भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको प्रष्ट भएको भन्दै आपत्ति जनाएको हो।
प्रधानमन्त्रीको अभिव्यक्तिमा सीमा मिचिएको कुरा रफादफा गर्ने बदनीयत देखिएको पनि श्रम संस्कृतिले भनेको छ।
'सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपाले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनीयत प्रष्ट भएको छ,' विज्ञप्तीमा भनिएको छ।
प्रधानमन्त्रीले बोलेको कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे पनि गम्भीर अस्पष्टता व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ।
'नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती सुकुम्बासी बस्तीमा हमला गर्नमै सीमित राख्दै आएको नेपाल सरकारले सीमानामा सेनालाई चियाउन समेत नपठाउनु बरू उल्टै नेपाल भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डता प्रति प्रधानमन्त्री र यो सरकार प्रतिबद्ध नरहेकोप्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनता घोर आपत्ति सहित विरोध व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
लिपुलेक लिम्पियाधुराबारे श्रम संस्कृति पार्टीकै सांसद आरेन राईले आइतबार प्रधानमन्त्री बालेनलाई प्रश्न गरेका थिए।
'यो विषय कूटनीतिक रूपमा टेबल टक... तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,' जबाफमा प्रधानमन्त्री बालेनले भनेका थिए।
'यो कुरा मलाई अस्ति भर्खर थाहा भयो,' उनले अगाडि भने, 'हामीले मिचेका छौं, उहाँहरूले मिच्नुभएको छ। बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौं।'
प्रधानमन्त्रीको अभिव्यक्तिबारे चौतर्फी आलोचना भइरहेको छ।