिने भन्ने विषयमा छलफल पुग्दासम्म उनीहरू एकजुट रहन्छन् कि रहँदैनन् अहिले नै प्रष्ट छैन। तर विगतको अनुभवले यस्तो जमघट गर्दै आएका नेताहरू पनि सभापति पदमा प्रतिस्पर्धी हुन्छन् भन्ने देखाएको छ। १४ औं महाधिवेशनअघि लन्च मिटिङ गरिराख्ने प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवै सभापति पदमा भिडेका थिए।
गत फागुन २ गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अगुवाइमा देउवा पक्षका ११ जना नेताहरू बूढानीलकण्ठ पुगेर सभापति देउवालाई भेट्दै समूह एकढिक्का राख्न र १५ औं महाधिवेशनका लागि सभापति उम्मेदवार तोक्न आग्रह गरेका थिए। तर सभापति देउवाले यसबारे मुख खोलेनन्, त्यसपछि देउवापक्षका नेताहरू एकअर्काका घर पुगेर जमघट गर्ने र देश दौडाहा गरिरहेका छन्।
नेता शेखर कोइराला र महामन्त्री गगन थापाले १५ औं महाधिवेशनकेन्द्रित गतिविधि बढाएपछि आफूहरू ‘पछि’ परेको अनुभूतिसहित देउवा पक्षका नेताहरूले जमघट र देश दौडाहालाई तीव्रता दिन थालेका हुन्। नेता कोइराला र थापाले देउवा पक्षका कतिपय नेतालाई आफूतिर तानेको चर्चा पार्टीभित्रै चलेपछि उनीहरू झस्केका छन्।
सभापति देउवाले महाधिवेशनबाट सभापति चुनिने भन्दै उत्तराधिकारी तोक्न अस्वीकार गर्दै आएका छन् भने प्रधानमन्त्री बन्नुअघि महाधिवेशन गराउने सोचसमेत राखेका छैनन्। उनले विधानको व्यवस्था अनुसार केन्द्रीय समितिबाट निर्णय गरेर एक वर्ष कार्यकाल थप्ने संकेत गरिसकेका छन्।
एमालेसँग भएको सहमतिअनुसार २०८३ असारपछि मात्रै देउवा प्रधानमन्त्री बन्नेछन् र एक वर्ष कार्यकाल थप गरे देउवा कम्तीमा २०८३ मंसिरसम्म सभापति रहनेछन्।
यो पनि:
कांग्रेस नेताहरू शशांक निवासमा जुट्नुको कारण
देउवा नखुलेपछि आफै अघि बढ्ने उनीनिकट नेताहरूको प्रयास
देउवाको वचन नपाएपछि ११-भाइ नेता ‘पानी नाप्न’ आफै जिल्ला दौडाहामा
अबको सभापति को हो भन्दै देउवाकहाँ पुगे कांग्रेसका नेताहरू
देउवा समूहका नेता तान्ने रणनीतिमा केन्द्रित शेखर कोइराला
गगन थापाको सक्रियताले कांग्रेसमा तताएको माहोल