करिब २० वर्षदेखि पर्यटन क्षेत्रमा संलग्न श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएसँगै उनीविरूद्ध भ्रष्टाचार मुद्दा लागेको भन्दै सामाजिक सञ्जालमा चर्चा सुरू भएको छ।
नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत श्रद्धालाई 'भ्रष्टाचारको आरोपी' भन्दै विशेष अदालतको फैसलाको अंश र त्यससम्बन्धी समाचारका अंश सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।
के उनीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको थियो त?
यस विषयमा सेतोपाटीले श्रद्धाको नाम मुछिएको मुद्दाको फैसला हेरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उक्त मुद्दा २०७१ चैत २० गते दायर गरेको देखिन्छ।
न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले उक्त मुद्दामा आंशिक ठहर फैसला गरेको थियो।
फैसलामा श्रद्धा श्रेष्ठलाई प्रतिवादी बनाएको देखिँदैन।
उक्त मुद्दामा २३ जनालाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर नभए पनि अख्तियारका अनुसन्धान अधिकारीले उनीसँग बयान भने लिएको देखिन्छ।
विशेष अदालतमा कार्यरत एक अधिकारीले उक्त मुद्दामा श्रद्धा श्रेष्ठलाई अख्तियारले प्रतिवादी र साक्षी दुवै नबनाएको बताए।
'फैसला हेर्दा प्रतिवादी सूचीमा श्रद्धाको नाम देखिँदैन। यसको अर्थ उनलाई प्रतिवादी बनाइएको होइन,' ती अधिकारीले भने, 'फैसलामा भएको बयान अदालतमा नभई अनुसन्धान गर्ने अधिकारीसमक्ष गरिएको हो।'
पर्यटन बोर्डका तत्कालीन वरिष्ठ निर्देशक सुभाष निरौलाले नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उक्त मुद्दाको अनुसन्धान अघि बढेको थियो।
बोर्डकी कर्मचारी श्रद्धासहित अन्यका नाममा किर्ते कागज तयार गरी रकम झिकेको पनि उजुरीमा उल्लेख थियो। उजुरीमा चेकमा हस्ताक्षर गर्ने बोर्डकै कर्मचारीहरूलाई समेत कारबाही गरीपाऊँ भनिएको थियो।
यस सम्बन्धमा अख्तियारले मुद्दा दायर गर्दा अभियोगपत्रमा 'सजाय छुट दिई साक्षीका रूपमा बुझिपाउन अनुरोध गरिएका व्यक्ति' का रूपमा श्रद्धालाई प्रस्तुत गरिएको छ।
त्यही अभियोगपत्र अनुसार श्रद्धाले 'आफ्नो नाममा अरूले चेक काटेपछि महानगरीय प्रहरी परिसरमा उजुरी गरेको' बयान अनुसन्धान अधिकारीसमक्ष दिएको देखिन्छ।
'मेरो नाममा काटिएका विभिन्न चेकमध्ये केही रकम मेरो खातामा जम्मा भएका छन् भने सन् २०१४ मार्च २३ मा झिकेको ३ लाख ४६ हजार २१२ रूपैयाँ र २०१४ मार्च १६ मा झिकेको ८ लाख मैले लिएको वा मेरो खातामा जम्मा भएको छैन। मेरो नाममा चेक काटी झिकेका यी रकम कहाँ, कसले, कसरी खर्च गर्यो सम्बन्धित व्यक्तिहरूले नै जानून्। पैसा झिक्दा चेकको पछाडि गरेको सही पनि मेरो होइन। म सन् २०१४ मार्च १३ देखि २६ सम्म बोर्डले नै खटाएको काममा एसिया भ्रमणमा गएको थिएँ,' श्रद्धाले बयानमा भनेकी छन्।
उनले उक्त रकम आफू विदेश भ्रमणमा रहेका बेला हस्ताक्षर किर्ते गरी झिकिएको बताएकी छिन्।
त्यति बेला श्रेष्ठ पर्यटन बोर्डको पोखरा शाखा इन्चार्ज थिइन्। उनका नाममा ९ लाख ८० हजार ३७० रूपैयाँको चेक काटिएको थियो।
श्रद्धा लगायतका कर्मचारीले आफ्नो हस्ताक्षर किर्ते गरी चेक काटिएको बयान दिएपछि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गरिएको थियो। उक्त परीक्षणले चेकमा भएको हस्ताक्षर र श्रद्धाको हस्ताक्षर 'एकआपसमा नमिल्ने' भनेको थियो।
यसरी श्रद्धासहित केही कर्मचारीका नाममा हस्ताक्षर गरी निरौला लगायतले आर्थिक वर्ष २०७०/७१ मा ८० लाख ५२ हजार ६४१ रूपैयाँ हिनामिना गरेको दाबी अभियोगपत्रमा छ।
मुद्दाको फैसला खण्डमा पनि श्रद्धा श्रेष्ठको जिकिर गरिएको छ।
त्यसमा 'अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै निर्देशन अनुसार रकम फर्छ्यौट भएको हुँदा भ्रष्टाचार गरेर हिनामिना गरेको भन्न नमिल्ने' उल्लेख छ।
'श्रद्धा श्रेष्ठ र सुस्मिता दहालका नाममा काटिएका चेकमा उल्लिखित रकमका सम्बन्धमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार फर्छ्यौट भइसकेको अवस्था हुँदा त्यसरी फर्छ्यौट भइसकेको रकमलाई भ्रष्टाचार गरेर हिनामिना भएको मान्न मिल्ने देखिएन,' फैसलामा भनिएको छ।
श्रद्धा मन्त्री नियुक्त हुनुअघि पर्यटन बोर्डमा 'सस्टेनेबल टुरिजम' परियोजना प्रमुखका रूपमा कार्यरत थिइन्। यो राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजना हो। यसले ग्रामीण र समुदायमा आधारित पर्यटनलाई जोड दिने लक्ष्य राख्छ।
उनले पर्यटन बोर्डको ब्रान्ड प्रवर्द्धन र कर्पोरेट पार्टनरसिप प्रबन्धकका रूपमा विभिन्न मुलुकमा नेपालका पर्यटन गन्तव्यको प्रवर्द्धन गर्न भूमिका खेलेकी छन्।
त्यस्तै, नेपालका पर्यटन गन्तव्यहरू अन्तर्राष्ट्रिय जगतमा चिनाउन डिजिटल अभियान चलाउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा नेपालको प्रतिनिधित्व समेत गरेकी छन्।
कोभिड महामारी बेला उनी पर्यटन संकट समाधान टिमका एक मुख्य सदस्य थिइन्। उक्त टिमले कोभिड महामारी बेला पर्यटक क्षेत्रको उद्धार, पुनरूत्थान र पुनर्स्थापना कार्यक्रम अघि बढाएको थियो।
पोखराकी श्रेष्ठले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेकी छन्।
***