राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सभामुख डोलप्रसाद अर्यालको प्रतिवाद गरेका छन्।
प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा अवरूद्ध हुँदा कानुन बनाउने काम प्रभावित हुने तर्क गर्दै आएका छन्।
सोमबारको प्रतिनिधि सभाको पहिलो बैठकमा उनले संविधान निर्माणको १० वर्ष समय व्यतित भएको तर कानुन निर्माणको काम थाती रहेको बताएका थिए।
त्यस्तै दोस्रो बैठकमा पनि सांसदहरूलाई बैठकको कार्यसूची अघि बढाउन आग्रह गर्दै 'कानुन निर्माणको कार्यसम्पादन कस्तो हुन्छ जनताले हेरिराखेका' उनले टिप्पणी गरेका थिए।
तर राप्रपा दलका नेता शाहीले आफूहरू कानुन बनाउनै आएको सांसद भएको भन्दै सभामुखको प्रतिवाद गरे। सभामुख अर्यालले शाहीलाई माइक दिएका थिएनन्। तर संसदमा शाहीले बोल्दा सांसदहरू चुपचाप सुनेका थिए।
'हामी कानुन बनाउन आएका मानिस हौं। कानुन बनाउने कुरामा साथ हुन्छ। सहयोग हुन्छ। त्यही भएर त हामी संसदमा आएका हौँ', शाहीले सभामुखलाई जबाफ दिँदै भने, 'हामीले देखेका छौँ, संसद चाहिँदैन रहेछ त कानुन बनाउन। अध्यादेशबाट भइराखेको छ त । कसले रोकेको छ अध्यादेश ल्याउन?'
शाहीले थपे, 'संसदीय अभ्यास भनेको प्रजातान्त्रिक अभ्यास हो। दुई तिहाइकै सरकार किन नहोस् संसदप्रति जवाफदेही हुनुपर्छ। यो प्रजातन्त्र बचाउने कुरा हो।'
सभामुख अर्यालले भने कार्यसूचीमा विनियोजन विधेयक माथिको छलफलको विषय रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न माग गरे। प्रतिनिधि सभाका विपक्षी दलहरूले एकस्वरमा नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्। त्यस्तै प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान लिएका छन्।
विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभामा सोमबारका लागि तोकिएको विनियोजन विधेयक माथिको छलफल प्रभावित भएको छ।
सेतोपाटीसँगको कुराकानीमा शाहीले प्रधानमन्त्रीले दिएको गलत अभिव्यक्तिको ढाकछोप गर्न सभामुखले कानुन बनाउन नदिएको भन्दै सांसदहरूलाई आरोप लगाएको बताए।
'हामीले सबै विधेयकमाथि छलफलमा भाग लिएका छौँ। संशोधनहरू दर्ता गराएका छौँ,' शाहीले भने, 'कानुन बनाउने कुरामा हामीले कुनै असहयोग गरेका छैनौँ।'